झन्डा र पुत्ला जलाएर समस्या सुल्झँदैन

झन्डा र पुत्ला जलाएर समस्या सुल्झँदैन


Deep-Kumar– दीपकुमार उपाध्याय, भारतका लागि नेपाली राजदूत
० नेपाल र भारतबीच एकाएक असमझदारी बढेको परिवेशबीच पुनः समझदारीको विकास हुन थालेको हो ?
– नेपाल र भारतबीचको सम्बन्ध जनताको हृदय–हृदयबीचको सम्बन्ध हो । जनताबाटै निर्देशित हुने र भइरहने सम्बन्ध भएकाले बेला–बेला उतारचढाव आएजस्तो हुनु स्वाभाविक छ । यतिबेला अनपेक्षित घटनाका कारण नेपाली जनताले जसरी दुःख पाए, यो अवश्य पनि हामी सबै द्रवीभूत हुनुपर्ने सन्दर्भ हो । तर, राजनीतिमा कहिलेकाहीँ यस्ता घटना हुन्छन्, असमझदारी देखापर्छन् भनेर मन बुझाउनुपर्ने हुन्छ । यस्तो घटना विकसित भएपश्चात् काठमाडौं पुगेर म नयाँदिल्ली फर्किएपछि भारतीय उच्च तहका नेताहरूसँग छलफल गरेँ । उहाँहरू पनि जनताले दुःख पाउनुहुन्न भन्ने सोचमै रहेको पाएँ । सप्लाईमा आएको अवरोधको कारण नेपाली जनताले भोग्नुपरेको दुःखलाई छिटोभन्दा छिटो सहजीकरण गर्ने, खासगरी हस्पिटल सप्लाई, पेट्रोलियम पदार्थको आपूर्तिलाई प्राथमिकता दिएर नेपाली जनताको दैनन्दिनी सहज तुल्याउनुपर्ने भन्ने उहाँहरूको धारणा छ । तर, यसमा के भइरहेको छ भनेर उच्च राजनीतिक तहले नै पहलकदमी लिनुपर्ने देखिन्छ । असमझदारी बढाएर कसैको हित नहुने हुनाले समझदारी बढ्ने आशा मैले लिएको छु ।
० सुरुमा ठप्पै पारिएको नाकाबाट पछिल्लो चरणमा केही सङ्ख्यामा सामान बोकेका ट्रकहरू नेपाल प्रवेश भएका छन्, अब पूर्ववत् ढङ्गबाट नाका खुल्न सक्छ, हो ?
– तत्काल पूर्ववत् ढङ्गले नाका खुलिहाल्छ भन्न नसकिए पनि निराश भइहाल्नुपर्ने अवस्था भने होइन । भारतको बिहारमा निर्वाचन भएकाले पनि सुरक्षाको कारण खुला सीमा सिल गर्नुपरेको भारतीय अधिकारीहरूको भनाइ छ । पहिले–पहिले सामान्य अवस्थामा पनि चुनावको बेला यस्तो गरिँदै आएको हो । तसर्थ, केही संवेदनशील नाकाबाहेक अन्यबाट हस्पिटल सप्लाई, ग्यास, पेट्रोलजस्ता सामग्री प्राथमिकताका साथ आपूर्ति हुनेमा म विश्वस्त छु । तर, हाम्रो ६० प्रतिशतजति आपूर्ति रक्सौल नाकाबाट हुनुपर्ने भएकाले तत्काल स्थिति सहज हुन सक्छ भन्नेचाहिँ होइन । किनकि, रक्सौल नाकातर्फको भागमा नेपाल सरकारको गम्भीर प्रयत्नका बाबजुद आन्दोलनकारी पक्षलाई मनाउन नसकिएकाले विषमावस्था कायम रहेको हो । आन्दोलनकारीको माग सम्बोधन गर्ने सवालमा सरकार तथा प्रमुख राजनीतिक दलहरूले निकै गम्भीर प्रयास गरेका हुन्, तर चाहेजस्तो नतिजा आइसकेको छैन । यसले गर्दा जनताले दुःख झेलिरहनुपरेको छ ।
० वीरगञ्जको नाका नखुलेसम्म आपूर्तिमा व्यवधान रहने निश्चित छ, यसलाई खुलाउन कुनै विशेष प्रयत्न भएको छैन ?
– हो, वीरगञ्जको नाका नखुलेसम्म आपूर्तिमा असहजता रहिरहन्छ । दिनहुँ तीन सय ट्रक आवश्यक पर्नेमा सबै नाका गरेर चानचुन चालीस–पचास ट्रक मात्र भित्रिने अवस्था रहेपछि अभाव त हुने नै भयो । तसर्थ, अहिले हाम्रो ध्यान वीरगञ्ज नाकालाई पनि कसरी सहज पार्ने भन्नेमा केन्द्रित रहेको छ । नेपालको तर्फबाट उक्त नाकामार्फत भारततर्फ असुरक्षा हुने कुनै पनि गतिविधि हुन नसक्नेमा हामीले भारत सरकारलाई अहिले मात्र होइन पहिलेदेखि नै आश्वस्त पारेकै हौँ । समस्या त हाम्रैतिरबाट पनि भइरहेको छ नि । यतिबेला आन्दोलनमा रहेका हाम्रा आन्दोलनकारी मित्रहरूलाई जनतालाई सास्ती हुने यस्तो आन्दोलन नगर्न हामीले आग्रह गरिरहेका छौँ । जनताले योभन्दा बढी दुःख पाउनु भनेको भविष्यमा कुनै पनि राजनीतिक दल वा शक्तिलाई नराम्रो असर पुग्नु हो भन्ने सम्बन्धित सबैले बुझ्नैपर्छ । सरकारले उदारताका साथ उहाँहरूको माग सम्बोधन गर्दै छ भने अब किन यसरी नाका छेक्ने काम गरिरहनुपर्छ र ? असन्तुष्ट पक्षका नेतागणले परिस्थितिको गम्भीर मूल्याङ्कन गर्दै सहज वातावरण सिर्जना हुने माहोल निर्माणार्थ आवश्यक पहलकदमी लिनुहुनेछ भन्ने अपेक्षा र विश्वास हामीले लिएका छौँ ।
० तपाईं काठमाडौंबाट दिल्ली फर्किएलगत्तै जुन मात्रामा नाका खुल्यो, यसमा खास कसको भूमिका छ ?
– सरकारले आफ्नो तहबाट प्रयास गरेको छ भने हामीहरू पनि आफ्नो जिम्मेवारी निर्वाहमा गम्भीरतम् ढङ्गले खटिरहेका छौँ । अहिले व्यक्तिगत भूमिकाको कुरा गरेर जश–अपजशको भागीदार बन्नेतिरभन्दा पनि स्थिति सहज तुल्याउनेतर्फ लाग्नु जिम्मेवार सबैको कर्तव्य हो । आगो लागेको बेला कसले आगो झोस्यो भनेर खोजीनिती गर्नेभन्दा पनि आगो निभाउनेतिर लाग्नु बुद्धिमत्ता हुन्छ । अब यस्तो घटना फेरि नदोहोरियोस् भन्ने सोचका साथ दायित्व निर्वाह गर्नुपर्छ । नेपाल–भारत सम्बन्ध भनेको अत्यन्त ऐतिहासिक छ । सम्बन्धको गहिराई मनन गरेर पूर्ववत् अवस्थामा आपूर्ति व्यवस्था फर्किनुपर्छ, सानातिना असमझदारीकै कारण यो स्तरको दुःख–कष्ट जनताले झेल्नुपर्ने परिस्थिति आउनुहुँदैन भन्नेमा दुवैतिरका उच्चपदस्थ नेता सचेत रहनुपर्छ ।
० तपाईंले नेपाल र भारत दुवैतिरका उच्चपदस्थ नेताहरूसँग बारम्बार संवाद र अन्तरक्रिया गर्नुभएको छ, यस आधारमा के बुझ्नुभयो तपाईंले कि यस्तो असमझदारी किन–कसरी जन्मिएको होला ?
– जसरी परिवारमा कहिलेकाहीँ झमेलाहरू पैदा हुन्छन्, कुनै सदस्यमा अनेक तरङ्ग उत्पन्न भई जसले परिवारलाई नै खल्बल्याइदिन्छ, देश–देशबीचको कुरा पनि यस्तै हो । यसलाई अलौकिक र अनौठो भनी बुझ्नुहुँदैन । जहाँसम्म अहिलेको परिस्थति कसरी निम्तियो भन्ने सवाल छ, यसलाई धेरै खोतलेर चर्काइरहनुभन्दा बिर्सिएर मत्थर पार्नेतिर लाग्नुपर्छ । झर्रो राष्ट्रवादको कुरा गरेर मात्र काम चल्दैन, किनकि हामी त भूपरिवेष्ठित मात्र नभई छिमेकी भारतबाट मात्रै तीनतिरबाट घेरिएका छौँ । उत्तरतिर जटिल प्रकारको हिमाली क्षेत्र छ । यो त यथार्थ हो नि । यस्तोमा अनेक असम्भव तर्क गर्दै उताबाट तेल झिकाउँछौँ, त्यताबाट गर्छौं भन्नेहरू पनि देखिए । भावुकतावश असम्भव कुरा मात्र गरेर त गर्जो टर्दैन । चाहनेबित्तिकै हल हुने समस्या हो र यो ? हो, विकल्प खोज्नै लागिपरे आगामी दश, बीस, पच्चीस वर्षमा विकल्प तयार हुन सक्ला, तर अहिलेको आवश्यकता त पूर्ति गर्नुप-यो नि । मैले भारतमा उच्च तहमा भेट गर्दा साह्रै नमिठा क्षण पनि व्यहोर्नुप-यो । भारतका झन्डा जलाइएका, भारतीय उच्च नेताका पुत्ला जलाइएका, कतिपय नेताहरूबाटै अशिष्ट टीकाटिप्पणी गरिएका कुरा त्यहाँ उठे । यथार्थको धरातल र परिस्थिति नबुझी त्यसरी रियाक्ट हुनु वास्तवमा जसलाई पनि चित्त दुख्ने विषय हो । सामान्य एउटा विद्यार्थीले पनि मोबाइल झिक्यो, जथाभावी अडियो र भिज्युअल रेकर्ड ग-यो अनि अपलोड गरिदियो । क्षणभरमै त्यो सामाजिक सञ्जालमा फैलिएर उनीहरूकहाँ पुग्दोरहेछ । छलफलको क्रममा त्यस्ता अराजक प्रतिक्रियाहरू देखाउँदा म त नाजवाफजस्तै हुन पुगेँ । भारतलाई चिढ्याउने, लज्जित पार्ने खालको यस्ता प्रवृत्तिले समस्या झन् बल्झाउँछ भन्नेमा हामी सतर्क हुनुपर्छ ।
० अनाहकमा यत्रो कष्ट झेल्नुपरेपछि त्यति रियाक्ट गर्न त पाउनुप-यो नि आमजनताले, होइन र ?
– सर्सरी भन्नुपर्दा यो स्वाभाविक नै हो । एक लिटर तेलका लागि तीन किलोमिटरको लाइन लाग्नुपर्दा जनतामा आक्रोश उत्पन्न हुनुलाई अन्यथा पक्कै भन्न नमिल्ला । तर, परिस्थितिको संवेदनशीलता मनन गरी संयम धारण गर्न सके हामीलाई फाइदा नै हुन्थ्यो भन्ने मेरो धारणा हो । आमजनताकै तहमा ओर्लिएर नेताहरूले समेत अशिष्ट र अमर्यादित अभिव्यक्ति दिनुचाहिँ अस्वाभाविक र विडम्बनाकै कुरा हो । एकातिर सहजताका लागि प्रयास हुने अर्कोतिर माहोल बिगार्दै जाने हो भने त हामी कहाँ पुग्छौँ र ?
० अलिकता नाका खुलेजस्तो भई केही ट्रक सामान मुलुक भित्रनेबित्तिकै भारतले घुँडा टेक्यो भन्ने प्रकारका समाचार पनि सम्प्रेषित भए नि, के भन्नुहुन्छ ?
– यही त भनेको नि † सोच हाम्रो सकारात्मक हुनुपर्छ, नकारात्मक सोचले काम–कुरा बिगार्छ । कतिपय दुःखका कुरा पनि भुल्नुपर्दछ, बेवास्ता गर्नुपर्दछ । नकारात्मक कुरालाई बिर्सेर भारत र नेपालको जन–जनमा रहेको ऐतिहासिक र आत्मीय सम्बन्धका आधारमा व्यवहार गर्ने चेष्टा हनपर्छ । छिमेकका हामी दुई अलग–अलग स्वाधीन र स्वतन्त्र सार्वभौम राष्ट्र हुनुको नाताले त्यही किसिमको मित्रवत् सम्बन्धलाई बढावा दिनुपर्छ । धर्म, संस्कृति, परम्परा, रीति–रिवाज सबै कुरा मिल्ने देश भनेको एकाघरका दाजुभाइसरह हो । यस्तोमा यदाकदा ठासठुस हुन्छ र हुनु पनि पर्दछ । त्यसले झन् आत्मीयता जगाउँछ । यथार्थ धरातलमा उभिएर हामीबीचको सम्बन्ध परिभाषित गर्नुपर्छ, न कि एकले अर्कालाई अपमानित गर्ने, होच्याउने व्यवहारले कसैको हित गर्छ †
० नेपाल र भारतका प्रधानमन्त्रीबीच सीधै वार्ता हुनुपर्ने कुरा पनि आएको छ, यस्तो सम्भावना कति छ ?
– यस्तो हुनु अत्युत्तम् नै हुनेछ र दुई नेताबीच वार्ता नहुने या नहुनुपर्ने कुनै कारण देख्दिन म । म स्वयम् पनि प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई भेट्ने प्रयास गर्दै छु । भेटेर नेपाली जनताले अनाहकमा झेल्नुपरेको दुःख र अन्य समसामयिक विषयमा वार्तालाप गर्ने प्रयासमा छु । सम्भवतः छिट्टै यस्तो भेटघाट हुनेछ र त्यसबेला नेपाली जनताको तर्फबाट, नेपाल राष्ट्र र नेपाल सरकारको तर्फबाट कुराहरू राख्नेछु । मैले सङ्केत पाएको छु कि प्रधानमन्त्री मोदी नेपाली जनताले पाउनै नपर्ने दुःख पाएकोमा अत्यन्त दुखित हुनुहुन्छ । यो हुनु नपर्ने कुरा भयो, यसलाई तुरुन्त समाधान गर्नुपर्दछ, माहोल सहज तुल्याउनुपर्दछ भन्ने सदासयता उहाँले राख्नुभएको मैले सन्देश पाएको छु ।
० त्यसो भए नेपाल र भारतबीचको सम्बन्ध सुमधुर भई पुनः पुरानै अवस्थामा फर्केला त ?
– यसको विकल्प नै छैन । यस्तो हुनैपर्छ र हुन्छ भन्नेमा म विश्वस्त छु ।