ममाथि कारबाही हुने आधार नै छैन– केशवकुमार विष्ट (सदस्यसचिव, राखेप)

ममाथि कारबाही हुने आधार नै छैन– केशवकुमार विष्ट (सदस्यसचिव, राखेप)


antarbicharराष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा नियुक्तिसँगै विवादमा तानिएका केशवकुमार विष्ट आफ्नो नियुक्तिबारे उठाइएको विवादलाई चुनौती र अवसरको रूपमा लिन चाहन्छन् । आफ्नो शिरमाथि अख्तियारले तरबार झुन्ड्याएको भए पनि सत्यको विजय हुन्छ र आफूले न्याय पाउँछु भन्नेमा उनी विश्वस्त छन् । विवादित राष्ट्रिय सङ्घ र झोले सङ्घहरूलाई कानुनी दायरामा ल्याएर खारेज गर्ने र कुनै पनि शक्तिकेन्द्रको दबाबमा नपर्ने उनको प्रतिबद्धता छ । श्वेतपत्र जारी गर्दै आफैँलाई चुनौती दिएका उनले खेलकुदमा नौलो क्रान्तिको आवश्यकता औँल्याएका छन् । खेलकुद मुलुकको सबैभन्दा सम्भावित र सम्मानित क्षेत्र भएको दाबी गर्दै खेल जागरणको वातावरणलाई लागू गर्दै आफ्नो चारवर्षे कार्यकाललाई ‘स्वर्णकाल’ बनाउने सदस्यसचिव विष्टको अठोट छ । मुलुक विषम परिस्थितिबाट गुज्रिरहे पनि सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताका साथ आयोजना गरेर दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’मा नेपाललाई ऐतिहासिक सफलता दिलाउने प्रयासमा जुटेका छन् उनी । नेपाली खेलकुदलाई कायापलट गर्ने योजना आफूसँग भएको दाबी गर्ने सदस्यसचिव विष्टसँग श्रीविक्रम भण्डारीले गरेको कुराकानी :
० राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्ति प्रक्रियामा त तपाईंको नाम चर्चामै थिएन, एमालेभित्रको त्यत्रो चलखेलका बाबजुद एक्कासि कसरी बाजी मार्नुभयो ?
– चर्चाले सदस्यसचिवको नियुक्ति हुँदैन भन्ने बुझेरै म चर्चामा रहन नचाहेको हुँ । प्रायोजित प्रचारबाजी ठीक पनि होइन । सदस्यसचिवको नियुक्ति त विधि र प्रक्रियाबाट पो हुन्छ । त्यो प्रक्रियामा योग्य ठहरिने व्यक्तिले जिम्मेवारी पाउने हो । कसले के–कस्तो चलखेल गरेका थिए या थिएनन् त्यो मलाई जानकारी भएन र म अनावश्यक चर्चाबाट भन्दा आफूलाई कामबाट चिनिन चाहने व्यक्ति भएकाले एक्कासि सदस्यचिवमा नियुक्ति पाएकोजस्तो पनि लाग्दैन ।
० आफ्नो नियुक्तिलाई किन गोप्य राख्नुभयो त ?
– नियुक्ति भइसकेपछि त्यसै थाहा हुने हुँदा मैले चर्चामा आउन आवश्यक नै ठानिनँ । नियुक्ति गर्नुभन्दा पहिले व्यक्तिको पृष्ठभूमि, योग्यता खोजिन्छ । पहिले नै ‘मै हुनुपर्छ’ भन्ने जुन प्रवृत्ति छ, यसको म विरोधी हुँ ।
० राखेपमा तपाईंको नियुक्तिले विवाद पनि साथै लिएर आयो, कत्तिको अप्ठ्यारो लागिरहेको छ ?
– सदस्यसचिवको नियुक्तिमा विवाद आउनु हाम्रो सन्दर्भमा परमम्पराजस्तै भइसकेको छ । हिजो अन्य सदस्यसचिवको नियुक्तिमा पनि यस्तै विवाद भएको थियो । आज मेरोमा भयो । यो सामान्य कुरा हो । अझ मलाई त मेरो पालामा अन्यको भन्दा धेरै कम विवाद आयो भन्ने लाग्छ । विगतका सदस्यसचिवको अवस्था हेर्ने हो भने सबैभन्दा कम विवाद, कम जोखिममा मेरो नियुक्ति भएकै हो ।
० मन्त्री पौडेलको अध्यक्षतमा बसेको बैठकले सुरुमा त सदस्यसचिवमा अर्कैलाई सिफारिस गरेको थियो होइन ?
– मन्त्रीजीको अध्यक्षतामा त्यस्तो कुनै बैठक बसेको मलाई जानकारी छैन । केवल सदस्यसचिव नियुक्ति गर्नका लागि सामान्य छलफल मात्रै भएको हो । त्यो बैठकको अध्यक्षता मैले नै गरेको थिएँ । मन्त्रीजीले होइन । अहिले पनि कसैले म्याइन्युट हेर्न चाहे म देखाउन सक्छु । त्यहाँ छलफल भयो, केही साथीले दाबी गर्नुभो, केहीले समर्थन गर्नुभो, तर कसैलाई समर्थन प्राप्त भएन । त्यसपछि अहिलेसम्म बैठक बस्न सकेको छैन । कसैको पक्षमा पनि अहिलेसम्म निर्णय भएको छैन । यो सबै चर्चामा आउनका लागि आकाङ्क्षी व्यक्तिले चलाएको हल्ला मात्र हो ।
० कोरियामा खेलाडी भगाउन मद्दत गरेको भन्ने संगीन आरोप र राखेपले तपाईंलाई कारबाही गरेकोबारे के भन्नुहुन्छ नि ?
– खेलाडी भगाउन सहयोग पु-याएको आरोप अहिलेसम्म कसैले लगाउन सकेको छैन । जसले कारबाहीका लागि सिफारिस गरेको थियो उसैले पनि सकेको छैन । केवल कोरियाबाट खेलाडी नफर्किएको मात्र भनेको छ, भगाएको या गल्ती नै गरेको भनेको छैन । भनेको के छ भने कोरियामा गएका खेलाडी नफर्किएका खेलका व्यवस्थापकलाई ६ महिना र खेलाडीलाई १० वर्ष प्रतिबन्ध लगाइएको छ । पछि व्यवस्थापकमा ६ महिनालाई काटेर एक वर्ष लेखिएको छ । अर्को कुरा निलम्बनको सट्टा विभागीय कारबाही लेखिएको छ । मन्त्रीको अध्यक्षतामा बसेको बैठकले त्यो केरमेट गरेको भए अध्यक्षता गर्ने व्यक्तिले सच्याउँछ । तर, त्यहाँ अध्यक्ष अर्थात् मन्त्रीले कुनै ठाउँमा पनि हस्ताक्षर गरेका छैनन् । त्यहाँ किर्ते भएको छ । यो किर्ते भएको छ भनेर मैले अख्तियारमा समेत उजुरी दिइसकेको छु । मन्त्रीज्यूले पनि मेरो हस्ताक्षर होइन नक्कली हो भनेर सार्वजनिक रूपमै भन्नुभएको छ । तर, यसको खोजतलास गर्ने काम कसैले गरेको छैन । यहाँ त सुनिएको र भनिएको कुरालाई आधार बनाइएको छ ।
० त्यसो भए तपाईंलाई गरिएको कारबाही ६ महिनाको मात्र हो त ?
– अन्यलाई सदस्यसचिवस्तरीय कारबाही गरिए पनि मलाई कुनै कारबाही गरेको छैन । ल ठीक छ, मलाई कारबाही गरिएको भनिए तापनि मलाई अहिलेसम्म कुनै जानकारी छैन । मेरो नाममा कुनै पत्र पनि काटिएको छैन, मलाई स्पष्टीकरण पनि सोधिएको छैन । न्यायको सिद्धान्त के भन्छ भने जस्तोसुकै अपराध गरे पनि उसलाई स्पष्टीकरण र सफाइ पेस गर्ने मौका दिनुपर्छ, तर मलाई अवसर दिएको छैन । जब म राखेपको सदस्यसचिव भएर आएँ कारबाहीका लागि राखेपलाई सिफारिस गरिएको थाहा पाएँ । यहाँ युवराज लामालाई सिफारिस गरिएको थिएन । राखेप भनेको बोर्ड हो, त्यो बोर्ड बसेकै छैन भने कसरी कारबाही हुन्छ ? बोर्ड बैठक एकपटक खेलाडी कोरिया पठाउने बेला र म आएपछि दोस्रोपटक बसेको छ ।
० खेलाडी भगाउन तपाईंले आर्थिक चलखेल गरेकै भन्ने आरोप छ त ?
– मलाई १५–१५ लाख लिएर चारजना खेलाडी भगाएको आरोप लगाइएको छ । साँचो कुरा के हो भने मसँग गएको एक मात्र खेलाडी कोरियामा हराएको हो । त्यसपछि उक्त खेलाडीको घर टोखामा गएर बुझ्दा उसको हैसियत पाँच हजार निकाल्ने पनि देखिएन । अब तपार्इं आफैँ अड्कल लगाउन सक्नुहुन्छ पाँच हजार निकाल्न नसक्ने खेलाडीले कसरी १५ लाख तिरेर कोरिया गएको होला त ? म दुई–चार लाख रुपैयाँमा नियत हाल्ने व्यक्ति होइन । म मात्रै होइन, मेरो सिङ्गो परिवारले अहिलेसम्म कसैको सुका दामसमेत हिनामिना गरेको छैन । त्यसैले ममाथि लगाइएको यो सबै आरोप सरासर गलत र निराधार छ ।
० अख्तियारले तपाईंको नियुक्तिलाई गैरकानुनी भन्दै खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्न प्रधानमन्त्रीकहाँ पठाएको अवस्था छ, प्रधानमन्त्रीबाट कस्तो निर्णय हुन्छ जस्तो लाग्छ ?
– न्याय पाइन्छ, सत्यको विजय हुन्छ भन्ने कुरामा आस्था राख्ने व्यक्ति हुँ म । सत्यको विजय हुन्छ र न्याय पाइन्छ भन्ने विश्वासमा हिँडेको छु । अहिले अख्तियारले उठाएको कदम हेर्दा एउटा निर्दोष मान्छे पनि परिबन्दमा पर्दोरहेछ भन्ने मैले बुझेको छु । गैरकानुनी काम न मन्त्रीज्यूले गर्नुभएको छ न मैले गरेको छु ।
० त्यसो भए अख्तियारले पूर्वाग्रह राखेरै कारबाही सिफारिस गरेको हो त ?
– यसमा कुनै शङ्का राख्नैपर्दैन । केही गर्छु भनेर हिँडेको एक निर्दोष मान्छेलाई परिबन्दमा पारेर दोषी सावित गर्न खोजिँदै छ । म यसमा के भन्न चाहन्छु भने जसले यो कार्य गर्दै छन् भोलि पछुतो अवश्य गर्नेछ ।
० यदि प्रधानमन्त्रीबाट मन्त्रीलाई कारबाही भयो भने सदस्यसचिवको पद धरापमा पर्छ कि पर्दैन ?
– मन्त्रीलाई कारबाही भयो भने पनि मलाई कुनै कारबाही होला जस्तो लाग्दैन । मन्त्रीलाई कारबाही भए पनि नभए पनि अख्तियारले मन्त्रालयलाई पत्राचार गरिसकेको छ । ममाथि कारबाहीको प्रक्रिया सुरु हुन पनि सक्छ । यदि कारबाही प्रक्रिया सुरु भयो भने मैले न्यायका लागि अदालत जानुपर्ने हुन्छ । मलाई विश्वास छ, मलाई अदालतले न्याय दिनेछ । मलाई लागेको अभियोग कुनै पनि हालतमा पुष्टि हुन सक्तैन ।
० तपाईं राखेपमा आएको तीन महिना हुन लागिसकेको छ, सरसर्ती हेर्दा एमालेकरण भएजस्तो देखिएको छ, खेलकुदमा तपाईंको प्रतिबद्धताअनुरूप काम भएको छ त ?
– मलाई त एमालेकरण भएजस्तो लाग्दैन । तीन महिनाको समय भनेको कति नै हो र ? दिनगन्तीका हिसाबले हेर्ने हो भने पनि प्रत्येक दिन कुनै न कुनै काममा सुधार भएको छ । ठूला महत्वाकाङ्क्षी विकासका कार्य नभए पनि प्रत्येक दिन खेलकुदमा प्रगति र सुधार भएकोे छ । पानी तात्न पनि सय डिग्रीको ताप चाहिन्छ, अहिले तात्ने क्रम जारी छ, उम्लिएपछि सबै नतिजा सामुन्ने आउनेछ । तसर्थ प्रतिबद्धता गरेको दिशातर्फ हामी अग्रसर छौँ, अगाडि बढेका छौँ । म त सन्तुष्ट छु ।
० विवादित राष्ट्रिय सङ्घहरूलाई तपाईंले मिलेर नआए कारबाही गर्ने भन्नुभएको थियो, खै त्यस्तो सङ्केत त देखिँदैन नि ?
– तीन महिनाको अवधि भर्खरै सकिएको छ । मैले आह्वान गरेको हो, अपिल गरेको हो, त्यो अपिलअनुसार ओलम्पिक कमिटीमा केही सुधार भएको छ । कतिपय सङ्घमा छलफल सुरु भएको छ भने कतिले चाहिँ अटेर गरेर बसेका छन् । अब मैले यी सङ्घहरूमा प्रक्रिका सुरु गर्छु । जहाँसम्म कारबाहीको कुरा छ, स्पष्टीकरण पनि कारबाही हो, सजग बनाउनु पनि कारबाही हो, हिजोको ठाउँबाट अघि बढाउनु पनि कारबाही हो भन्नै मैले ठानेको छु ।
० विवादित सङ्घहरूमा तेक्वान्दो, कराँते, फुटबल, क्रिकेट, जिम्न्यास्टिक र कुस्तीजस्ता सङ्घहरू पर्छन्, तपाईंले सोचेअनुरूप समस्याको समाधान होला त ?
– कठिन छ, निकै चुनौतीपूर्ण छ, जोखिम छ, त्यो मलाई थाहा छ, तर नगरिनहुने पनि छ । खेलकुदमा स्वर्णकाल स्थापना गर्न परिवर्तन आवश्यक छ त्यसैले यो गर्नैपर्छ । जोखिम छ, चुनौतीपूर्ण छ भन्दाभन्दै पनि यो गर्नुपर्ने हो कि होइन त्यो महत्वपूर्ण भएको छ । परिवर्तन त त्यत्तिकै आउँदैन, यथास्थितिवादलाई समाप्त पार्न जोखिम त उठाउनैपर्छ । त्यसलाई सामना गर्ने कि नगर्ने त्यो ठूलो कुरा हो ।
० त्यसो भए तपाईंको पहिलो निसाना कुन सङ्घप्रति सोझिएको छ त ?
– एकैचोटि सबै सङ्घमा हात हाल्न सम्भव हुँदैन, कामको पनि विभाजन गर्नुपर्छ । राखेपमा अहिले एक सय ४९ सङ्घ छन्, तिनीहरूको सर्भिसिङ गर्नुपर्ने भएको छ । त्यो गर्न सबभन्दा पहिले कसलाई गर्ने भन्ने सवालमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरेर जसलाई गर्नुपर्ने हो गरिन्छ । यसमा सबैभन्दा बेथिति भएको, खेलकुदमा गम्भीर असर पारिरहेको सङ्घमा क्रिकेट पहिलो निसानामा पर्न सक्छ । यसर्थमा धेरैले आशा गरेको, खेलाडीले अन्तर्राष्ट्रियस्तरमा गौरव बढाएको, धेरै सम्भावना बोकेको, तर व्यवस्थापनको कमजोरीका कारणले स्तर खस्कँदै गएको र खेलाडी निराश भएका कारणले क्रिकेट पहिलो निशानामा पर्छ । जहाँ आगो लागेको छ त्यहाँ पहिले दमकल पठाउनुप-यो नि, होइन र ?
० राखेपमा राष्ट्रिय खेल सङ्घहरू दर्ता भएका छन्, त्यस्ता खेलाडी नै नभएका सङ्घहरूको दर्ता खारेज गर्ने भन्नुभएको थियो, त्यस्ता सङ्घहरूको पहिचान गरी छानबिन प्रक्रिया कहिले अगाडि बढ्दै छ ?
– हामीले छानबिनको प्रक्रिया सुरु गरिसकेका छौँ । अहिले सातौँमा केन्द्रित भएकाले त्यसमा केही ढिलासुस्ती भएको छ । त्यस्ता सङ्घको पहिचान हामीले दसैँभित्र गरिसक्नेछौँ । यसपछि कुन–कुन राख्नुपर्ने र कुन सङ्घलाई खारेज गर्नुपर्ने हो त्यसको निष्कर्ष दसैँअगाडिसम्म निकालिसक्छौँ । खारेज गर्ने प्रक्रिया दसैँपछि सुरु हुन्छ ।
० केही राष्ट्रिय सङ्घहरूबाहेक अन्य सङ्घहरू ‘झोले सङ्घ’को रूपमा चलिरहेका छन्, त्यसबारेमा तपाईंको दृष्टिकोण के छ ?
– खासगरी यो पाँच वर्षको अवधिमा थुप्रै सङ्घ अस्तित्वमा देखिएका छन् । त्यो खेल कहाँ खेलिन्छ ? कसले खेल्छ ? त्यो केका लागि खेलिन्छ ? अनि ती पदाधिकारी कहाँ छन् ? त्यसको गतिविधि कहाँ भएको छ ? यसका मातहतका सङ्घहरू कहाँ छन् ? त्यसको कुनै अत्तोपत्तो छैन । खालि दर्तामा मात्र देखिन्छ । कहिलेकाहीँ फलानो सङ्घको पदाधिकारी विदेश गएको भन्ने सुनिन्छ । त्यसैले यस्ता सङ्घहरू खारेजमा पर्छन्–पर्छन् । तिनीहरूलाई बचाउन जुनसुकै शक्तिकेन्द्रको दबाब आए पनि खेलकुदको भविष्यलाई ध्यानमा राखेर खारेज हुन्छन् ।
० श्वेतपत्र जारी गर्नु आफैँमा चुनौतीपूर्ण मानिन्छ, तर तपाईंले श्वेतपत्र जारी गर्नु भो, यसको कारण के हो ? कतै लोकप्रियता पाउन यसो गर्नुभएको त होइन ?
– प्रतिक्रिया एकदमै राम्रो आइरहेको छ । यसलाई सरकारी तहमा बसेका ब्युरोक्र्याट, राजनीतिक दलका नेता, विभिन्न सङ्घसंस्था, आमखेलखेलकुदप्रेमी र खेलाडीले सकारात्मक भनेका छन् । यो कसैको आग्रह र पूर्वाग्रहका लागि होइन । कसैलाई लक्षित गरेर जारी गरिएको पनि होइन । पारदर्शी हुने, सबैलाई सुसूचित पार्न मौका दिने, गलत कार्य भएका छन् भने दोहोरिन नदिने र आफूलाई करेक्सन गर्ने अवसरको रूपमा मैले यसलाई लिएको छु । त्यसैले यो परम्पराको थालनी हो ।
० अहिले पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको लेवल हटेको छैन, भविष्यमा एउटै ओलम्पिक कमिटी बन्ने सम्भावना कत्तिको देख्नुहुन्छ ? यसका लागि राखेपले कस्तो भूमिका निभाउनुपर्छ जस्तो लाग्छ ?
– सर्वप्रथम योे कुरामा मेरो बिमति छ । त्यो के भने ओलम्पिक शब्द नै अन्तर्राष्ट्रिय हो । अहिले दुईवटा ओलम्पिक कमिटी दर्तामा देखिन्छ । ती दुई ओलम्पिकलाई एउटै बनाउनुपर्छ भन्ने मेरो मान्यता र प्रयत्न हो । त्यही प्रयत्न र अपिल गरेअनुसार अहिले दुई ओलम्पिकको देखिँदो समस्या हल भएको छ । वैधानिक समस्या भने हल हुन बाँकी छ । अब वैधानिक तरिकाले नै कसरी एउटा मात्र ओलम्पिक कमिटी राख्न सकिन्छ त्यसमा मेरो ध्यान केन्द्रित भएको छ । मलाई विश्वास छ– केही दिनमै एउटा मात्र ओलम्पिक कमिटी हुनेछ । दुईवटा ओलम्पिक कमिटी नभई एउटै ओलम्पिक कमिटी बनाउने मेरो अभिप्राय हो । त्यसका निम्ति पूर्णरूपले अस्तित्व नसकिए पनि केही समयमा एउटाको अस्तित्व सकिने र एउटै मात्र एनओसी रहनुपर्नेमा मैले विशेष भूमिका निभाइरहेको छु ।
० मधेस आन्दोलन रोकिएको छैन, यस्तो अवस्थामा आगामी मङ्सिरको दोस्रो सातादेखि पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय प्रतियोगिताको आयोजना कत्तिको चुनौतीपूर्ण देख्नुभएको छ । मधेस आन्दोलन नरोकिए प्रतियोगिता गर्न सम्भव छ त ?
– अलिकति जनमानसमा अन्योलको वातावरण छ, यही अवस्था रह्यो भने कसरी होला भनेर । तर, हामी भने विश्वस्त छौँ, जस्तोसुकै विषम परिस्थितिमा पनि सातौँ राष्ट्रिय प्रतियोगिता स्थगित हुने वा सर्ने कुनै सम्भावना छैन । हाम्रो कार्यतालिका नै त्यस्तो छ जसलाई पूर्वानुमानसहितको बनाएका छौँ । यसबेला नेपालीको महान् चाडपर्व पर्ने भएकाले पनि आन्दोलन हँुदैन । तर, मुलुक गृहयुद्धमा फस्यो र अहिलेसम्म नभएको आन्दोलन भयो भने त के भन्न सकिन्छ ? अन्यथा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्विवाद रूपमा सम्पन्न हुन्छ ।
० आगामी वर्ष भारतमा आयोजना हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारी र प्रदर्शनबारे के भन्नुहुन्छ ?
– अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि जुन रूपमा हामीले तयारी गर्नुपर्ने थियो त्यो भएको छैन । यसर्थमा कि अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने प्रशिक्षण भएको मैले पाएको छैन । त्यसैले थुप्रै पदक जित्ने कुरामा म आशावादी पनि छैन । तर, खेलाडीले यो दुई–तीन महिनाको अवधिमा ठूलो इच्छाशक्तिका साथ देशलाई सम्झिएर खेले भने चामत्कारिक नतिजा नल्यालान् भन्न सकिँदैन । मलाई के लाग्छ भने पूर्वाधार, साधन–स्रोत र सुविधाले मात्रै पदक प्राप्त हुन्छ जस्तो लाग्दैन । त्यसका लागि सबैभन्दा ठूलो इच्छाशक्ति हो, त्यसैमा सबै कुरा भर पर्छ । साधन–स्रोतको अभावमा पनि नेपालले सागमा ठूलो उपलब्धि हासिल गरेको ऐतिहासिक दस्तावेज हाम्रोसामु छ ।
० अन्त्यमा, समग्र खेलकुदको विकासबारे के भन्नुहुन्छ ? आफ्नो चारवर्षे कार्यकाललाई सम्झनायोग्य बनाउन के रणनीति अपनाउँदै हुनुहुन्छ ?
– पहिलो कुरा त यथास्थितिवादमा चलेको खेलकुदको आमूल परिवर्तन हुनु जरुरी छ । नेपालमा खेलकुदले धेरै ठूलो सम्भावना बोके पनि सरकारले ध्यान दिन सकेको अवस्था छैन । जनताले आशा गरेको र गौरव गरेको क्षेत्र खेलकुद भएकाले खेलकुदमा नेतृत्व गर्नेले यसलाई विशेष रूपमा प्राथमिकतामा राख्न सक्नुपर्छ । त्यसका लागि खेलकुदलाई भष्ट्रचारमुक्त, अनियमिततामुक्त, स्वार्थमुक्त, दलगत स्वार्थमुक्त, सबैको विश्वास जित्न सक्ने, सबैको साझा, गरिमामय, सम्मानित र पारदर्शी संस्था बनाउनतर्फ लाग्नुपर्छ । त्यसका लागि धेरैभन्दा धेरै पूर्वाधारको विकास गर्ने, खेल प्रतिभाको खोजी गर्ने, खोजिएका प्रतिभालाई संरक्षण प्रदान गर्दै उचित प्रशिक्षण दिलाउने, राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी बनाउने, यी खेलाडीलाई आफ्नो भविष्य सुनिश्चित भएको आत्मबोध गराउने, खेलाडी भएर बाँच्न सक्छु भन्ने आधार तयार पार्ने, खेलकुदमा लाग्ने वातावरण तयार पार्ने, खेलमैत्री वातावरण, खेल जागरणको वातावरण सिर्जना भयो भने खेलकुद अगाडि बढ्छ । खेल क्षेत्रले पनि मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ । हामीसँग नेपालको खेलकुदलाई कायापलट गर्ने योजना छ । यी कुरा खेलकुदमा लागू गर्न सकियो भने मेरो चारवर्षे काल ‘स्वर्णकाल’ नै बन्छ ।