इराकमा नदी गाउँ पसेपछि दुई सय घरपरिवार विस्थापित

इराकमा नदी गाउँ पसेपछि दुई सय घरपरिवार विस्थापित


इराकको पूर्वी क्षेत्रमा रहेको नदीमा पानीको बहाव बढेपछि त्यस आसपासका बासिन्दालाई अन्यत्र सारिएको छ । दियाला नदीमा बाढी आएपछि दुई गाउँका दुई सय घरपरिवारलाई शनिबार अन्यत्र सारिएको अधिकारीहरूले जनाएका छन् ।

दियाला प्रदेशको राजधानी बकुवादेखि उत्तरतर्फ पर्ने खार्नाबाट र हुवेडेर गाउँका बासिन्दालाई सारिएको बाकुवाका नगर प्रमुख अब्दुल्लाह अल हैयाल्यले जानकारी दिए । विगत केही दिनदेखि त्यस क्षेत्रमा वर्षा भएर बाढी आइरहेकाले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।

इरानसँगको सीमा क्षेत्रमा पर्ने इराकको पूर्वी र दक्षिणी क्षेत्रका धेरै ठाउँमा यसको प्रभाव परेको छ । इरानको पश्चिमी क्षेत्रमा पनि अत्यधिक वर्षा र बाढी आएको अधिकारीहरूले जनाएका छन् । दियालाको प्रान्तीय परिषदका सदस्य खुधेर अल ओबैडीले प्रान्तको पाँचवटै बाँध भत्किएको बताए । उनले धेरै वर्षपछि यस्तो भएको जानकारी पनि दिए ।

‘मान्दाली, क्वाजान्या, हिम्रिन, अल अधैम र अल वान्ड बाँधमा क्षमताभन्दा बढी पानी आएपछि बाँध नाघेर पानी बहेको छ,’ अल ओबैडीले भने । बाढी नियन्त्रण गर्न र विस्थापितको व्यवस्थापनका लागि इराकका प्रधानमन्त्री अडेल अब्दुल माहदीले आपतकालीन बैठक बोलाएका थिए ।