नेपालमा तेल र ग्यास उत्पादनको सम्भावना छ – डा. शङ्कर श्रेष्ठ

नेपालमा तेल र ग्यास उत्पादनको सम्भावना छ – डा. शङ्कर श्रेष्ठ


antarbicharकाठमाडौंको एक साधारण तथा ठेट नेवार परिवारमा जन्मेका शङ्करमान श्रेष्ठसँग बाल्यकालमा त्यस्तो कुनै खास सपना थिएन, जो आजको उनको नाम, काम या हैसियतसँग मेल खाओस् । काठमाडौंका रैथाने अन्य आमबालकजस्तै चङ्गा उडाउने, फुटबल खेल्नेलगायतका बाल्यकालीन मनोरञ्जन गर्दै उनी हुर्किए । ०२४ वैशाख २५ गते बुद्धपूर्णिमाको अघिल्लो दिन काठमाडौं लगनस्थित ब्रह्मटोलमा जन्मिएका उनलाई सरकारी सेवामा रहेका पिता खड्गमान श्रेष्ठले चाहिँ मिहिनेतका साथ पढेर ठूलो मान्छे बन्नुपर्छ भन्ने अर्ती दिइरहन्थे । तर, कसरी र कस्तो ठूलो मान्छे बन्ने भन्ने कुनै सोच–सपना शङ्करमानसँग थिएन । सुरुमा ल्याबरोटरी स्कुल हुँदै सात क्लासदेखि आदर्श विद्या मन्दिर पढेर ०४१ मा सोही स्कुलबाट एसएलसी गरेका उनको उच्च शिक्षा अमृत साइन्स कलेजबाट सुरु भयो । कलेजमा फिजिक्स (भौतिक विज्ञान) लिएर पढेका उनलाई सुरुदेखि नै म्याथम्याटिक्स (गणित)प्रति झुकाव थियो । आईएस्सी सकेपछि ढाकास्थित बंगलादेश युनिभर्सिटी अफ टेक्नोनोजीमा इलेक्ट्रोकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ब्याचलर गर्न गएका शङ्करमानले ढाकाबाट इन्जिनियरिङको पढाइ पूरा गरी सन् १९९३ मा स्वदेश फर्केर दूरसञ्चारमा इन्जिनियरको जागिर सुरु गरेका थिए । चार वर्ष मात्र त्यहाँ काम गरे पनि उनलाई त्यो अवधिको सम्झना अति नै रमाइलो अनुभूतिसहित हुने गर्छ । किनकि, आज उनी जुन स्थानमा छन्, यसको ढोका तत्कालीन नेपाल दूरसञ्चार संस्थानको त्यही जागिरले खोलिदिएको थियो ।
बंगलादेश युनिभर्सिटी अफ टेक्नोलोजी (ढाका)बाट इलेक्ट्रिकल एन्ड एलेक्ट्रोनिक्स इन्जिनियरिङमा ब्याचलर गरेका शङ्करमानले त्यतिबेला नेपालमा पहिलोचोटि भित्याइएको भी–स्याट प्रणाली (स्याटलाइट टेक्नोलोजी)मा काम गर्ने ऐतिहासिक अवसर पाए । नेपालका मुगु, डोल्पा, हुम्ला, एभरेस्ट बेसक्याम्पलगायत हिमाली भेकमा माइक्रोबेभबाट सञ्चालन हुन नसकेको दूरसञ्चार सेवा स्याटेलाइट प्रणालीबाट प्रदान गरिँदै थियो । त्यहाँ भी–स्याट प्रणाली जड्ने काममा उनी खटिए । पहिलोपटक उक्त जापानी प्रविधि जडान गर्नुअघि सर्भे आवश्यक थियो । सर्भेको कामदेखि नै उनी संलग्न भए । पछि सोही कामको तालिमका निम्ति दूरसञ्चारले नै उनलाई जापान पठायो । उक्त तालिम लिएर आएपछि जोमसोङमा भी–स्याट जडान गर्ने उनी नै नेपालका पहिलो इन्जिनियर बन्न पुगे ।
सोही कामको सिलसिलामा युवा उमेरमै जाँगरिला शङ्करमानले नेपालका ५४ जिल्ला घुम्ने अवसर पनि पाए । उक्त प्रणाली जडान गर्नुपर्ने ठाउँ अति नै विकट भएकाले ज्यान नै जोखिममा राखेर काम गरेको सम्झना ताजै छ उनलाई । बाँदरसमेत नहिँड्ने ठाउँमा समेत उनी हिँडे त्यसबेला । पहाडको टुप्पामा भी–स्याटसम्बन्धी यन्त्रका साथ सोलार प्यानल जडान गर्नुपर्ने काम निकै कठिन थियो । कम्युनिकेसनका लागि जोमसोममा त्यतिबेला ‘आवा’को मात्रै सुविधा थियो । सिम्पलेस भनिने सो प्रणालीमा एकातिरबाट मात्र बोल्न मिल्थ्यो भने स्याटलाइट राखेपछि दुईतिरबाट एकैचोटि बोल्न मिल्ने टेलिफोन सेवा पाएर स्थानीयवासी अत्यन्तै खुसी भए । शङ्करमानलाई पनि अत्यन्त आनन्द र सन्तुष्टि मिल्यो । काम सम्पन्न हुनेबित्तिकै पहिलो टेलिफोन कल उनले आफ्ना बुबालाई गरेका थिए । माइक्रो प्रणाली नपुग्ने अत्यन्त दुर्गम इलाकामा अहिले पनि भी–स्याट प्रणालीले नै काम गरिरहेको जानकारी दिन्छन् डा. शङ्करमान श्रेष्ठ ।
भी–स्याट जडान एवम् मर्मतसम्बन्धी काममा पोख्त शङ्करमानलाई चार वर्षपछि जापान सरकारको छात्रवृत्तिमा मास्टर्स तहको अध्ययन गर्न जाने अवसर मिल्यो । पढाइको लागि आवश्यक बिदा लम्ब्याउन नपाएपछि उनले दूरसञ्चारको जागिर नै छोड्नुप-यो । यसरी मास्टर्स गर्न दुई वर्षका लागि जापान गएका उनी त्यहाँ पीएचडीका लागि पनि छनोटमा परेपछि उनको जापान बसाइ लम्बियो । ग्रासरुट लेभलदेखि नै भिजेर नेपालमा पहिलोपटक उक्त जापानी प्रविधि (भी–स्याट प्रणाली) स्थापित गराएकाले जापानिजहरू शङ्करमानसँग निकै प्रभावित भएका रहेछन्, जसले गर्दा त्यहाँ उनलाई अवसरमाथि अवसरको ओइरो नै लाग्यो । इलेक्ट्रोनिक्स इन्जिनियरिङमा मास्टर्स गरेर पीएचडी गर्दागर्दै उनलाई त्यहाँको एउटा कम्पनीमा राडारसम्बन्धी कामको अफर आयो । सिग्नल प्रोसेसिङसम्बन्धी काममा दक्षता हासिल गर्दैगर्दा जापान गएको र राडारको सिग्नल प्रोसेसिङसम्बन्धी काममा उनी लागेका थिए । पीएचडी सकिनेबित्तिकै सुरक्षासम्बन्धी प्रविधि विकासको काम गर्ने एक ठूलो कम्पनीका मानिस युनिभर्सिटीमै भेट्न आए । त्यहीँ उनलाई कामको अफर दिइयो र साइन गर्न भनियो । उनका प्रोफेसरले पनि राम्रो कम्पनी हो भनेर सिफारिस गरेपछि उनी अनुबन्ध भए । त्यो कम्पनी थियो– डिफेन्स र स्याटलाइटसम्बन्धी काममा संसारमै नाम कमाएको ‘मेइसी इलेक्ट्रिकल कम्पनी’ । त्यहाँ तीन वर्ष काम गर्दा अमेरिकाको नासा, फ्रेन्च काउन्टरपार्ट र जापानको जाक्सासँग मिलेर पनि उनले नयाँ–नयाँ प्रविधि विकसित गरे । उनका दुई–तीनवटा आविष्कारलाई ‘प्याटेन्ट’ पनि मिल्यो । यसरी सम्बन्धित क्षेत्रमा डा. शङ्करमान श्रेष्ठको ख्याति बढ्न थाल्यो । जापानमा भुइँचालो गइरहने, भूकम्पका कारण संरचना भत्किएर मानिस पुरिँदा शङ्करमानको सीप उपयोगमा आउँथ्यो । पुरिएको मानिसको मुटुको धड्कन बाँकी रहँदासम्म कहाँनेर कसरी पुरिएको छ भन्ने उक्त विधिमार्फत पत्ता लगाउन सकिन्थ्यो । उक्त प्रविधिको आविष्कारक प्रोफेसर नै शङ्करमानका पीएचडी गुरु थिए । तर, ठूलो कम्पनीमा सुरक्षासँग सम्बन्धित काम गर्दा निकै गोप्यता अवलम्बन गर्नुपर्ने हुनाले व्यक्तिगत एक्टिभिटिजमा त्यति स्वतन्त्रता नभएको उनलाई आभास भयो । जमिनमुनिको अवस्थालाई सेन्सरबाट पत्ता लगाउने काम (ग्राउन्ड पेनिट्रेटिङ रेडार सिस्टम–जीपीआरएस) भएकाले उच्च महत्वका साथ गोप्यता अपनाउनुपथ्र्यो । अरूसँग बोल्न नमिल्ने, कतै पेपर प्रिजेन्टेसन गर्न पनि कम्पनीको स्वीकृति लिनुपर्ने हुन्थ्यो । व्यापारिक रहस्यको खुलासा नहोस् भनी कर्मचारीलाई त्यस्तो नियन्त्रण गरिएको थियो । त्यस्तै बेला एक ‘वयल एन्ड ग्यास इन्डष्ट्रिज’बाट उनलाई कामको थप राम्रो अफर आयो । कुन–कुन स्थानमा तेल/ग्यास (पेट्रोलियम) छ भनी पत्ता लगाउन सर्भे गर्ने, डेटा एनालाइसिस गर्ने उनको दायित्व थियो । पछि सोनी स्क्यानर डेभलोपर कम्पनीमा पनि तीन वर्ष उनले काम गरे । यसरी जापानमा लगभग १२–१३ वर्ष गुजारे डा. शङ्करमान श्रेष्ठले । यस अवधिमा उनको योग्यता–क्षमताको ख्याति सम्बन्धित क्षेत्रमा विश्वभर फैलिसकेको थियो ।
यसरी इलेक्ट्रो–कम्युनिकेसन्स युनिभर्सिटी (जापान)बाट इलेक्ट्रोनिक इन्जिनियरिङमा पीएचडी गरेका डा. शङ्करमान श्रेष्ठ हाल अमेरिकाको साल्ट लेकसिटीस्थित टी.डी. विलियमसन्स नामक विश्वविख्यात कम्पनीमा डाटा साइन्स ग्रुपको सिस्टम इन्जिनियरका रूपमा तेल र ऊर्जासम्बन्धी कार्यमा संलग्न छन् । तेल तथा ग्यासको पाइपलाइनसम्बन्धी काममा विख्यात सो कम्पनीमा रिसर्च एन्ड न्यु टुल डेभलपमेन्ट सेक्सनका सिस्टम इन्जिनियरको रूपमा उनको निकै ठूलो इज्जत छ । स्वदेशबाहिर रही काम गर्ने लाखौँमध्ये यसस्तरको काम र इज्जत हासिल गर्ने नेपाली औँलामा गन्न सकिने मात्र रहेका छन् ।
सिग्नल प्रोसेसिङ, इलेक्ट्रोम्याग्नेटिक, राडारमा विशेष काम गर्दै आएका शङ्करमानले इलेक्ट्रोम्याग्नेटिक सेन्सर तथा सिग्नल प्रोसेसिङ, ग्राउन्ड पेनिटेरिङ राडार (जीपीआर), एरी एन्टेना, एकोस्टिक सेन्सर, हाई रिसोलुसन सिग्नल प्रोसेसिङ, एनालग फिल्टर, सफ्टवेयर डिभलोपमेन्ट, जियोसाइसिस, अन्डरग्राउन्ड इन्भेस्टिगेसन, इमेजिङ एन्ड लग इन्टरप्रियसनलगायतमा विज्ञता हासिल गरेका छन् भने तेल तथा ग्यास, पाइपलाइन, इलेक्ट्रोनिक्स, प्रोजेक्ट म्यानेजमेन्ट, डिजिटल सिग्नल, प्रोजेक्ट प्लानिङ, इन्सपेक्सन, अप्टिमाइजेसन, सिमुलेसन, इन्जिनियरिङ म्यानेजमेन्ट, रिस्क एसिस्मेन्ट, म्याथम्याटिकल मोडेलिङ, जियोसाइसिस, सफ्वेयर डिभलोपमेन्टलगायतमा उनले आफ्नो दक्षता देखाउँदै आएका छन् ।
आफूलाई अमेरिकाबाट कामको प्रस्ताव आएको सन्दर्भ सम्झिँदै डा. श्रेष्ठ भन्छन्, ‘जापानमा आयल एन्ड ग्यासमा काम गर्दागर्दै टीडी विलियमसन्स कम्पनीले मलाई राडार र सोनार (साउन्ड इनर्जी र इलेक्ट्रोमाइन इनर्जी) मिसाएर नयाँ प्रविधि विकसित गर्ने प्रस्तावसहित अफर ग-यो । तिम्रो ब्याकग्राउन्ड मिल्छ, एक वर्षदेखि हामी तिमीलाई नियालिरहेका छौँ, तिमी नै चाहियो भन्ने प्रस्ताव आएपछि बुबासँग सल्लाह गरेँ । जापान मात्रै कति बसिरहने भन्ने पनि मलाई लागिरहेको थियो । तर, बुबाले जापान छोडेर अमेरिका होइन अब नेपाल नै फर्क भन्न थाल्नुभयो । त्यसैले उक्त अफरप्राप्तिपछि पनि ६ महिना म चुपै बसेँ । तर, अनुरोध आएकोआयै भयो । पछि दशैँमा टीका लगाउन घर आएको बेला मन फेरियो र करियरको नयाँ गन्तव्यको लागि अमेरिका जाने निधो गरेँ । सन् २०१० मा सबै कुराको व्यवस्था मिलाएर जापानबाट उनीहरूले नै मलाई स्थानान्तरण गराए । सहजै ग्रिनकार्डको व्यवस्था पनि कम्पनीले नै मिलाइदियो ।’
अहिले सोही कम्पनीमा रिसर्च एन्ड डेभलोपमेन्टको कि–पर्सन भएर प्रिन्सिपल इन्जिनियरको हैसियतमा डा. शङ्करमान श्रेष्ठ काम गरिरहेका छन् । उनको काम रेडार र सोनारलाई कम्बाइन गरेर इलेक्ट्रो माइनेटिक एकोस्ट्रिक ट्रान्समिसन (ईम्याक्ट) सेन्सरको डेभलप गर्ने रहेको छ । इलेक्ट्रिक इनर्जी दिएर साउन्ड इनर्जी क्रियट गर्ने अर्थात् अल्ट्रा साउन्ड क्रियट गरेर ग्यासपाइपमा ट्रान्समिट गर्ने र जहाँनेर पाइप क्र्याक भई चुहिएको हुन्छ त्यो पत्ता लगाउने काम हो त्यो । इलेक्ट्रिकल इनर्जी दिएर साउन्ड इनर्जी सिर्जना गर्नेमार्फत सो विधिजमिनभित्र ग्यासपाइप कहाँ टुटफुट या लिक भएको छ भनी पत्ता लगाई आवश्यक मर्मतका लागि उपयोग हुन्छ । वातावरण या पर्यावरण जोगाउने सवालमा त्यो अति महत्वपूर्ण मानिन्छ । तीन सय विलियन डलरको बिजनेस रहेको तेल (ग्यास) उद्योगहरूले बिच्छ्याएका हजारौँ माइल पाइप जमिन एवम् समुद्रमुनि छ । यसरी बिच्छ्याइएका पाइप लिक भएमा निकै जनधनको क्षति हुन सक्छ, पृथ्वीको पर्यावरणमा अत्यन्त नकारात्मक असर पु-याउँछ (यस्ता घटना धेरै नै भइरहेका छन्, तर ढाकछोप गरेर मिडियामा नआउने गरेको विज्ञहरूको दाबी छ ।) । त्यसैले यसमा खराबी आउनुअघि नै पत्ता लगाएर बचाउ गर्नुपर्ने हुन्छ । अमेरिकन सरकारले यसमा निकै सचेतना अपनाएको र सम्बन्धित कम्पनीहरूलाई कडाइ गरेको छ । त्यसैले ठूला कम्पनीले शङ्करमानजस्ता विज्ञलाई खोजी–खोजी काम दिएको छ ।
जमिनमा तेल पत्ता लगाउने प्रविधिमा आफूले काम गरेको आधारमा शङ्करमान श्रेष्ठ भन्छन् कि नेपालमा वयल पकेट (तेल भएको स्थान)को सम्भावना निकै छ । अर्थात्, पेट्रोल निकाल्न सकिने सम्भावना प्रचुर छ यहाँ । तर, अरब मुलुकमा जस्तो दुई–चार मिटर जमिन खन्दैमा तेल निस्कने अवस्था नभएकाले यहाँ तेल निकालेर धन आर्जन गर्ने कार्य दुरुह सावित हुन सक्छ । ५–६ किलोमिटर तलसम्म अन्वेषण गरी ड्रिलिङ गर्नुपर्ने हुन्छ । तथापि, प्रविधिको विकास भएको छ, लगानीकर्तालाई विश्वास दिलाएर नेपाल भित्याउन सके ठूलो लाभ लिन सकिन्छ । ठूलो लगानी लाग्ने यो काम राज्य या सरकारको हो । नेपालले राम्रो नीति बनाएर लगानीकर्ता भित्याउन सक्छ । यसका लागि ‘पोजेटिभ एटिच्युड’का साथ बाह्य लगानीकर्ता व्यक्ति, समूह या कम्पनीसँग ‘लङ टर्म एग्रिमेन्ट’ गर्नुपर्ने हुन्छ । अमेरिकन, बेलायती र युरोपियन कम्पनीहरू यसका लागि तत्पर हुन सक्छन् ।
यतिबेला आफू अमेरिकन कम्पनीमा काम गरिरहेको भए पनि आवश्यक परे देशका लागि काम गर्न हरदम तत्पर रहेको अभिव्यक्ति दिन्छन् शङ्करमान । स्वदेशका लागि फ्री कन्सल्ट्यान्सी दिन सकिने ‘देशका लागि आफूले सक्ने योगदान किन नगर्ने ?’ भन्छन् उनी । थप्छन्, ‘नेपालको तराई बेल्टमा तेलखानी हुन सक्छ भन्ने प्रतिवेदन त मैले खानी विभागमा पनि पाएँ । भारतमा पनि यस्तोे स्थान धेरै पत्ता लागिरहेको छ । त्यसका आधारमा नेपालका तराई इलाकामा पनि पेट्रोलियम पाइने सम्भावना प्रचुर छ । रिसर्च गर्नु अत्यावश्यक भइसक्यो, सधैँ तेल छैन भन्दै बसेर काम चल्दैन, अत्यावश्यक इन्धन आफैँ उत्पादन गर्न राज्य लाग्नुपर्छ ।’ डा. शङ्करमानका अनुसार जमिनमा प्रेसर र टेम्प्रेचर बढी हुने स्थानमा पेट्रोलियमको सम्भावना हुन्छ । नेपाल पनि यस्तै भूभाग हो, प्रेसरले गर्दा नै यहाँ बेलाबेलामा ठूलो भूकम्प आउने गर्छ । नेपालमा यसको कति सम्भावना छ भन्नेचाहिँ रिसर्च गरेर मात्र भन्न सकिने बताउँछन् उनी । सम्भाव्यता अध्ययनका लागि नेपाल सरकारको लगानीले मात्र पुग्दैन, उनका अनुसार विदेशी कम्पनीसँग मिलेर यो काम गर्न सकिन्छ ।
जोमसोममा भी–स्याट प्रविधि स्थापित गर्ने सफलता पाउँदा सर्वाधिक आनन्दको अनुभूति गरेका शङ्करमान श्रेष्ठको जीवनमा दुःखका क्षण पनि नभएका होइनन् । स्वदेशबाहिर रहँदा आइपर्ने अनेक समस्या, झन्झट वा दुःखलाई उनी जीवनको स्वाभाविक प्रक्रिया सम्झेर सन्तोष मान्छन् । मानिसको जीवनमा उतारचढाव भइरहन्छ, यस्तो प्रक्रिया चलिरहनुपर्छ, यसले नै सन्तुलित भएर बाँच्न सघाउँछ भन्ने धारणा बनाएका उनी हरदम आशावादी बनेर जिउन चाहन्छन् ।
‘अमेरिकाजस्तो मुलुकमा रही विशिष्ट प्रकारको काम गर्न पाउँदा कस्तो महसुस भएको छ ?’ भन्ने जिज्ञासा राख्दा उनी भन्छन्, ‘मेरै नेतृत्वमा ईम्याक्ट सेन्सर टेक्नोलोजी विकास भई सफलताका साथ प्रयोग भइसक्यो । मेरैअन्तर्गत विभिन्न मेकानिक इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, सफ्टवेयर इन्जिनियरहरू काम गर्छन् । अमेरिकाजस्तो ठाउँमा पनि यत्रो उपलब्धि हासिल गर्न सक्दा सार्थक काम गरेको महसुस भएको छ । सन्तुष्ट छु । तर, यो काम गर्न र यो उचाइमा पुग्न सजिलो भने थिएन । धेरैपटक असफलता पनि व्यहोर्नुपरेको अनुभव मसँग छन् । धेरै रात अनिदै बिताएको छु । असफल हुँदैमा आत्तिनु हुँदोरहेनछ भन्ने मैले आफ्नै जीवनबाट सिकेको छु । लगन र परिश्रमले सफलता दिँदोरहेछ । धैर्य कायम राख्दा सफलता प्राप्त हुन्छ । हाम्रो कम्पनीको मेनेजर र सीईओले पनि प्रोत्साहन दिने गरेका छन् ।’
० सानो परिवेशबाट उठेर आजको स्थानमा पुग्ने सोच वा उद्देश्य पहिले बनाउनुभएको थियो ?
– त्यस्तो खास उद्देश्य नराखेको भए पनि जीवनमा केही गर्नुपर्छ भन्ने भाव मभित्र कलिलै उमेरदेखि पैदा भएको थियो । सानोमा म पनि अन्य सामान्य केटाकेटीजस्तै अल्छी नै थिएँ । मिहिनेत गर्नुपर्छ भनेर बुबाले पनि शिक्षा दिइरहनुहुन्थ्यो । उता जापानले मलाई ‘पोलाइटनेस’ र ‘पङ्चुआलिटी’ सिकायो भने अमेरिकाले मिहिनेत । कुनै नेपाली त्यस्तो कम्पनीमा टिक्नु भनेको उसभित्र ‘केही’ भएरै मात्र सम्भव हुन्छ, त्यत्तिकै त सजिलो छैन । केही कुरा राम्रोसँग गरी देखाउन सक्यो भने मात्रै हो अमेरिका, जापानमा इज्जतका साथ टिक्न सकिने । नेपालमा जस्तो भनसुन चल्ने होइन, सिफारिसकर्ता भनेकै आफ्नै क्षमता या काम हो । त्यस्तो मुलुकमा यसरी टिकेर विशेष सफलता हात पार्नु भनेको झन् गाह्रो कुरा हो । विदेशमा नेपाली भन्नेबित्तिकै तल्लो स्तरको काम गरेको होला भन्ने सोच बनाइन्छ, तर विकसित मुलुकका अन्वेषक/वैज्ञानिकसरह या त्योभन्दा पनि अब्बल तहमा सफलताका साथ काम गरिरहेका निकै नेपालीजन देखिन थालेका छन् । आफ्नै देशले नचिने पनि विदेशले चिन्न थालिसकेको छ ।
० नेपालमा काम गरिखाने माहोल नबनेको किन होला ?
– सङ्क्रमणकालले गर्दा यस्तो भएको होला । ट्रान्जेक्सन पिरियडमा जहाँ पनि यस्तै डिस्टर्वेन्स हुन्छ । अर्को दुःखलाग्दो पाटो पनि छ– नेताहरू भिजनरी भइदिएनन् । नेताहरू भिजनरी र फारसाइटेड हुने हो भने ‘रिभर्स माइग्रेसन्स’को कन्सेप्ट बनाएर बाहिर गएका नागरिकलाई ल्याई देश निर्माणको काममा लगाउन सकिन्थ्यो । यसका लागि राजनीतिक स्थिरता आवश्यक छ । बाह्य लगानी भित्याएर लगानीकर्ता र नेपाल दुवैलाई लाभ पुग्ने ‘विन–विन’ प्रोजेक्टको खाँचो यहाँ छ । विस्तारै यस्तो वातावरण बन्ला पनि ।
० नेपालको भविष्यप्रति कति आशावादी हुन सकिएला ?
– मानिस दुई किसिमका हुन्छन्, आशावादी र निराशावादी । कोही मानिस समस्या समाधान गर्ने खालको हुन्छ त कोही समस्या पैदा गर्ने स्वभावको । मचाहिँ आशावादी व्यक्ति हुँ । छिमेकका दुई ठूला मुलुक (चीन र भारत) विकसित भएपछि नेपालमा यसको प्रभाव स्वतः नै पर्नेछ भन्ने मेरो विश्वास छ । त्यसैले पनि म त एकदम आशावादी छु । मानिस निगेटिभ एटिच्युडमा पनि बाँचिरहेका हुन्छन्, तर पोजेटिभ भएर बाँच्नुको सार्थकता नै अर्कै हुन्छ । त्यसले आफूलाई मात्र नभई अरूलाई पनि ऊर्जा दिन्छ । म नेपालको भविष्यप्रति किन आशावादी छु भने अहिले चीन र भारत दुवै छिमेकीको जीडीपी एकदम बढिरहेको छ । उनीहरू खत्तम हुन्थे भने बीचमा रहेको हामी जतिसुकै सम्पन्न भए पनि खत्तम नै हुन्थ्यौँ । तर, छिमेकीको विकासको प्रभाव हामीमा स्वतः पर्दै जान्छ । यो अवसरको लाभ कसरी उठाउने भन्ने सोच–समझमा हाम्रो प्रगतिको गति भरपर्ने हुन्छ । भारत सफ्टवेयरका लागि तगडा छ भने चीन हार्डवेयरको लागि अब्बल । बेइजिङ र दिल्ली जोड्ने रेललाइन काठमाडौं छोएर लैजान र काठमाडौंलाई बिजिनेस हब बनाउन सकिने हो भने व्यापारिक उन्नतिको हिसाबले योजस्तो सुवर्ण अवसर नेपालका लागि अरू केही हुन सक्दैन भन्ने मलाई लाग्छ । यसका लागि दुवै छिमेकीसँग उत्तिकै सन्तुलित सम्बन्ध भने हाम्रो राजनीतिक नेतृत्वले कायम राख्न सक्नुपर्छ । चिनियाँ र भारतीय टुरिस्ट एकदम खर्चिला स्वभावका हुने हुनाले त्यसको पनि लाभ हामी उठाउन सक्छौँ ।
० राष्ट्रियताको नाममा छिमेकी देशको खोइरो उतार्ने प्रवृत्ति हामीकहाँ देखिन्छ, यो प्रवृत्ति कति सही वा गलत हो ?
– यो त निकै नराम्रो हो । आजको युगमा यस्तो चल्दैन । यस्तो हुनुहुँदैन । शिक्षाको अभावले पनि यस्तो हुँदोरहेछ । विस्तारै मानिसहरू एजुकेटेड भएर गएपछि सायद बुझ्छन् र यस्तो सोच अन्त्य भएर जाला । आजको जमाना कुनै बाउन्ड्रीको जमाना होइन । सीमाहीन भएर हामी काम गर्न सक्छौँ । जहाँ बसेर पनि काम गर्न सकिन्छ । आईटीमा इन्डिया धेरै अगाडि गइसकेको छ । आईटीको हब काठमाडौं बनाउन सकियो भने पनि आर्थिक उन्नति गर्न सकिन्छ । यस्तो सोच राख्नुको साटो छिमेकीको विरोध मात्रै गर्ने हो भने हाम्रो प्रगतिमा बाधा पुग्छ । छिमेकीले रोक्छ भन्नु हाम्रै कमजोरी हो । हामी सार्वभौम मुलुकका नागरिक हौँ भन्ने सोच्नुप-यो । अर्कालाई दोष दिनेभन्दा आफू सही ठाउँमा उभिन खोज्नुप-यो ।
० अब सधैँ अमेरिका बस्ने कि के सोच छ, नेपालले तपाईंबाट के पाउने ?
– म जहाँ पुगे पनि, जति–जे गरेर नाम कमाए पनि मेरो आधार त यही मातृभूमि नै हो । यही माटोको उपज हुँ म । त्यसैले स्वदेशका लागि केही गर्नुपर्छ भन्ने भाव हरदम मभित्र रहेको छ । उतै बसेर पनि यहाँको लागि केही गर्ने सोच बनाइरहेको छु । हेर्दै जाऊँ के–के गर्न सकिन्छ । नेपालमा इनर्जी र इन्डष्ट्रीको विकास गर्नुपर्छ । म आफू तेल उत्पादन कम्पनीसँग सम्बन्धित काम गर्ने भएकाले त्यसको अनुभवका आधारमा तेल खानीसम्बन्धी अन्वेषण हुनुपर्छ भन्न चाहन्छु । बाहिरका कम्पनीलाई आकर्षित गर्न गम्भीरताका साथ लाग्नुपर्छ । लगानीकर्ताको लगानीको सुरक्षा पनि र उनीहरूको मनिटरिङ पनि हुनुपर्छ । प्रोटेक्सन एन्ड मनिटरिङ । लगानीकर्ताले मुनाफा खोज्ने हुनाले सोको वातावरण बनाइनुपर्छ । विशेषज्ञहरूको सहयोग लिनुपर्छ । पर्यटन र जलविद्युत्बाहेक तेल र ग्यास उत्पादनमा पनि नेपालको भविष्य छ भन्न सकिन्छ । आवश्यक परे फर्केर तत्काल देश आउन पनि सकिन्छ । मैले भनिहालेँ, आजको सीमाहीन ग्लोबलाइजेसनको युगमा जहाँ बसेर पनि काम गर्न सकिन्छ । जहाँ बसे पनि मन स्वदेशमा हुनुप-यो । यहाँ बसेर पनि मन अन्यत्र छ भने के काम ?
० मुलुकको राजनीतिप्रति कति चासो दिनुहुन्छ नि ?
– कुनै दलविशेषप्रति झुकाव नराखे पनि, पार्टीविशेषको झन्डा बोकेर नहिँडे पनि देशको राजनीतिबारे चासो र ज्ञान राख्ने गरेको छु । बिहान उठ्नेबित्तिकै नेपालमा के–के भइरहेको छ भनेर समाचार साइटहरू नियाल्छु । हाम्रा प्रायः नेताहरूले देशभन्दा आफ्नो हितमा मात्र बढी केन्द्रित भएर काम गरेजस्तो आभास मिल्छ । सायद म मात्र नभई अधिकांशले यस्तै सोचेका होलान् । देश बनाउँछु भनेर जिम्मेवार ठाउँमा पुगेका नेताले आफू, आफ्नो परिवार, आफ्नो पार्टीलाई होइन सबभन्दा पहिला देश, जनता हुँदै आवश्यक परे पार्टी, परिवार र आफूमा ध्यान पु-याउनु उचित होला भन्ने ठान्छु । अहिले जे गरिरहेछन्, यसबाट ठ्याक्कै रिभर्स हुनुपर्छ उनीहरू । नेताहरूले उल्टो सोच–व्यवहार गर्नाले देशले दुःख पाइरहेको छ ।
– जेपी त्रिपाठी