तीन साहित्यक व्यक्तित्वलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिने

तीन साहित्यक व्यक्तित्वलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिने


अन्तर्राष्ट्रिय क्षेत्रका तीनजना महानुभावहरूलाई नइ प्रकाशनले २०७५ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनले दुई लाख रुपियाँ राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ संयुक्त रूपमा भारतका १०१ वर्षीय श्री हायमनदास राई किरात तथा ८६ वर्षीय डा. लक्खीदेवी सुन्दासलाई समर्पण गर्ने निर्णय गरेको हो ।

नेपाली वाङमयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुऱ्याएबापत उहाँहरूलाई सो पुरस्कार समर्पण गरिने भएको नई प्रकाशनले जनाएको छ । यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ ।

यसैगरी नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सृजनात्मक र सङ्गठनात्मक रूपमा निरन्तर समर्पित रहँदै विशिष्ट योगदानका निम्ति अमेरिकावासी गोविन्द गिरी प्रेरणालाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । यो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १००औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा नइ अन्तर्राष्ट्रिय पुरस्कारहरू समर्पण गरिने नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।