चैत तेस्रो साता गुल्मीमा कांग्रेसका शीर्ष नेताहरुको जमघट हुने

चैत तेस्रो साता गुल्मीमा कांग्रेसका शीर्ष नेताहरुको जमघट हुने


  • रमेश विश्वकर्मा, गुल्मी

चैतको तेस्रो साता गुल्मीमा नेपाली कांग्रेसका शीर्ष नेताहरुको जमघट हुने भएको छ । कांग्रेस केन्द्रिय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, केन्द्रीय सदस्य गगन थापा, गुरु घिमिरे लगायत पार्टीका प्रभावशाली नेताहरु गुल्मी आउने आउने भएका हुन् ।

नेपाली कांग्रेस गुल्मीको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको उदघाटन कार्यक्रममा सरिक हुन शीर्ष नेताहरु गुल्मीमा भेला हुन लागेका हुन् । गुल्मी कांग्रेसले यही चैत्र १६ र १७ गते भव्यताका साथ जिल्ला सम्मेलन गर्न लागेको हो ।

यसअघि गर्ने भनिएको सम्मेलन पार्टीको महासमिति बैठकका कारण केन्द्रिय नेताहरुको अनुपस्थिति हुने देखिएपछि स्थगित गरिएको थियो । नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनलाई निकै महत्व र चसोको रुपमा हेरिएको छ । सम्मेलनबाट सिङ्गो कांग्रेसलाई मजबुत र एकतामा ल्याउन राष्ट्रिय रुपमै सन्देश प्रवाह हुने जिल्लाका नेता कार्यकर्ताहरुको अपेक्षा छ ।

कांग्रेसको विधानअनुसार प्रत्येक वर्ष जिल्ला सम्मेलन गर्ने व्यवस्था भएता पनि विभिन्न प्राविधिक कारणले हुन नसकेको बताउँदै अहिले गुल्मी कांग्रेसले ऐतिहासिक रुपमा जिल्ला सम्मेलन गर्न लागेको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले बताए । उनले पार्टी संगठनलाई जिल्लादेखि गाउँ र स्थानीय तहसम्म बलियो र सशक्त ढङ्गले अगाडी बढाउने, कार्यकर्तालाई प्रशिक्षण दिने, वर्तमान सरकारले गरेका ज्यादतीको भण्डाफोर गर्ने उद्देश्य रहेको भन्दै पार्टीलाई आगामी दिनमा कसरी अगाडी बढाउन कस्तो खालको रणनीति बनाउने जस्ता कुराहरु जिल्ला सम्मेलनबाट तयार गर्ने सभापति श्रेष्ठले जानकारी दिए ।

गत फागुन २२ गते बसेको जिल्ला कार्य समितिको २७औं बैठकको निर्णय अनुसार यही चैत्र १६ र १७ गते हुन लागेको प्रथम जिल्ला सम्मेलनको तयारीको लागि जिल्लाका १२ वटै स्थानमा पालिकास्तरीय भेला राखिएको नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

ऐतिहासिक जिल्ला सम्मेलनलाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइरला, केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता शर्मा, केन्द्रीय सदस्य डा. भण्डारी, केन्द्रीय सदस्य गगन थापालगायत नेताहरुले सम्बोधन गर्ने तय भएको पार्टी सुचना तथा सञ्चार विभाग प्रमुख विष्णुकुमारी सापकोटाले जानकारी दिइन् ।

१२ वटै स्थानीय तहमा पालिकास्तरीय भेला

नेपाली कांग्रेस गुल्मीले यतिबेला पालिकास्तरीय भेला सञ्चालन गरिरहेको छ । जिल्लामा रहेका १२ वटै स्थानीय तहमा पालिकास्तरीय भेला सम्पन्न गर्ने नेका गुल्मीले जनाएको छ । ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको तयारीको लागि जिल्लाका गाउँपालिका तथा नगरपालिकामा भेला आयोजना गरिएको पार्टी उपसभापति विष्णु बलालले बताए ।