लोप हुँदै जनकपुरका पोखरी





  • रामभरत साह

५२ कुटी ७२ कुण्डको नाउँबाट ख्यातिप्राप्त जनकपुरको ऐतिहासिक, पौराणिक तथा सांस्कृतिक महत्व बोकेका रामायणकालीन यहाँका यी पोखरीहरू भूमाफियाहरूको मिलिभगत, महन्थहरूको स्वार्थी नीति तथा गुठी संस्थानका भ्रष्ट मानसिकता र राजनीतिकर्मीहरूको भोटको राजनीतिक स्वार्थताका कारण ऐतिहासिक पोखरी, तलाउ, मठ, मन्दिर, जग्गाजमिनहरू भूमाफियाको ग्रास बन्दै गएको छ भने महन्थ गुठीका कर्मचारीहरू, राजनीतिकर्मीदेखि बिचौलियाहरू मोटाउँदै र पोखरी, मठ, मन्दिर र जग्गा जमिन दुब्लाउँदै गएका छन् । नेपालको धनबाट भारतीय बैंकहरू भरिँदै र जग्गाजमिन महँगिँदै गएको छ ।

भनिन्छ– मिथिलाको राजधानी जनकपुर क्षेत्रमा २०८ पोखरी थिए, जसमा बिस्तारै १५६ पोखरी वर्तमानमा लोप भइसकेको देखिन्छ । वर्तमानमा ५२ वटा पोखरी अस्तित्वमा रहे पनि लोपोन्मुख अवस्थामा रहेको छ । निजीकरणको चपेटामा परेका पोखरीको ठाउँमा वर्तमानमा निजी निवास तथा व्यावसायिक प्रतिष्ठानहरू ठडिएका छन् भने सरकारी कार्यालय तथा निवासमा परिणत भएको छ । जनक सरोवर, अमृत कुण्ड, गोपाल सर, पयश्विनी सर, बलदेव सर, धोवीयाही पोखरी, पापमोचनी सरजस्ता दर्जनौँ पोखरीहरूको अस्तित्वहरूसमेत लोप भइसकेका छन् भने कुन पोखरी, कुन ठाउँमा र पोखरीहरूको नामावली तथा पहिचानसमेतको तथ्याङ्क न त गुठीसँग छ न त कुनै मठमन्दिरसँग ।

वि.सं. २०६७ सालको गुठी संस्थान जनकपुरको तथ्याङ्कअनुसार ५२ वटा पोखरी अस्तित्वमा रहेको र तिनका डिल मात्र नभई समस्त पोखरी नै मासिने, कमाउने, निजीकरण गर्ने चलखेलमा राजनीतिकर्मीहरूको संरक्षणमा महन्थ, साधु सन्त, गुठी, भूमाफिया, मालपोत कार्यालय सबैको संलग्नता रहेको स्पष्ट देखिएको छ भने आफ्ना महन्थ पद जोगाउन र महन्थाई पाउनका लागि समेत मठमन्दिरका ठूलै भूभाग मासिने गरिएको पाइएको छ । पर्यटकीय केन्द्रको रूपमा समेत महत्वपूर्ण पोखरीहरू धार्मिक दृष्टिकोणबाट अति नै महत्वपूर्ण रहेको भए पनि माछापालन गरी नगदेबालीको रूपमा रहेको पोखरीका निमित्त महन्थबीचको हानथाप, आन्तरिक द्वन्द्वदेखि गुटबन्दी र कानुनी लडाइँदेखि हत्यासमेत भएको गराएको विगतका घटनाबाट स्पष्ट देखिएको छ ।

मन्दिर र पोखरीको नामबाट परिचित जनकपुरधाम मठमन्दिर र पोखरीविहीन बन्दै गएको देखिन्छ । एकातिर पोखरीहरू मासिँदै गएको छ भने अर्काेतिर पोखरीहरूमा बृहत्तरद्वारा गरिएको कमसल कार्य, कमिसनखोरीका कारण समेत अलपत्र पर्दै गएको छ । विगतमा सङ्घीय सरकारले जनकपुरका पोखरीहरूको सौन्दर्यीकरणका निमित्त २ सय करोड सहयोग दिए पनि हालसम्म कतै केही नभएको देखिन्छ भने ३ वर्ष अगाडि बृहत्तरको अगुवाइ जानकी मन्दिरसँगै रहेको तेलहा (तेलदिघृघिका सर) र मडहा (मडालसर) सौन्दर्यीकरणका निमित्त ३ करोड सहरी विकास तथा भवन निर्माण कार्यालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत आएको रकमसमेत कता हरायो बुझ्न सकिएन ।

त्यस्तै विधि सोही योजनाअन्तर्गत जनकपुरधाम ७ स्थित महाराजसागर (दशरथ तलाउ) पोखरीको सौन्दर्यीकरणका निमित्त ३ करोड ६१ लाख रुपैयाँ दुई वर्षअगाडि छुट्याई कार्यसमेत सम्पन्न भएको छ भने जनकपुरधाम २० देवपुरा रूपैठास्थित नोचा पोखरी सौन्दर्यीकरणका लागि ३ करोड ५५ लाख छुट्याइएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष रामकुमार शर्माले २०७१ सालमा पोखरीहरूलाई अतिक्रमण मुक्त गर्ने थालनी गरे पनि राजनीतिक तथा जातीय र नातागोताको दबाबमा सफल हुन सकेन ।

प्रतिक्रिया