उम्मेदवार छान्न भाजपाको बैठक

उम्मेदवार छान्न भाजपाको बैठक


भारतीय जनता पार्टी (भाजपा)ले आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्न केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टी अध्यक्ष अमित शाहले बैठकमा आगामी लोकसभा निर्वाचनका लागि उम्मेदवारको सूची पेस गर्ने विषयमा आवश्यक छलफल भएको थियो ।

शनिबार राति अबेर बोलाइएको सो बैठकले आइतबार बिहानीपखसम्म छलफल गरी आगामी आमनिर्वाचनमा पार्टीका तर्फबाट ११ वटा राज्यमा उठाइने उम्मेदवार छनोट गरेको बताइएको छ । स्रोतका अनुसार उनीहरूले अहिले ११ राज्यका निर्वाचन क्षेत्रका लागि उम्मेदवारको सूची तयार पारेका छन्, तर उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

उक्त समितिले बिहार, उत्तराखण्ड, आसाम, अरुणाञ्चल, मणिपुर, त्रिपुरा, आन्द्र प्रदेश, महाराष्ट्र र जम्मु तथा कास्मिरका लागि उम्मेदवारहरुको सूची बनाएको बताइएको छ । पश्चिम बंगल, बिहार, उत्तरप्रदेश, उत्तराखण्ड, आसाम, आन्द्र प्रदेश, महाराष्ट्र र जम्मु तथा कास्मिरमा पहिलो चरणमा निर्वाचन हुन लागेको छ ।

सात चरणमा हुने निर्वाचनअन्तर्गत पहिलो चरणको निर्वाचन भने अप्रिल ११ मा हुने तय भएको छ । मन्त्रीहरू सुष्मा स्वराज, राजनाथ सिंह, अरुण जेट्ली र किरण रिजिजु पनि बैठकमा सहभागी भएको समाचारमा जनाइएको छ ।