मेक्सिकोमा फेरि मारिए पत्रकार

मेक्सिकोमा फेरि मारिए पत्रकार


मेक्सिकोमा फेरि एकजना पत्रकारको हत्या भएको समाचार छ । शनिबार ती पत्रकारलाई आफ्नै घरमा गोली हानी हत्या गरिएको हो ।

यस वर्ष अर्थात गएको तीन महिनामा मात्र मेक्सिकोमा तीन जना पत्रकारको हत्या भएको छ । यसबाट मेक्सिकोमा पत्रकारको सुरक्षाको अवस्था निकै दर्दनाक बन्न पुगेको एएफपीले जनाएको छ ।

शनिबार मारिएका पत्रकार स्यान्टियागो ब्यारोसहित यस वर्ष मेक्सिकोमा तीन जना पत्रकार मारिएका समाचारमा जनाइएको छ । मेक्सिकोमा गएको सात वर्षमा कम्तीमा पनि सय जना पत्रकार मारिएका छन् ।

यहाँ हुने राजनीतिक भ्रष्टाचार र लागूऔषधको कारोबार गर्ने भूमिगत गिरोह तथा तस्करबाट यहाँका पत्रकार असुरक्षित रहँदै गएको सरोकारवालाको भनाइ छ ।

सान लुइस रियो कोलोराडो नगरमा ती पत्रकार बसोबास गर्दै आएका थिए । सो नगरका मेयर सान्टोस् गोन्जालेजले पत्रकार स्यान्टियागोको हत्याको निन्दा गरेका छन् । उक्त नगर संयुक्त राज्य अमेरिकाको सीमा क्षेत्रबाट नजिक पर्दछ ।

मेक्सिकोका राष्ट्रपतिको कार्यालयका प्रवक्ता जिउज रामिरेजले पत्रकारमाथि हुदै आएका यस्ता हत्याका घटना नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिकै हनन भएको बताएका छन् ।

पत्रकार स्यान्टियागोलाई गएको शुक्रबार मध्यराति आफ्नै निवासमा पुगी गोली प्रहार गरिएको थियो । सो प्रहारबाट सख्त घाइते भएका उनलाई अस्पताल पु¥याएको भए पनि बाटोमै मृत्यु भएको बताइएको छ ।

४७ वर्षीय ती पत्रकारको हत्याका लागि दुई अज्ञात व्यक्ति उनको निवासमा पुगेका थिए । ती व्यक्तिले पत्रकारको ढोका ढक्ढकाएका र ढोका खुलेपछि उनीमाथि तीन गोली वर्षाइएको थियो ।

पत्रकार स्यान्टियागोले सो नगरमा लागूऔषधको अवैध ओसारपसार गर्ने गिरोहका विरुद्धमा समाचार लेख्ने गरेका थिए । स्था

स्थानीइ पत्रकारहरुका अनुसार ती पत्रकारको हत्यामा यसै काममा संलग्न व्यक्तिको हात रहेको हुन सक्छ तर यस विषयमा प्रहरीले भने केही बताएको छैन ।

यसअघि गएको फेब्रुअरी ९ मा पनि मेक्सिकोको एक सामुदायिक रेडियोका समाचारदाताको हत्या भएको थियो । सन् २०१२ देखि २०१८ सम्म मात्र यहाँका १०२ जना पत्रकारको हत्या भएको थियो ।

ती पत्रकारका हत्यारा पत्ता लगाई उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्न स्थानीय पत्रकारले माग गर्दै आएका छन् तर पत्रकारका हत्याराको कारबाही भने हुने गरेको छैन ।