दुई पाइलटको जहाज !

दुई पाइलटको जहाज !


  • अर्जुनराज पन्त

कहिले पुग्ला गन्तव्यमा दुई पाइलटको जहाज
चर्चा अति मन्द गति मात्र ठूलो आवाज,

एउटा सिटमा दुईटा पाइलट बसे जानाजानी
मै चलाउँछु जहाज भन्दै गर्दै खिचातानी,

एक्लै छोड्दा एक–अर्कामा शंका भा’र हो कि ?
हिँड्दा र’छन एकअर्कालाई सँगसँगै बोकी,

साँघुरो त्यो एउटा कुर्ची दुइटा पाइलट बसी
गन्तव्यमा पुग्ने हो कि जल्छ भुइँमा खसी !?

दाँया–बाँया बस्ने पाइलट एकैठाँउमा बस्दा
तिमी पनि बाँचौला र भुइँमा जहाज खस्दा ?

जहाजलाई गति दिने मात्र एउटा चाबी
त्यहि चाबीमा हुँदा आज दुइटा पाइलट हाबी,

कुहिरोभित्र अल्मल्लिएर हराएझैँ बाटो
गतिविहीन जहाज भयो हुँदा मनमा फाटो,

एउटा ताक्छ दक्षिण दिशा अर्को ताक्छ उत्तर
सिधै अघि बढ्ने जहाज भयो ठाडो पुच्छर,

दुई ब्राण्डका फरक इञ्जिन परिक्षण उडान
न त मिल्छ आकार गति न कसिलो जडान,

नराम्ररी हल्ल्यो जहाज खस्लैजस्तो गरी
क्याबिनको ढोका खोल्दै निस्की एउटी परी !

सुन्दरी त्यो एअर होस्टेज रै’छे स्वरकी धनी
सबै यात्रु शान्त पार्दै गीतैबाट भनी-

‘समृद्धिको उडान हो हुन्छ घच्याकघुचुक
चिम्म गर्नुस् पेटि कस्नुस् हुन्न थच्याकथुचुक !!’

उसले भने सुन्थे कि खै भनेजस्तो गरी
यात्रु सबै जम्मा भए उसकै वरिपरि,

दुई पाइलटको मनमुटाबवमा खस्ने हो कि जहाज
लौ न नानी भित्र गएर सुनाउ न यो आवाज,

एउटा मुख्य अर्को सहायक हुनुपर्ने ठाउँमा
जहाजै पो धराप भयो गठबन्धनको नाउँमा !