नेपाल र नेपालीप्रति मोदीजी निकै सकारात्मक पाएँ– प्रचण्ड (अध्यक्ष, एकीकृत नेकपा माओवादी)

नेपाल र नेपालीप्रति मोदीजी निकै सकारात्मक पाएँ– प्रचण्ड (अध्यक्ष, एकीकृत नेकपा माओवादी)


prachanda123० तपाईंले हालै गर्नुभएको भारत भ्रमण कत्तिको उपलब्धिमूलक रहेको ठान्नुहुन्छ ?
– भारत यात्रामा जानुअघि मैले सञ्चारकर्मीका साथै आमनेपाली जनतासमक्ष प्रस्ट शब्दमा भनेरै आएको हुँ कि हामीलगायत नेपालका प्रमुख राजनीतिक दलहरूले शान्तिबहाली र संविधान निर्माण प्रक्रिया सम्पन्न गर्ने निर्णय गरिसकेका छौँ । संविधान निर्माणको सन्दर्भमा पहिलो मस्यौदा जनताका हातमा पुगिसकेको छ । शान्ति र संविधान निर्माण प्रक्रियामा हामीलाई सुरुदेखि नै सहयोग गर्दै आएका हाम्रा छिमेकी मुलुकहरू, विशेषगरी भारतको सद्भाव आवश्यक छ भन्नेमा हामी प्रस्ट छौँ । त्यसैको निम्ति वातावरण बनाउने उद्देश्यका साथसाथै भूकम्पले पु¥याएको क्षतिपछि गुजरातमा पुनर्निर्माण कसरी गरिएको रहेछ भन्ने अध्ययन गर्नु पनि मेरो भारत यात्राको ध्येय थियो । यसबाहेक दुई छिमेकी देशबीचको सम्बन्धलाई नयाँ किसिमले अघि बढाउन पहल गर्ने सोच पनि थियो मेरो । भारतमा राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री तथा विभिन्न दलका शीर्ष नेताहरूसँग मैले भेटघाट र कुराकानी गरेँ । छलफलका क्रममा मैले मुलुकको शान्ति र संविधानलाई सफल पार्नेबारे नेपालमा भइरहेका काम–कारबाही र नेपालका दलहरूले गरेको निर्णयको पक्षमा मैले आफ्नो तर्कहरू राखेँ । भारतीय सरकार, त्यहाँका नेताहरू र भारतीय जनताको विश्वास हामी र हाम्रा प्रयासप्रति रहनेछ भन्ने विश्वास मैले लिएको छु । यस आधारमा भ्रमण उपलब्धिमूलक नै भयो भन्ने ठानेको छु ।
० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाहिँ तपाईंसँग खास के कुरा गर्नुभयो ? संविधान निर्माण सम्बन्धमा उहाँले कुनै राय–सुझाव पनि दिनुभयो कि ?
– मप्रति विशेष आत्मीयता दर्शाउँदै ‘नेपालको शान्ति र संविधानको काममा तपाईंको भूमिका अहम् रहन्छ र रहनुपर्छ’ भनी भारतीय गृहमन्त्री राजनाथ सिंह र प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विशेष जोड दिएर भन्नुभएको छ । यसबाहेक प्रधानमन्त्री मोदीले नेपालमा बन्न लागेको संविधानमा यही नै हुनुपर्छ या यस्तो हुनुहुँदैन भनी केही पनि भन्नुभएन । सङ्घीय प्रदेशको सीमाङ्कन र नामाङ्कनको विषयमा हामीकहाँ जुन खिचलो चलेजस्तो देखिँदै छ, यसबारे मोदीजीले एक शब्द पनि उच्चारण गर्नुभएन । उहाँले यत्ति मात्र भन्नुभयो कि बढीभन्दा बढी सहमतिबाट संविधान बनोस् । उहाँकै शब्दमा भन्ने हो भने झगडाको बिउ बाँकी नरहने गरी सबैसँग राम्रो छलफल गराएर अधिकतम सहमतिबाट संविधान बनोस्, नेपालमा राजनीतिक स्थिरता होस् भन्नेमै उहाँको विशेष जोड रह्यो । मलाई लागिरहेको छ कि नेपाल र नेपालीप्रति मोदीजी निकै सकारात्मक हुनुहुन्छ ।
० अब बन्ने संविधानप्रति सबैको अपनत्व देखियोस् भन्ने मोदीको चाहना रहेछ भनी बुझ्दा हुन्छ ?
– एक्ज्याक्ट्ली † यो हुनुपर्छ–त्यो हुनुपर्छ त उहाँले भन्दै भन्नुभएन, अर्थात् उपदेश दिने शैलीमा उहाँ पटक्कै प्रकट हुनुभएन । बरु, सबै पक्षको सहमति र अपनत्व भएको संविधानले नै नेपाललाई अघि बढाउन सजिलो तुल्याउँछ भन्ने उहाँको प्रस्ट अभिव्यक्ति थियो । नेपालमा ट्रमा सेन्टरको उद्घाटनको अवसरमा मोदीजीले माओवादी, मधेसी, पहाडे सबैको अधिकतम सहमति संविधानमा रहँदा बेस हुने सुझाव दिनुभएको थियो, जसलाई मैले भारतमा भएको भेटका अवसरमा पनि स्मरण गराएँ । उहाँले पुनः त्यसमा जोड दिनुभयो । वास्तवमा यतिबेला जनताको हातमा संविधानको मस्यौदा छ, पर्याप्त बहस र छलफल चलिरहेका छन् । मस्यौदामा परिमार्जन हुने ठाउँ पनि छ । संविधानमार्फत बढीभन्दा बढी जनताको आवाज वा चाहना सम्बोधन गर्ने हाम्रो कोसिस पनि जारी नै रहेको तथ्य पनि मैले मोदीजीलाई अवगत गराएँ ।
० मधेसवादी दलहरूलाई पनि नबिच्क्याईकन साथमा लिएर अघि बढ्नुपर्छ भन्ने सङ्केत हो भारतीय प्रधानमन्त्री मोदीको ?
– झन्डै चालीस मिनेट गरिएको मोदीजीसँगको कुराकानीका क्रममा वास्तवमा मैले जे बुझेँ, त्यसका आधारमा त म त्यो भाषामा अभिव्यक्त हुन चाहन्न । उहाँको आशय मधेसतिर झुकाव र पहाडतिर उपेक्षा भन्ने थिएन । समग्रमा संविधान अधिकतम सहमतिबाट बनोस्, कसैले पनि अपनत्व नभएको संविधान भन्ने नठानोस्, राम्रो छलफल गरेर बनोस् ताकि संविधान जारी भएपछि नेपालमा द्वन्द्व सिर्जना नहोस् भन्नेमा उहाँको चिन्ता प्रस्टै देखिन्थ्यो । पुनः म जोड दिएर भन्न चाहन्छु कि संविधान जारी हुने, तर फेरि पनि विवाद कायम रहने अवस्था नरहोस्, यस्तो भएमा नेपाल पुनः समस्यामा फस्न सक्छ, त्यसैले नेपालका लिडरहरूले विचार पु¥याऊन् भन्नेमा भारतीय प्रधानमन्त्रीको विशेष चासो र चिन्ता रहेको मैले अनुभूति गरेँ ।
० प्रचण्डको भारत भ्रमणपछि राष्ट्रिय राजनीतिमा ठूलै मोड आउन सक्छ भन्नेसम्मका अनुमान पनि यहाँ गरिए, तपाईंले आफ्नो भ्रमणलाई कुन रूपमा आँकलन गर्नुभयो ?
– मैले कुनै व्यक्तिगत लाभको निम्ति भारत यात्रा गरेको होइन । अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको नेपाल राष्ट्रको हितप्रति सचेत रहँदै, संविधान छिटो बनोस् भन्ने नेपाली जनताको चाहनाप्रति संवेदनशील हुँदै एउटा मस्यौदासमेत दिएर त्यसलाई परिमार्जन गर्ने प्रक्रिया चलिरहेको परिवेशमा म शान्ति र संविधानको पक्षमा छिमेकीको सद्भाव जुटाउने ध्येयले भारत यात्रामा निस्केको हुँ । अर्को कुरा, कालापानी र सुस्ताको समस्याबारे मोदीजीले जो काठमाडौंमा पनि बोल्नुभएको थियो– यस विषयलाई पनि स्मरण गराएँ मैले मोदीजीलाई । प्रधानमन्त्री नरेन्द्र मोदीप्रति नेपाली जनतामा बेग्लै विश्वास पलाएकोले दुई देशबीचका समस्या समाधानको दिशातिर जानेमा आशा पैदा भएको कुरा प्रस्टसँग मैले राखेँ । मोदीजी हालै चीन यात्रामा गएर फर्कनुभएपछि लिपुलेकको विवाद जन्मेको छ, यसबारेको वास्तविकता पनि जनसमक्ष आओस् भन्ने चौतर्फी आवाज उठेकाले यसमा पनि मोदीजीको धारणा सार्वजनिक होस् भन्ने कुरा मैले गरेँ । समग्रमा भन्नुपर्दा दुई देशको हित र आपसी सम्बन्धलाई नयाँ ढङ्गमा थप अघि बढाउने सवालमा निकै सकारात्मक कुरा भएका छन् । यसबाट मेरो भारत यात्रा ओजिलो भएकै महसुस गरेको छु ।
० लिपुलेक आदिबारे कस्तो प्रतिक्रिया दिनुभयो त मोदीजीले ?
– नेपालको चिन्ता र आवश्यकताबारे आफ्नोतर्फबाट जे–जति गर्न सकिन्छ म गर्छु भन्नुभयो उहाँले । नेपालको शान्तिप्रक्रियाको ठूलो र ऐतिहासिक महत्व रहेको कुरा पनि मोदीजीले गर्नुभयो । ठ्याक्कै लिपुलेकको बारेमा चाहिँ उहाँले कुनै कमेन्ट गर्नुभएन । सायद पहिले नै मैले विदेशमन्त्रीसँग यो विषयमा गम्भीर कुरा गरिसकेकोले पनि होला । तथ्यहरूका आधारमा यथाशीघ्र समाधानको उपाय ल्याउनुप¥यो भनी मैले विदेशमन्त्री सुषमा स्वराजसँग गम्भीर रूपले कुरा राखेकोले त्यो रिपोर्टिङ पक्कै प्रधानमन्त्री मोदीलाई भइसकेको हुनुपर्छ र उहाँले पनि यस विषयलाई गम्भीर रूपमै लिनुभएको होला भन्ने मलाई लाग्छ ।
० तपाईंको भारत भ्रमण सम्पन्न भएको छ, अब लिपुलेकको समस्या समाधान हुन्छ भनी बुझ्ने कि कसो हो ?
– लिपुलेकबारे जनताको चासो र चिन्ता अनि नेपालको आफ्नो पक्ष या सरोकारलाई मैले गम्भीरताका साथ प्रस्तुत गरेको छु । भारतले गम्भीरताका साथ यसको हल निकाल्नेछ भन्ने विश्वासका साथ म स्वदेश फर्केको छु । भारत र चीन दुवै देश संलग्न रहेकाले एउटाले मात्रै बोल्न गाह्रो पनि पर्ला उहाँहरूलाई । तर, नेपालको चिन्तालाई उहाँहरूले राम्रोसँग बुझ्नुभएकाले यसको समुचित समाधान निकालिनेछ भन्नेमा म पूरापूर आशावादी छु । यहाँनेर म के पनि जोडुँ भने विनाशकारी भूकम्पबाट नेपाल आहत भएको बेला उद्धार र राहतमा भारतले जुन तदारुकता देखायो, जुन मात्रामा सहयोगको घोषणा ग¥यो, यसका निम्ति पनि मैले भारत सरकार र त्यहाँका नेताहरूलाई हार्दिक आभार प्रकट गरेँ । भूकम्पीय प्रकोपको सन्दर्भमा जुन सदासयता नेपाल र नेपालीप्रति भारतले दर्शायो, त्यसका आधारमा अन्य समस्याको समाधानमा पनि उसले गम्भीरता दर्शाउने विश्वास मभित्र पलाएको छ ।
० तपाईंको भारत यात्राप्रति आशङ्का जनाएर विरोध जताउने काम पनि कतिपय कोणबाट भए नि, के भन्नुहुन्छ ?
– हाम्रो देशलाई सतीले सरापेको देश पनि भन्छन् क्यारे † भीम मल्लको पालादेखि नै यस्तो चल्दै आएको छ । हाम्रो दुर्भाग्य नै हो कि राम्रो उद्देश्य राखेर देश र जनताको पक्षमा, दुई देशको सम्बन्ध सुधारको पक्षमा काम गर्दाखेरि पनि एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति नै यदाकदा देखिन्छ । तथापि, निरन्तर देश र जनताको पक्षमा काम गर्दै गएपछि विरोध र अवरोधका उपक्रमहरू आफैँ पन्छिएर जानेछन् भन्नेमा म आशावादी छु ।
० सीमाङ्कन र नामाङ्कनसहित संविधान आउनुपर्ने जो माग छ, यो सम्बोधन होला ?
– भारत यात्रामा निस्कनुअघि नै मैले भनेको हुँ कि सकभर त्यस्तो हुन सकेकै राम्रो हो । अब जनताबाट रायसुझाव आइसकेपछि एकपटक यस विषयमा दलहरूबीच छलफल होला । त्यसपछि मात्र केही भन्न सकिएला ।