दुईपक्षीय सम्बन्ध सबल बनाउन भारतमा डा. सङ्ग्रौलाको सक्रियता





ख्यातिप्राप्त कानुनविद एवम् राष्ट्रवादी चिन्तक डा. युवराज सङ्ग्रौला यतिबेला छिमेकी मित्रराष्ट्र भारतमा छन् र उनले त्यहाँ रहँदा विभिन्न महत्वपूर्ण व्यक्तिहरूसँग भेट गरी नेपाल–भारत सम्बन्ध थप प्रगाढ एवम् विश्वसनीय बनाउन छलफल चलाइरहेका छन् ।

सङ्ग्रौलाले त्यहाँ आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी भएर दुई मुलुकबीचको सम्बन्धलाई परस्पर हितमा केन्द्रित बनाउने उपायहरूका बारेमा पनि आफ्नो धारणा प्रकट गरिरहेका छन् ।

भाजपानिकट चर्चित वरिष्ठ अधिवक्ता मोनिका अरोरासँग महत्वपूर्ण कुराकानी गरेर समान धारणा बनाएका डा. सङ्ग्रौलाले राजस्थानस्थित बहुचर्चित इन्द्रप्रस्थ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन् । यसअघि राजस्थान हाइकोर्ट बारका नरेन्द्र पुरी र गोबर्द्धनजीलगायतका कानून व्यवसायीहरूसँग उनले छलफल गरेका थिए ।

कानून व्यवसायीहरूसँगको छलफलका क्रममा डा. युवराज सङ्ग्रौलाले भनेका थिए– ‘नेपालले आर्थिक विकासको कोर्शलाई निर्वाध रूपमा अगाडी बढाउनुपर्छ । चन्द्रगुप्त मौर्यको समयमा ऊनका उत्पादनको व्यापार गर्ने नेपाल आर्थिक दृष्टिले स्वावलम्बी हुन सम्भव छ । हाम्रा बाध्यता र सीमा हामीले बुझेका छौँ, हाम्रा छिमेकीहरूले पनि बुझिदिनु पर्दछ । भारतीय बौद्धिक वर्गले नेपालका समस्या बुझ्न सके भने भारतको सरकारले नेपालप्रतिको दृष्टिकोण बदल्न सक्छ । तर तपाईंहरूको प्रेसले उछालेका हल्लाले हामीलाई धेरै समस्यामा पार्न सक्छ ।’

डा. सङ्ग्रौलाको भनाइपछि राजस्थानी कानून व्यववसायीहरूले नेपालका निम्ति जस्तोसुकै सहयोग गर्न तयार भएको प्रतिबद्धता जाहेर गरेका थिए ।

जयपुरस्थित नेपाली र भारतीय विद्यार्थीहरूको सम्मेलनलाई सम्बोधन गर्दै डा. सङ्ग्रौलाले भनेका छन्– ‘कालिङ्ग युद्धपछि राजा अशोकले आफ्नी छोरी चारुमतीका साथ नेपाल भ्रमण गरेका थिए । सायद सम्राट अशोक धनानन्दका विरुद्ध आफ्ना हजुरबुबा चन्द्रगुप्त मौर्यको सम्मानका निम्ति नेपालको समर्थन जुटाउन चाहन्थे । नेपाल ऐतिहासिक कालदेखि नै एक सार्वभौम र स्वतन्त्र मुलुकका रूपमा स्थापित थियो । पाँचौँ शताब्दिमा मगधका अभिरहरूले नेपालमा आक्रमण गर्दा नेपालका राजा अंशुवर्माले उनीहरूको आक्रमणलाई नराम्रोसँग परास्त गरेका थिए ।’

इतिहास स्मरण गर्दै सङ्ग्रौलाले अगाडी भने– ‘चिनियाँ यात्री ह्वेन साङले वर्णन गरेअनुसार त्यसबेला नेपालको सीमाना दक्षिणमा भारतको चम्पारणसम्म थियो, बेलायती लेखक कुनिङघामले पनि ह्वेन साङकै वर्णनलाई उद्धृत गरेका छन् । त्यस समयमा नेपालले मगधमा ऊन र ऊनबाट बनेका सामग्रीहरूको व्यापार गर्ने गरेको कौटिल्यले आफ्नो ग्रन्थमा उल्लेख गरेका छन् । त्यसताक नेपालको फलाम र तामाको गुणस्तर उच्च भएकोले मगधमा तामा र फलामको समेत ब्यापार हुने गरेको देखिन्छ ।’

सङ्ग्रौलाले त्यसताक नेपालको मगध र चीन (तिब्बत) दुवै मुलुकसँग सन्तुलित एवम् विश्वासपूर्ण सम्बन्ध रहेको स्पष्ट गर्दै भने– ‘नेपालको भूगोल समस्या होइन, खराब नीतिहरू मात्र समस्या बनेका हुन् । नेपाल र भारतको सम्बन्ध जनस्तरमा अत्यन्त सुमधुर रहेको बताउँदै डा. सङ्ग्रौलाले ‘भौगोलिक सीमाको आकारका आधारमा नभई सार्वभौमिक समानता र सम्मानका आधारमा परस्पर ब्यवहार गर्न सक्यौँ भने दुई मुलुकबीचको सम्बन्ध प्रगाढ बन्ने’ स्पष्ट गरेका छन् ।

प्रतिक्रिया