अरनिको राजमार्गमा किन दुर्घटना भइरहेछन् ?

(२० वर्षअघिको घटना र विचार)





  • हरि मञ्जुश्री

अचेल अरनिको राजमार्गमा प्रत्येक दुई दिनमा एउटा सवारीसाधन दुर्घटनाग्रस्त हुने गरेको छ । बस, मिनीबस, ट्रक, मोटरसाइकल आदि जुनसकै सवारीसाधन पनि दुर्घटनामा पर्ने गरेका छन् । अघिल्लो हप्ता यो पङ्क्तिकार स्वयम् एउटा प्रत्यक्षदर्शी बन्यो दुर्घटनाको । झन्नै यो पङ्क्तिकारले पनि संसारबाट बिदा लिनुपरेको थियो । त्यसैले अघिल्लो हप्ता यो स्तम्भ प्रकाशित हुन सकेन ।

यति धेरै दुर्घटना किन भइरहेछन् ? यो पङ्क्तिकारले अरनिको राजमार्गबाट यात्रा गर्ने धेरैजनासँग यस सम्बन्धमा छलफल गऱ्यो । धेरैजनाले धेरै प्रकारका कुराहरू उठाए । श्री ५ को सरकारले ती कुराहरूउपर गम्भीरतापूर्वक विचार गरी आवश्यक कदम चाल्नु अत्यन्त जरुरी भइसकेको छ । दुर्घटना हुनाका कारणहरू यसरी व्यक्त भएका थिए–

१. सडकको चौडाइ ज्यादै साँगुरो छ । पिच सडकको एउटा किनारामा एउटा गाडी र अर्को किनारामा अर्को गाडी ठड्यायो भने बीचमा केवल ३ फिट मात्र पिच बाँकी रहन्छ । सडकको दायाँबायाँ ३–३ फिट जग्गा छोडिएको छ । त्यही जग्गामा बिजुलीका खम्बाहरू गाडिएका छन् र खम्बासँगै ढल निकासको लागि नाला खनिएको छ । बस, मिनबीस, ट्रक, मिनीटाटा, मोटरसाइकल, साइकल र पैदलयात्री पिच सडकबाट या सडकको किनाराबाट हिँड्नुपर्छ । सडक नै यस्तो साँगुरो भएपछि दुर्घटना नहुने प्रश्नै भएन ।

२. सडक साँगुरो भए पनि धेरैतिर जाने गाडीहरू यही राजमार्ग बाट चल्छन् । सूर्यविनायक, ठिमी, भक्तपुर र च्यामासिङ जाने गाडीहरू, पनौती र धुलिखेल जाने गाडीहरू, पलाञ्चोक भगवतीस्थान, मेलम्ची, तातोपानी, बाह्रबीसे, चौतारा जाने गाडीहरू देवीटार जिरी, चरिकोट जाने गाडीहरू एउटै सडकबाट चल्छन् । सवारीसाधनहरू अत्यधिक सङ्ख्यामा भएकाले पनि साँगुरो सडकमा दुर्घटना हुने गरेको हो ।

३. साँगुरो सडकमा अत्यधिक सवारीसाधन गुड्ने गरेकाले यात्रुहरू कसले बढी ओसार्ने भन्ने होड चल्ने गरेको छ । त्यसैले एकले अर्कोलाई छिनछिनमा उछिन्ने (ओभरटेक गर्ने) प्रवृत्ति बढेको छ । पैदलयात्रुहरू हिँड्ने ठाउँ नहुँदा उनीहरूलाई जोगाउँदै ओभरटेक गर्न खोज्दा गाडी दुर्घटनामा पर्ने नै भयो ।

४. अधिकांश ड्राइभरहरू ३५ वर्षभन्दा कम उमेरका छन् । यो उमेरमा होस थोरै र जोस धेरै हुन्छ । यो मनोवैज्ञानिक असर हो, उमेरको अपरिपक्वताको कारणले आएको हो । त्यसैले त्यो उमेरका ड्राइभरहरू बढी गतिमा अर्थात् घुम्ती र ओरालोमा समेत घन्टाको ६०–७० किलोमिटरको गतिमा गाडी चलाउँछन् । फलतः दुर्घटनाले गाडीलाई पछ्याउने गरेको छ ।

५. ड्राइभरहरू केटीहरूलाई र आफन्तहरूलाई आफ्नो छेउको सिटमा राख्ने गर्छन् । गाडी चलाउँदा उनीहरूसँग गफ गर्छन् । कतिपय ड्राइभर त रक्सी पिएर गाडी चलाउँछन् । रक्सीको नसामा जिस्किँदै, गफ गर्दै बढी गतिमा गाडी चलाएपछि गाडीले दुर्घटनाको सिकार हुनु स्वाभाविकै हो ।

६. ट्रक र मोटरसाइकल चलाउनेहरू अरूको तुलनामा बढी लापरबाहीपूर्ण तरिकाले सवारी हाँक्छन् । उनीहरूको हँकाइले पनि दुर्घटना निम्त्याउने गरेको छ ।
७. अरनिको राजमार्गमा भक्तपुरको जगाती र साँगाको बीचमा, काभ्रेको धुलिखेल र पाँचखालको बीचमा अनि त्यसपछि धेरै लामो दूरीसम्म पनि प्रहरीहरू भेटिँदैनन् । प्रहरीको सङ्ख्यामा कमी भएर अथवा ठाउँठाउँमा प्रहरीचौकी नभएर पनि यस्तो भएको हुन सक्छ । प्रहरीहरू नभएको ठाउँमा लापरबाहीपूर्ण तरिकाले सवारीसाधन चलाउने गरेकाले त्यस्ता ठाउँमा धेरैपल्ट दुर्घटनाहरू भएका छन् ।

८. ड्राइभरहरूको हँकाइ हेर्दा प्रहरीले योग्य व्यक्तिलाई सवारीचालक अनुमतिपत्र नदिएको भान परेको छ । प्रहरीलाई ५,००० रुपैयाँ दियो भने जाने पनि नजाने पनि घरैमा लाइसेन्स आइपुग्छ भन्नेहरू धेरै छन् । प्रहरीको व्यवहार त्यस्तो देखिएकाले नै यस्तो भन्ने गरिएको होला । गाडी चलाउन नजान्ने तर लाइसेन्स भएकै आधारले गाडी चलाउने भएपछि दुर्घटना हुनु अस्वाभाविक होइन ।

९. प्रहरीहरूले कहिलेकाहीँ ड्राइभरहरूको लाइसेन्स जाँच गर्ने गरेको देखिएको छ ।

कैयौँपटक लाइसेन्स खोसेकोसमेत देखिन्छ । तर, केही डाइभरको भनाइ छ– सय–पचास रुपैयाँ दियो भने लाइसेन्स फिर्ता लिन सकिन्छ । अनि केही प्रहरीहरूको भनाइ छ– लाइसेन्स खोसे पनि विभिन्न ठाउँबाट दबाब आउने गरेकाले लाइसेन्स फिर्ता दिन कर लाग्छ । जेहोस्, यसले पनि सवारीसाधनको दुर्घटनामा सहयोग पुऱ्याएको छ ।
१०. कैयौँ यात्रु हतार भएकोले ‘गाडी छिटो चला’ भनेर ड्राइभरलाई बढी गतिमा गाडी चलाउन प्रेरित गर्छन्, बिस्तारै गाडी चलाएमा गाली गर्छन् । ‘गुरुजी’ र ‘मामाजी’को मित्रता छ भने त प्रहरीले ड्राइभरतर्फ ध्यान नै दिँदैन । दुर्घटनाको एउटा कारण यो पनि हो ।

उल्लिखित कारणहरूबाहेक अरू कारणहरू पनि धेरैवटा हुन सक्छन्, जसले सवारी दुर्घटना नित्याइरहेछन् अरनिको राजमार्गमा । यी कारणहरूको विषयमा विश्लेषण गरेर श्री ५ को सकारकारका सम्बन्धित निकायहरूले आ–आफ्नो क्षेत्रबाट यथासम्भव प्रयत्न गरेनन् भने अझै धेरै दुर्घटनाहरू हुन सक्छन् ।

बनेपा–बर्दिवास राजमार्ग बन्दै छ । यो बनिसकेपछि अरनिको राजमार्गसँगै यो राजमार्ग जोडिन्छ । त्यसपछि जनकपुर, राजविराज, धरान, धनकुटा, विराटनगर, काँकडभिट्टा आदि स्थानहरूमा जाने सवारीसाधन पनि यही सडकबाट जानुपर्ने हुन्छ । यहाँको वर्तमान स्थिति त्यसबेलासम्म पनि रहिरहने हो भने बनेपा–बर्दिबासको बाटोबाट काठमाडौंबाट पूर्वलाग्ने गाडीहरूको चापले झन् कति दुर्घटनाहरू बढ्ने होलान्, अहिल्यै सोच्नुपर्ने होइन र ?

(२०५५ साल वैशाख २ गते बुधबार, घटना र विचार साप्ताहिक)

प्रतिक्रिया