अनौठो सकसमा नेकपाका नेताहरू

अनौठो सकसमा नेकपाका नेताहरू


नेपाल कम्युनिस्ट पार्टीको एकीकरण प्रक्रिया अवरुद्ध भएपछि उक्त पार्टीभित्र अनेक टीका–टिप्पणी शुरु भएका छन् । खासगरी एमाले कित्ताले एकतालाई बोझका रूपमा लिन थालेका पाइएको छ । उनीहरूले भन्न थालेका छन्, ‘बरु अलग–अलग नै रहेर सरकार गठन गर्न सकेको भए राम्रो हुन सक्थ्यो ।’ एमाले कित्ताका एकथरीले केपी ओलीको प्रधानमन्त्री पद सुरक्षित तुल्याउन मात्र पार्टी एकीकरण गरिएको पनि भन्न थालेका छन् ।

माओवादी पक्षको ज्यादा बार्गेनिङ र केपी ओलीको कार्य–व्यवहारप्रति असन्तुष्टहरू एकीकरण प्रक्रिया थाती रहनु नै उचित हुने ठान्दै छन् । खासगरी केपीसँग असहमत एमालेपक्षीय नेताहरू पार्टी एकीकरणबाट केपी ओलीलाई मात्र फाइदा भएको निष्कर्षमा पुगेका छन् । दश महिनाअघि स्थायी समितिको बैठकमा केपी शर्मा ओलीले ‘सरकारको स्थायित्वका लागि पार्टी एकीकरण गर्नुपर्ने’ तर्क दिएको यतिबेला ओलीका आलोचक नेताहरूले झलझली सम्झिरहेका छन् ।

एकीकरण नगरिएको भए प्रचण्डको भूमिका स्वतन्त्र हुन सक्थ्यो । उनको स्वतन्त्र भूमिका प्रधानमन्त्री केपीका निम्ति सधैँ त्रास र चुनौतीको विषय हुने निश्चित थियो ।

एकीकरण नगरिएको भए प्रचण्डको भूमिका स्वतन्त्र हुन सक्थ्यो । उनको स्वतन्त्र भूमिका प्रधानमन्त्री केपीका निम्ति सधैँ त्रास र चुनौतीको विषय हुने निश्चित थियो । प्रचण्ड र आफ्नै पार्टीका नेताहरूसँग समेत एकप्रकारको अदबमा बस्नुपर्ने अवस्थाबाट एकीकरणपछि केपी ओली मुक्त भएका छन् । यसरी ओलीलाई आफैँले बलियो बनाउन सहयोग पु¥याएकोमा प्रचण्डले पनि पश्चात्ताप गर्न थालेको बुझिएको छ ।

केही दिनअघि प्रचण्डले आफूलाई पाँच वर्ष पूरा प्रधानमन्त्री बन्न आएको प्रस्तावलाई लत्याएर पार्टी एकीकरणमा सामेल भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । केपीलाई आफूले चाहेबमोजिम प्रयोग–दुरुपयोग गर्न नसकिने, आफूले भनेको पनि नमान्ने, चित्तबुझ्दो ढङ्गले काम नगर्ने, काम भएन भनेर आलोचना गर्न पनि नपाइने र पदबाट हटाउन पनि नसकिने भएपछि प्रचण्ड भित्रभित्रै निकै छटपटिएको महसुस उनका निकटस्थहरूले गरेका छन् । छटपटीकै क्रममा प्रचण्डले ‘आफू प्रधानमन्त्री बन्ने अफर छोडेर एकीकरणमा आएको’ भनी सार्वजनिक अभिव्यक्ति दिन पुगेका हुन् ।

अहिले केपी ओलीविरुद्ध कुनै पनि गतिविधि गर्न सक्ने अवस्थामा नेकपाका नेताहरू छैनन् । झलनाथ खनाल, माधव नेपाल, प्रचण्ड र नारायणकाजी श्रेष्ठलगायतका नेताहरू आपसमा भेट हुँदा सबैभन्दा बढी समय केपीको आलोचना र टीका–टिप्पणीमा खर्च गर्ने गरेको भए पनि केपीविरुद्ध कदम चाल्नेबारे उनीहरूले कुनै योजना बनाउन सकेका छैनन् । वरिष्ठ नेताहरूमध्ये अलिक खुलेरै उत्रिएका वामदेव गौतम हुन्, वामदेवको विरोध र नकारात्मक गतिविधिले केपीलाई कुनै प्रकारको असर गर्ने स्थिति छैन । त्यसैले वामदेवको आलोचना र गतिविधिप्रति केपीले खासै चासो राख्ने गरेको पनि पाइँदैन ।

पार्टी स्थायी समितिद्वारा एकीकरणको टुङ्गो लगाउन गठित उच्चस्तरीय कार्यदलले समेत काम फत्ते गर्न नसकेपछि नेकपाको एकीकरण अन्योलमा परेको छ । ‘नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छाबाबुको अनुहार’ भन्ने उक्ति यतिबेला प्रचण्डहरूको सवालमा लागू हुन पुगेको छ ।