रामचन्द्र अधिकारी अष्ट्रेलियामा सम्मानित

रामचन्द्र अधिकारी अष्ट्रेलियामा सम्मानित


  • राजन घिमिरे, अष्ट्रेलिया

कलाकार रामचन्द्र अधिकारी यतिबेला अष्ट्रेलिया यात्रामा छन् । उनको यो भ्रमण नितान्त पारिवारिक भए पनि उनलाई सार्वजनिक कार्यक्रमहरुमा सहभागी गराउने प्रयत्न यहाँ गरिएका छन् ।

लामो समयदेखि सिड्नीमा रहेका छोरा-बुहारी र छोरी-ज्वाइँलाई भेट्न अष्ट्रेलिया आइपुगेका अधिकारी बुधबार अष्ट्रेलियाको राजधानी क्यानभरामा सम्मानित भए ।एक कार्यक्रमबीच क्यानभरामा रामचन्द्र र उनकी धर्मपत्नीलाई सम्मान गरिएको हो । पछिल्लोपटक नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको लोकप्रिय हास्यशृंखला मेरीबास्सैमा काजीबाको भूमिकामार्फत उनी लोकप्रिय छन् ।

नेपाली दुतावासमा आयोजित स्वागत कार्यक्रममा दुतावासका कार्यवाहक प्रमुख द्रुपदा सापकोटाले अधिकारी दम्पतीलाई खादा ओढ़ाई स्वागत गर्नुका साथै कलाकार अधिकारीद्वारा नेपाली कला क्षेत्रमा पुर्याइएको योगदानको प्रशंसा गरेकी थिइन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अष्ट्रेलियन क्यापिटल टेरिटोरी संयोजक राजन ढुंगेलले कलाकार अधिकारीले विगत चार दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई पुर्याएका योगदानको प्रशंसा गर्दै सम्मान ब्यक्त गरे । त्यसैगरी स्थानीय संचारकर्मी एवम् पुराना चलचित्रकर्मी प्रदीप तिमल्सिनाले कलाकार अधिकारीको कला र शालिन स्वभावको प्रशंसा गरेका थिए।

कार्यक्रममा क्यान्वेरा तथा आसपासका नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।