बालुवाटार धाउँदाधाउँदै सर्वसाधारणको नुन खाने पैसा सिद्धिन्छ

बालुवाटार धाउँदाधाउँदै सर्वसाधारणको नुन खाने पैसा सिद्धिन्छ


प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहानबिहान मानिसको भिड हुने गर्दछ । विगतका प्रधानमन्त्रीको कार्यकालमा भन्दा वर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वकालमा मानिसको जमघट हुनुमा प्रधानमन्त्री एवम् पार्टी सभापतिको कार्यभार एकै व्यक्तिबाट बहन गर्नुपर्ने जिम्मेवारीका कारण विभिन्न क्षेत्रबाट समस्याको अवगत गराउन बालुवाटारमा मानिस आउने गर्छन् । मूलतः नेपाली काङ्ग्रेसका सर्वसाधारण कार्यकर्ता आफ्ना समस्या पोखी प्रधानमन्त्रीबाट राहत पाउने अभिलाषामा बालुवाटारको प्रङ्गणमा पालो कुरी बिहानभरि बसिरहन्छन् । तर, भित्रबाट ‘आज हुँदैन भोलि’ भन्ने आदेश पाएपछि आक्रोश भई घर फर्किन विवश हुने गर्छन् । खासगरी ठूलो ओहोदावाल र मोटो रकम भएका व्यक्तिहरूले सजिलै प्रधानमन्त्रीलाई भेट्न पाउने परिपाटीको विकास भएका कारण पीडित व्यक्तिमा आत्मग्लानि भई रुञ्चे मुख लिएर बालुवाटारलाई धिक्कार्दै फर्कने गरेको पाइन्छ । भोलिपल्ट पनि यही प्रक्रिया दोहोरिन्छ । आमव्यक्तिहरू भन्छन्, ‘प्रधानमन्त्रीको आँखामा कालो पर्दा टाँगिएको छ ।’

भेटघाटको कुनै प्रक्रिया छैन

प्रधानमन्त्रीनिवासको बोर्डमा यो दिनमा फलानो महानुभावले भेट्ने भनी राता अक्षरले लेखिएको छ, तापनि प्रधानमन्त्रीको निजी सचिवालयमा नाम दर्ता गरी उल्लेखित दिनमा आउँदा पनि भेटघाटको काम हुँदैन । यहाँसम्म कि नाम दर्ता गराएको महिनौँ दिनसम्म पनि पालो आउँदैन । यो नाम नै च्यातेर फ्याँकिन्छन्– कसैलाई पत्तो हुँदैन । तर, ठूलाठूला पुँजीपति वर्ग, मन्त्रीहरू र चाकडीबाजहरू बिनारोकतोक, बिनाप्रक्रिया सजिलै भेट्न सफल हुन्छन् । उनीहरूलाई समय र प्रक्रिया मिलाउनुपर्ने खाँचो छैन । सर्वसाधारण दिनहुँ धाउँदा पनि भेट्नै नपाई बिखर्ची भई फर्किन्छन् । भेटे पनि काम बन्दैन ।
सर्वसाधारण मान्छेले झगडा गरेर बल्लबल्ल प्रधानमन्त्रीलाई भेट्न सफल भए तापनि प्रधानमन्त्रीबाट हुने लिखित तथा मौखिक आदेशहरू पीएबाट लत्याउने काम भएको पाइएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट काम हुने आश्वासन दिई त्यहाँ बोलाइए तापनि त्यहाँबाट पनि काम हुने गर्दैन ‘भोलि भेट्नोस्’ भनेर टार्ने गरिन्छ । यदि काम गरिहाले पनि व्यक्तिगत एवम् राजनीतिक स्वार्थपूर्ति हुने खानका मानिसको मात्र कताकति गरिन्छ । सर्वसाधारण कामको निकास नपाएपछि सिंहदरबार, टेकु हुँदै पुनः बालुवाटारमै आई भिडभाड गर्ने गर्दछन् र एक–आपसमा दुःखेसो पोख्छन् । अनि कामको आस मारेर रित्तोहात खिन्न भई घर फर्किन्छन् ।

प्रधानमन्त्री खराब तत्वको जालमा

प्रधानमन्त्री स्वयम् नै खराब तत्वको जालमा जगडिनुभएको छ । स्वभावतः सोझो, साहसी, देशकाप्रति निकै संवेदनशील व्यक्तित्व भएर पनि पार्टीमा वा निजी मामलाको विषयमा होस् चम्चागिरी, घुमखोरी, पूर्वफासिष्ट व्यक्तिका अवशेषहरू अत्यन्त प्रवाही र हावी भएका कारण उहाँको पचासौँ वर्षको राजनीतिक त्याग र इतिहास निरन्तर खिइँदै निस्तेज बन्दै गइरहेको कुरा सर्वसाधारण कार्यकर्ता बताउँछन् । उहाँको भित्री हृदय सफा रहे तापनि आफ्नो काम र आदेशको कार्यान्वयन भयो या भएन भनी मूल्याङ्कन गर्ने कुरामा लरतरो भएका कारण खराब पक्ष मजबुत रहेको दाबी गर्दै सोझोपनको अत्यधिक फाइदा लुटिरहेछ । पञ्चायती व्यवस्थामा जस्तै मुखमा र कागजमा काम लिएर उहाँका विश्वासपात्रहरू पोल्टा भर्ने काममा मात्र लालायित छन् । तर, यो कुरा प्रधानमन्त्रीलाई नै थाहा छैन । कार्यकर्ताहरू भन्छन्, ‘एकपल्ट प्रधानमन्त्रीलाई भेट्न पाए आन्द्राभुँडी खोलिदिने थियौँ । तर, के गरौँ भित्र पर्न पाइन्न बाहिर निस्कने उहाँको बानी नै छैन ।’

सचिव, सल्लाहकार र पीएबीच तालमेल छैन

प्रधानमन्त्रीका निजी सचिव हरि शर्मा फाटफुट मात्र बालुवाटारमा देखिनुहुन्छ । यदि देखिइहाल्नुभयो भने पनि गोकर्ण पौडेललाई ‘यो गरिदिनू भनेर फुत्त गाडीमा गइहाल्नुहुन्छ ।’ गोकर्णले अरू पीएलाई मुख हाल्छन्, फेरि अरूबाट जसको काम हो उसैकहाँ जानुस् भनी रिंगाइदिन्छन् । केवल कुर्सी ओगट्न मात्र बसेको महसुस हुन्छ सर्वसाधारणमा । सल्लाहकारहरू धेरैजसो फोनमा नै व्यस्त हुनुहुन्छ । अधिकांश सर्वसाधारण मान्छेहरू बालुवाटार धाउँदाधाउँदै नुन खाने पैसा सिध्याएर दिक्क भई धन्य हो बालुवाटार भन्दै निराश बनेर घर फर्किने गर्दछन् । –‘विरही’

(घटना र विचार साप्ताहिक, २०५५ कात्तिक ११ गते बुधबार)