फिर्ता भएका सरल र उब्जिएका प्रश्नहरू

फिर्ता भएका सरल र उब्जिएका प्रश्नहरू


-बबिता बस्नेत
निजी स्कुलको विरोध गर्दै आएको माओवादीसम्बद्ध विद्यार्थी सङ्गठन अखिल नेपाल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले आफैंबाट परिवर्तन सुरु गर्नका लागि भनेर आफ्ना छोरा सरललाई चीनबाट फर्काएको खबर सार्वजनिक भएको छ । समाचारअनुसार आफ्नै पार्टीका नेताहरूमाथि दबाब सिर्जना गर्न सरललाई फर्काइएको हो । अहिले हठात् नफर्काइएको भए केही वर्षपछि उनी डा. सरल शर्मा बनेर त्रिभुवन विमानस्थलमा उत्रने थिए या पढ्दापढ्दै अवसर पाएर चीन वा अरू नै मुलुकमा एउटा नेपाली युवक कुनै पेसा, व्यवसाय गरिरहेको हुने थियो । हिमालले अन्तर्राष्ट्रियस्तरको कलेजमा शिक्षा लिइरहेको आफ्नो छोरो फिर्ता ल्याएको प्रसङ्गलाई मूलत: दुई कोणबाट विश्लेषण गरिएको छ, नेताहरूको भनाइ र गराइबीचको भिन्नता (हेपोक्र्यासी)लाई उजागर गर्दै एउटै प्रवृत्तिमा ढाल्ने पहल गरिएको अर्थमा यसलाई सकारात्मक रूपमा लिइएको छ भने आफ्नै छोराको भविष्यमाथि त वास्ता नगर्नेले अरूका छोराछोरी जेसुकै हुन् के मतलब भनेर अब आफ्ना छोराछोरीले लिइरहेको शिक्षाबाट वञ्चित पो हुनुपर्ने हो कि भनी अभिभावकमा फैलिएको त्रास अर्को पाटो हो । हामीअघि र हाम्रो पुस्ताका धेरै मानिस जो राजधानी काठमाडौंमा बसेर विभिन्न पेसा र व्यवसायमा संलग्न छन्, ती अहिले आफ्ना छोराछोरीले झैं अङ्ग्रेजी स्कुलको पृष्ठभूमिबाट आएका होइनन् । आफूले सरकारी स्कुलमा चार कक्षामा एबीसीडी सिकेर एसएलसीमा जेनतेन पासमार्क ल्याई पढाइको क्रममा राजधानी भित्रिएपछि सेन्ट जेभियर्स र मेरिज पढ्नेहरूसँग प्रतिस्पर्धा गर्नुपर्दाको पीडा धेरैसँग छ । मन लागेको खानेकुरामा गाँस काटेर भए पनि रात या दिन के हो नछुटि्टनेगरी दु:ख गरेर या थकाइ वा प्यासको ख्यालै नगरी दुई-चार पैसा जम्मा गरेर मानिसले छोराछोरीलाई सकेसम्म अङ्ग्रेजी स्कुलमा राख्नुको कारण पनि आफूले भोगेको विगत र बाँचिरहेको वर्तमान नै हो । मुलुकका विभिन्न क्षेत्रमा नेतृत्व लिनेहरू प्राय: राजधानीबाहिरकै छन्, राजनीतिदेखि मिडियासम्म, स्वास्थ्य, कानुन, अर्थ हुँदै सुरक्षासम्म । जुनसुकै क्षेत्रमा भए पनि आ-आफ्नो क्षेत्रमा स्थापित हुन तिनले धेरै नै सङ्घर्ष गर्नुपरेको छ । त्यसो त राजधानीमै शिक्षा लिनेहरूको पनि सबैको शैक्षिक स्तर उस्तै छैन । भाषा सबै कुरा होइन, हुँदो हो त खै जापानिजहरूले अङ्ग्रेजी नबोले पनि भएको छ त भन्ने तर्क पनि दिन सकिन्छ । तर, मानिसको जीवनमा भाषा र शिक्षा केही हो त्यसैले जापान, थाइल्यान्ड, चीनलगायतका मुलुकमा पनि अहिले अङ्ग्रेजीलाई महत्त्व दिन थालिएको छ ।
माओवादी नेता प्रचण्डले भारतको नयाँदिल्लीमा हिन्दुस्तान टाइम्सले गरेको जमघटमा पहिलोपल्ट अन्तर्राष्ट्रिय जगत्मा मन्तव्य दिँदा अङ्ग्रेजीमा के-के भन्नु भो के-के, उहाँले के बोल्ने भन्ने नजानेर होइन भाषाको कारणले आफूलाई ‘एक्स्प्रेस’ गर्न नसकेर । भाषा र प्रविधिले विश्व साँघुरो भइरहेको बेला त्यस्तो अवस्था भोग्नेहरू यहाँ धेरै छन्, त्यसमा उहाँको दोष थिएन, उहाँको शैक्षिक पृष्ठभूमि हामी धेरै पेसागत मानिसझैं चार कक्षामा एबीसीडीकै थियो, त्यस्तै केही समय अगाडि मात्र स्वास्थ्य राज्यमन्त्री धर्मशिला चापागाईंले संयुक्त राष्ट्र सङ्घमा गर्नुभएको भाषण पनि सम्बन्धित क्षेत्रका मानिसबीच चर्चामा छ । त्यस्तो बेलामा हामीले अङ्ग्रेजीमै बोल्नुपर्छ भन्ने छैन, नेपालीमा बोले पनि हुन्छ, बुझ्न चाहनेले अनुवाद गरेर बुझ्छन्, अङ्ग्रेजी हाम्रो मातृभाषा होइन अलिअलि तलमाथि भएर, उच्चारण नमिलेर खासै फरक पनि पर्दैन तर अर्थै अर्को लाग्ने गरेर बोल्न भने हुँदैन । विद्यालय विद्यार्थीको जग हो, स्कुल तहबाटै उनीहरूले धेरै कुरा सिक्ने हुन् भाषा, ज्ञान सबै नै । हामीकहाँ मात्रै होइन, विश्वका अनेक मुलुकमा सरकारी र गैरसरकारी विद्यालय छन्, आफ्ना सन्तानलाई आफूभन्दा राम्रो शिक्षा दिलाउने चाहना राख्नु बाबुआमाको ‘लक्जरी’ होइन । अर्काको भाँडा माझेर, सडकमा कूचो लगाएर पनि मानिस आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन चाहन्छन् । हिमालजीले नेपालको शैक्षिक सुधारका लागि चीनमा पढिरहेको छोरो फर्काउनु, अन्य नेताका छोराछोरीलाई पनि फर्काइहाल भन्नु र नेपालका निजीक्षेत्रमा बच्चा पढाइरहेकाहरूलाई किन पढायौ सरकारी स्कुलमा राख भन्नुभन्दा पहिला यहाँको सरकारी शिक्षामा व्यापक सुधारतर्फ अघि बढ्नु आवश्यक छ । जुन मुलुकमा बालबालिकाले परीक्षा सकिन लाग्दासम्म पाठ्यपुस्तक पढ्न पाउँदैनन् तर तिनै पाठ्यपुस्तक छपाइका नाममा करोडाँै-करोडको भ्रष्टाचार हुन्छ त्यस्तो मुलुकमा अभिभावकलाई आफ्ना छोराछोरीलाई निजी स्कुलबाट निकालेर सरकारी स्कुलमा राख भनेर भन्न मिल्दैन ।
केही समयअघि माओवादी नेता प्रचण्डले आफ्नी नातिनीलाई सेन्टजेभियर्स स्कुलमा भर्ना गरेको कुराले निकै चर्चा पायो । नेताकी नातिनी हुँदैमा राम्रो स्कुल पढ्न नपाउने भन्ने हुँदैन, भनाइ र गराइमा फरक आएका कारणले मात्रै सो घटनाले चर्चा पाएको हो । आहिलेको जमानामा राम्रो अङ्ग्रेजी स्कुल पढ्न पाउनु उनको अधिकारकै कुरा हो । निजी स्कुलको विरोध गर्नुभन्दा पनि सरकारी स्कुलहरूको स्तर बढाउनु अहिलेको आवश्यकता हो तर हाम्रोजस्तो देशमा यो कुरा चाँडै सम्भव हुन्छ जस्तो लाग्दैन । सरकारी स्कुलको स्तर राम्रो भइदिए सकी-नसकी रातदिनको दु:ख र पसिनाको कमाइ बच्चाको पढाइमा मात्रै लगानी गर्ने इच्छा कुनै पनि बाबुआमाको हुँदैन । पैसा धेरै भएर वा खर्च गर्ने ठाउँ नभएर मानिसले आफ्ना छोराछोरी निजी स्कुलमा पढाइरहेका छैनन् । हिजोआज धेरै कुरामा हामी बढी नै नकारात्मक हुँदै गएको भान हुन्छ । एकपटक कतै जाँदै गर्दा अन्तर्राष्ट्रिय एयरपोर्टमा भेटिएका पश्चिमा मुलुकका नागरिकले नेपालको बारेमा भनेका थिए- मलाई यहाँको धेरै कुरा राम्रो लाग्यो तर हामीकहाँ र यहाँको फरकचाहिँ के हो भने हामीकहाँ छिमेकीले राम्रो घर बनायो भने हामी आफू पनि कसरी त्यस्तै घर बनाउने हैसियतमा पुग्ने भनेर सोच्छौँ तर यहाँ भने त्यो छिमेकीलाई कसरी आफूजस्तै झुपडीमा बस्ने बनाउने भनेर त्यसलाई तल झार्ने अभ्यासमा जुट्ने काम हुँदोरहेछ । यो कुरा भने मलाई अचम्मै लाग्यो । हुन पनि हामी कहाँ धेरै कुरामा त्यस्तै भइरहेको छ । कुनै पनि क्षेत्रमा आफू राम्रो बन्नेभन्दा पनि अरूलाई नराम्रो बनाउने खेलले बढी प्रश्रय पाउँदै गएको छ । सैद्धान्तिक र व्यावहारिक कुरा फरक छन्, झापा आन्दोलनताका पनि महान् सर्वहारा कम्युनिस्ट हुनका लागि लहडमा धेरैले पढाइ छोडेका, छोडाएका थिए तर परिणाम के भयो ? हिमालजीलाई लाग्यो होला मेरै कारणले छोराले पाएको ‘स्कलरसिप’ हो फिर्ता बोलाएर के भयो ? उहाँलाई जेसुकै लागेको भए पनि सरलको विदेशमा अध्ययन गर्ने अधिकार खोसिएको छ । पढिरहेको आफ्नो छोरालाई फिर्ता बोलाउनुभन्दा अरूका छोराछोरीलाई पनि त्यस्तै स्कलरसिप दिलाउने भूमिका निर्वाह गर्न सकेको भए राम्रो हुने थियो ।