कानुनमा सबल, व्यवहार कमजोर

कानुनमा सबल, व्यवहार कमजोर


-विष्णु शर्मा
०६७ चैत महिनामा काठमाडौं आएका भारतीय गुरु रविशंकरले उहाँको कार्यक्रममा सहभागी नेता, बुद्धिजीवी, व्यापारी, पत्रकार, साहित्यकारलगायतसँग आ-आफ्ना नजिक बसेका व्यक्तिलाई ‘म तपाईंलाई घृणा गर्छु’ भन्न आग्रह गर्नुभयो । सबैले गुरुको आज्ञा मानेर त्यसै गरे । त्यसपछि उहाँले त्यसो भन्दा कस्तो अनुभव भयो भनी सामूहिक जिज्ञासा राख्नुभयो । प्रायले केही जवाफ फर्काएनन् । गुरुले पुन: उपस्थित सत्जनलाई आँखा बन्द गर्नुस् भन्दै आफन्त, छोराछोरी, नातागोता, इष्टमित्रले आफूहरूलाई एक-एक गर्दै ‘म तपाईंलाई घृणा गर्छु, म तपाईंलाई घृणा गर्छु’ भनेको सुन्न र महसुस गर्न लगाउनुभयो । सबैले गुरुको आज्ञा पालाना गरे । केही समयपछि सबैलाई आँखा खोल्न लगाएर सोध्नुभयो- आफूलाई अरूले घृणा गर्छु भन्दा र आफूले अरूलाई भन्दाका बीचको भिन्नता कस्तो रह्यो ?
डाक्टर, सभासद्, पूर्वमन्त्री, व्यापारीलगायतका सहभागीमध्ये धेरै केही बोलेनन् । गुरुले भन्नुभयो- आफूलाई अरूले घृणा गर्छु भन्दा पक्कै रमाइलो लाग्दैन, दु:खित तुल्याउँछ । त्यसैले यस्ता कुराको अनुभूति गर्दै कुनै पनि व्यक्तिले व्यवहार गर्दा आफू त्यो ठाउँमा भएको भए के गर्थें भन्ने मनन गरेर मात्र गर्नुपर्छ । उहाँले भन्नुभएको थियो- व्यक्तिमा भएको गहिरो कृतज्ञता, प्रेम, भरोसा, विश्वास आदि भावनाहरू ब्ाहिर प्रकट हुन चाहन्छन् र कृतज्ञता प्रकट गर्नु, एक-अर्कोमा आदरभावले हेर्नु र एक-अर्कालाई पूजा गर्नु ? आफूभित्र रहेको केही भाव भइरहेको अनुभव गर्नु) हो । यदि एक-अर्कामा सद्भाव, आदर भएन भने यस संसारमा बाँच्न त्यति रमाइलो हुँदैन ।
विडम्बना भन्नुपर्छ, हामी नेपाली भने काटमार र हिंसालाई प्रश्रय दिन तम्सेका छौँ । अरूलाई दु:ख, कष्ट र तनावमा पार्न पाउँदा रमाएका छौँ । आफ्नो कमजोरीलाई बुझ्नुभन्दा अर्कोको गल्ती औंल्याउन तम्तयार भएका छौँ । आफ्नो उन्नतिमा ध्यान दिनुभन्दा अरूको प्रगतिलाईर् इष्र्याभावले हेर्ने गरेका छौँ । सकेसम्म अरू अगाडि नबढून् भन्ने सोच पालेकै छौँ । परिवारभित्र जीवनभरि सँगै रहने वाचा गरेकाहरूसमेत एक-अर्काको विश्वासलाई तोड्न तम्सिएका छौँ । यस्ता हाम्रा व्यवहारले प्रेम, सद्भाव र आदरभावलाई कुल्चिन सघाउ पुगेको छ । हामी हाम्रा सन्तानलाई राम्रा र असल प्रेरणाबाट टाढा पार्दै छौँ । सम्मान, आदरको भावहरू हराउँदै छन् । जसको शक्ति उसको भक्तिको मागमा चलेका छौँ । सहनशीलता, ममता, दयाभावलाई महिलाको कमजोरीका रूपमा लिएर महिलालाई वस्तुका रूपमा व्यवहार गर्न कमी गरेका छैनौँ । र, आउँदा पिँढीहरूमा समेत त्यसको छाप गहिरोसँग छोड्न थालेका छौँ ।
समाजमा घृणित काम गर्नेहरूलाई तह लगाउने कानुन छन् । तिनको प्रयोग गराउने संयन्त्र प्रशस्त छन् । तर, तिनले काम कसरी गर्छन् ? साधन र स्रोत छन्-छैनन् ? कानुनको पालना गराउने स्थानमा को छन् ? महिलालाई महिला भएकै कारण गरिएका दर्ुर्व्यवहारलाई समाजले कसरी लिन्छन् ? महिलामैत्री दृष्टिकोण र व्यवहार प्रभावकारी छ छैन यी अहिलेका यक्ष प्रश्न हुन् ।
केही समययता दैनिक अखबार केलाउँदा थुप्रै यस्ता घटना देखिए जो महिलालक्षित पाइयो । महिलालाई कतिसम्मको निकृष्ट दुव्यर्वहार हुँदारहेछन् भन्ने उदाहरण तेह्रथुम अठराईकी १७ वर्षीया देवीमाया गौतम बनेकी छिन् । उनलाई आमाबाबुले करकापमा पारेर ०६७ सालमा मोरङ पथरीका टंक खड्का भन्ने व्यक्तिसँग बिहे गराए । भारत घुम्न जान पटकपटक भन्दा नमानेपछि बिहे गरेर आएको ४८ घन्टा पनि नबित्दै टंकले अर्धाङ्गिनी देवीको हात काटिदियो । शारीरिक रूपमा त उनलाई असक्त बनाइयो नै मानसिक रूपमा समेत उनको स्वास्थ्य ठीक छैन । इन्द्रपुरस्थित जिता अपाङ्ग आश्रममा बस्दै आएकी देवीलाई भारतमा बेचविखन गर्नकै लागि बिहे गरिएको प्रस्ट हुन्छ ।
नेपाली समाजमा विवाहिताका लागि अन्तिम सहारा श्रीमान् र श्रीमती नै हुन्छन् । यो सम्बन्ध सबैभन्दा नजिकको मानिन्छ । तर, त्यही नाता जोडिएको व्यक्तिले श्रीमतीलाई मार्न पछिपरेको छैन । हालै बालाजुमा घाँटी रेटेर फ्याँकिएकी महिला शीर्षकमा सार्वजनिक भएको समाचार आङ सिरिङग हुने खालको थियो । सम्पत्ति, दाइजो, यौन असन्तुष्टि, झैझगडाबाट श्रीमतीलाई मार्ने गरिएको पाइएको छ । आफन्तबाटै महिला लक्षित दर्ुर्व्यवहारले परिवारको मूल्य-मान्यता मात्र होइन मानवीयताको पाठ सिकाउन कमी भएको भन्ने प्रश्न उठाएको छ । छोरालाई रुवाउँदै उसकै अघिबाट आमालाई लगरे घाँटी रेटेर मार्न सक्ने व्यक्ति मानवको स्वरूप मात्र हुन सक्छ । हामी कस्तो समाजलाई बढावा दिँदै छौँ ? महिलाको अस्तित्व एउटा पशुको भन्दा कम आंकलन गरिँदै छ । जहाँको संस्कृति र धर्ममा देवीका रूपमा महिलालाई पुजिएको छ ।
लोकतान्त्रिक गणतन्त्र नेपालको अन्तरिम संविधानमै महिलाका हक र अधिकारहरू सुनिश्चित गरिएका छन् । अन्तर्राष्ट्रियस्तरमा समेत महिलाविरुद्ध पारित गरिएका सन्धि-महासन्धिमा प्रतिबद्धता एवम् हस्ताक्षरहरू भएका छन् । महिलाविरुद्ध हुने विविध किसिमका हिंसा रोक्न कानुन बनाइएका छन् । तर, ती कानुन कागजमा त कोरिए तिनको उपयोग व्यवहारमा हुन नसक्दा महिलाउपर हिंसा बढेको बढेकै छन् । सन् २००९ मा पाँचदेखि १२ हजार युवती ? १० देखि २० वर्ष उमेर समूहका) जबर्जस्ती यौन पेसामा लगाउन बेचिएको तथ्याङ्क सरकारले नै सार्वजनिक गरेको छ । कानुनले दश वर्षभन्दा मुनिका बालिकालाई जबर्जस्ती करणी गर्नेलाई १० देखि १५ वर्षसम्म, दश वर्षभन्दा माथि १४ वर्षमुनिका बालिका भए ८ वर्षदेखि १२ सम्म र १४ वर्षभन्दा माथि १६ वर्षमुनिका बालिका भए ६ देखि १० वर्षसम्म कैद हुने व्यवस्था गरेको छ । १६ वर्ष वा सोभन्दा माथिका महिलालाई जबर्जस्ती करणी गरे पाँचदेखि आठ वर्षसम्म कैद हुन्छ । बहुविवाह गर्ने महिला वा पुरुषलाई एकदेखि तीन वर्षसम्मको कैद र पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुन्छ । पहिली पत्नी छ भन्ने थाहा पाएर पनि विवाह गर्ने महिलालाई पनि बहुविवाह गर्ने पुरुषसरह नै सजाय हुन्छ । जबर्जस्ती विवाह गर्ने-गराउनेलाई दुई वर्षसम्म कैदको सजाय हुन्छ । जबर्जस्ती विवाह भएको मितिले तीन महिनामित्र पीडितले नजिकको प्रहरी कार्यालयमा उजुरी गर्नुपर्छ । मन्जुरी नलिई जबर्जस्ती गरिदिएको विवाहलाई मन्जुरी नगर्ने व्यक्तिले बदर गराउन सक्छ । अधिवक्ता मीरा ढुङ्गाना भन्नुहुन्छ- व्यवस्था गरिएका कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन सक्रिय संयन्त्रको अभाव एवम् महिलालक्षित हिंसालाई स्वाभाविक भनी लिने मानसिक सोच परिवर्तन भएको छैन । महिला हितका ससन्दर्भमा कानुन नभएका होइनन् छन् तर तिनको कार्यान्वयन नभइदिँदा महिलाले न्याय पाउन सकेका छैनन् । त्यसैले महिलाका सवालमा बनेका कानुनको प्रभावकारी कार्यान्वयन हुनु आवश्यक छ ।