यसरी बन्ला त संविधान ? -स्वयम्भुनाथ कार्की

यसरी बन्ला त संविधान ? -स्वयम्भुनाथ कार्की


नेपालको ठूला मानिने प्रायजसो सबै संचारमाध्यम, विदेशी सहयोग नियोग, इर्साई धार्मिक संस्थाहरूबाट सहयोग र सद्भावना पाएका गैरसरकारी संस्थाका अगुवाहरू, धेरै विषयका बिषेशज्ञ भनेर संचार जगतले उपाधि दिएकाहरू, विनाकुनै परीक्षा या मान्यता नागरिक समाजका अगुवाको पदवी पाएका ‘भाग्यमानी’हरू दुई हजार अठसठ्ठी भदौ चौधमा संविधानको खाका आउँछ भनेर जनसमक्ष दाबी गर्दैछन् । यसमा शङ्का नगर्न जनतालाई ह्वीप पनि जारी भएको छ । राजनीतिक ख्वामितहरू शङ्का गर्नेलाई आफूले जानेसम्मको आक्षेप लगाउँदैछन् र उनीहरूलाई बल दिन राज्यको सुरक्षा अङ्ग त छँदैछ, त्यसमाथि बाहुमा बल मुखमा धम्की भएकाहरू अर्काको मुख थुनेर शान्ति कायम गर्न सकिन्छ भनी दत्तचित्त भएर लागेका छन् । यस्तो अवस्थामा उनीहरूका कुरा नमानेर जनतालाई धरै छैन ।
हुन त दुई बर्षमा संविधान बनाई लागु गरिसक्ने बाचा पनि नभएको हैन । त्यसबेला पनि दुई बर्षमा यो सम्भव छैन भन्नेहरूको ढाड भाँचियो, कालोमोसो र जुत्ताको मालाले स्वागत गरियो । अहिले विश्वका कुनै पनि मुलुकमा यति समयमा संविधान बनेको छैन भनेर आफ्नो रजगजलाई अनन्तसम्म लैजान खोज्नेहरू नै त्यसबेला दुई बर्षको कार्यकाल अपुग हुन्छ भन्नेहरूको हर्ुमत काड्न तल्लीन थिए । अहिले काम कठिन छ, आलोचना गर्नेले गरेर देखाउन सक्नुपर्छ भन्छन् । कुरा सुन्दा त ठिकै लाग्छ, तर सर्वसाधारण जनताले न त यो काम गर्ने अभिभारा लिएका थिए न चमत्कार गरेर विश्वलाई चकित पार्ने उद्घोष नै गरेका थिए । अझ गरेर देखाउन सक्छु भन्नेलाई ठाँउ छोड्ने पनि कुरै छैन । त्यसैले आलोचना गर्नेले काम पनि गरेर देखाउन सक्नु पर्दछ भन्ने तर्क आडम्बरी, खोक्रो र गैरजिम्मेवारपूर्ण हो ।
एउटा चिकित्सकले बिरामीलाई मैले निको पार्न सकिनँ, तिमी आफै निको पारेर देखाउ भनी दिएको चुनौती, एक इन्जीनियरले मैले गरेको काम चित्त नबुझे मेरोभन्दा राम्रो बनाएर देखाउ भन्ने कुरा गैरजिम्मेवारपुर्ण त हुँदै हो, आफ्नो अयोग्यताको उद्घोष पनि हो । नेपालमा हमेशा हरेक विषयमा आङ्खनो राय दिने के यिनै सय-पचास मात्र हुन् त ? सम्पूर्ण नेपालीले यी सय-पचास बौद्धिक तानाशाहको गुलाम बनेर बस्नुपर्ने हो त ? के नेपालीको भाग्य रेखा कोरिने, नेपाललाई स्वर्गतुल्य बनाउन जनताले आफ्नो निमित्त आफै बनाउने भनेको संविधानको आधारभूत कुराहरूबारे स्पष्ट हुन नपाउने नै हो त ? असी प्रतिशत तैयार भइसकेको भनेको संविधानमा प्रयोग भएका विशिष्ट शब्दावलीको अर्थ सर्वसाधारणले जान्न नपाउने नै भए । यसमा प्रयुक्त भएको आधारभूत कुराहरूले आफ्नो जीवनमा के प्रभाव पार्ला भनेर चर्चा गर्न नपाउने नै भए । यो कुरा मनपरेन भनेर भन्दा ढाड खुस्काइमाग्ने भए ।
असार पन्द्रमा धान रोपाईं गरेर संविधानको भाषण गर्ने नेताहरूको चालाले सर्वसाधारणलाई सोच्न बाध्य बनाएको छ कि ती नेता र अगुवाले रोपेको ‘धान’चाहिँ फलेपछि ‘संविधान’ हुने हो ? छिटो-छिटो गरेर जनताको मुख थुन्न सकुन्जेलमै संविधान बनाएर रजगज गरौँला भन्ने नेताहरूको आशामा तुषारापात हुन थालेको छ । एक्लैदुक्लैको त कुरै छोडौंँ कडा सुरक्षा-घेरामा पनि मौका पाउनासाथ जनताले झाप्पु हान्न बेर लगाएको छैन । सराद्धे गरेर पिण्ड पनि नेताहरूलाई पठाइँदैछ । जत्तिकै दमन गरेपनि सभासदहरूको किरिया बस्ने क्रम रोकिएको छैन । कुनै पनि कदम एकपटक पछि नहटाइ भएको छैन । त्यसमाथि पनि आफुलाई जनसमर्थन छ भनेर डुक्रने र सक्नेले गरेर देखाउनुपर्छ भनेर चुनौती दिनेहरू केका बलमा कुर्लन्छन् त ? नेपाली जनताको भरमा त निश्चय नै होइन ।
वीसौँ, पचासौँ अझ सैयौँ सुरक्षाकर्मीको घेरामा बसेर हिम्मतको कुरा गर्नु बेग्लै कुरा हो । जनताले भने अभाव, धम्की र डर-त्रासमा बस्नु परेको कुरा उनीहरूलाई गौण हुनु स्वभाविक नै हो । त्यसैले उनीहरू दाबी गर्दछन् मुलुकमा सुरक्षास्थिति मजबुत भएको छ । त्यसै दाबीको नाकैमुनि सुरक्षाकर्मीहरू मारिँदैछन् । जेलभित्र गएर अपराधीले गोली प्रहार गरेकै छ । अदालतमै कसैको ज्यान मार्ने प्रयत्न हुन्छ । अझ लाजै पचाएर भन्छन् सक्नेले गरेर देखाउनु पर्दछ । सानो समस्या हुनेवित्तीकै विदेशी राजदूतहरूलाई गुहार्ने वा रुघाखोकीको उपचार गराउने बहानाले अशिर्वाद थाप्न जाने चालले यिनीहरू सुरक्षाकर्मी, आङ्खना भातृ-संगठनका सदस्यहरूको बाहुबल र विदेशी आशिर्वादले चलेको प्रष्ट हुन्छ । सर्वसाधारण जनताले भन्छन्- हिम्मत भए सुरक्षाकर्मीको फौजभित्र बस्न छोडेर हामी सँगै काँधमा काँध मिलाएर काम गर, अनि पत्याउँला- साँच्चै जनताको संविधान बन्ने भो ।
गद्दी छोडेर बसेका राजाले जनताले त सुख पाएनन् नि भन्दा मुटु थरथरी हुने बलिया दलहरूले कसैको हित गर्न सक्दैनन् भन्ने कुरा अब पनि प्रष्ट नभए कहिले हुन्छ त ? तसर्थ जनताहरूले ढुक्क भएर बसे हुन्छ, भदौ चौधमा संविधानको खाका पक्कै आउँछ । विदेशी मित्रहरूले संविधान त उहिल्यै बनाएर दिइसकेका छन् । केवल उचित वातावरणको खाँचो परेको हो । राजाले यसपटक बोलेर त्यो संविधान पेश गर्ने अवसर दिएका छन् । लौ अब राजाले टाउको उठाउन लागे, मुलुक असफल राष्ट्र हुने भयो, यो संविधान नै मान भनेर भदौ चौधमा संविधानको खाका पेश गर्ने ठूलो मौका परेको छ । हो अब साँच्चै संविधान बन्ने नै भयो, तर त्यो संविधान भने घोषणा गरिएझैँ जनताले आफ्नो निमित्त आफै बनाएको संविधान भने होइन । विदेशी मित्रहरूले असिम अनुकम्पा गरेर बनाइदिएको संविधान हो ।