उद्धार नसकिँदै थपियो विपत्ति

उद्धार नसकिँदै थपियो विपत्ति


nepal-earthquakeविनाशकारी भूकम्प गएको मंगलबार १८ दिन पुगिसक्दा पनि अझै पीडितहरूको उद्धार हुन सकेको छैन । मंगलबार मध्याह्न अर्को ठूलो भूकम्प गएपछि मानवीय तथा भौतिक क्षतिको मात्रा झनै बढ्न पुगेको छ । दोलखाको सुनखानीलाई केन्द्रबिन्दु बनाएर मंगलबार पुनः शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार ७ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो । मध्याह्न १२ बजेर ५२ मिनेटमा गएको भूकम्पले सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, काभ्रे र ललितपुरमा निकै ठूलो क्षति पु-याएको छ । यो समाचार तयार गर्दासम्म भूकम्पले सिन्धुपाल्चोकमा सात, दोलखामा १५, सिन्धुलीमा पाँच, काठमाडौंं उपत्यकामा पाँचजनाको मृत्यु भएको छ ।
त्यसैगरी नेपाल प्रहरीका अनुसार भक्तपुरमा ५० जना भूकम्पमा परी घाइते भएका छन् भने ललितपुरमा एक सय दुईजना, सिन्धुपाल्चोकमा एक सय पचासजना, काठमाडौंमा एक सय ७० जना र काभ्रेमा ५० जना घाइते भएका छन् । भूकम्पका कारण रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेका भौतिक संरचनामा पनि धेरै क्षति पुगेको नेपाल प्रहरीको कथन छ ।
अमेरिकन भूगर्भ विभागले सात दशमलब चार म्याग्नाच्युटको भूकम्प गएको भने पनि नेपालको भूगर्भ विभागका अनुसार ६ दशमलव ८ म्याग्नाच्युटको भूकम्प गएको छ । केन्द्रका अनुसार पहिलो भूकम्पको ठूलो धक्कापछि स–साना पराकम्पन गइरहेको छ । यसपछि पराकम्पन जाने क्रम समाचार तयार गर्दासम्म जारी रहेको छ । पहिलो धक्कापछि ५.६, ५.५ र ६.२ म्याग्नाच्युटको भूकम्प गएको छ ।
मंगलबारको भूकम्पपछि मानिसहरू घरबाट बाहिर बसेका छन् । वैशाख १२ को ७.८ म्याग्नाच्युटको विनाशकारी भूकम्पबाट त्रसित मानिस फेरि भूकम्प गएपछि थप आतङ्कित बनेका छन् । ठूलो धक्कापछि केही समयसम्म धक्का महसुस भइरहेको विज्ञहरूले बताएका छन् ।
उता, गत १२ गतेका भूकम्पपीडितहरूको उद्धार हिमाली जिल्ला रसुवामा मात्र होइन राजधानीमै पनि हुन सकेको छैन । काठमाडौंको गोंगबु, भक्तपुरको च्यामासिंह, सुकुलढोका, दरबार स्क्वायरलगायतका स्थान, ललितपुरको बुङमती, लेले, हरिसिद्धिलगायतका स्थानमा अझै उद्धार हुन सकेको छैन । काठमाडौंको गोंगबुमा त भत्केका घरले पुरिएर मृत्यु भएकाहरूको लास निकाल्ने क्रम अझै जारी छ ।
काठमाडौंको गोंगबु, नयाँ बसपार्क क्षेत्रमा उद्धार टोली पुगे पनि त्यहाँ अझै उद्धार हुन सकेको छैन । सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल आर्मीले ती क्षेत्रमा अझै संयुक्त रूपमा उद्धार गरिरहेको छ । भवन भासिएको र ठूलाठूला भवन भत्किएकाले त्यहाँको उद्धार कार्य कठिन देखिएको छ ।
ग्रामीण भेगमा भत्किएका घरबाट जीवित या मृत मानिस निकाल्न सके पनि सहरी क्षेत्रमा भत्केका घरले पुरेका मानिस अझै हुन सक्ने नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बम बताउँछन् । ‘सहरमा भूकम्प जाँदा भत्किएका घरले च्यापेका मानिस र गाउँमा चौपाया निकाल्ने क्रम अझै जारी छ,’ प्रवक्ता बमले भने, ‘भूकम्पमा भत्किएका घरले च्यापेका मानिस आज बिहानसम्म निकाल्ने क्रम जारी छ ।’
उपयुक्त स्रोतसाधनको कमीका कारण सहरी क्षेत्रमा भत्किएका घरबाट मानिस निकाल्न कठिन भएको हो भने गाउँमा यातायात र स्रोतसाधनको कमीका कारण । नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले भने, ‘सहरमा कङ्क्रिटले बनेका ठूला भवन भत्किएकाले ती क्षेत्रमा सोचेजस्तो उद्धार हुन नसकेको हो ।’
ललितपुरको हरिसिद्धि, बुङमती, खोकनामा पनि अझै उद्धार हुन सकेको छैन । ती स्थानमा साँघुरो बाटो भएकाले उद्धार हुन कठिनाइ भएको हो । ‘त्यहाँ हातैले काम गर्नुपर्ने भएकाले उद्धार गर्न समस्या भएको हो,’ प्रवक्ता पोखरेलले भने । त्यसैगरी भक्तपुर दरबार स्क्वायर क्षेत्र, सुकुलढोकालगायतका स्थानमा पनि उद्धार हुन सकेको छैन ।
यस्तै, हिमाली जिल्ला रसुवाको लाङटाङमा अझै उद्धार हुन सकेको छैन । बाटो नभएका कारण त्यहाँ उद्धार टोली पुग्न ढिलो भएको हो । उद्धार टोली पुगे पनि हिमपहिरोका कारण सोचेजस्तो उद्धार टोलीले काम गर्न सकेको छैन । त्यहाँ कति मानिस भूकम्पमा परेका छन् भन्ने अहिलेसम्म आधिकारिक जानकारी आएको छैन । रसुवाकै मैलुङमा पनि उद्धार टोली पुग्न सकेको छैन । दोलखाको लामाबगर, कोदारी, तातोपानीलगायतका स्थानमा पनि भूकम्पपीडितको उद्धार हुन सकेको छैन ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले उद्धार टोली सबै स्थनमा पुगे पनि दोलखा, रसुवा, गोर्खा, सिन्धुपल्चोकलगायत जिल्लाका विकट गाउँहरूमा अझै उद्धार हुन नसकेको बताए । ती स्थानमा यातायात र उद्धार सामग्रीको अभावका कारण भूकम्प प्रभावितको उद्धार हुन नसकेको प्रवक्ता ढकालले बताए । ‘यद्यपि उद्धारको काम सकिन लागेको छ, अब केही दिनमा क्षतिको यकिन विवरण आउँछ,’ उनले भने, ‘अब सरकारको ध्यान पूर्णरूपमा राहत वितरणमा केन्द्रित हुनेछ ।’
भूकम्पमा मर्नेको सङ्ख्या आठ हजारभन्दा बढी
भूकम्पमा परी मृत्यु हुनेहरूको सङ्ख्या बढ्ने क्रम अझै जारी छ । गृह मन्त्रालयका अनुसार भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या मंगलबार बिहानसम्म आठ हजार ४६ पुगेको छ भने घाइतेको सङ्ख्या सत्र हजार आठ सय ५१ छ ।
भूकम्पका कारण सिन्धुपाल्चोकमा मात्र तीन हजार एक सय सातजनाको मृत्यु भएको छ भने उपत्यकामा एक हजार सात सय १७ जनाको मृत्यु भएको छ । धादिङमा सात सय १९, रसुवामा पाँच सय ४३, गोरखामा चार सय ४०, काभ्रेमा तीन सय १७, दोलखामा ७७, मकवानपुरमा ३३, रामेछापमा २७, सोलुखुम्बुमा २२, ओखलढुङ्गामा १९, सिन्धुलीमा १२, सुनसरीमा सात, चितवनमा सात, बारामा पाँचजनाको मृत्यु भएको छ ।
गृहले दिएको क्षेत्रगत विवरणअनुसार भूकम्पका कारण पूर्वीक्षेत्रमा ५६ को मृत्यु र तीन सय २५ घाइते छन् । मध्यमाञ्चल क्षेत्रमा पाँच हजार आठ सय ५५ जनाको मृत्यु र पाँच हजार पाँच सय ३९ घाइते छन् । त्यसैगरी पश्चिमाञ्चल क्षेत्रमा चार सय १९ जनाको मृत्यु भएको छ भने मध्यपश्चिमाञ्चल क्षेत्रमा दुईजनाको मृत्यु भएको छ ।
भूकम्पमा सत्तरी विदेशी नागरिकको मृत्यु
गृह मन्त्रालयका अनुसार भूकम्पमा परी अहिलेसम्म ७० जना विदेशी नागरिकको मृत्यु भएको छ । यो सङ्ख्या अझै बढ्न सक्नेछ । रसुवाको लाङटाङमा धेरै विदेशी हराइरहेको सरकारको अनुमान छ । ‘त्यहाँ अझै खोजी कार्य जारी रहेकाले कति विदेशी परेका छन्, भन्न सकिन्न,’ गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने ।
गृहका अनुसार भूकम्पमा परी ११ देशका नागरिकको मृत्यु भएको छ । जसमध्ये ४० जना त भारतीय मात्र छन् । मृत्यु हुनेमा अन्य जर्मनी र अमेरिकाका चार–चार, फ्रान्सका तीन, चीनका दुईजना छन् । बाँकी मलेसिया, इटली, इजरायल, स्पेन, जापान, अस्ट्रेलियालगायत देशका छन् ।
भूकम्पमा परी इटाली, नेदरल्यान्ड, चीन, जर्मनी, हङकङ, टर्की, अमेरिका, भारत, बेलायत, अस्ट्रेलिया, इटली, फ्रान्स, रसिया, डेनमार्क, स्वीडेनलगायत देशका पचासजना नागरिक घाइते भएका छन् ।
त्यस्तै विभिन्न गैरसरकारी निकायले सरकारलाई दिएको जानकारीअनुसार हिमाल आरोहण गर्न भनी गएका एक सय ११ विदेशी अझै बेपत्ता छन् । बेपत्ता हुनेमा क्यानडा, बेलायत, चीन, बंगलादेश, इजरायल, चिली, फ्रान्स, स्पेन, जर्मनी, अमेरिका, भारत, रसिया, इन्डोनेसिया, न्युजिल्यान्डलगायत देशका नागरिक रहेका छन् ।
अन्तर्राष्ट्रिय उद्धार टोलीबारे सरकार अनविज्ञ
भूकम्पमा परेकालाई उद्धार गर्न भनेर नेपाल आएका अन्तर्राष्ट्रिय टोलीले के गरिरहेका छन् भन्नेबारे सरकारलाई कुनै जानकारी छैन । भूकम्प आएलगत्तै नेपालमा अमेरिका, भारत, चाइना, अल्जेरिया, अस्टे«लिया, बेल्जियम, क्यानडा, फ्रान्स, जर्मनी, हंगेरी, इन्डोनेसिया, इजरायल, जापान, मेलेसिया, मेक्सिको, फिलिपिन्स, पोल्यान्ड, रसिया, स्पेन, स्वीडेन, टर्की, थाइल्यान्ड, बेलायत, स्वीट्जरल्यान्ड, दक्षिण कोरिया, सिङ्गापुर, ओमन र नर्वे गरी २९ देशका उद्धार टोली आएका थिए ।
अमेरिका, भारत र चीनले नेपालका भूकम्पपीडितको उद्धारका लागि भन्दै आफ्ना देशका सेनासमेत ल्याएका थिए । तर, त्यसरी ल्याएका सेनाले कहाँ–कहाँ उद्धार गरिरहेका छन् नेपाल सरकारलाई खासै जानकारी छैन ।
यता, भारतीय सेनाले भने भक्तपुर र गोरखा क्षेत्रमा खटिएर उद्धार कार्यलाई निरन्तर दिइरहेको छ । भारतीय सेनाको ५० जना टोली भक्तपुरमा खटिएको छ । टोलीले भक्तपुरका भग्नावशेष हटाउने काम गरिरहेको छ । त्यस्तै सिन्धुपाल्चोकमा चिनियाँ टोलीले उद्धार गरिरहेको छ । तर, अन्य देशका सेना र उद्धार टोली कहाँ के गर्दै छन् कुनै जानकारी छैन ।
कतिपय देशका उद्धार टोलीले नेपाल सरकारलाई आफू आएकोबाहेक अरू केही जानकारी दिएका छैनन् । गृहका अनुसार नेपाल आएको चाइनाको वाईबी माउन्टेन्ट एन्ड वाटर रिसोर्स टिमले के गरिरहेको छ, कुनै जानकारी छैन । त्यस्तै चाइनाकै ब्लु लेपर्ड, फ्रान्सको पीएचडीएस, यूएलआईएस, हंगेरीको एचयूबीए रेस्क्यु २४ इन्टरनेसनल टिम, क्यानडाको सीएएसडीडीए, इजरायलको इजरायल एड, जापानको पिस विन्ड जापानलगायत एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय रेस्क्यु टिम के गरिरहेको छ, सरकारलाई जानकारी छैन ।
भूकम्पपीडितलाई सरकारी राहत
सरकारले भूकम्प प्रभावित विभिन्न १५ जिल्लामा जम्मा २७ हजार ६ सय ९३ क्विन्टल चामल बाँडेको छ । त्यसैगरी चीन पाँच सय ३३ क्विन्टल, नुन १३ सय क्विन्टल, चिउरा सात हजार हजार दुई सय सय क्विन्टल, चाउचाउ ८७ हजार ६ सय ३९ कार्टुन, बिस्कुट ६३ हजार नौ सय ९३ कार्टुन, ड्राइफुड २५ सय ९५ कार्टुन र पानी २९ हजार पाँच कार्टुन वितरण गरेको छ ।
त्यसैगरी सरकारले सिन्धुपाल्चोकमा जम्मा दश हजार ६ सय तीन थान पाल, २५ सय २७ थान कम्बल र ६३ थान मेट्रेस वितरण गरेको छ । त्यस्तै रसुवामा टेन्ट १५ थान, त्रिपाल ६ सय ५२ थान, कम्बल १८ सय ८२ थान, धादिङमा २१ हजार २ सय ८८ थान, कम्बल ९१ सय ७०, मेट्रेस पाँच हजार सात सय नौ, काभ्रेमा ८१ सय १२ थान त्रिपाल, २४ सय ५६ थान कम्बल, नुवाकोटमा ३४ सय थान त्रिपाल, दुई सय २० थान कम्बल, सिन्धुलीमा ६७ सय ३० थान त्रिपाल, आठ सय ९७ थान कम्बल, ओखलढुङ्गामा १५ सय ३० थान त्रिपाल एक हजार पचास थान कम्बल, रामेछापमा ६ हजार थान त्रिपाल र ४० थान कम्बल, गोरखामा २७ हजार आठ सय ९० थान त्रिपाल, चार हजार ३० थान कम्बल, ३२ सय २५ थान मेट्रेस, दोलखामा पाँच हजार ३० थान त्रिपाल, २८ सय ५५ थान कम्बल, मकवापुरमा १४ हजार ९३ थान त्रिपाल, ५२ सय ७० थान कम्बल र पाँच हजार आठ सय ९० थान मेट्रेस वितरण गरेको छ । त्यसैगरी काठमाडौंमा ६७ सय ४७ थान त्रिपाल, ५२ सय ७० थान कम्बल, आठ सय दश थान मेट्रेस, ललितपुरमा ९७ सय ४७ थान त्रिपाल, पाँच सय ५७ थान कम्बल, भक्तपुरमा तीन अठार ६२ थान कम्बल, ११ सय दश थान कम्बल र लमजुङमा ५२ सय थान त्रिपाल, ६ हजार १२ थान कम्बल र पाँच सय १८ थान मेट्रेस वितरण गरेको छ ।
कोषमा जम्मा ९७ करोड जम्मा
विनाशकारी भूकम्पपछि प्रधानमन्त्री दैवी उद्धार कोषमा ९७ करोड ५३ लाख ७५ हजार ५७ सय ९ रुपैयाँ जम्मा भएको छ । पीडितहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारले उक्त कोषमा सक्दो सहयोग रकम जम्मा आह्वान गरेको थियो ।
कोषमा विभिन्न सङ्घसंस्था, कर्मचारी, कार्यालय र व्यक्तिले सहयोग गरेका छन् । कोषमा अहिलेसम्म सबैभन्दा धेरै सहयोग साउदी अरबका राजकुमारले गरेका छन् । उनले १३ करोड १३ लाख ४९ हजार ५ सय रुपैयाँ दिएका छन् । त्यस्तै, हङकङस्थित लि.का. फाउन्डेसनले दश करोड ७० लाख सहयोग गरेको छ ।
कोषले उपलब्ध गराएको विवरणअनुसार भुटान सरकारले दश करोड ११ लाख ४९ हजार ९ सय ९९, गोर्खा ब्रुअरी र प्रहरी प्रधान कार्यालयले दशर दश करोड सहयोग गरेका छन् । कर्मचारी सञ्चय कोषले दुई करोड र राष्ट्रिय बिमा कम्पनीले एक करोड रुपैयाँ कोषमा जम्मा गरेका छन् । त्यस्तै नेपाल सरकारका कर्मचारीबाट २२ करोड १० लाख, नागरिक लगानी कोषबाट दश करोड सहयोग गरेका छन् । कोषका अनुसार गृह मन्त्रालयमार्फत कोषले भूकम्पपीडितका नाममा चार अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।
कुन देशले के–के दिए ?
भूकम्पपीडितका नाममा अन्तर्राष्ट्रिय निकायले खाद्यान्नलगायतका विभिन्न सामग्री राहतस्वरूप उपलब्ध गराएका छन् । गृह मन्त्रालयअनुसार भूकम्पपीडितका लागि भन्दै हालसम्म विभिन्न २१ देशले खाद्य र गैरखाद्य सामग्री राहतस्वरूप प्रदान गरेका छन् । गृहका अनुसार भारत, बंगलादेश म्यान्मार, पाकिस्तान, भुटान, चीन, थाइल्यान्ड, इन्डोनेसिया, अजरबैजान, कोरियालगायतका देशबाट बिहीबार बिहानसम्म खाद्य सामग्रीहरू चामल, चिनी, नुन, चाउचाउ, बिस्कुट, ड्राइफुड, पानी र गैरखाद्य सामग्रीहरू टेन्ट, त्रिपाल, कम्बल, मेट्रेस तथा अन्य सामानहरू राहतस्वरूप दिएका छन् । ती सामान नेपाल सरकारले बुझिसकेका छन् भने केही बुझ्न बाँकी रहेको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकलले जानकारी दिए ।
गृहले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै खाद्यसामग्री भारतले दिएको छ । भारतले चामल तीन हजार ८८ क्विन्टल, चिनी पाँच सय ७२ क्विन्टल, नुन एक सय ५३ क्विन्टल, चिउरा २९ सय ५१ क्विन्टल, चाउचाउ १४ हजार ४ सय ६५ कार्टुन, बिस्कुट ३४ हजार नौ सय ७८ कार्टुन, ड्राइफुड ६४ सय ४४ कार्टुन, पानी एक लाख तीन हजार पाँच सय ८९ कार्टुन र अन्य १९ हजार नौ सय ४३ थान रहेका छन् । त्यस्तै थाइल्यान्डले चामल २ सय सात क्विटल, अन्य ३४ श्रीलंकाले चाउचाउ १ सय ७३ कार्टुन, पानी ३ सय ८७ कार्टुन, अन्य २ सय ६, म्यान्मारले १ सय ७० कार्टुन चाउचाउ, बंगलादेशले ५ सय कार्टुन बिस्कुट, ३ सय ३४ कार्टुन पानी, भुटानले ४ सय ८० कार्टुन पानी, अजरबैजानले १९ कार्टुन पानी, इन्डोनेसियाले अन्य ३ हजार २ सय २८ थान सामग्री प्रदान गरेको छ ।
त्यस्तै गैरखाद्य सामग्रीमा भारतले १३ हजार २७ थान टेन्ट, २ लाख १६ हजाार २ सय ७१ थान त्रिपाल, १ लाख ८१ हजार १ सय ४२ थान कम्बल, ११ हजार ९ सय ५ थान मेटे«स र मेडिकल बक्ससहित अन्य चार हजार ९ सय ४४ थान राहत सामग्री दिएको छ ।
बंगलादेशले चार सय ४५ थान टेन्ट, म्यान्मारले १ हजार थान बेडसिट, चीनले २ हजार ५३ थान टेन्ट, ७८ थान त्रिपाल, ८ हजार ४ सय ४० थान कम्बल, ४० थान मेटे«स, अन्य १५ सय थान, थाइल्यान्डले टेन्ट ८७ थान, कम्बल २२ सय ९२ थान, मेटे«स ७ य ३१ थान, अन्य १ सय १२ थान, श्रीलंकाले १ सय ८५ कार्टुन मेडिसिन, इन्डोनेसियाले एक सय ३९ थान टेन्ट, ६ सय १७ थान त्रिपाल, ६६ सय ९४ थान कम्बल, ११ सय ५१ थान मेट्रेस दिएको छ ।
– रामहरि पाण्डे

एउटै सामानमा तीन सय पच्चीस डलर फरक मूल्य
नेपाल प्रहरीमा करोडौँ भ्रष्टाचार
देश माफियाहरूको हातमा रहेको अर्को एउटा दृष्टान्त फेलापरेको छ । विभिन्न शक्तिकेन्द्रसँग निकटको सम्बन्ध बनाएर रातारात अर्बपति बन्ने खेलमा लागेका केही माफियाहरूमध्ये पछिल्लो समयमा दीपक भट्ट नामक व्यक्ति सर्वाधिक अगाडि देखिएका छन् । वामदेव गौतमका अति निकट रहेका भट्टले एमाले अध्यक्ष केपी ओली, काङ्गे्रस नेता शेरबहादुर देउवा र अख्तियारसमेत आफ्नो मुठ्ठीमा रहेको धाक लगाउँदै कर्मचारीको तहबाट गरिनुपर्ने निर्णय आफ्नो पक्षमा गराउँदै आएका छन् । खासगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक पर्ने सामग्री खरिदमा एकलौटी कब्जा गरेर राज्य र सम्बन्धित संस्थालाई करोडौँ रुपैयाँ क्षति पु-याउने काम भट्टले गर्ने गरेका छन् । भट्टले जम्मा डेढ सय अमेरिकी डलर मूल्य पर्ने सामग्री नेपाल प्रहरीलाई चार सय पचहत्तर डलरमा खरिद गराएर सोह्र करोड पच्चीस लाख रुपैयाँभन्दा बढी नोक्सानी पु-याएको प्रमाणित भएको छ ।
प्राप्त जानकारीअनुसार नेपाल प्रहरीलाई आवश्यक पर्ने भीड नियन्त्रण इक्विपमेन्ट प्रतिथान चार सय पचहत्तर (४७५) अमेरिकी डलरको दरमा दीपक भट्टले उपलब्ध गराएका थिए । पाँच हजारभन्दा बढी थान इक्विपमेन्ट खरिद गर्दा सरकारलाई सोह्र करोड पच्चीस लाख रुपैयाँभन्दा बढी क्षति पु-याइएको छ । सोही प्रकृतिको इक्विपमेन्ट खरिद गर्न सशस्त्र प्रहरी बलले टेन्डर आह्वान गर्दा प्रतिथान डेढ सय डलरमा उपलब्ध गराउन व्यापारीहरू तयार भएको पाइएपछि दीपक भट्टले गरेको अनियमितताको खुलासा भएको हो ।
यस प्रकरणमा उपप्रधानमन्त्री वामदेव गौतम संलग्न रहेको देखिए पनि गृहसचिव र प्रहरी प्रमुखको भूमिकाबारे स्पष्ट हुन सकेको छैन । गृह मन्त्रालयको एक सूत्रले जनाएअनुसार भट्टले गृह सचिव सूर्य सिलवाललाई प्रभावमा पारेका थिए र सिलवाललाई नै प्रयोग गरेर सशस्त्र प्रहरीको ठेक्कासमेत चार सय पचहत्तर डलर दरमा सामान उपलब्ध गराउने गरी ‘पार्ने’ कोसिस गरेका थिए । त्यसनिम्ति भट्टले अन्य विभिन शक्तिकेन्द्रहरूलाई समेत प्रयोग गरेको बताइन्छ । तर, सशस्त्र प्रहरीले कम दरमा कबोल गर्नेलाई टेन्डर स्वीकृत गर्ने अडान लिएपछि भट्टले टेन्डर कबोल गर्नेलाई टेन्डर स्वीकृत गनअडान लिएपछि भट्टले टेन्डर प्रक्रियामा भाग लिएनन् । सशस्त्र प्रहरीले तीन हजारभन्दा बढी थान इक्विपमेन्ट खरिद गर्नका लागि करिब दुई महिनाअघि टेन्डर आह्वान गरेको थियो । गत चैत ३० गते सोमबार टेन्डर खोल्दा सबभन्दा कम दर कबोल गर्नेले एक सय पचास डलर उल्लेख गरेको, तर दीपक भट्टले शक्तिकेन्द्रको प्रयोग गरी अहिलेसम्म उक्त टेन्डरअनुसारको खरिद प्रक्रिया अघि बढाउन रोक लगाएका छन् । सशस्त्र प्रहरीले अब डेढ सय डलरभन्दा बढीमा उक्त इक्विपमेन्ट खरिद नगर्ने भएको बुझिएको छ । भीड नियन्त्रणका क्रममा प्रहरीले खुट्टा, हात, शरीर र टाउको जोगाउने कवच प्रयोग गर्ने गर्दछन् ।
एकै प्रकारको कवच सशस्त्र प्रहरीले डेढ सय डलरमा खरिद गर्ने भएपछि सोही सामग्री चार सय पचहत्तर डलरमा खरिद गर्ने नेपाल प्रहरीले आफ्नो निर्णय उचित भएको पुष्टि कसरी गर्न सक्छ– यो प्रतीक्षाको विषय बनेको छ । यस प्रकरणले नेपाल प्रहरीभित्र भएको व्यापक भ्रष्टाचारको खुलासा मात्र गरेको छैन, माफियाहरूको पहुँच राज्यसत्तामा बलियो रहेको पुष्टि पनि गरेको छ । अब सुशासनको निम्ति सक्रिय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो भ्रष्टाचार प्रकरणको छानबिन कसरी गर्ने हो, सबैको जिज्ञासाको विषय बनेको छ ।

सहयोगीमाथि नै शङ्का
भूकम्पपीडित नेपाली जनतालाई राहत तथा उद्धारका निम्ति सर्वाधिक सक्रियाता देखाउने मित्रराष्ट्र भारतलाई सङ्कटकै बीचमा पनि विवादमा तान्ने प्रयास भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट पीडित जनतालाई राहत तथा उद्धारमा हरतरहले सहयोग पु-याउने अग्रसरता लिनुभएपछि भारतले ६ घन्टाभित्रै उद्धार सामग्रीसँगै हेलिकोप्टर तथा विमानहरू काठमाडौंमा अवतरण गराएको थियो । उद्धार कार्यमा सहयोग गर्ने क्रममा भएको केही सानातिना कमी–कमजोरीलाई लिएर कतिपयले तिललाई पहाड बनाउने प्रयास गरेको भए पनि यो महासङ्कटमा भारतबाट भएको सहयोगको आमजनताले उच्च मूल्याङ्कन गरेका छन् । भारतले करिब ६ सय टन उद्धार सामग्री तत्कालै उपलब्ध गराएको थियो । भारतीय वायुसेवाका ३२ उडानले पाल, ब्ल्याङ्केट, औषधि, पानी, इन्जिनियरिङ, इक्विपमेन्ट, औषधि, अक्सिजन, सेनाको फिल्ड अस्पताल र अठार मेिडकल टिम काठमाडौंमै अवतरण गराएका थिए । भारतको मेडिकल टिमले भूकम्पको केन्द्रबिन्दु मानिएको गोरखाको
बारपाकमा मात्र करिब पन्ध्र सय घाइतेको उपचार गरेको थियो । एम्स अस्पताल नयाँदिल्ली र गुजरातबाट आएका मेडिकल टिमले काठमाडौंको ट्रमा सेन्टरबाट उपचार सेवा उपलब्ध गराइरहेको छ । शान्तिकुन्ज हरिद्वारबाट खटिएका एघार चिकित्सकको टोलीले ज्यादा प्रभावित क्षेत्रहरूमा पुगेर घाइतेहरूको उपचार गरिरहेको छ । हरियाणा, पञ्जाव र नयाँदिल्लीस्थित गुरुद्वारा कमिटीहरूले
काठमाडौंको साँखु, ललितपुरको खोकना र धादिङको बेनिघाट गाविसका सुनार तथा चेपाङ गाउँमा निःशुल्क भोजन उपलब्ध गराएका छन् । तीस हजारभन्दा बढी पीडितलाई निःशुल्क भोजनका लागि रवि सिंह तथा उनको टोली विगत दुई सातादेखि नै सक्रिय रहँदै आएको बुझिएको छ । पश्चिम बंगाल सरकारले एक लाखभन्दा बढी पाल उपलब्ध गराएको छ । उत्तरप्रदेश सरकारले मात्र पाँच हजार रक्त परीक्षण सामग्री तथा एम्बुलेन्सको साथै सय टनभन्दा बढी खाद्यान्न उपलब्ध गराएको थियो । भारतले उद्धार तथा राहतका लागि करिब आठ हजार टन खाद्य तथा अखाद्य सामग्री सहयोगस्वरूप उपलब्ध गराएको देखिन्छ । यसबाहेक घाइते स्वदेशी तथा विदेशीहरूको उद्धारमा पनि भारतले नै अग्रता कायम
गरेको जानकारहरूको भनाइ छ । यसबाहेक भारतले लाखौँ थान कम्बल पनि पीडितलाई उपलब्ध गराएको छ ।
यसरी द्रुत गति र ठूलो मात्रामा सहयोग गरेको भए पनि भारतलाई विवादमा ल्याउन प्रयास गरिनु आफैँमा दुःखको विषय बनेको छ । राहत तथा उद्धार कार्यमा अपेक्षाकृत कम सहयोग गर्ने संयुक्त राज्य अमेरिकाले नेपालको विमानस्थलले धान्नै मुस्किल पर्ने आकार प्रकारको सैन्य विमान अवतरण गराउँदा पनि मौन रहनेहरूले भारतमाथि छिद्रान्वेष गर्नु आफैँमा रहस्यपूर्ण मानिएको छ । राहत तथा उद्धार कार्यमा पछाडि परेको अमेरिकाले पछिल्लो समयमा सेना तथा सैन्य विमानको मात्रा बढाउँदा यो क्षेत्रमै तनाव पैदा गर्नसक्ने अनुमान विज्ञहरूले गरेका छन् । तर, अमेरिकी भूमिकाको विषयलाई यहाँ महत्वका साथ हेरिएको छैन । उद्धार तथा राहतमा अग्रता लिने भारतलाई विवादमा ल्याएर हामीले कतै हाम्रो पूर्वाग्रह त प्रकट गरिरहेका छैनौँ, प्रश्न उठेको छ ।
– नवीन उप्रेती

पाल पनि बाँकी राखेनन् वामदेवले
उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री वामदेव गौतमले चीनद्वारा उपलब्ध गराइएको करिब एघार हजार थान विशेष पाल बेपत्ता बनाएका छन् । भूकम्प गएको पाँच दिनपछि चीनले घरजस्तै देखिने चौध हजार पाँच सय थान पाल नेपाल सरकारलाई उपलब्ध गराएको थियो । तर, गृह मन्त्रालयको रेकर्डमा करिब तीन हजार थान पाल मात्र चीनको एक संस्थाले उपलब्ध गराएको उल्लेख छ र मन्त्री गौतमले पनि करिब तीन हजार पाल प्राप्त भएको सार्वजनिक गरेका छन् । बाँकी एघार हजारमध्ये केही गृहमन्त्री आफैँले राखेको, केही आफन्त–नातेदार तथा साथीहरूलाई र केही आफ्ना खासखास समर्थकहरूलाई मात्र गौतमले उपलब्ध गराएको जानकारीमा आएको छ । नेपालमा उपलब्ध गराइएकोमध्ये निकै आकर्षक र सुरक्षित मानिएको चिनियाँ पालमा उच्च तहका राजनीतिकर्मी, उच्चपदस्थ कर्मचारी तथा सुरक्षाकर्मीहरूले समेत आँखा लगाएका थिए, तर वामदेव गौतमले नै आँखा गाडेपछि अरू कसैको केही लागेन । यसरी चीनले पहिलो लटमा पठाएको पाल नै गृहमन्त्रीले बेपत्ता बनाएपछि चिनियाँ पक्ष असन्तुष्ट बनेको बुझिएको छ । सरकारको उच्च ओहोदामा बसेका व्यक्तिले एउटा राम्रो पालमा त आँखा गाड्छन् भने अलिक ठूल्ठूला सहयोग भएमा त्यसको उपयोग कसरी हुनसक्ला भन्ने चिन्ता चिनियाँ पक्षमा देखिएको छ ।

भारतीय वायुसेनाबारे नेपाली सेनाको प्रस्टोक्ति
आमसञ्चारका विभिन्न माध्यममा ‘भारतीय वायुसेनाले भूकम्पपीडितहरूको उद्धारमा चाख नदिई आफ्नै नागरिक (भारतीय नागरिक)को उद्धारमा केन्द्रित भएको’ जस्ता गलत र भ्रामक समाचार एवम् टीका–टिप्पणी प्रकाशित–प्रसारित भएको भन्दै नेपाली सेनाले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले जनाएअनुसार नेपाली सेनाको ‘मल्टिनेसनल मिलिटरी कोअर्डिनेसन सेन्टर’को संयोजकत्वमा खोज, उद्धार तथा राहत कार्यमा आएका भारतीय सेनाको सर्च एन्ड रेस्क्यु टिम, मेडिकल टिम तथा वायुसेनाको टोलीले गत सोमबारसम्म भूकम्पबाट प्रभावित विभिन्न जिल्लामा काठमाडौंबाट चार सय ७७ पटक उडान भरी १३५७ जना स्वदेशी तथा एक सय ६४ जना विदेशी नागरिकको उद्धार गरिसकेको छ भने भूकम्पबाट प्रभावित भएका जिल्लामा भूकम्पपीडितका लागि १,९२,२९५ केजी अत्यावश्यक खाद्यान्न र अन्य राहत सामग्रीहरू पु-याइसकेको छ । त्यसैगरी पोखराबाट भारतीय वायुसेनाले ०७२ वैशाख २६ गतेसम्म खाद्यान्न तथा अन्य सामग्री गरी १,५०,५९० केजी राहत सामग्रीहरू भूकम्पबाट प्रभावित स्थानहरूमा पु-याएको र घाइते बिरामी तथा अलपत्र परेका स्वदेशी तथा विदेशी गरी नौ सय २० जना नागरिकको सकुशल उद्धार गरिसकेको छ । मित्रराष्ट्रहरूका सेनाले गर्ने प्रत्येक उडानमा नेपाली सेनाको तर्फबाट एक सम्पर्क अधिकृत र सुरक्षाको निमित्त एक सैनिकसमेत खटिने गरेकोसमेत नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसरी छिमेकी मित्रराष्ट्र भारतीय सेना तथा वायुसेनाका टोलीहरूले एमएनएमसीसी तथा सैनिक हवाई महानिर्देशनालयको संयोजकत्वमा भूकम्पपीडितहरूको उद्धार तथा राहत वितरण कार्यमा परिचालित भई महत्वपूर्ण योगदान दिइरहेको भन्दै नेपाली सेनाले प्रशंसा गरेको छ । यसरी नकारात्मक टीका–टिप्पणी तथा आक्षेप लगाउँदा दुई देशबीचको परम्परागत एवम् ऐतिहासिक सुमधुर सम्बन्धमा असर पर्न सक्ने भएकाले यस्ता सामग्रीको प्रकाशनमा संवेदनशील भइदिन सम्बद्ध निकायलाई नेपाली सेनाले अनुरोध गरेको छ ।

यसरी चर्किँदै छ राजधानीमा डेराको समस्या
वैदेशिक रोजगारीमा निर्भर अर्थतन्त्र भएको यो मुलुकमा न त्यसरी रोजगारीमा जानेहरूको इज्जत छ न रोजगार व्यवसायीहरूको । वैदेशिक रोजगारीमा जानेहरूले विदेशमा भोग्नुपर्ने अपमान, अपहेलना र कष्ट बेग्लै छँदै छ । त्यसरी रोजगारीमा जानेहरूले पाएजस्तै अपमान, अपहेलना र सकस काठमाडौं उपत्यकामा डेराको जिन्दगी जिउनेहरूले पनि व्यहोर्नुपरिरहेको छ । उनीहरू दोस्रो दर्जाका नागरिकको रूपमा रहन बाध्य छन् । घरबेटीको कचकच, चर्को कोठाभाडा, फोहोर चर्पी, खानेपानीको चरम समस्यासँग जुझ्नु कोठामा बस्नेहरूको दैनिकीजस्तै बनेको छ ।
काठमाडौं महानगरपालिकाको एक अनौपचारिक तथ्याङ्कअनुसार काठमाडौंमा मात्र सत्र लाखभन्दा बढी मानिस भाडामा बस्छन् । बाँकी भने आफ्नै घरमा बस्छन् । उनीहरूले भने तुलनात्मक रूपमा राम्रो जीवन बिताइरहेका छन् । उपत्यकामा कति घर छन् भन्ने यकिन तथ्याङ्क छैन, काठमाडौं महानगरपालिकासँग । तर, भएका घरमध्ये झन्डै ९० प्रतिशतभन्दा बढीले बस्नका लागि होस् या कार्यालय सञ्चालन गर्न आफ्नो घर भाडामा लगाएका छन् । घर, भाडामा लगाएर आरामले आफ्नो गुजारा चलाउनेहरूको पछिल्लो प्रतिस्पर्धामा उपत्यकाको खेतीयोग्य जमिन मासेर घर बनाउनेहरूको सङ्ख्या बढ्दै गएको छ ।
राजधानीमा नयाँ घर बन्ने क्रम माओवादी शान्तिप्रक्रियामा आएपछि बढेको हो । घर बनाउने र भाडा दिनेहरूको प्रतिस्पर्धा नै छ भन्दा हुन्छ । तर, घर भाडामा दिएपछि घरबेटी भाडामा बस्नेलाई उपलब्ध गराउनुपर्ने सेवा–सुविधाबारे भने मौन रहेका देखिन्छन् । यतिसम्म कि उनीहरू भाडामा बस्नेहरूको समस्या सुन्नै चाहँदैनन्, समस्या लिएर गयो भने ‘समयमा खुरुक्क भाडा बुझाउनुस्, राम्रो सुविधा भएको घर चाहिए अन्यत्रै खोज्नुस्, हामीले तपाईंलाई यहाँ कर लगाएर बस्नुस् भनेका छैनौँ’ भन्छन् ।
पहिलो कुरँ त राजधानीमा भाडाका कोठा पनि सजिलै पाइँदैन । मन्त्री, सभासद्ले समेत सजिलै कोठा नपाएको बेलामा सामान्य नागरिकले कोठा पाउनु असामान्य नै बनेको छ । कोठा भेटाउनु भनेको देउता भेटेजत्तिकै हो भन्दा फरक नपर्ने बताउँछन् भुक्तभोगीहरू । कोठा पाउन अनेक नाता जोड्नुपर्ने र पएपछि पनि घरबेटीको धेरै चाकडी गर्नुपर्ने पीडितहरू बताउँछन् । लामो प्रयासपछि पाइएको कोठामा पनि न्युनतम् आवश्यकीय कुनै सुविधा हुँदैन । खानेपानी, सरसफाइ केही हुँरदैन, तर भाडा ती सबैको जोडेर एकमुष्ट लिने गरेका छन् कतिले त । सामान्यतया राजधानीमा एउटा सानो कोठाको एक महिनाको भाडा पच्चीस सयबाट चार हजारसम्म हुने गरेको छ । अझ तीन कोठा वा चार कोठाको एउटा फ्याट नै भाडामा लिइयो भने, पन्ध्रदेखि पच्चीस हजारसम्म पर्छ । झन् अहिले घरवहाल कर भनेर घरबेटीले भाडामा बस्नेहरूसँग थप पैसा लिने गर्छन् । तर, उनीहरूले घरवहाल कर भने तिरेका हुँदैनन् । घरबेटीको सबै माग पूरा गर्छु भन्दा पनि सजिलै पाइँदैन । अझ अहिले राजधानीका घरमा कुनै न कुनै कार्यालयको बोर्ड झुन्ड्याइएको छ । त्यसैले घरबेटीहरू सकेसम्म बस्नेलाई भन्दा पनि अफिस राख्नेहरूलाई कोठा दिन रुचाउँछन् । परिवारसहित बस्नेहरूलाई दिनुप-यो भने तीनपुस्ते सोधेर हैरान बनाउँछन् ।
राजधानीमा अहिले सबैभन्दा ठूलो समस्या बत्तीको भन्दा पनि खानेपानीको छ । अधिकांश घरमा पानी आउँदैन । आइहाले पनि सफा आउँदैन । तर, भाडामा बस्नेले आउँदै नआउने पानीको पनि पैसा तिर्नुपर्छ । खानेपानीसमेत नपाउने बेलामा लुगा धुने पानी पाउने त सम्भावना नै छैन । ज्ञानेश्वर भैरव मन्दिरनजिक भाडाको घरमा बस्दै आएका दोलखा चरिकोटका कुमार लामाले भने, ‘लुगा धुन बोरिङको पानी व्यवस्था गरिएको छ, तर बोरिङको पानी सफा आउँदैन । पिउनका लागि पनि जारको पानी किन्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘त्यसमाथि पनि आजभोलिको गर्मी मौसममा त ठीकै हो, भोलिपर्सी जाडोमा यहाँका कोठमा बसिनसक्नुको चिसो हुन्छ ।’
कोठामा भाडा पनि मनपरी लिने गरेका छन् घरबेटीहरूले । कति क्षेत्रफल भएको कोठाको कति भाडा दिने भन्ने कुनै मापदण्ड नहुने, घरबेटीहरूले आफूखुसी भाडा लिने गरेका छन् । ‘कोठाको भाडा लिन्छन्, तर कोठा भाडामा दिएपछि उपलब्ध गराउनुपर्ने सुविधाबारे घरबेटीहरू मौन देखिन्छन्,’ नक्सालमा बस्दै आएका अर्घाखाँची दुईखनका कृपाराम खनालले भने, ‘भाडाको घरमा बस्नेहरूको समस्या सुनाइनसक्नुको छ, केही भन्यो भने घरबेटीले हामीलाई कोठा चाहियो, तपार्इं अन्तै जानुस् भन्छन्, त्यसैले जे भए पनि सहेरै बस्नुपर्ने अवस्था छ ।’
आफू परिवारसहित बसेकाले आम्दानीभन्दा बढी खर्च गर्नुपरेको खनालको भनाइ थियो । ‘यहाँ मैले खाना र घरभाडामा मात्र मासिक ३० हजारभन्दा बढी खर्च गर्नुपर्छ,’ उनले भने, ‘हामी दुवैजना काम गर्ने भएकाले दैनिकी सजिलै बितेको छ ।’ यहाँ फोहोर व्यस्थापनमा पनि उत्तिकै समस्या भएको उनको गुनासो थियो । बिहान फोहोर सङ्कलन गर्ने गाडी आउँदैन, गाडी कुरेर बस्ने कुरा भएन, त्यसैले एक हप्तासम्म फोहोर कोठामै थुपारेर राख्नुपर्छ ।
त्यसो त यसबारेमा अध्ययन गर्न सहरी विकास मन्त्रालयले दुई वर्षअघि नै एक अध्ययन समिति बनाएको थियो । यसले घर निर्माणको मापदण्डसहित कोठाको क्षेत्रफलका आधारमा भाडा लिन पाउने र कोठा भाडामा लगाएबापत घरबेटीले अनिवार्य कर तिर्नु भन्दै प्रतिवेदन बनाएको थियो । तर, त्यो प्रतिवेदन कार्यान्वयन हुनु त परैको कुरा सार्वजनिकसमेत भएको छैन ।
नक्सालमा भाडाको घरमा बस्दै आएका पनौती–३ काभ्रेका सुमन बजगाईंले घरको मूलगेट छिट्टै लाग्ने समस्याले आफूलाई नराम्रोसँग सताएको जानकारी दिए । उनले भने, ‘म बस्ने घरको मूलगेट आठ बज्दा–नबज्दै लाग्छ, त्यसैले धेरैपटक पर्खाल नाघेर जानुपरेको छ ।’ साथै उनले धोएको लुगा सुकाउने समस्याले पनि उत्तिकै सताएको जानकारी दिए । उनले भने, ‘घरबेटी छतमा जान दिँदैनन्, तलै लुगा सुकाऊँ भने ठाउँ हुँदैन । त्यसैले आफ्नो कोठाको सानो प्यासेजमै डोरी टाँगेर कपडा सुकाउनुपर्ने बाध्यता छ ।’
बोरिङको पानी प्रयोग गरेबापत मासिक ६ सय रूपैयाँ तिर्नुपर्ने, बिजुलीको प्रतियुनिट १२ रूपैयाँ, पिउनेपानीको मासिक तीन सय अलग्गै तिर्नुपर्ने जानकारी गराउँदै बजगाईंले भने, ‘पानी तान्ने मिसिन बिग्रियो भने हामीहरूले नै उठाएर बनाउनुपर्छ ।’ ‘कोठामा कोही मानिस पाहुनाका रूपमा आए भने घरबेटीले मानिस धेरै आउन थाल्यो भन्दै कचकच गर्ने गर्छन् । ढोकाबाहिर आएर चप्पल गन्छन्,’ उनले थपे, ‘यो मेरो मात्र होइन, कोठामा बस्नेहरू सबैलाई यस्तै समस्याले सताएको मैले देखेको छु ।’
घरभाडा बढाए कारबाही
भूकम्पका कारण राजधानीका हजारौँ घरमा क्षति पुगेपछि बचेका घरका धनीले घरभाडा बढाउने प्रवृत्ति देखापरेको छ । यसरी मनपरी घरभाडा वृद्धि गर्न थालेपछि सरकारले त्यस्ता घरधनीलाई कारवाही गर्ने नीति अघिसारेको छ । भूकम्पबाट जनधनको Ôति भएको अवस्थामा राजधानीका केही घरधनीले घरभाडा वृद्धि गरेको भन्ने सूचना प्राप्त भएपछि गृहमन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्Èण्ँ भएको जनाएको छ । मन्त्रालयले पीडामा परेका व्यक्ति तथा समुदायलाई सहयोग गर्नुपर्नेमा विÈम् परिस्थितिको फाइदा उठाउँदै घरभाडा वृद्धि गर्ने कार्य गरे कार्वाही गर्ने एक विज्ञप्तिमार्फत् जनाएको छ । यस्ता कार्य सामाजिक, नैतिक र कानुनी दृष्टिकोण्ँबाट समेत अनुपयुक्त हुने भएकाले त्यस्ता कार्य नगर्न–नगराउन गृहले आग्रह गरेको छ । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले कोही कसैबाट त्यस प्रकारको कार्य गरेको सूचना प्राप्त भएमा नजिकको सुरÔा निकाय तथा नेपाल प्रहरीको टेलिफोन नं १००, गृहमन्त्रालयको आपतकालीन कल सेन्टरको टेलिफोन नं १२३४ र सशस्त्र प्रहरीको टेलिफोन नं १११४ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

भूकम्पपीडितलाई हिराचनको नौ करोड
विनाशकारी महाभूकम्पबाट भएको मानवीय क्षति तथा भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि एनआरएनका पूर्वअध्यक्ष तथा ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट लि. कम्पनीका अध्यक्ष देवमान हिराचनले नौ करोड रुपैयाँ सहयोग गर्ने भएका छन् । हिराचनद्वारा जारी विज्ञप्तिमा देशले ठूलो सङ्कट व्यहोर्नुपरेको र यस्तो दुःखको घडीमा एउटा नेपालीलाई पर्दा अर्को नेपालीले हेरेर बस्न नमिल्ने भन्दै धेरै क्षतिग्रस्त भएका जिल्लामध्ये सिन्धुपाञ्चोकको कुनै एक गाउँको घर तथा विद्यालय निर्माणमा उल्लेखित रकम खर्च गरिने उल्लेख गरिएको छ । साथै भूकम्पबाट क्षतिग्रस्त भएका सबै जिल्लाका मानिसको जीवनस्तर उकास्न जापानी कृषि प्राविधिकलाई नेपाल ल्याउने, मल, ब्उि दिएर सहयोग गर्ने अध्यक्ष हिराचनले बताएका छन् । अरू क्षेत्रभन्दा कृषि क्षेत्रबाट छिटो लाभ लिन सकिने भएकाले पीडितलाई सजिलो हुने उनको कथन छ । साथै हिराचनको अध्यक्षतामा स्थापना भएको कम्पनी ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट लि.ले काठमाडौंको रामकोट र नुवाकोटमा पनि भूकम्पपीडित जनतालाई टेन्ट, चामल, चाउचाउ, तेल, आलुलगायत अन्य खाद्यान्न सामानहरू वितरण गरिसकेको छ ।

मिर्गौलादाता भए पनि रकम अभावमा अलपत्र
दुवै मिर्गौला फेल भएर डाइलोसिस गराउँदै आएका गुल्मी विशुखर्क–५ निवासी ३० वर्षीय चन्द्रबहादुर श्रीस मिर्गौलादाता भेटिए पनि आर्थिक अभावका कारण प्रत्यारोपण गर्न नसकी बिलखबन्दमा परेका छन् । उनका लागि आफ्नै आमा र श्रीमती मिर्गौला दिन तयार छन्, तर रकमको जोहो नहुँदा मिर्गौला प्रत्यारोपण कार्य असम्भव बन्न पुगेको छ । गत पुसमा मिर्गौला फेल भएको थाहा पाएपछि भरतपुर मेडिकल कलेजमा डाइलोसिस गराइरहेका श्रीसकी आमा कुन्तादेवी र श्रीमती सीताले मिर्गौला दिने भए पनि झण्डै दश लाख प्रत्यारोपणमा खर्च हुने भएपछि यतिखेर असक्त श्रीसले सहयोगी/दातासँग प्राणको भीख मागिरहेका छन् ।
नेपाली काङ्ग्रेसका सक्रिय सदस्य श्रीसका बाबु विशुखर्क गाविसका पूर्वअध्यक्ष जितबहादुर श्रीसलाई ०६३ असार १७ गते तत्कालीन विद्रोही माओवादीले निर्मम हत्या गरेका थिए । आर्थिक रूपले कमजोर परिवारमा बुबाको हत्यापछि झन् समस्या थपिएको र दाइको मिर्गौला फेल भएपछि अर्को बज्रपात आइपरेको उनका भाइ जनक श्रीसले बताए । बिरामी श्रीसले आफू बाँचेर समाजसेवा गर्ने बाबुको सपना पूरा गराउन चाहेको तर महँगो उपचार भएकाले सहयोगका लागि दातासमक्ष गुहार लगाउनुपरेको बताए । मिर्गौला दिन तयार भएकी आमा कुन्ता र श्रीमती सीता श्रीसले परिवारका एक महत्वपूर्ण सदस्यको प्राण जोगाउन आफूहरू मिर्गौला दान गर्न तयार भएको बताउँछन् । आमा कुन्ता आँखाभरि आँसु पार्दै भन्छिन्, ‘चन्द्रको बुबाको अपराध भनेकै नेपाली काङ्ग्रेसको कार्यकर्ता हुनु र समाजसेवा गर्नुबाहेक अरू केही थिएन ।’ बाबुको सपनालाई पूरा गराउने प्रण गरेका छोराको मिर्गौला फेल हुनु र बाबुको आततायीले हत्या गर्नु परिवारमा पीडामाथिको पीडा भएको उनको दुःखेसो छ । पैसाको अभावका कारण प्रत्यारोपणमा ढिलाइ भएको बताउँदै चन्द्रकी पत्नी सीताले सहयोग गर्न चाहने दाताले जनक श्रीसको मोबाइल ९८६०४४६८२६ मा सम्पर्क गर्न आग्रह गरेकी छिन् । चन्द्रबहादुरको उपचारका लागि झन्डै दश लाख खर्च लाग्ने वीर अस्पतालबाट बुझिएको छ ।

दिव्यामाथि दशाको खात
सिन्धुपाल्चोक माँखा–१ निवासी २२ वर्षीया दिव्या श्रेष्ठ दुवै खुट्टा बराबर नभएकी अर्धविकलाङ्ग छात्रा हुन् । भूकम्प आएपछि ज्यान बचाउन घरबाहिर निस्कने क्रममा घरको खम्बा ढलेर शरीर पुरिन गएको र फलामे रडले हातको बीचभागसमेत छेडेर अत्यधिक रक्तश्राव भई उनी बेहोस भएकी थिइन् । लडेको पिलर पन्छाउन नसकिएको र रक्तश्राव पनि रोक्न नसकेपछि जीवनै गुमाउने कि हात मात्र गुमाउने भन्ने बाध्यात्मक परिस्थितिमा जीवन बचाउने उपाय अवलम्बन गर्नु नै उचित ठानी दिव्याले हात काट्ने निर्णय गरिन् । एक सहयोगीले अन्ततः हँसिया प्रयोग गरी उनको पाखुरा छिनाएर भग्नावशेषमा थिचिएकी दिब्यालाई उद्धार गरे । यसरी दिव्याले हात गुमाइन् तर जीवन बचाइन् ।
दिव्याको कथा यत्तिमै टुङ्गिएन । त्यसपश्चात् हातको रक्तश्राव रोक्न उनी खाडीचौरस्थित स्थानीय अस्पताल पुगिन् । तर, त्यति नै बेला फेरि भूकम्प आयो भन्दै अस्पतालमा रहेका चिकित्सकलगायतका कर्मचारी सबै भागेछन् । सङ्कटमाथि सङ्कट थपिएर हतास अवस्थामा पुगेकी दिव्यालाई तत्काल अँधेरीस्थित सशस्त्र प्रहरी क्याम्प लगियो र क्याम्पका स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरिदिए । त्यसको तीन दिनपश्चात् धुलिखेल अस्पतालमा उपचार गराउन पुगेकी दिव्याको अवस्था यतिबेला सुधारोन्मुख रहेको उनकी ५२ वर्षीया आमा सर्किनी गिरीले बताइन् । गत वर्ष मात्र दिव्यका पिता रमेश श्रेष्ठको हृदयाघातका कारण निधन भएको थियो । पितृशोकबाट उम्किनसक्दै भूकम्पको प्रकोपमा परेकी दिव्या सुनकोसी बहुमुखी क्याम्पस लामोसाँघुमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत छिन् ।

मन्त्री नपाएपछि संयुक्त सरकारको माग
नेपाल परिवार दलका अध्यक्ष एवम् सभासद् एकनाथ ढकालले प्रधानमन्त्री सुशील कोइरालासँग राष्ट्रिय संयुक्त सरकार गठनको माग गरेका छन् । मुलकलाई महाविपत्तिबाट सहज निकास दिन र संविधानसभामार्फत सहमतिमा संविधान जारी गर्न राष्ट्रिय संयुक्त सरकार गठनको विकल्प नरहेको पूर्वसहकारीमन्त्रीसमेत रहेका ढकालको माग छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको एक बैठकमा अध्यक्ष ढकालले देशमा महाविपति आइपरेको, संविधानलेखनको काम सिङ्गै बाँकी रहेको र महाभूकम्पपश्चात् महामारी फैलिन सक्ने तथ्यसमेत मध्यनजर गरी संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल एकजुट भएर समस्याको सामना गर्न राष्ट्रिय सरकार गठन भए सजिलो हुने बताए । उनले भूकम्पप्रभावित जिल्लामा देशका सम्पूर्ण सभासद्लाई परिचालन गर्नसमेत आग्रह गर्दै भूकम्पपीडितलाई तत्काल आवासको लागि जस्तापाता उपलब्ध गराई अस्थायी रूपमा समस्या समाधान गर्ने सुझाव दिएका छन् । साथै दीर्घकालीन रूपमा भूकम्पनिरोधक घर निर्माण गरिदिने योजना सरकारले ल्याउनुपर्नेमा ढकालले जोड दिए ।
स्मरण रहोस्, सुशील कोइरालाको नेतृत्वमा सरकार गठन हुँदा आँखा चिम्लेर सघाएका ढकालले मन्त्री बन्न पटक–पटक कोसिस गरे पनि सफल नभएपछि वर्तमान सरकारको विरोधीका रूपमा आफूलाई प्रदर्शन गर्दै आएका छन् । ढकालमाथि परिवार दलको आडमा क्रिश्चियन मिसनरीलाई सघाउने गरेको आरोपसमेत कैयनले लगाउने गरेका छन् ।

जोर–विजोर भागबन्डामा सीमास्तम्भ मर्मतको तयारी
परासी । सीमा निरीक्षण र सर्भेका लागि खटिएका दुई देशका प्राविधिक टोलीले नवलपरासीको सीमा क्षेत्रको सर्भे कार्य अगाडि बढाएका छन् । नेपाल–भारतका सीमा सर्भे टोलीले पकलिहवा–९ को सगरदिनहीको ४९७ नं. सीमा स्तम्भदेखि निरीक्षण तथा सर्भे कार्य प्रारम्भ भएको नवलपरसीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभएको छ । दुई देशका ६/६ जना गरी १२ जनाको प्राविधिक टोली सम्मिलित टोलीले सर्भे कार्यलाई अगाडि बढाएको थाहा लागेको छ । नेपालतर्फ प्राविधिक टोलीको नेतृत्व नापी विभागका उपसचिव निर्मल आचार्य र भारततर्फको नेतृत्व समान पदका अधिकारीले गरेको बताइएको छ । दुई देशका प्राविधिक टोलीले जीर्ण भएको स्तम्भलाई सफाइ एवम् मर्मतअन्तर्गत प्लास्टर गर्ने र सोको खर्च दुवै देशले व्यहोर्ने बुझिएको छ । तीन चरणमा गरिने सीमासम्बन्धी कार्यको पहिलो चरणमा सर्भे, दोस्रो चरणमा सफाइ मर्मत र तेस्रो चरणमा दशगजा नापी गरी यकिन गर्ने प्राविधिक टोलीले बताएको छ । नवलपरासी, रूपन्देही र कपिलवस्तु जिल्लाअन्तर्गत पर्ने दशगजा क्षेत्रमा स्थापित सीमास्तम्भ जीर्ण भई सफाइको कमीले झारपात उम्रिएको अवस्थामा दुई देशका प्राविधिक टोलीले तोकिएको समयमा सफाइ र मर्मत कार्य गर्ने भएका हुन् । विजोडी अङ्क भएका सीमास्तम्भमा नेपाल र जोडी अङ्क भएका स्तम्भमा भारत सरकारको खर्चमा मर्मत र सफाइ गर्ने स्रोतले जनाएको छ ।
तीन चरणमा गर्ने सीमासम्बन्धी कार्य करिब तीन महिना लाग्ने सम्बद्ध निकायले जनाएको छ । पकलिहवा–६ को २८ किलोमिटरको दूरीमा सीमास्तम्भ रहेको छ । सीमास्तम्भ ४९७ देखि ५११ नं. सम्म रहेका छन् । जसमा १३ प्रमुख र २ सहायक गरी १५ स्तम्भ रहेको छ । ती क्षेत्रमा रहेको सबैजसो स्तम्भ जीर्ण र मर्मत गर्नुपर्ने अवस्था रहेको बुझिएको छ । नवलपरासीको सुस्तादेखि कालापानीसम्म सीमाक्षेत्रको गत फागुन २७ गतेदेखि निरीक्षण र सर्भे गर्ने कार्यमा दुवै देश सहमत भए पनि ढिलो कार्य सुरु भएको हो ।

समाजसेवी पाठकद्वारा पीडितलाई राहत
१२ वैशाखको भूकम्पबाट पीडित बनेका धादिङ गजुरी गाविस वडा नंबर ६, ७ र ८ का चेपाङ तथा दलित जनजातिलाई युवा समाजसेवी राजेन्द्रप्रसाद पाठकले नीजि खर्चमा सामूहिक भोजन गराएका छन् । स्थानीय गदालवेसीमा करिव सात सय भूकम्पपीडितलाई आफ्नै हातले पकाएर माछा, मासुसहित विभिन्न पौष्टिक आहार पाठकले खानपिन गराएका हुन् । उक्त खानपिन कार्यक्रममा उल्लेखित वडाका बालबालिका तथा महिलाहरू विशेष तवरमा सम्मिलित रहेकाले आफूलाई आत्मसन्तुष्टि मिलेको पाठकले बताए । सो क्षेत्रमा भूकम्पआउनु अघि पनि विभिन्न समयमा आवश्यकताअनुसार सेवा कार्य गर्दै आएका समाजसेवी पाठकले भूकम्पपीडितका लागि टेन्टलगायतका अन्य सामग्री पनि वितरण गरेका उनका सहयोगी नारायणप्रसाद उप्रेतीले जानकारी दिए ।
यति मात्र नभई पाठकले स्थानीय पीडितका छोराछोरीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने, किताव, कापीलगायत आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने, बृद्धबृद्धालाई लुगा–कपडा प्रदान गर्ने, भूकम्पबाट त्रस्त जनतालाई मेन्टल काउन्सिलिङको व्यवस्था गर्ने, युवावर्गलाई आयआर्जनका उपाय दिलाउने र स्थानीय क्षेत्रको लागि एउटा एम्बुलेन्ससमेत ब्यवस्था गरिदिने प्रतिबद्धता जनाएका छन् ।

सिपापोखरेलाई समाजको सहयोग
भूकम्पबाट पीडित सिन्धुपाल्चोकको सिपापोखरे गाविसलाई अमेरिकामा बसोबास गर्ने नेपालीको पहलमा अमेरिका–नेपाल सहयोगी समाज अमेरिकाले उक्त गाविसका नौ सयभन्दा बढी घरधुरीलाई समान रूपले खाद्यान्न उपलब्ध गराई तत्कालका लागि ‘नो हंगर’ गाविस घोषणा गरेको स्थानीय सिन्धु उत्थान केन्द्रका अध्यक्ष राज भट्टराईले बताएका छन् ।
चिकित्सक टोलीसहित सिपापोखरे पुगेको टोलीलाई स्थानीय सिन्धु उत्थान केन्द्रले राहत वितरणमा सहयोग गरेको थियो । राहत वितरण टोलीले तीनदिने स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो । ‘भूकम्पबाट पीडित दाजुभाइ देखेर अमेरिका बस्नै मन लागेन, आफ्नै साथीभाइहरूको सहयोगमा रकम जुटाएर राहत वितरण गर्न नेपालसम्म आएका हौँ, यस गाविसका भूकम्पपीडितको घाउमा थोरै भए पनि मल्हम लगाउन सफल भएको ठानेका छौँ,’ अमेरिकाबाटै राहत वितरणका लागि भनेर आएका समाजका प्रतिनिधि पदम रेग्मीले भने ।
समाजले प्रतिपरिवार ३० केजी चामल, दाल, टेन्ट, पाल, कम्मल, नुन र तेललगायतका सामग्री उपलब्ध गराएको बताएको छ । यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट उक्त गाविसमा हालसम्म ६० जनाले ज्यान गुमाएको पुष्टि भइसकेको र ९० प्रतिशतभन्दा बढी घर पूर्ण रूपले ध्वस्त भएको पनि जनाइएको छ । स्थानीय युवाको सहयोगका कारण नै आफूहरूले राहत वितरण राम्रोसँग गर्न सकेको समाजका अध्यक्ष एवम् प्रतिनिधि सागर कँडेलले बताए । कँडेलले स्थानीयस्तरमा नै पुगेर सबैलाई समानरूपले राहत वितरण गर्न सघाएकोमा सिन्धु उत्थान केन्द्रलाई धन्यवाद दिँदै समाजका तर्फबाट केन्द्रलाई एक लाख नगद दिने घोषणासमेत गरे ।
अमेरिकादेखि आएर हाम्रो गाविसलाई नै राहत वितरणका लागि छानेकोमा समाजलाई धन्यवाद दिँदै सिन्धु उत्थान केन्द्रका अध्यक्ष राज भट्टराईले समाजप्रतिको दायित्व भएका कारण नै सहयोगी हातहरूलाई सघाउन स्थानीय युवा परिचालन गरिएको बताए । उनले कतिपय गाविसमा पीडितले भन्दा अन्य व्यक्तिहरूले नै राहत पाएको भन्ने सुनिएको भए पनि यहाँ कोही नदोहोरिऊन्, कोही नछुटून् भन्ने नाराका साथ राहत वितरण गरिएको बताए । ‘कम्तीमा २० दिनका लागि यस गाविसका कसैले पनि भोकै बस्न र खुला आकाशमा रात बिताउनुपर्ने छैन, सम्भवतः कम्तीमा २० दिनका लागि भए पनि सिपापोखरे नै नेपालको पहिलो ‘नो हंगर’ गाविस हो,’ भट्टराईको दाबी छ ।
समाजले दोलखा र धादिङका विभिन्न स्थानमा पनि नेपालका प्रतिनिधिहरूमार्फत राहत पठाइसकेको अध्यक्ष कँडेलले बताए । यसैगरी समाजले भूकम्पबाट पीडित नुवाकोटको तलाखु गाविसको दिगम गाउँका २० घरपरिवारलाई पनि राहत वितरण गरेको छ ।