नूतन वर्ष र पुरातन नेतृत्व

नूतन वर्ष र पुरातन नेतृत्व


sampadakeeyaनिकै महत्वपूर्ण वर्ष बन्ने अपेक्षासाथ उदाएको ०७१ साल आमनेपालीको आशापेक्षालाई मृगतृष्णा सावित गराउँदै बिदा भएको छ । वास्तवमा ‘नयाँ संविधानको वर्ष’ बन्ने अपेक्षाका साथ आएको थियो बितेको साल, तर देशले संविधान नै नपाउने पो हो कि भन्ने निराशा जगाउँदै त्यो बिदा भएको छ । सोझो भन्नुपर्दा मुलुकले मानिआएको विक्रम सम्वतको पुरानो पात्रो कुनै ठोस उपलब्धिबिना नै फेरिएको छ र भविष्यप्रति जबर्जस्ती आशावादी बन्ने परम्परा पछ्याउँदै नयाँ वर्ष २०७२ लाई स्वागत गरिएको छ ।
समय कुनै खास विषयवस्तुको बन्धक बन्न सक्दैन । तर, हाम्रो सन्दर्भमा यस वैश्विक तथ्य पनि हार खाएको अवस्था छ । हामी हरेक विषयवस्तुलाई ‘संविधान’को कसीमा घोटेर चर्चा गर्ने अनौठो मानसिकताबाट गुज्रिरहेका छौँ । मुलुकको प्रदूषित राजनीतिले दिएको भद्दा ‘उपहार’ हो यो । यस कोणबाट भन्नुपर्दा नयाँ वर्ष ०७२ को सफलता–असफलता पनि नयाँ संविधानलेखन कार्यको सफलता–असफलतासँग जोडिएको छ । मानौँ, संविधान सबैथोक हो, त्यो जारी हुन सक्नु नै सिङ्गै मुलुकको अहोभाग्य हो !
तर, अघिल्लो संविधानसभा जहाँ पुगेर अवसान भएको थियो, वर्तमान संविधानसभाको काम पनि त्यही बिन्दुमा अड्किएको छ । नेताका सोच र रवैयामा कुनै परिवर्तन नदेखिएको परिवेशमा सकारात्मक परिणामको अपेक्षा गर्ने अवस्था नै छैन । लोकतान्त्रिक प्रक्रियाको बहानामा दशकका दशक समय आजका नेतृत्वले निरर्थक गुजारिसकेका छन् भने सिङ्गो एउटा पुस्ताले जीवनको अमूल्य कालखण्ड निरर्थक गुजार्नुपरेको छ । यस विडम्बनाकारी कठोर परिणतिको मूल कारकतत्व विद्यमान राजनीतिक नेतृत्वहरू नै हुन् भन्ने सचेत नागरिक तप्काको बुझाइ छ । वास्तवमा नेपाली राजनीतिकर्मीहरूले राजनीतिलाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम या समृद्धिको मार्गमा तेर्सिएका बाधा–व्यवधान चिर्ने साधनको रूपमा बुझ्नै सकेनन् । जसरी पनि सत्तामा जाने र आफू तथा आफन्तजनको हैसियत उकास्ने, पुस्तौँपुस्ताको निम्ति सम्पत्ति जोड्ने पेसाका रूपमा मात्र ‘राजनीति’लाई बुझ्ने र व्यवहार गर्ने प्रवृत्ति यिनले दर्शाए । मुलुकले सार्थक संविधान पाउन नसक्नुको कारण त यावत् होलान्, तर एउटा अहम् कारणचाहिँ निकम्मा र बेइमान राजनीतिक नेतृत्व नै हो ।
नियमित आकस्मिकताको उपजस्वरूप बितेको वर्षमा कतिपय सकारात्मक कामकुरा पनि नभएका होइनन्, तर समष्टिमा भने नेपाल र नेपालीका दुःख जहाँको त्यहीँ छोडेर गएको छ एकहत्तर साल । प्राकृतिक विपत्तिका केही प्रलयकारी घटना घट्नुका अलावा खासगरी भिजनरी राजनीतिक नेतृत्वको अभाव कत्ति पनि पूर्ति हुन नसकेको तिक्त यथार्थ मुलुकसामु कायम राख्दै गुज्रियो पुरानो साल । बन्द–हडताल, चन्दा फिरौतीलगायतका अनेक अपराधजन्य विकार समाजमा उत्तिकै व्याप्त छन् । दिनहुँ पन्ध्र सय युवा रोजगारीका लागि बिदेसिन्छन् र दिनहुँजसो सरदर पाँचको सङ्ख्यामा कफनमा बन्द भएर फर्कन्छन् । रोजगारीका अवसर सिर्जना गरी दुर्दशा वा दूरावस्था अन्त्य गर्ने सरकारसँग कुनै ठोस उपाय या योजना छैन, बरु गरिब नेपाली युवाले विदेशमा बगाएको आँसु, रगत र पसिनाको आर्जनबाट विभिन्न बहानामा विदेश सयर गर्न यहाँका राजनीतिक नेतृत्वहरू पटक्कै धक मान्दैनन् । यस्तोमा नेपाल र नेपालीको समृद्धिको बाटो खुल्ने आशा कसरी गर्ने ? पात्रो परिवर्तन हुँदैमा नागरिकको जीवनशैलीमै सकारात्मक परिवर्तनको बाटो खुल्ला भनी कसरी आशा जगाउने ? आमजनताका दैनन्दिनी उस्तै या अझ खस्किएको अनि नेता र तिनका आड–आश्रयमा रहेका कमिसनखोर, दलाल तथा भ्रष्ट माफियाका जीवनशैली अस्वाभाविक ढङ्गले उकासिएको परिप्रेक्ष्यमा सुविधाभोगी नेतागणले कमसेकम जनता पनि आफूजस्तै सुख–सुविधाका आकाङ्क्षी हुन् भन्ने सत्यको बोध गर्ने इमानदार प्रयत्न मात्र गरिदिए पनि राजनीतिले सकारात्मक बाटो अपनाउने आशा बढ्ने थियो ।
हो, व्यक्तिका चाहना या अपेक्षा फरक हुन सक्छन् । फरक चाहनाबीच पनि मुलुकको उन्नति, तमाम नागरिकको समृद्धि सबैको साझा चाहना रहँदै आएको छ । कमसेकम साझा अपेक्षा या चाहनालाई नूतन वर्ष ०७२ ले पूरा गर्न सकोस् । स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीजनमा हाम्रो यही शुभकामना ।