ट्राफिक प्रहरीमा गम्भीर स्वास्थ्य-समस्या

ट्राफिक प्रहरीमा गम्भीर स्वास्थ्य-समस्या


-रामहरि पाण्डे
सडकको ट्राफिक व्यवस्थापन गर्न खटिएका प्रहरी आफ्नै दैनिकी व्यवस्थापन गर्न नसक्दा गम्भीर रोगबाट पीडित हुन थालेका छन् । प्रदूषणयुक्त काठमाडौं उपत्यकामा खटिएका एक हजार पचासमध्ये अधिकांश प्रहरी किड्नी, श्वास-प्रश्वास तथा कानसम्बन्धी समस्याबाट पीडित हुन थालेका छन् । मुलुकभर तीन हजारको हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् भने उपत्यकामा मात्र एक हजार पचासले ट्राफिक व्यवस्थालाई सहज बनाउँदै आएका छन् । त्यसमा एक सय पच्चीस महिला ट्राफिक प्रहरीको सहभागिता छ । विभागले बयालीसजनाको ट्राफिक महिला टोलीलाई थापाथली, माइतीघर, बबरमहल र त्रिपुरेश्वरको ट्राफिक व्यवस्थापनको जिम्मेवारी दिएको छ । उनीहरूले अन्य स्थानमा भन्दा कडा ट्राफिक व्यवस्थापन गरिरहेका छन् । बाह्रदेखि चौध घन्टासम्म सिट्ठी बजाउँदै सडकमा उभिनुपर्दा स्वास्थ्यसम्बन्धी समस्या आउनु स्वाभाभिक ठान्छन् उनीहरू । ‘दिनभर धुवाँ र धुलोसँग मुकाबिला गर्नुपर्दा थुप्रैखाले समस्याको सामना गर्नुपरेको उनीहरूको भनाइ छ ।
ट्राफिक प्रहरी प्रभागकी प्रमुख अर्सइ विषया शर्मा सडकको धुवाँ, धुलो, भारी वर्षा, चर्काे घाम अनि सवारीसाधनको चर्काे ध्वनिबाट हुने प्रदूषणमा दिन बिताउनुपर्दा उपत्यकाका अधिकांश ट्राफिक प्रहरी अस्वस्थ रहेको बताउनुहुन्छ । प्रदूषित वातावरणमा रहेर गुणस्तरहीन मास्कको भरमा सडकको बीचमा रहेर ट्राफिक व्यवस्थापन गर्नुपर्दा अनेकखाले रोगले पिरोलिरहेको शर्माको भनाइ छ । कम जनशक्तिका कारण ती रोगीहरूले आफ्नो उपचार गराउँदै दैनिक ड्युटीअन्तर्गत सडकमा रहेर ट्राफिक व्यवस्था मिलाउँदै आएका छन् । अत्यन्तै जटिल प्रकृतिका रोग लागेर अस्पतालमै भर्ना गर्नुपर्ने र उपचारका क्रममा थप आरामको जरुरत परेकाबाहेककलाई बिरामी बिदा दिइँदैन । शर्माका अनुसार भौतिक तथा अति आवश्यकीय सुविधाहरू नभएकाले पनि ट्राफिक प्रहरीमा समस्या देखिएको हो । उनका अनुसार सबैभन्दा ठूलो समस्या शौचालय तथा पिउने पानीको हो ।
उनले भनिन्, ‘ड्युटीका क्रममा शौचालय जान पाइँदैन, यदि जानु नै पर्‍यो भने, साथी बोलाएर आफ्नो स्थानमा साथीलाई खटाएर मात्र जान पाइन्छ । त्यसका लागि पनि नजिकै पसल, स्वास्थ्य केन्द्र वा शौचालययुक्त कुनै कार्यालय छ भने मात्र, नत्र शौचालय जान ड्युटी नै सकिनुपर्छ । यसले पेट तथा किड्नीका समस्यालाई बढाएको हुनसक्छ । शौचालयको समस्याले पुरुषका तुलनामा महिलालाई निकै गाह्रो पर्ने गरेको प्रहरी उपरीक्षक श्रेष्ठ बताउनुहुन्छ । ‘हामीले घुम्ती शौचालयको सोच पनि बनाएका थियौँ तर, त्यो सम्भव नहुने देखेर योजना अघि बढाउन सकिएको छैन,’ श्रेष्ठले भन्नुभयो ।
रोग लागेर पनि नियमित ड्युटी गर्ने ट्राफिक प्रहरीमध्ये एक हुन् हवलदार सुनिता हमाल । उनी किड्नी तथा पेटसम्बन्धी समस्याबाट पीडित छिन् । माइतीघरमा ट्राफिक व्यवस्थापनमा खटिइरहेकी अवस्थामा गत आइतबार हमालले भन्नुभयो, ‘म चार वर्षदेखि किड्नीसम्बन्धी समस्याबाट पीडित छु र पेटमा पनि समस्या देखिन थालेको एक वर्षभन्दा बढी हुन लाग्यो ।’ किड्नीको रोगीले प्रसस्तै पानी पिउनुपर्छ । तर, उनी प्यास लागेको बेलामा समेत पानी पिउन डराउँछिन् । ‘शौचालय जानुपर्ने चिन्ताले पानी पिउन कन्ट्रोल गर्नुपर्छ,’ उनले पीडा पोखिन् ।
शौचालय जानका लागि पसल, अस्पताललगायतका स्थानमा जानुपर्ने समस्या छ । समयमा शौचालय जान नसक्दा र पर्याप्त पानी पिउन नपाउँदा धेरैलाई किड्नीको समस्या भएको हुनसक्ने उनको भनाइ छ । ‘अत्यन्तै चनाखो हुँदा त अनेकखाले दुर्घटना तथा ट्राफिक नियम उल्लङ्घन भएको पाइन्छ भने व्यस्त ट्राफिक व्यवस्थालाई छाडेर शौचालय जाँदा दुर्घटनाको सङ्ख्या कति बढ्ला त्यो अनुमान नै गर्न सकिँदैन,’ हमालको कथन थियो । यही चिन्ताले धेरैजसो ट्राफिक प्रहरी महिलाले पर्याप्त मात्रामा पानीसमेत पिउँदैनन् । ‘ड्युटीमा खटिनुपर्ने भएपछि पानी पिउनुभन्दा नपिउनु निकै उत्तम हुन्छ,’ उनको भनाइ थियो । थापाथली ट्राफिक प्रहरी प्रभागमा कार्यरत हमालले माइतीघर, थापाथली, त्रिपुरेश्वर, प्रसूतिगृहलगायतका स्थानको ट्राफिक व्यवस्थापन गर्दै आउनुभएको छ ।
जवान उमेशकुमार श्रेष्ठ भने विगत दुई वर्षदेखि श्वास-प्रश्वास -फोक्सो) सम्बन्धी रोगले पीडित भएका छन् । आठ वर्ष अघिदेेखि ट्राफिक प्रहरी सेवामा रहेका श्रेष्ठलाई पनि दिनभरको धुवाँ र धुलोकै कारणले श्वास-प्रश्वाससम्बन्धी रोगले सताएको हो । श्वास-प्रश्वाससम्बन्धी समस्या भएकोले पनि दैनिक धुवाँ र धुलाम्मे सड्कमै रहेर ड्युटी गर्नुपर्दा थप समस्या भएको श्रेष्ठले बताउनुभयो । गत सोमबार लगनखेल बसपार्कमा घटना र विचारसँग श्रेष्ठले भन्नुभयो, ‘ट्राफिक प्रहरीमा श्वास-प्रश्वाससम्बन्धी समस्याका पीडितहरू उल्लेख्य रहेको र समयमा उपचार पनि पाउन सकेका छैनन् । यदि उपाचार गर्न गइयो भने पनि उपचार सकेर ड्युटीमा खटिनुपर्ने हुन्छ ।’
त्यसैगरी ट्राफिक प्रहरी हवल्दार दलबहादुर सुनुवारलाई कान नसुन्ने समस्याले पिरोलेको छ । उनी भन्छन्, ‘टाढाबाट कसैले बोलाउँदा राम्रोसँग सुन्न सक्दिनँ ।’ दिनभर एकोहोरो रूपमा सवारी साधनको हर्न, धुवाँ, धुलोलगायतका कारणले कम सुन्ने समस्या देखिएको उपचारका क्रममा संलग्न डाक्टरले बताएको सुनुवारले जानकारी दिए । उनको भनाइ थियो, ‘हाम्रा लागि सबैभन्दा ठूलो समस्या पानी पिउन नपाएर हुन्छ, ट्राफिक व्यवस्थापन गर्न बेस्करी सिट्ठी फुक्नुपर्ने हुन्छ, सिट्ठी फुक्दाफुक्दै घाँटी सुकेर बोल्नै नसकिने अवस्थामा पुग्छौँ ।’ धेरै समय धुवाँ र धुलोमा बिताउनुपरेर हुनसक्छ अधिकांश ट्राफिक प्रहरीलाई रुघा र खोकीले सताइरहेको हुन्छ । थापाथलीमा खटिएकी ट्राफिक हवल्दार उर्मिला हरिजन भन्छिन्, ‘अनेक खालका रोग लागिरहनाले पटकपटक स्वास्थ्य केन्द्र धाउनुपर्छ ।’
घामपानी केही भन्न पाइँदैन ड्युटीमा खटिरहनुपर्दा निकै पीडा हुने गरेको पनि उनीहरूको अनुभव छ । आफ्नो पीडा पोख्दै एक ट्राफिक प्रहरी महिलाले भनिन्, ‘हामीले परिवालाई समेत समय दिन सकेका हुँदैनौँ, परिवारबाट टाढिनुपर्दाको पीडाले झन् धेरै सताउने गर्छ ।’ उपत्यकामा नै घरपरिवार भएकाहरू ड्युटी समय छलेर हप्तामा एक-दुईपटक परिवार भेट गर्न जाने गर्छन्, अरू कार्यालयमा नै बस्नुपर्छ । बिदा पनि नबसी नियमित काममा खटिँदा पनि जस पाइँदैन- ती महिलाको भनाइ थियो । थापाथली ट्राफिक प्रहरी प्रभागकी प्रमुख शर्माले पनि महिलाका लागि परिवारबाट छुटि्टएर बस्नुपर्दा निकै पीडा हुने गरेको बताइन् । सबैभन्दा बढी समस्या भर्खर विवाह भएकालाई देखिएको उनको अनुमान छ ।
विभिन्न प्रकारका रोगका साथै ट्राफिक प्रहरीलाई सवारीचालक तथा बटुवाहरूले हैरान बनाएका हुन्छन् । कतियप चालकले गल्तीलाई ढाकछोप गर्दै त्यसबाट उम्कन निकै ठूलो शक्ति पर््रदर्शनसमेत गर्ने गरेको जवान गंगा कार्कीको भनाइ छ । उनले भनिन्, ‘चालकहरूले जागिर खोसिदिने, सरुवा गर्ने, घटुवा गरिदिनेसम्मका धम्की दिएर हामीलाई मानसिक यातना दिने गर्छन् ।’ ट्राफिक प्रहरीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकलचालक तथा बटुवा रहेका छन् । मोटरसाइकलचालक र जहाँ पायो त्यहीँबाट बाटो क्रस गर्ने बानी परेका नागरिकका कारण पनि बढी दुर्घटना भएको देखिन्छ ।
महानगरीय ट्राफिक प्रहरी विभागका प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ उपत्यकामा कार्यरत धेरैजसो ट्राफिक प्रहरीमा स्वास्थ्यसम्बन्धी समस्या देखिएको स्वीकार्नुहुन्छ । उहाँका अनुसार फोक्सोसम्बन्धी समस्याले ट्राफिक प्रहरीलाई बढी सताएको छ । श्रेष्ठले थप्नुभयो, ‘केही समयअघि गरिएको एक अध्ययनले देखाएको तथ्याङ्कअनुसार १० प्रतिशत ट्राफिकमा फोक्सोसम्बन्धी रोग देखिएको थियो ।’ ‘रोग सबैलाई लागेको छ, मात्रामा घटीबढी मात्र हो,’ उहाँले थप्नुभयो । ‘रोगले सताएका ट्राफिक प्रहरीलाई उपचारको उचित व्यवस्था छ,’ श्रेष्ठले थप्नुभयो, ‘प्रदूषित हावापानीका कारण पनि सडकमा खटिएका ट्राफिक प्रहरीमा रोगसँगै अन्य समस्या पनि देखिएका छन् । च्याँटि्ठएर बोल्ने, र्झकने, रिसाउनेजस्ता समस्याले पनि उनीहरूलाई सताएको पाइन्छ । त्यसैगरी कान कम सुन्ने, किड्नी, पेट दुुख्ने, आँखा नदेख्नेजस्ता रोगका कारणले पनि ट्राफिक प्रहरी पीडित छन् । सबैले रोग लाग्नेबित्तिकै उपचार गर्न जान सक्दैनन् । ‘कम जनशक्ति र चर्को ट्राफिक व्यवस्थापनले गर्दा ट्राफिक प्रहरी बढी खटिनुपरेकालेे उनीहरूले भनेको समयमा उपचार पाउन सक्दैनन् । विभागका प्रहरी उपरीक्षक श्रेष्ठ भन्नुहुन्छ, ‘ट्राफिक नियमसम्बन्धी चेतनाको अभावका कारण ट्राफिक प्रहरीहरूले बढी सास्ती पाएका छन् ।’
ट्राफिक नियम सबैलाई समान रूपमा लागू हुनुपर्ने हो तर, उच्च ओहदामा भएको व्यक्तिले पनि त्यसलाई पालना नगर्ने गरेको ट्राफिक प्रहरीकै एक अधिकारीको भनाइ छ । तिनका अनुसार, ‘मन्त्री, सरकारका उच्च्ा अधिकारी, सुरक्षा निकायका वरिष्ठ अधिकारीलाई ट्राफिक नियमले छुने गरेको पाइँदैन । उनीहरू आफूअनुकूल यात्रा गरिरहेका हुन्छन् र एकछिन पनि जाम हुनुहुँदैन । एक महिला प्रहरी ट्राफिक जवानले भन्नुभयो, ‘हाम्रै हाकिमहरूबाट ट्राफिक नियमको उल्लङ्घन हुन्छ, अरूले त किन नगरून् ।’
ट्राफिक प्रहरीलाई स्रोत-साधनको अभाव छ । ‘पर्याप्त स्रोत-साधन भएमा उनीहरूले अहिले भोग्नुपरेका समस्यामा केही कमी आउने थियो,’ उपरीक्षक श्रेष्ठ भन्नुहुन्छ, ‘स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि विशेष माक्स -मास्कभित्रबाटै सिट्ठी बजाउन मिल्ने)को व्यवस्था गरिनुपर्ने देखिन्छ । तर, ट्राफिक प्रहरीका लागि सामान्य मास्क किन्नुपर्‍यो भने त त्यसलाई मन्त्रिपरिषद्मा लगेर पारित गराउनुपर्छ ।’ ट्राफिक प्रहरीको खटाइ र दुःख देख्दा लाग्छ- उनीहरूको तलब-भत्ता दोब्बर गराउनुपर्छ । यस विषयमा सरकारी निकायमा बेलाबेलामा छलफल र बहस हुने गर्छ । तर, कार्यान्वयनमा आउन सकेको छैन । माओवादी नेतृत्वको सरकारका पालमा तत्कालीन अर्थमन्त्री डा.बाबुराम भट्टराईले ट्राफिक कारबाहीबाट उठेको रकमको पच्चीस प्रतिशत ट्राफिक प्रहरीलाई नै दिने निर्णय गराउनुभएको थियो । त्यो निर्णय अहिलेसम्म लागू हुन सकेको छैन । यातायातसँग प्रत्यक्ष सरोकार राख्ने यातायात व्यवस्था विभागले पनि लाइसेन्स दिनेबाहेक अरू केही गरेको पाइँदैन । उसको काम लाइसेन्स दियो, बस् सकियो, यतिमा मात्र सीमित देखिन्छ । उसले सवारीसाधनको प्रदूषण जाँचपासको काममा पनि हेलचेक्र्याइँ गर्ने गर्छ । त्यसो त ट्राफिक प्रहरीलाई अधिकारले पनि बाँधेको र अधिकारमा सीमित गरिदिएको छ । श्रेष्ठ भन्नुहुन्छ, ‘हामीलाई अधिकार थप्नुपर्छ, ट्राफिकले नै गल्तीको कसुर हेरी जरिवाना तोक्ने, मुद्दा चलाउन पाउनेजस्ता अधिकार दिनुपर्छ ।’