सर्वोच्चको आदेशले सिरोहिया प्रसन्न

सर्वोच्चको आदेशले सिरोहिया प्रसन्न


सर्वोच्च अदालतले दिएको एउटा आदेशले कैलाश सिरोहियालगायत मिडिया व्यापारीहरूलाई प्रसन्न तुल्याएको छ । सरकारले न्यूनतम पारिश्रमिक २४,५००।– निर्धारण गरी सोहीबमोजिम गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको थियो । तर, मंगलबार (माघ २२) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन आदेश गरेको छ । इमेज च्यानलका मोहनचन्द्र सिंहले दायर गरेको निवेदनमाथि अन्तरिम आदेश जारी गर्दै प्रधानन्यायाधीश राणाको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो ।

ज्ञातव्य छ, सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको विशेष अग्रसरतामा पत्रकारको न्यूनतम पारिश्रमिक २४,५००।– निर्धारण भएपछि कैलाश सिरोहियालगायत मिडिया व्यापारीहरूले त्यसको विरोध गरेका थिए । राणाको आदेशले सिरोहियालगायतलाई खुसी बनाइदिएको छ । यसअघि अजेय सुमार्गीसँग सम्बन्धित मुद्दामा राणाबाट भएको आदेशले पनि कैलाशलाई प्रसन्न बनाएको थियो ।

सुमार्गी र कैलाशबीच केही वर्षयता तीव्र विवाद रहँदै आएको परिप्रेक्ष्यमा सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले गरेको आदेशबाट रोकिएको पैसा भुक्तानी लिन पाउने भएपछि सुमार्गी खुसी भएका थिए । गत पुसमा राणा प्रधानन्यायाधीश बन्नेबित्तिकै आदेश उल्टाएर बैंकबाट झिकिएको पैसा बैंकमा नै जम्मा गराउन आदेश दिएपछि कैलाश निकै प्रसन्न भएका थिए । अबका दिनमा कैलाशहरू यसरी नै प्रसन्न भइरहने टिप्पणी सञ्चार क्षेत्रमा हुन थालेको छ ।