‘रोल्पा समृद्धिका आधार कृषि, जडीबुटी र पर्यटन’

‘रोल्पा समृद्धिका आधार कृषि, जडीबुटी र पर्यटन’


आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्घिका आधार भएको बताएका छन् । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रोे रोल्पा महोत्सवलाई शुक्रबार सुलिचौरमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा उल्लेख गरेका हुन् ।

सङ्घीय संसद प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको प्रमुख अथित्यमा सम्पन्न उद्घाटन सत्रलाई उर्जामन्त्री वर्षमान पुन, स्थानीय जनप्रतिनिधिहरू लगायत राजनितिक दलका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरूले सम्बोधन गरेका थिए ।

आईएमई ग्रुपको मुख्य प्रायोजनमा शुरु भएको महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रोल्पाको भु–भागमा पाइने बहुमुल्य जडिबुटीको उचित बजारीकरण गर्न सकेमा समग्र रोल्पा र आसपासका क्षेत्रको स्थानीय आर्थिक गतिविधिलाई बढाउन सकिने बताए । जलविद्युत उत्पादन गरी रोल्पाको आर्थिक विकासमा टेवा पुऱ्याउन सकिने पनि उनले उल्लेख गरे ।

यतिबेला रोल्पाली जनताको मुख्य आय श्रोत भनेकै रेमिटेन्स हो । यही यथार्थ महसुस गरी रोल्पाका गाउँगाउँमा आइएमईको सेवा पुऱ्याइएको आइएमई ग्रुपको भनाई छ । त्यस्तै, लिवाङ र सुलिचौरमा सम्पुर्ण बैकिङ सेवा सहितका शाखा र घर्तिगाउँमा एक्स्टेन्सन काउण्टर सहित ग्लोबल आईएमई बैंकले सेवा प्रदान गर्दै आएको छ भने छिट्टै होलेरीमा एक्सटेन्सन काउण्टर थवाङ, सिर्प, तेवाङ र इरिबाङ लगायतका क्षेत्रमा शाखारहित बैकिङ सेवा पुऱ्याउने उद्देश्यसहित काम अगाडी बढेको बताइएको छ ।