३७ महिनामा रसुवा भन्सारद्वारा १५ अर्ब राजस्व संकलन

३७ महिनामा रसुवा भन्सारद्वारा १५ अर्ब राजस्व संकलन


तातोपानी नाका बन्द भई उत्तरी नाका रसुवागढीबाट चीनसँगको व्यापारिक कारोबार शुरु भएपछि रसुवा भन्सार कार्यालय टिमुरेले करिब रु. १५ अर्ब राजस्व सार्वजनिक भएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार ०७२ मंसिरदेखि चालू आवको पुस मसान्तसम्म भ्याटसमेत गरी कुल रु. १५ अर्ब १२ करोड ६७ लाख राजस्व आर्जन भएकोे छ ।

शनिबार मनाइने ६७औँ विश्व भन्सार दिवस कार्यक्रम तयारीका सिलसिलामा जानकारी दिँदै प्रमुख भन्सार अधिकृत खड्काले समयसापेक्ष भन्सारको काममा सुधार गर्न सीसी क्यामेरा जडान गरी चुहावट रोक्न प्रयास गरिएको, जाँचकीलाई दिनैपिच्छे फरकफरक सामान परीक्षणमा खटाइएको, सुरक्षा अंग अहोरात्र परिचालन भएका कारण चोरी निकासी अन्त्य भएकाले राजस्वमा वृद्धि भएको जानकारी दिए ।

सुधारको प्रयास शुरु भएका कारण गत आवको साउनदेखि पुससम्मको तुलनामा चालू आर्थिक वर्ष ०७५–७६ को अवधिमा २५० प्रतिशतले वृद्धि भएको भन्सार कार्यालय टिमुरेले बताएको छ । भन्सार हातामा सामान परीक्षणका लागि ३० जाँचकी नियमित परिचालन भरहेका र परीक्षण गर्दा कुहिने चिजलाई पहिलो प्राथमिकता दिई हेरिने गरेको बताइएको छ । ०७२ वैशाख १२ को भूकम्पको असरले सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि ०७२ साल मंसिर १५ गतेदेखि रसुवागढी नाका पूर्ण रूपमा सञ्चालन हुँदा मानवचाप बढ्न गई टिमुरे क्षेत्रका होटेल, लज र पसल सञ्चालनमा आएपछि यहाँका बासिन्दाको जीवनस्तरमा सुधार आएको टिमुरे घट्टेखोलाका समाजसेवी सोनावाङ्दी तामाङले बताए ।

यसैबीच भन्सार कार्यालयले भन्सार दिवसअन्तर्गत शनिबार मनाइने कार्यक्रमको सम्पूर्ण तयारी पूरा गरेको छ । तय गरिएका कार्यक्रममा शनिबार बिहान रसुवाबाट नेपाल पस्ने पहिलो पर्यटकलाई स्वागत गरिने, रसुवागढीबाट पदयात्रा गर्दै टिमुरे आउने, राजस्व चुहावट रोक्न चेतना जगाउने, भन्सारका विद्यमान ऐननियम दिशाबोध गराउनेजस्ता रहेको प्रमुख भन्सार अधिकृत खड्काले जानकारी दिए ।