एक खर्बका झुत्रा नोट जलाउँदै राष्ट्र बैंक

एक खर्बका झुत्रा नोट जलाउँदै राष्ट्र बैंक


पछिल्लो समय राष्ट्र बैंकले नष्ट गर्ने नोटको परिमाण बढ्दै गएको छ । राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार चालू वर्ष पहिलो छ महिनामा ४७ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरका नोट झुत्रिएर जलाइएका छन् ।

यसमा नोटको संख्या १५ करोड ५२ लाख ६ हजार ६ सय ५८ वटा छ । यही दर कायम रहे यो आर्थिक वर्षमा राष्ट्र बैंकले झन्डै एक खर्ब रुपैयाँ बराबरका नोट जलाउने सम्भावना छ । यो गत वर्षको तुलनामा दोब्बर हो ।

गत आर्थिक वर्ष ५६ अर्ब ३६ करोड रुपैयाँ बराबरका नोट जलाइएका थिए । जलाइएका नोटको परिमाण २८ करोड ४ लाख ४३ हजार ७१ थियो । त्योभन्दा अगाडि आर्थिक वर्ष २०७३–७४ मा २५ अर्ब ७५ करोड रुपैयाँ मूल्यका १९ करोड ३७ लाख १ हजार ५ सय १४ वटा नोट जलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

दैनिक जीवनमा प्रयोग हुने नोट प्रयोग सुरक्षित नहुँदा राष्ट्र बैंकले जलाउने नोटको परिमाण बढ्दै गएको छ । बैंकले नोटको स्याहार र संरक्षणका लागि पटक पटक सूचित गराउँदा पनि सर्वसारधणले यसप्रति वेवास्ता गर्दा चाँडै नै नोटहरु झुत्रा बन्ने समस्या बढ्दो छ ।