मान्छे बूढो भएको कसरी थाहा पाउने ?

मान्छे बूढो भएको कसरी थाहा पाउने ?


-देवप्रकाश त्रिपाठी
मानिसका अगणितीय चाहनाहरूमध्ये पाँच स्थायी र सर्वव्यापी प्रकृतिका छन् । अमृत जीवन, सदावहार यौवन, सुख, खुसी र शान्ति सबै मानिसका चाहना हुन्- जसका निम्ति मानिस सधैं व्याकुल रहन्छन् । उल्लिखित पाँच आकाङक्षा पूर्तिको चाहना राख्दाराख्दै मानिसको जीवनलीला समाप्त भइसक्छ, यो सत्य हो । अमृत जीवन असम्भव भन्ने सत्य बुझेका मानिस त्यस्तो आकाङ्क्षालाई र्व्यर्थ ठान्छन् र प्रकट गर्दैनन् । तर, हरेक मानिस -वास्तवमा सबै प्राणी) मृत्युलाई सबैभन्दा ठूलो शत्रु ठान्छन् र सधैँ मृत्युसँग डराइरहन्छन् । यसरी सधैं मृत्युलाई प्रमुख शत्रु ठान्नुको कारणलाई नै अमृत जीवनको आकाङ्क्षाका रूपमा बुझन सकिन्छ । बादलको भुल्काजस्तो एकैक्षण देखापर्ने र त्यसपछि बिलाउने जीवनप्रति मानिसको मोह यति हुन्छ कि जुन कहिल्यै तृप्त हुन सक्दैन । त्यस्तै, सधैं जवान भइरहन चाहनु मानिसको अर्को स्थायी चाहना हो । सुख, शान्ति र खुसीको चाहना त हरेक मानिसले प्रकट गरिरहेकै हुन्छन् । तर, एकपटक प्राप्त भएको शान्ति, सुख र खुसीले पनि मानिसलाई तृप्त गर्न सक्दैन, हरदम चाहने-प्राप्त गर्ने र फेरि पनि प्राप्त गर्ने सिलसिला जीवनपर्यन्त चलिरहन्छ । निरन्तर सुख, शान्ति प्राप्तिको यही अस्वस्थ प्रतिस्पर्धाले मानिसको जीवनलाई जटिल र कष्टकर बनाइरहेको छ, तथापि यो क्रम जारी छ र सृष्टिको विद्यमान लीला जीवित रहिन्जेल यो क्रम जारी रहनेछ । जीवनका विभिन्न कालखण्डमध्ये जवानी अर्थात् यौवनकालमा मानिस सर्वाधिक सन्तुष्ट रहन्छन् । बाल्यकाल पनि आनन्दमय त हुन्छ तर बोधगम्य नहुने हुनाले बाल्यकालको आनन्दलाई अबोध आनन्दका रूपमा बुझने या परिभाषा गर्ने गरिन्छ । बालपनको स्मरण मात्रले पनि मानिसलाई जीवनमा एकप्रकारको आनन्द दिन्छ, तर वृद्धपन, जसलाई हरेक मानिस अस्वीकार गर्न चाहन्छन्, बूढो हुने कुरा मात्रले पनि मानिसलाई पीडा दिन्छ । मानवीय इच्छाले अस्वीकार गर्दैमा बुढ्यौली पन्छाउन या ‘बाइपास’ गर्न सकिँदैन । स्वाभाविक मृत्युवरण गर्ने हरेक मानिसले एकपटक र जीवनमा अन्तिमपटक बुढ्यौलीको सामना गर्नैपर्ने हुन्छ । मानिस बूढो हुनु नितान्त प्राकृतिक र स्वाभाविक कुरा हो, तथापि बुढेसकालप्रति मानिसको धारणा अस्वाभाविक देखिन्छ । एउटा बीस वर्षको युवक चालीस वर्षको मानिसलाई बूढो देख्छ, तर चालीस वर्षको हुँदा उसले साठी वर्षकोलाई वृद्ध ठान्छ, जब कि साठीवर्षोले पचहत्तर-असी वर्ष माथिकालाई मात्र वृद्ध देख्न थाल्छ । सामान्यतया बूढोपनको सङ्केत सेतो कपाल या अनुहारको छालामा देखिने चाउरीले गर्दछ । तर, त्यसप्रकारको परिवर्तन देखापर्दा पनि सम्बन्धित व्यक्तिले भने आफूलाई बूढो ठानिरहेको हुँदैन । जवान ठान्ने र सोहीबमोजिमको क्रियाकलाप गर्नु हरेक मानिसको रुचिभित्र पर्छ । कपाल फुलेको या अनुहारको छालामा देखापरेको परिवर्तनकै कारण मानिस आफूलाई बूढो ठान्न तत्पर हुँदैन, यही कारण को मानिस बूढो भएको हो या होइन भनी छुट्याउन मुस्किल पर्छ । त्यसो भए मानिस बूढो भएको छ या छैन कसरी थाहा पाउने – यस प्रश्नको जवाफ पाउन अर्कै मापदण्ड बनाउनु उपयुक्त हुने देखिन्छ । कुनै मानिस बूढो भएको हो या होइन भन्ने कुराको जानकारी पाउन सम्बन्धित व्यक्तिको कपाल या अनुहारको छालाभन्दा पनि उसका कुराकानी र अभिव्यक्तिमा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । यदि कुनै मानिस बितेका कुराहरूमा ज्यादा केन्द्रित हुन थाल्छ भने हामी त्यसलाई बूढोपनको सङ्केतका रूपमा बुझन सक्छौँ । जवान मानिस जहिले पनि भविष्यप्रति चिन्तित रहन्छन् र उसका कुरा पनि आफ्नो भविष्यप्रति केन्द्रित हुन्छन् । तर, बूढा मानिस भविष्यको कुरा गर्न छाड्छन् र विगतमा रमाउन या अल्झन थाल्छन् । उनीहरूका अभिव्यक्ति पनि विगतमा आफैंबाट भए-गरेका काम-कुरामाथि नै केन्द्रित हुन्छन् । जब मानिस आफ्नो विगतप्रति रमाउने र भविष्यप्रति बेसरोकार रहन थाल्छन् त्यसैलाई बुढ्यौलीको सङ्केतका रूपमा बुझनु उपयुक्त हुनसक्छ । यर्सथमा जबसम्म मानिस भविष्यको कुरा गरिरहेका हुन्छन् तबसम्म तिनलाई बूढो नठान्नु उचित हुन्छ भन्न सकिन्छ । कुनै सभा-समारोहमा मन्तव्य प्रकट गर्ने क्रममा मानिसको बुढ्यौली मापन गर्न सकिन्छ । नेपाली प्रजातान्त्रिक आन्दोलनका शीर्षपुरुष मानिनुहुने गणेशमान सिंह मन्तव्य प्रकट गर्न मञ्चमा उभिएपछि उहाँ वि.सं. १९९७ देखिका कुरा सुरु गर्नुहुन्थ्यो र २००७, २०१७ हुँदै २०४६ सम्म आइपुग्न उहाँलाई घन्टौं लाग्थ्यो, तर भविष्यका कुरा गर्नुपर्ने बेलामा उहाँको अभिव्यक्ति सङ्क्षिप्त हुन्थ्यो र मन्तव्य टुङ्गिन्थ्यो । व्यक्तिगत जीवन बिताइरहेका मानिस पनि वृद्ध भएपछि आफ्नै विगतको स्मरणात्मक कुराहरूमा रम्न थाल्छन् । समग्रमा भन्नुपर्दा सडकमा जति पनि मानिस हिँडिरहेका हुन्छन् तिनलाई दुई कित्तामा विभक्त गरेर बुझन सकिन्छ । एकथरी आफ्नो भविष्यबारे अनेक कल्पना गर्दै हिँडिरहेका हुन्छन् भने अर्काथरी आफ्नो विगत बोकेर । यो भनिरहनुपर्दैन कि विगत बोक्नेहरू वृद्ध हुन् र भविष्यवाहकहरू जवान । वृद्ध हुनुका अन्य अनेकौँ मनोवैज्ञानिक सङ्केत पनि हुन्छन्, उनीहरूमा सम्मानको आशा ज्यादा हुन्छ । यस आधारमा बालक या किशोर पुस्तालाई मायाको र वृद्धहरूलाई सम्मानको आवश्यकता रहन्छ भन्न सकिन्छ । युवा त्यो हो जसमा भविष्यमा केही गर्ने आशा, उत्साह र विश्वास रहन्छ ।
मानवीय मनोविज्ञानको यो पाटोलाई पृष्ठभूमिमा राखेर हाम्रो राजनीतिकर्मीहरूलाई हेर्ने हो भने यहाँ अधिकांश आफ्ना विगतप्रति रम्ने या गौरव गर्ने तर भविष्यको आशा दर्शाउन नसक्नेहरूको हालिमुहाली देखिन्छ । काङ्गे्रस प्रजातान्त्रिक आन्दोलनमा आफूले पुर्‍याएको ऐतिहासिक योगदानको धङधङीमा आफ्नो भूमिका निर्वाह गर्दै छ भने माओवादी विगतको सशस्त्र युद्धको धङधङीबाट मुक्त हुन सकेको छैन र ऊ त्यसबाट मुक्त हुन प्रयास गर्दै पनि छैन । जिम्मेवार पार्टीका नेताहरू देशको भविष्यप्रति चिन्ता लिनभन्दा आफ्ना विगतप्रति गौरव गर्ने तहमा रहेको हुँदा मुलुकमा एकप्रकारको अन्योल पैदा भएको छ । नेताहरूको भूमिका भविष्यप्रति संवेदनशील र केन्द्रित नरहेका कारण अपरिभाषित भाव-भूमिका शक्तिहरूले लाभ उठाउने स्थिति बनिरहेको छ । एमाले परिचयमा देखिएको समूह या तर्राईकेन्द्रित दलहरूको भूमिकालाई यही रूपमा बुझनु उपयुक्त हुनसक्छ । काङ्गे्रस र माओवादीका बीच बन्ने समझदारीले मुलुकलाई शान्ति र समृद्धितर्फको निकास दिनसक्छ भन्ने धेरैको ठम्याइ भए पनि ती दलहरू विगतबाट मुक्त भई भविष्यप्रति केन्द्रित नभएसम्म सकारात्मक आशा गर्न सकिने अवस्था रहँदैन । काङ्गे्रस संवैधानिक राजतन्त्रको अवधारणा त्यागेर गणतन्त्रलाई र्समर्थन गर्दै संविधानसभामार्फत संविधान निर्माण गर्न राजी भएझैं माओवादी पनि सर्वहारा अधिनायकत्वको जनवादी व्यवस्था प्राप्तिको अवधारणाबाट मुक्त भई लोकतान्त्रिक गणतन्त्रलाई मिलनबिन्दु बनाउन तयार भएको भए नेपाली राजनीति दुई हठी वृद्धहरूको कहिल्यै नटुङ्गिने विवादजस्तो नहुन सक्थ्यो । वृद्धहरूमा सबैले सम्मान पाउनुपर्छ भन्ने धारणा त हुनसक्छ, तर तिनमा आफूले विशेष सम्मान पाउनुपर्ने चाहना अभेद्य रूपमा लुकेको हुन्छ । खासखास दलका नेताहरूको भूमिका पनि ठीक त्यस्तै प्रकारको देखिन्छ जो सबैले सम्मानपूर्ण अवसर पाउनुपर्छ त भन्छन् तर आफूले विशेष अवसर र सम्मान नपाएसम्म एक कदम अगाडि बढ्न चाहँदैनन् ।
नेपाललाई यतिबेला विगतमा रम्नेभन्दा भविष्यको खोजी गर्ने राजनीति र राजनयिकको आवश्यकता खट्किएको छ । तर, त्यस्तो नेतृत्व यस मुलुकले कहिले प्राप्त गर्ला ?