पाँच महिनामा ५ खर्ब ६९ अर्ब व्यापार घाटा

पाँच महिनामा ५ खर्ब ६९ अर्ब व्यापार घाटा


नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तस्बिर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ ।

गत वर्षको यसै अवधिमा नेपालबाट १०.१ प्रतिशत निर्यात थियो भने यस वर्ष एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई ११.२ प्रतिशत पुगेको छ । यद्यपि निर्यातको तुलनामा आयातको अंश २३ प्रतिशतले बढी हो ।

आव ०७४–७५ को मंसिरसम्ममा १८.२ प्रतिशत रहेको आयात वृद्धिदर यसै वर्षको पाँच महिनामा १६ प्रतिशतले वृद्धि भई ३४.२ प्रतिशत रहेको छ । नेपालीको उत्पादनभन्दा उपभोग गर्ने संस्कृतिमा वृद्धि भएकाले मुलुकको शोधानन्तर स्थिति कमजोर हँुदै गएको हो ।

अर्थशास्त्री भवानी खनालका अनुसार मुलुकको अर्थतन्त्र राम्रो हुन आयात र निर्यातको अवस्था झन्डै बराबरी हुनुपर्ने बताउँछन् । उनका अनुसार नेपालको अर्थतन्त्रमा निर्यातभन्दा आयात २३ प्रतिशतले बढ्नु भनेको दिगो विकासमा राम्रो संकेत होइन ।

वस्तुगत आधारमा चालू आवको पाँच महिनामा रु. ६ खर्ब सात अर्बको पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टस्, हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, अन्य उपकरण तथा पार्टपुर्जा, तरकारी फलफूल तथा चामललगायत अन्य खाद्यान्नको आयात बढेको छ भने निर्यात गर्न सकिने सम्भावनायुक्त कृषि क्षेत्रसमेत परनिर्भर छ ।

चालू आवको पाँच महिनामा रु. ३७ अर्ब ५० करोडका वस्तुगत सामग्रीमा यार्न, जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोसाक, पस्मिना, जुटका सामान निर्यात भएको थियो । यस हिसाबले चालू आवको पाँच महिनामा मुलुकको व्यापारघाटा पाँच खर्ब ६९ अर्ब ५० करोड पुगेको छ ।