सात अंकले घट्यो नेप्से

सात अंकले घट्यो नेप्से


सोमबार र मंगलबार दोहोरो अंकले वृद्धि भएको शेयर बजार बुधबार सात अंकले घटेको छ । शेयर बजारले मंगलबार र सोमबारको लय पछ्याउन नसक्दा बुधबार ७ अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ७ दशमलव ५७ बिन्दुले घटेर एक हजार १ सय ८७ दशमलव ९७ बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आज दुई दशमलव ०५ बिन्दुले घटेर २५१ दशमलव ५० बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कुल १६९ कम्पनीको १७ लाख ४४ हजार १८७ कित्ता शेयर रु. ५३ करोड ६ लाख ५१ हजार ४३५ मूल्यमा खरिद–बिक्री भयो । आज कारोबार भएका कुल एघार उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भए भने आठ उपसमूहको शेयर भने आज घटेका छन् ।

व्यापार एक दशमलव ८६, जलविद्युत् २२ दशमलव ८३, उत्पादन दुई दशमलव ८९ बिन्दुले बढेका छन् । बैंकिङ पाँच दशमलव दुई, होटेल दुई दशमलव ४४, विकास बैंक एक दशमलव ४१, फाइनान्स दुई दशमलव ३२, निर्जीवन बिमा ११२ दशमलव १८, अन्य १२ दशमलव ६१, लघुवित्त १५ दशमलव ६८ र जीवन बिमा ७३ दशमलव शून्य चार बिन्दुले घटेका छन् ।

घटेको बजारमा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, सांग्रिला डेभलपमेन्ट बैंक, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, श्रीराम सुगर मिलका शेयरधनीले आज कमाएका छन् । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, मिसन डेभलपमेन्ट बैंक, बुटवल पावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनरका शेयरधनीले आज गुमाएका छन् ।