खेर गएको राष्ट्रको समय

खेर गएको राष्ट्रको समय


nisedhसमयका बारेमा धेरैले धेरै कुरा भनेका छन् । महाभारत भन्छ– समय बलवान् छ र गएपछि कहिल्यै फर्कंदैन । समय शक्तिशाली पनि छ । समयसँग चल्न सकेन भने समयले हामीलाई छोडेर आफैँ अघि बढिदिन्छ र अन्ततः समयमा गर्नुपर्ने काम गर्न नसकेकोमा पश्चात्तापबाहेक अरू केही रहँदैन । मानिसको व्यक्तिगत जीवनमा समयको महत्र्वका अनेक भनाइ छन् । उमेर बढ्दै गएपछि लाग्न थाल्छ– बीस वर्षअघिको समयमा आफू पुग्न पाए ? व्यक्तिको जीवनमा समयको ख्याल गर्न नसक्दा सम्बन्धित व्यक्ति या परिवारलाई मात्रै घाटा हुन्छ, तर राष्ट्रकै समय खेर जाँदा भने मुलुकवासी सबैको भविष्य जोडिएर आउने रहेछ, राष्ट्रकै विकास, मान–सम्मानजस्ता कुरामा फरक पर्नेरहेछ । नेपालको दशवर्षे माओवादी युद्ध र त्यसपछिका घटनाक्रमलाई हेर्दा अरू देशको तुलनामा यो राष्ट्रले कसरी समय बर्बाद गरिरहेको छ र यसको असर यहाँका नागरिकमाथि कसरी परिरहेको छ भन्ने कुराले जोकोही सचेत नागरिकलाई दुःखी बनाउँछ ।
०६३ मा शान्तिसम्झौतापछि माओवादी सार्वजनिक हुँदा नेता प्रचण्डको कपाल र जुँगा कालै थिए । बाबुराम डा. साबको मुहारमा अहिलेझैँ थकान देखिँदैनथ्यो । केपी ओलीको रोग पहिचान भएको थिएन, न त झलनाथ खनाललाई नै भिटामिन डीको कमीका कारण हुने रोगले छोएको थियो । सुशील कोइराला तन्दुरुस्तै देखिन्थे, गिरिजाप्रसाद कोइरालाले त्यति चाँडै यो संसार छोडेर जालान् भन्ने ठानिएको थिएन । तर, यसबीचमा बिनाउपलब्धि हेर्दाहेर्दै कपालहरू सेता भए । तिमीले शान्तिप्रक्रिया सकेकै छैनौ या संविधान बनाएकै छैनौ भनेर कपाल फुल्न रोकिएन, भनौँ समयले पर्खिएन । विगत २० वर्षको अवधिमा जनताको नाममा मुलुकमा धेरै कुरा भए, १७ हजारभन्दा बढी मानिस जनताका नाममा मारिए । हजारौँ बेघरबार भए, कति कुटिए, कति लुटिए कुनै तथ्याङ्क छैन । बाबुआमाले छोराछोरी गुमाए, छोराछोरीले बाबु गुमाए (केहीले आमा पनि) बेपत्ता भएका परिवारका कतिपय आफन्त तिनका बाटो हेर्दाहेर्दै यो संसारबाट बिदा पनि भइसके ।
शान्तिको नाममा यो मुलुकमा धेरै कुरा भयो । दुई सय ४० वर्ष इतिहास बोकेको राजसंस्था फालियो, हिन्दू धर्म राष्ट्रलाई धर्मनिरपेक्ष बनाइयो । राजा,–महाराजाहरूका सालिकमा ढुङ्गा हानियो । पूर्वराजाको नाम जोडिएका मात्र होइन, रोयल अर्थ दिने सबै कुरा फेरियो । तर, महेन्द्रनगरलाई भीमदत्त नगरपालिका र पृथ्वीनारायण नगरपालिकालाई गोरखा नाम दिँदैमा मान्छेले ती नामहरू लिन भने छोडेनन् । महेन्द्रनगर कागजमा भीमदत्त बने पनि मानिसका मुखमा र शहरका साइनबोर्डमा भने महेन्द्रनगर नै रहेको छ । यसबीचको समय केमा खर्च भयो ? भन्दा यस्तै–यस्तै कुरामा खर्च भयो जसको त्यस्तो ठूलो अर्थ यो मुलुकको इतिहासमा रहनेछैन । अब ठीक होला, यसो गरे ठीक होला भन्दाभन्दै मुलुकको राजनीति झन्झन् अप्ठ्यारो अवस्थामा पुगेको छ । जङ्गलबाट शहर पस्दा झन्डै बाघकै गर्जनमा देखिएका प्रचण्ड करिबकरिब दाह्रानङ्ग्रा सबै उखेलिएको बाघको रूपमा फेरि गाउँ (जङ्गल होइन) फर्किने कुरा गरिरहनुभएको छ । एउटा मिटिङबाट अर्को मिटिङमा पुग्दा थाकेर लखतरान देखिनुहुने प्रधानमन्त्री सुशील कोइराला रोगले थलिएको जीर्ण शरीरबीच मुस्किलले आफूलाई धानिरहनुभएको छ । स्वास्थ्यकै कारण पनि हुन सक्छ– भोलि के हो के हो अबचाहिँ ढिलो नगरूँ भन्ने भावना केपी ओलीमा देखन्छ । तर, उहाँमा पनि दूरगामी भिजन छ भन्ने प्रमाण भने पाउन सकिएको छैन ।
माओवादी युद्ध सुरु हुँदाताका जन्मिएका बच्चा अहिले २० वर्ष पुगिसके, तर तिनलाई मुलुकमा शान्ति र स्थायित्व कस्तो हुन्छ थाहा छैन । मुलुकको इतिहासमा कमै हुने संविधानसभाको चुनाव त तिनले देखे, तर यो मुलुकमा स्थानीय निकाय पनि छ भन्ने थाहा छैन । प्रत्येक दिन १५ हजारका दरले बिदेसिने युवाको जमातमा अब यी युवा पनि पुगिसके, जसलाई आफू किन बिदेसिनुप-यो भन्ने कुराको राम्रो हेक्कासमेत छैन । मुलुकमा राजनीतिक स्थायित्व मात्रै हुने हो भने विकास गर्न धेरै गाह्रो छैन । यतिका बन्द, हडतालकै बीच पनि गाउँगाउँमा मोटर पुग्यो, पुगिरहेको छ । बिजुली र टेलिफोन अब गाउँवासीका निम्ति नयाँ कुरा रहेन । शहरमा लोडसेडिङ छ, गाउँमा छैन । सानातिना कामहरू भइरहेकै छन् । यदि नेतृत्वमा रहेकाहरूले मुलुकलाई अगाडि बढाउने काम मात्र गरिदिएका भए विकासका काम बढाउनलाई गाह्रै छैन । हाइड्रोपावरदेखि अन्य प्राकृतिक स्रोतसाधनको सदुपयोग हुँदै मुलुकका प्रत्येक जिल्लामा उद्योग–व्यवसाय सञ्चालन गर्ने हो भने न त युवाहरू बिदेसिनुपथ्र्यो न त आर्थिक उन्नतिका लागि हामीले अरूको उदाहरण नै दिनुपथ्र्यो । नेतृत्व सबै मिलेर अघि बढ्ने हो भने भारतको एउटा प्रान्तजत्रो सानो मुलुक नेपाललाई विश्वमै उदाहरणीय बनाउन लामो समय नै लाग्दैन । नेपाल बनाउनका लागि वैदेशिक सहयोगको खाँचो पनि हुँदैन, काम गरेर मात्र देखाउनुपर्छ, दाताहरू सहयोग पु-याउन आफँै आउनेछन् । तर, हाम्रो समय त अनावश्यक विवादमै अल्झिएको छ । नेतृत्वले सही बाटोमा नहिँडिदिँदा बुद्धिजीवीदेखि लिएर सबै नै आफूसँग केही नभएजस्तो गरेर बसेका छन् । कतिपय अवस्थामा विचार भएर मात्र पनि नहुनेरहेछ त्यसलाई उपयोग गर्ने ठाउँ पनि चाहिनेरहेछ । सपना पूरा गर्न त्यसलाई व्यवहारमा उतारिनुपर्छ, व्यवहारमा उतार्न उपयुक्त स्थान र वातावरणको आवश्यकता पर्छ । संविधानका नाममा यो राष्ट्रको धेरै समय खेर गयो । अहिले मुलुकमा जे–जस्ता परिस्थिति सिर्जना भइरहेका छन् यी सबलाई हेर्दा संविधानसभाबाट संविधान निर्माण होलाजस्तो पनि देखिँदैन । कथंकदाचित संविधान बनिहाले त्यो सर्वस्वीकार्य होला भन्न सक्ने अवस्था पनि छैन । जारी गर्नासाथ जल्ने संविधान बनाउनुको के अर्थ हुन्छ ? संविधानकै नाममा समय पनि कति खर्च गर्ने ? यी प्रश्नहरूले ठाउँ लिन थालेका छन् । शान्ति र संविधानका नाममा एउटा पुस्ता नै सकिने अवस्था आउँदा पनि यसलाई गम्भीरतापूर्वक लिइएको छैन । अन्त्यमा, सर्वसाधारणले बिताएको समय उसको निजी हुँदोरहेछ, तर नेतृत्वमा बसेकाले बिताएको समय भने राष्ट्रले गुजारेको समय हुने हुँदा यो मुलुकले धेरै वर्षदेखि स–साना कुरामा अल्झिएर विश्व प्रतिस्पर्धामा पुग्ने महत्र्वपूर्ण समय बर्बाद गरिरहेको छ । आफ्नो देशमा हुन नसकेका कामको चर्चा गरेरभन्दा फटाफट भएका कामको व्याख्या गरेर कपाल फुलाउन पाए सर्वसाधारण नागरिकलाई पनि राम्रै हुने थियो ।