महाधिवेशन गर्न नसक्दा नेवि सङ्घमा राजीनामाको लहर

महाधिवेशन गर्न नसक्दा नेवि सङ्घमा राजीनामाको लहर


थपिएको मितिमा पनि महाधिवेशन नहुने निश्चित भएपछि नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिका कतिपय पदाधिकारीले राजीनामा दिएका छन् । समयमै महाधिवेशन नभएको भन्दै सहमहामन्त्रीद्वय ललिता सुनार र हरिहर शर्माले राजीनामा दिएका हुन् ।

उनीहरुका अलावा केन्द्रीय सदस्य पम्फा गान्धारी, कल्पना खड्का, लिखितेन्द्र श्रेष्ठ, सुनिता अधिकारी, भोला नेपाल, शारदा लामा, दीपेशराज भण्डारीलगायत ४५ जनाले राजीनामा दिएका बताइएको छ । काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसमक्ष उनीहरुले सामूहिक रुपमा राजीनामा पत्र बुझाएका हुन् ।

महाधिवेशन नगरी सङ्घका अध्यक्ष नैनसिंह महरले आफ्नो पदावधि मात्र लम्ब्याएको, क्याम्पसमा सङ्गठन निर्माण गर्न नसकेकोलगायत आरोप उनीहरुले लगाएका छन् । जतिपटक म्याद थप गरे पनि महाधिवेशन गराउन नसक्ने ठान्दै सामूहिक राजीनामा दिएको सहमहामन्त्री शर्माको भनाई छ ।

महर नेतृत्वबाट महाधिवेशन सम्भव नभएपछि वर्तमान कार्यसमितिको औचित्य र सान्दर्भिकता सकिएको आरोप पनि उनले लगाएका छन् ।

‘विधानअनुसार तदर्थ समिति गठन गरी महाधिवेशन गर्नुपर्छ,’ केन्द्रीय सदस्य कल्पना खड्का भन्छिन् ।

ज्ञात रहोस्, यसअघि पनि सङ्घका नौ पदाधिकारीले राजीनामा दिएका थिए । वर्तमान कार्यसमितिले १२औँ महाधिवेशन गर्न नसक्ने निष्कर्षसहित रउपाध्यक्षहरू पुष्पाकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले सभापति देउवासामु राजीनामा बुझाएका थिए ।