टी–२० महिला क्रिकेटमा नेपालको लगातार दोस्रो जित

टी–२० महिला क्रिकेटमा नेपालको लगातार दोस्रो जित


थाइल्यान्डमा जारी महिला टी–२० स्मास–२०१९ क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रोपटक जित हात पारेको छ ।

थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दैै प्रतियोगितामा दोस्रोपटक हासिल गरेको हो । यसअघि हिजो शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो ।

पहिले ब्याटिङ गरेको मलेसियाले नेपाललाई ६२ रनको लक्ष्य दिएको थियो । ६२ रनको विजय लक्ष्य बोकेर मैदानमा उत्रिएको नेपालले १६ दशमलव दुई ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो ।

नेपालका लागि रोमा थापाले सर्वाधिक २० रनको योगदान दिइन् । त्यस्तै सीता रानामगरले १६ तथा ममता चौधरीले अविजित नौ रन जोडिन् । मलेसियाको अना हमिजा र इनटान जामदहायु जाफरले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर ६१ रनको योगफल बनाएकोमा सोली टिजिनले १२ तथा युसिरिना यकोपले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

उक्त खेलमा नेपालकी सरिता मगर एक्लैले ४ विकेट लिएकी थिइन् । नेपालले भोलि आफ्नो तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्नेछ ।