जुनियर ब्याडमिन्टनमा प्रिन्सले जिते दोहोरो उपाधि

जुनियर ब्याडमिन्टनमा प्रिन्सले जिते दोहोरो उपाधि


दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टनका विजेता प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिनटन प्रतियोगितामा दोहोरा जित हात पार्दै उपाधि जितेका छन् । प्रिन्स यू–१९ र यु–१५ दुवैतर्फ विजयी भएका हुन् । उनले फाइनलमा यू–१९ मा उच्च वरीयताका प्रफुल महर्जनलाई २१–८ र २१–१० ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएका हुन् । त्यस्तै, यू–१५ मा उनले म्यानमारका ज लिन थुलाई २१–१५, १७–२१, २१–९ ले पराजित गर्दै दोहोरो उपाधि जितेका हुन् ।

नेपाल ब्याडमिन्टन संघको तत्वाधान तथा मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला यू–१९ मा उच्च वरीयताकी जेशिका गुरुङले रशिला महर्जनमाथि २४–२२, २१–१४ ले पाखा लगाउंदै उपाधि जितिन् । त्यस्तै उनले रशिलासँग मिलेर यू–१९ गल्र्स जोडीतर्फ पनि उपाधि हात पारिन् । जेशिका र रशिलाको जोडीले शिमा राजवंशी र नीता लम्साललाई २१–१२, २१–३ ले पाखा लगाएका थिए ।

सहिद रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको यू–१९ पुरुष युगलतर्फको खेलमा म्यानमारका ज लिन थु र थु रिनको जोडीले प्रफुल महर्जन र रुकेश महर्जनको जोडीमाथि १९–२१, २१–१८ र २१ –१७ को जित निकाल्दै उपाधि जितेको थियो ।

यू–१५ छात्रातर्फको खेलमा उच्च वरीयताकी रशिला महर्जनले स्मृति राईलाई २१–७, २१–३ ले पराजित गर्दै उपाधि हात पारिन् । विजयी शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । विजयी खेलाडीलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलगायतले पुरस्कार बितरण गरेका थिए ।