विवेकशील साझा अभियान नरोकिने मिश्रको दाबी

विवेकशील साझा अभियान नरोकिने मिश्रको दाबी


विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एउटा समूहले पार्टी फुटाएर गएपनि आफ्नोे अभियान नरोकिने बताएका छन् ।

पार्टी फुटपछि आफ्नो धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीमा विमति भए पनि पार्टी नै छाडेर गएकोमा चिन्ता व्यक्त गरे । पार्टीका संयोजक मध्येका उज्वल थापासहित १६ जनाले शुक्रबार निर्वाचन आयोगमा विवेकशील नेपाली दल दर्ता गरेका छन् । उनले हिलो छ्यापाछ्याप गर्ने पक्षमा आफू नरहेको जानकारी गराए ।

‘पार्टी छोडेर जाने साथीहरुले लगाएको आरोपले असाध्यै दुःख लागेको छ, तर म कसैलाई आरोप लगाउने पक्षमा छैन, मैले पनि आरोप लगाएँ भने धेरै हुन्छ’, उनले भने । संयोजक मिश्रले आफ्ना कमीकमजोरी स्वीकार गर्दै पार्टी फुटाएर जानेले पार्टीमा विधि र प्रक्रिया मिचिएको भनेर लगाएको आरोप झुटा भएको प्रस्ट पारे ।

विवेकशील साझाले असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं तयार रहेको भन्दै चित्त नबुझेको विषयमा औपचारिक छलफलका लागि आउन उज्जवल थापा समूहलाई आग्रह समेत गरेको छ । विवेकशील साझा नै नेपालको वैकल्पिक पार्टी रहेको बताउँदै संयोजक मिश्रले यसपटक केही जटिलता आएपनि कुनै बेला फेरि एउटै बिन्दूमा मिल्न सकिने समेत औंल्याएका छन् ।

उता, थापाले भने पार्टी सुदृढीकरणका लागि उठाएको आवाज निरन्तर वेवास्ता गरिएकोले बाध्य भएर अलग हुनु परेको बताउँदै आएका छन् ।