देउवालाई बचाऊँ ! -देवप्रकाश त्रिपाठी

देउवालाई बचाऊँ ! -देवप्रकाश त्रिपाठी


तीनचोटि प्रधानमन्त्री भइसक्नुभएका शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री बन्नका निम्ति क्रियाशील हुनुभएको खबरले नेपाली राजनीतिमा सानो भए पनि तरङ्ग पैदा गरेको छ । देउवाले पुनः प्रधानमन्त्री बन्न रहर गर्दा काङ्ग्रेसमा तनाव र विवाद उत्पन्न हुनसक्ने आशाले एकथरीलाई रोमाञ्चित तुल्याएको हुनसक्छ भने देउवाको भाग्योदयमा आफ्नो भविष्य देख्ने ‘गणेशजी’हरूमा चाहिँ यो खबरले प्रसन्नताको बहार ल्याएको हुनुपर्छ । प्रधानमन्त्री बन्न चाहने व्यक्तिहरूका लागि प्रधानमन्त्री बन्नु अधिक महत्त्वपूर्ण विषय भए पनि नेपाली राजनीतिमा अहिले को प्रधानमन्त्री बन्ने भन्ने कुराले महत्त्व पाउन छोडेको छ । प्रधानमन्त्रीजस्तो गरिमामय पदको हिजो जुन मूल्य र सम्मान थियो आज त्यस्तो छैन, आज राष्ट्रसामु खडा भएका चुनौती सामना गर्दै एउटा उपयुक्त निकास दिनसक्ने नेतृत्वको अभाव महसुस भएको छ, सतहमा प्रकट भएकामध्ये जसमा त्यस्तो क्षमता देखिन्छ, ती आफ्नै पार्टीभित्र ‘जमराकरण’ भएका छन्, जो प्रधानमन्त्री बन्न ज्यादा लालायित देखिन्छन्, तिनको क्षमता र औकातप्रति जनता जानकार छन् । माओवादीका प्रचण्ड, एमालेका माधव नेपाल या झलनाथ र काङ्ग्रेसका शेरबहादुर देउवाहरू जतिपटक प्रधानमन्त्री भए पनि मुलुकले शान्ति र समृद्धितर्फको अग्रगमन प्रतप्त गर्न नसक्ने रहेछ भन्ने प्रमाणित भइसकेको ठानिन्छ । कुनै पनि दल भित्र या बाहिरबाट बरु कुनै नयाँ पात्रलाई अघि सारिएको अवस्थामा झिनो भए पनि आशा र उत्साह पलाउला । परिस्थिति क्रमशः निराशाजनक हुँदै गएको यस्तो पृष्ठभूमिमा शेरबहादुर देउवाले चौथोपटक प्रधानमन्त्री बन्ने रहर गर्दा सुदृढ प्रजातन्त्र र एकताबद्ध काङ्ग्रेसको कामना गर्नेहरूमा थप नैरास्य पैदा गरेको यथार्थ लुकाएर लुक्ने स्थिति छैन । देउवा चौथोपटक प्रधानमन्त्री बन्नुभएमा कुनै आरजु राणाले चौथोपटक ‘फस्ट लेडी’ बन्न पाउनेबाहेक मुलुक, प्रजातन्त्र र काङ्ग्रेसका लागिचाहिँ कसरी उपलब्धिमूलक हुनसक्छ भन्ने प्रश्नको जवाफ भेटिँदैन । विश्वमा सबैभन्दा धेरैपटक प्रधानमन्त्री बन्न सफल व्यक्तिका रूपमा गिनिज बुकमा अङ्कित हुने आकाङ्क्षाले अभिप्रेरित गरेर पुनः प्रधानमन्त्री बन्ने चाहना अभिव्यक्त भएको हो भने नेपालको विद्यमान अवस्था कुनै रेकर्ड राख्ने प्रतिस्पर्धामा उत्रने प्रकारको होइन भन्ने बुझनुपर्छ । नयाँ संविधान निर्माणका क्रममा लोकतन्त्र र अधिनायकवादबीचको सङ्घर्ष चुलिएको छ, शान्ति स्थापनाको निम्ति विगतमा भएका कुनै पनि सम्झौता इमानदारीपूर्वक कार्यान्वयनमा आएका छैनन् । जातीय तथा क्षेत्रीय भड्काव कुनै पनि समय गृहयुद्धमा रूपान्तरित हुनसक्ने किसिमले उचालिँदै छ । यस्तो अवस्थामा मात्र प्रधानमन्त्री बन्ने-बनाउने खेलमा राष्ट्रलाई अलमल्याउनु भनेको इतिहासप्रति बेइमानीबाहेक थप केही हो भने त्यो राष्ट्रविरुद्धको अपराध मात्र भन्न सकिन्छ । शेरबहादुर देउवाको योग्यता, कार्यक्षमता, दक्षता र इमानदारीको परीक्षण तीनपटक प्रधानमन्त्री रहेका बेला भइसकेको छ । पहिलोपल्ट -२०५२ मा) प्रधानमन्त्री बन्नुहुँदा देउवाले आफ्नो सरकार टिकाउन केसम्म गर्नुपर्छ र गर्न सकिन्छ भन्ने अविष्मरणीय उदाहरण प्रस्तुत गर्नुभयो । पाजेरो संस्कृति र सांसद खरिद-बिक्रीको खुलेआम अभ्यास गरेर देउवाले नेपाली राजनीतिक इतिहासको निकृष्टतम् पाटोको रचना गर्नुभएको कहिल्यै भुल्न सकिँदैन । सांसदहरूलाई स्वदेश र विदेशका होटलमा सुरा र सुन्दरीसहित थुनेर आफ्ना पक्षमा मतदान गर्न ‘योग्य’ तुल्याइएका घटनाले देउवाको कार्यक्षमताको ‘अमर’ उद्घाटन गरेको छ । दोस्रो पटक -२०५८ मा) प्रधानमन्त्री भएपछि देउवाले दक्षिणपन्थी र अतिवामपन्थीहरूलाई राजनीतिमा स्थापित हुन थप योगदान पुर्‍याउनुभएको थियो । माओवादीविरुद्ध परिचालित सेनालाई होलेरीबाट फिर्ता आउने भूमिका निर्वाह गरेर तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राजीनामा दिन बाध्य पार्दै प्रधानमन्त्री बन्नुभएका देउवाले आफू सत्तारुढ हुनेबित्तिकै माओवादीसँग युद्धविराम गरी संवाद र सम्झौतामार्फत समाधान खोज्ने प्रयास गर्नुभयो । माओवादीसँग संवाद र सम्झौता गरी समाधान खोज्नु गम्भीर भूल हुनसक्छ, यसले अन्ततः माओवादीलाई नै बलियो बन्न सहयोग पुर्‍याउँछ भन्ने कतिपय बुद्धिजीवी तथा विश्लेषकको सुझावलाई उपेक्षा गर्दै देउवाले माओवादीसँग संवादको थालनी गर्नुभयो । चार महिना युद्धविराम हुँदा माओवादीले जनताबीच आफूलाई प्रस्तुत गर्ने, सङ्गठन सुदृढ गर्ने र सर्म्पर्क तथा सम्बन्धहरू पुनर्स्थापित गर्ने मात्र गरेन, हातहतियारहरू भित्र्याउने, लडाकुहरूलाई तालिम दिने र राज्यसंयन्त्रमा रहेका आफ्ना मान्छेमार्फत विभिन्न प्रकारका सहयोग प्रतप्त गर्ने नियमित व्यवस्था पनि मिलायो । फलस्वरूप ती चार महिनाका बीचमा माओवादी निकै बलियो हुन पुग्यो । पहिले प्रहरीलाई समेत लुकिछिपी आक्रमण गर्ने हैसियतका माओवादीले चार महिनापछि सेनाको ब्यारेकमै आक्रमण गरेर हतियार कब्जा गर्ने र दर्जनौँ सैनिकलाई एकै ठाउँमा हत्या गर्न सक्ने सामर्थ्य दर्शाए । यसरी अतिवामपन्थीहरूलाई दर्बिलो बनाइसकेपछि शेरबहादुर देउवा दरबारतिर लहस्सिनुभयो । यसरी लहस्सिनुभयो कि एकताक मानिस राजा ज्ञानेन्द्र र शेरबहादुरलाई छुट्याएर हर्ेर्दैनथे, एउटै सिक्काको दुई पाटाको रूपमा बुझथे । प्रधानमन्त्री पदको मद र दरबारको साथले देउवा नेपाली काङ्ग्रेसजस्तो एकीकृत प्रजातान्त्रिक पार्टीलाई काँक्रो चिरेझैं सर्लक्क दुई चिरा बनाउनसमेत हिचकिचाउनुभएन । काङ्ग्रेस विभाजनपश्चात् संविधानको धारा १२७ क्रियाशील तुल्याई राजा सक्रिय हुने स्थिति बनेपछि देउवा स्वयम् दरबारको कोपभाजनमा पर्नुभयो । पहिले अतिवामपन्थी र पछि दरबार दुवैतिरबाट धोखा पाउनुले देउवाको कार्यक्षमता एवम् दूरदर्शिताको मापन गरेको छ । देउवाको दोस्रो कार्यकाल मुलुकको तात्कालिक समस्या समाधान गर्नभन्दा तनाव र विवाद अतुलनीय ढङ्गले वृद्धि गर्न ‘सफल’रह्यो भन्नु नपर्ने कारण छैन । त्यसबेला उग्र वामशक्ति र दक्षिणपन्थीहरूसँगको फरक समयमा गरिएका सहकार्य नै नेपालको वर्तमान समस्याको प्रमुख कारण हो भन्न पर्याप्त आधारहरू छन् ।
‘गोर्खाका राजाले न्याय दिए’ भन्दै ०६१ सालमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाको तेस्रो कार्यकाल दरबारलाई रिझाउनमा केन्द्रित रहेको सत्य सबै नेपालीले बुझेका छन् । तेस्रोपल्ट प्रधानमन्त्री भएको आठ महिनामा देशका निम्ति उहाँले के-के गर्नुभयो, त्यो खोजबिनको विषय बन्न सक्ला, तर त्यत्तिकै दिन कटाएर दरबारको हातमा सम्पूर्ण सत्ता पुग्ने परिस्थिति निर्माण गरेको कुराचाहिँ खोजिरहनुपर्दैन, सबैले देखे-जानेको विषयभित्र पर्छ । यसरी तीनपटक प्रधानमन्त्री हुँदा देशको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक पक्षहरूमा सकारात्मक सुधारको कुनै सङ्केतसम्म दिन नसक्ने शेरबहादुर देउवाले चौथोपटक प्रधानमन्त्री बन्ने मौका पाउनुभयो भने के गर्नुहोला ? आफ्नो स्वार्थका निम्ति जोसुकैसँग जस्तोसुकै सम्झौता गर्न पनि तयार हुने प्रवृत्ति जुन आज प्रचण्डमा देखिएको छ, त्यो देउवामा हिजैदेखि देखिएको हो । देउवाको प्रवृत्ति बदलिएको छैन र बदलिने आशा गर्न पनि सकिँदैन । देशको यस्तो स्थितिमा सत्ताका निम्ति जस्तोसुकै सम्झौता गर्न तयार उहाँ प्रधानमन्त्री बन्नु भनेको देश नै विभाजन या विघटनको बाटोमा लैजानु होइन भनेर कसरी विश्वास गर्न सकिएला ?
शेरबहादुर देउवा पहिले यसप्रकारको हुनुहुन्नथ्यो । पञ्चायतविरुद्धको लडाइँमा उहाँले पुर्‍याउनुभएको योगदान मात्र होइन उहाँको सरल र सहज व्यवहार पनि मानिसहरू अझै स्मरण गर्ने गर्दछन् । पहिलेका शेरबहादुर मित्रवत्, हितैषी, सरल, मिलनसार र अहंकारविहीन भएको महसुस उहाँलाई जान्ने/बुझनेहरू सबैले गरेका थिए । यस अर्थमा देउवाको जीवनलाई दुई भागमा विभाजित गरेर बुझनु उचित हुन्छ । मैतिदेवी सडक किनाराको सामान्य होटलका बाहिरपट्ट िबसेर भात खाने शेरबहादुर २०४८ मा गृहमन्त्रीकै हैसियत प्रतप्त गरिन्जेलसम्म सामान्य नेपाली जनतासरह सहज हुनुहुन्थ्यो । तर, २०५१ सालमा जब उहाँको विवाह भयो, त्यसपछि देउवा बेग्लिनुभयो, उहाँमा भारी परिवर्तन आयो । देउवाको बोली, व्यवहार मात्र फेरिएन, जीवनशैली पनि फेरियो, यति फेरियो कि अहिले उहाँ नेपालको सर्वाधिक धनाढ्य नेताको कोटिमा गनिनुहुन्छ । सामान्य जनताको साधारण छोरा उहाँ राजा-महाराजाको ‘दर्जा’मा पुगेपछि जनताबाट टाढिनु स्वाभाविक हो, उहाँ अहिले जनस्तरबाट निकै टाढिनुभएको छ । काङ्ग्रेसले उहाँलाई देशको ठूलो नेताको हैसियत दिलायो, पटकपटक प्रधानमन्त्री बनायो, मामुली देउपालाई ‘बड्डा’ देउवा बनायो, अब काङ्ग्रेसका लागि केही योगदान दिनुपर्ने बेलामा फेरि पनि आफैं प्रधानमन्त्री बन्न उहाँ लोभिनुभएको छ । आफूलाई प्रधानमन्त्री बन्न दिइँदैन भने त्यस्तो पार्टी चाहिँदैन भन्ने शैलीमा देउवा प्रस्तुत हुन थाल्नुभएको महसुस गरिँदै छ । काङ्ग्रेसमा प्रधानमन्त्री बन्ने उचाइ धेरै नेताले बनाइसक्नुभएको छ । रामचन्द्र पौडेल, डा. रामशरण महत, प्रकाशमान सिंह, विमलेन्द्र निधि, खुमबहादुर खड्का, अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ र कुलबहादुर गुरुङजस्ता नेतालाई अघि बढाउने इच्छा देउवाले राखेको भए नयाँ आशाको सञ्चार मात्र हुने थिएन, देउवा स्वयम्को व्यक्तित्वले पनि अर्को उचाइ प्रतप्त गर्न सक्थ्यो । दुःखको कुरा पदसहित आर्यघाट पुग्ने पुरानो परम्परागत रोगी प्रवृत्तिबाट उहाँ पनि ग्रस्त देखिनुभयो, यस्तो अवस्थामा देउवाको र्व्यर्थ प्रयासलाई आमकाङ्ग्रेसजनले अस्वीकृत गरेर काङ्ग्रेसको साख र भविष्य जोगाउनु लोकतन्त्र र मुलुकको समेत हितमा हुने देखिन्छ । लोकतन्त्रको विकल्प खोज्दै भौंतारिएका प्रचण्ड र झलनाथहरूको उक्साहट तथा काङ्ग्रेस र लोकतन्त्रसँग कहिल्यै कुनै भावनात्मक साइनो नगाँसिएकी पत्नीको इच्छा-प्रेरणाबाट प्रधानमन्त्री बन्न अग्रसर देउवालाई थप बर्बाद हुनबाट जोगाउनु आमकाङ्ग्रेस कार्यकर्ता, समर्थक एवम् नेताहरूको प्रतथमिक दायित्व पनि हो । देउवाको बर्बादीले काङ्ग्रेस र लोकतन्त्रलाई समेत केही न केही असर गर्ने भएकोले उहाँको रक्षा गर्नु सबै प्रजातन्त्रप्रेमीको कर्तव्य हुन आएको छ । देउवालाई पुनः प्रधानमन्त्री बन्न उक्साउनेहरूको नियतबारे थोरै मात्र पनि अध्ययन गर्ने हो भने देउवालाई प्रधानमन्त्री बनाउन खोज्नेहरूको कलुषित षड्यन्त्रको आभाष स्पष्ट रूपमा पाउन सकिन्छ । गिरिजाप्रसादले झैं आफ्नै परिवारलाई मात्र योग्य ठान्ने र परिवार तथा आसपासकाहरूलाई मात्र मौका दिने प्रवृत्ति शेरबहादुरले पनि दोहोर्‍याउँदै हुनुहुन्छ । गिरिजाप्रसादले छोरीको राजनीतिक भविष्यबारे चिन्ता लिएझैं देउवा मुलुक, प्रजातन्त्र र काङ्ग्रेसको भन्दा पत्नीको भविष्यप्रति चिन्तित रहेको महसुस सबैले गर्न थालेका छन् । देउवालाई थप ‘एक्स्पोज’ हुनबाट जोगाउन पनि उहाँलाई प्रधानमन्त्री बन्ने अभियानमा निरुत्साहित गर्न आवश्यक भएको छ ।