तराईको स्वामित्व कायम राख्न के गरे पृथ्वीनारायणले ?

तराईको स्वामित्व कायम राख्न के गरे पृथ्वीनारायणले ?


बुद्धिकर्ण रायले आजसम्म गरेका अन्याय तथा अत्याचारहरूको एकएक गरी बखान गर्दै श्री ५ पृथ्वीनारायण शाहले कलकत्तामा रहेका इस्टइन्डिया कम्पनीका गभर्नर वारेन हेस्टिङ्सको नाममा वि.सं. १८३० जेठ ८ गते एउटा महत्वपूर्ण पत्र पठाइदिइसकेका थिए । उक्त पत्रको सारसङ्क्षेप निम्नानुसार रहेको पाइन्छ :

‘तपाईंहरूसँग मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्ने मेरो हार्दिक चाहना रहिआएको छ । विश्वासघाती ‘दिवान’ बुद्धिकर्ण रायले मेरा भाइ कामदत्त सेनको हत्या गराई उनको राज्य विजयपुरका साथै अम्बरपुर राज्यमा पनि अवैध रूपले कब्जा जमाइरहेको वस्तुतथ्य यहाँलाई अवगत नै होला । यसैले उसलाई समुचित दण्ड दिनका निमित्त उक्त दुवै राज्य उनको हातबाट मुक्त गराउनका निमित्त मैले भित्री मनदेखि नै दृढसङ्कल्प गरिसकेको छु । उक्त राज्यहरू उसको हातबाट मुक्त गराउन सकेँ भने उक्त दुवै राज्यबाट कम्पनी सरकारले यसभन्दा अघि जे–जति मालवाजवी अर्थात् तिरोहरू प्राप्त गर्दै आइरहेको छ, त्यति नै बुझाउन म पनि तयार नै रहेको छु । यस सम्बन्धमा आवश्यक परामर्शहरू गर्न भनी मेरा आधिकारिक वकिल वृहस्पति पण्डित तथा अक्षय मिश्र त्यहाँ आइरहेका छन् । विस्तृत विवरणहरू उनीहरूबाटै प्राप्त गर्न सक्नुहुनेछ । यस कामका निमित्त तपाईंको सहयोगका निमित्त हार्दिक अनुरोध गर्दछु ।’

इस्टइन्डिया कम्पनीका गभर्नरबाट आउनुपर्ने यस पत्रको प्रत्युत्तरको प्रतीक्षा गर्दै रहन राजा श्री ५ पृथ्वीनारायण शाहले आवश्यक सम्झेनन् । यसैले गभर्नरका नाममा लेखिएको पत्रको प्रत्युत्तरको प्रतीक्षा नै नगरी यिनले ‘बख्सी’ अभिमानसिंह बस्नेत तथा ‘सरदार’ पारथ भण्डारीलाई दुई कम्पनीजति सैनिकहरूका साथ तराईतिरबाटै चौदण्डी राज्यको राजधानी ‘अम्बरपुर’तर्फ अघि बढ्नका निमित्त खटाइदिए । ‘सरदार’ रामकृष्ण कुँवर तथा ‘सरदार’ अमरसिंह थापा (बडा)हरू भने पहाडैपहाड त्यतातर्फ अगाडि बढ्दै जानका निमित्त खटाइए ।

यसैअनुसार त्यहाँ यथासमयमा नै नेपाली सैनिकहरूको आक्रमण पनि सम्पन्न भयो । त्यहाँका राजा कर्ण सेन भागेर पहिले नै विजयपुर राज्यको राजधानीमा पुगिसकेका थिए । यसैले राजधानी ‘अम्बरपुर’मा रहेका उनका ‘दिवान’ तथा सैनिकहरूले नेपाली सैनिकहरूको खास प्रतिरोध नै गर्न सकेनन् । हार मानेर उनीहरूले चौदण्डी राज्यको राजधानी ‘अम्बरपुर’मा रहेका उनका ‘दिवान’ तथा सैनिकहरूले नेपाली सैनिकहरूको खास प्रतिरोध नै गर्न सकेनन् । हार मानेर उनीहरूले चौदण्डी राज्यको राजधानी ‘अम्बरपुर’ नेपाली सैनिकहरूका निमित्त यत्तिकै छोडिदिए । यसप्रकार करिब एघार महिनाजतिको कठोर प्रयासपछि तराई क्षेत्रहरूबाहेकको ‘चौदण्डी’ राज्य नेपाल अधिराज्यभित्र समाहित हुन आयो (वि.सं. १८३० श्रावण ४ गते) । यस सम्पूर्ण अभियानमा एक हजारजति विपक्षी सैनिकहरू खेत रहेका थिए भने चार सयजति विपक्षी सैनिकहरू खोलामा हेलिएर हराएका थिए ।

यिनताकसम्ममा ‘विजयपुर’ तथा ‘चौदण्डी’ राज्यका तराई क्षेत्रको दक्षिणी सिमानामा ठाउँठाउँमा अङ्ग्रेजी व्यापारीका व्यापारकोठीहरू यत्रतत्र स्थापित भइसकेका थिए । हतियारधारी लडाइँका नागा सन्न्यासीहरूले पश्चिममा हरिद्वारदेखि मकवानपुरका तराई क्षेत्रहरू हुँदै पूर्वमा बंगाल प्रान्तका ‘दिनाजपुर’सम्मका भूभागहरूमा ओहोरदोहोर गर्दै यस्ता व्यापारकोठीहरूमा निरन्तर लुटपाटहरू मच्चाई अङ्ग्रेज व्यापारीहरूका साथै त्यस क्षेत्रमा आवाद रहेका सर्वसाधारण नागरिकहरूलाई पनि हावाकावा गराउँदै आइरहेका थिए । पक्रन जाँदा यिनीहरू तराई क्षेत्रका अनकन्टार जङ्गलहरूभित्र पसी अलप नै भइदिने हुँदा अङ्ग्रेजहरू पनि यतिबेला यिनीहरूदेखि हायलकायल बनिरहेका थिए ।

यसले गर्दा ‘यस्ता आतङ्ककारी नागा सन्न्यासीहरूलाई नियन्त्रण गर्न त राजा पृथ्वीनारायण शाहजस्ता लडाका प्रकृतिका व्यक्ति मात्र समर्थन हुन्छन्, हाम्रो त यिनीहरूसँग केही पनि लाग्दैन भन्ने धारणा इस्टइन्डिया कम्पनीका अङ्ग्रे्रेज पदाधिकारीहरूको बनिसकेको थियो । यसैले ‘चौडण्डी’ राज्यको राजधानी ‘अम्बरपुर’ राजा श्री ५ पृथ्वीनारायण शाहको नियन्त्रणमा आइसकेको थाहा पाएर पनि ‘गभर्नर’ वारेन हेस्टिङ्सले राजा श्री ५ पृथ्वीनारायण शाहले पठाएको उपर्युक्त अनुरोधपत्रको इदमित्थं केही उत्तर नदिई श्री ५ पृथ्वीनारायण शाहका साथै त्यस क्षेत्रका प्रशासक भएर रहेका बख्सी अभिमानसिंह बस्नेतका नाममा पनि वि.सं. १८३० कात्तिक १८ गतेमा लगभग एउटै व्यहोरा भएको निम्नाङ्कित भावको अनुराधपत्र पठाइएको पाइन्छ :

‘म बनारस जानका निमित्त तयार भइरहेको अवस्थामा तपाईंकहाँबाट पठाइएका मानिसहरू मसँग भेट गर्न आइपुगेका थिए । मैले उनीहरूलाई पटनामा आएर मसँग भेट गर्ने भनी सल्लाह दिएको थिएँ । तर, उनीहरू त्यहाँ मसँग भेट गर्न कहिल्यै पनि आएनन् । … तपाईंको देशको बाटो हुँदै आउने लुटेरा सन्न्यासीहरूले पश्चिमबाट पूर्वमा बंगाल प्रान्तसम्म आइपुगेर हरेक वर्ष यहाँ लुटपाटहरू मच्चाउँदै आइरहेका छन् । यसैले तिनीहरूलाई यस किसिमका उपद्रवी कामहरूबाट रोकिदिनुहुनका निमित्त तपाईं हार्दिक अनुरोध गर्दछु ।’

इस्टइन्डिया कम्पनीका अङ्ग्रेज गभर्नरको तर्फबाट आएको उपर्युक्त पत्र प्राप्त भएपछि राजा श्री ५ पृथ्वीनारायण शाहले भने अर्कै नै किसिमको चाल चलेको पाइन्छ । गभर्नरले पठाएको उपर्युक्त अनुरोधपत्रको प्रत्युत्तरमा यिनले वि.सं. १८३० माघ ५ गते निम्नानुसार भावको प्रत्युत्तरपत्र पठाइएको छ ः
‘नेपालका तराई क्षेत्रमा ओहोरदोहोर गर्ने नागा सन्न्यासीहरू गण्डकी नदीलाई पार गरेर पूर्वतिर आउँदा मेरो अधिकार क्षेत्रभन्दा बाहिर रहेको बेतियातिरबाटै पूर्वतर्फ बढ्ने भएकाले हतियारधारी यस्ता नागा सन्न्यासीहरूलाई पूर्वतर्फ बढ्नबाट रोक्नका निमित्त म सर्वथा असमर्थ रहेको छु । तपाईंबाट अनुमति प्राप्त नभई हाम्रा सैनिकहरूलाई बेतियासम्म पठाउनु सम्भव रहेको छैन । हाम्रा सैनिकहरू ‘बेतिया’सम्म आउन पाएमा मात्र नागा सन्न्यासीहरूले गण्डकी नदीलाई पार गरेर कहिल्यै पनि पूर्वतर्फ आउन पाउने छैनन् ।’

तराई क्षेत्रको बेतियासम्म नै आफ्नो राज्य क्षेत्र विस्तार गर्ने उद्देश्यअनुसार नै राजा श्री ५ पृथ्वीनारायण शाहले यतिबेला यस्तो कूटनीतिक चाल चलिरहेको स्पष्ट रूपमा नै देखिन आएको छ । राजा श्री ५ पृथ्वीनारायण शाह केही महिनासम्म त यस पत्रको प्रत्युत्तरको प्रतीक्षा गर्दै रहे, तर नेपाली सैनिकहरूलाई बेतियासम्म आइपुग्दा दिनु उपर्युक्त नहुने देखेर अङ्ग्रेज गभर्नरले यस पत्रको प्रत्युत्तर नपठाइदिँदा चौदण्डी राज्यको राजधानी ‘अम्बर’मा स्थापित भएको आफ्नो अधिकारमा इस्टइन्डिया कम्पनीका अङ्ग्रेज पदाधिकारीहरूको मौन समर्थन रहेको अनुभव गरी अब यिनी तत्कालै ‘विजयपुर’ राज्यमा पनि अधिकार स्थापित गरिहाल्न कस्सिए ।

(बडामहाराजाधिराज श्री ५ पृथ्वीनायण शाहको दिव्य उपदेशबाट)