दश वर्षमा खाडीमा कति मरे नेपाली ?

दश वर्षमा खाडीमा कति मरे नेपाली ?


– रामभरत साह

नेपालका युवा जनशक्ति विगत १० वर्षमा ३९ लाखभन्दा बढी रोजगारीको सिलसिलामा काम खोज्दै विदेश पलायन भएका छन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको एक तथ्याङ्कअनुसार विगत १० वर्ष (आ.व. २०६५/०६६ देखि २०७४/०७५ सम्म) मा ३८ लाख ९८ लाख ४ सय ७९ युवा विदेश गएका छन् । जसमा ३७ लाख ६ सय ७२ पुरुष र १ लाख ७९ हजार ८ सय ७ महिला रहेका छ । यो १० वर्षमा सबैभन्दा बढी पाँच लाख २७ हजार ८ सय ४१ जना रहेको बोर्डको रेकर्डमा रहेको छ ।

आ.व. ०६५/६६ मा २ लाख १९ हजार ९ सय ६५ जना, ०६६/६७ मा २ लाख ९४ हजार ९४ जना, ०६७/६८ मा ३ लाख ५४ हजार ७ सय १६, ०६८/६९ मा ३ लाख ८४ हजार ६ सय ६५, ०६९/७० मा ४ लाख ५३ हजार ५ सय ४३, ०७०/७१ र ०७१/७२ मा समान ५ लाख २७ हजार ८ सय १४ जना विदेश गएका छन् ।

त्यस्तैगरी, आ.व. ०७२/७३ मा ४ लाख १८ हजार ७ सय ३१, ०७३/७४ मा ३ लाख ६३ हजार ७३ र ०७३/७४ मा ३ लाख १२ हजार ७ सय ४९ जना बिदेसिएको बोर्डले देखाएको छ । वैदेशिक रोजगार विभागको रेकर्डअनुसार वर्तमानमा दैनिक सालाखाला १ हजार युवा बिदेसिकै छन् । आ.व. ०६४/६५ देखि ०७५/७६ सम्म ४६ लाख ४० हजार १ सय ३ जना बिदेसिइसकेको देखिन्छ । जसमा मलेसिया जानेको सङ्ख्या उल्लेख्य छ ।

पछिल्लो १० वर्षमा मलेसिया जानेको सङ्ख्या ११ लाख ७७ हजार १ सय ७४ रहेको देखिन्छ । जसमा ३० हजार ३ सय ४३ महिला छन् भने कतार जानेको सङ्ख्या १० लाख ८ हजार ६ सय ६२ जनामा १६ हजार २ सय ३६ जना महिला छन् । तेस्रो स्थानमा यूएई रहेको छ । यूएईमा ४ लाख ९८ हजार ७० जनामा महिला ५७ हजार ८ सय ३ रहेको छ । त्यस्तैगरी सउदी अरबमा ७ लाख ९४ हजार ८ सय ५ जना पुरुष र ७ हजार ५ सय ८३ जना महिला गरी ८ लाख २ हजार ३ सय ८८ रहेको छ ।

अर्कोतिर साउदी अरबमा १ हजार ९ सय २, कतारमा १ हजार ३ सय ६७, यूएईमा ५ सय ४४, कुवेतमा २ सय २१ जनाले ज्यान गुमाइसकेका छन् भने मृत्यु हुनेमा १ सय ५५ जना महिला रहेका छन् । विदेशमा ज्यान गुमाउने सबैभन्दा बढी मोरङका रहेका छन् । विगत १० वर्षमा मोरङका मात्र ३९ जनाले ज्यान गुमाइसकेका छन् । कुवेतमा १ लाख ५६ हजार ५ सय ४१ जनामा ५६ हजार ६ सय ३५ महिला रहेका छन् । सबैभन्दा बढी मलेसिया गएकोमा ज्यान गुमाउने पनि बढी त्यही मुलुकमा रहेको छ ।

विगत १० वर्षमा मृत्यु भएका ६ हजार ९ सय २१ जना मध्ये मलेसियामा मात्र २ हजार ४ सय ९६ जना नेपालीले ज्यान गुमाइसकेका छन् । वैदेशिक रोजगारीबाट फर्किनेको यकिन तथ्याङ्क नभए पनि १५ लाख युवा फर्किएको यही महिनाको रेकर्डका अनुसार देखिन्छ । वर्तमान समयमा पनि वैदेशिक रोजगारीको सिलसिलामा लगभग ३५ लाख युवा जनशक्ति विभिन्न मुलुकमा रहेको जनाएको छ ।