बर्बादीको मुख्य स्रोत यो पनि-देबप्रकाश त्रिपाठी

बर्बादीको मुख्य स्रोत यो पनि-देबप्रकाश त्रिपाठी


दपञ्चायत प्रजातान्त्रिक प्रणाली थिएन र कसैले अहिले त्यसको खोजी गरेका पनि छैनन् । तर, पञ्चहरूको कृपादृष्टिमा अनेकौँ कम्युनिस्ट र काङ्ग्रेसका समर्थकहरूले आफ्नो ‘करिअर’मा पखेटा लगाएको तथ्य खोजीनिती गर्नेहरूको आँखामा छिपेको छैन । आज खुँखार कम्युनिस्ट या खाँटी काङ्ग्रेसका रूपमा चिनिनेहरूमध्ये धेरैको जीवन-पृष्ठभूमिमा पञ्चहरूको साथ-सहयोग रहेको देखिन्छ । तर, पञ्चायत नामको राजनीतिक प्रणाली विस्थापित भएयताको दुई दशकमा विपरीत विचार-ध्रुवको सद्भाव र सहयोगमा कतिले आफ्नो ‘करिअर’ बनाए ? निरङ्कुश एवम् तानाशाही भनिने पञ्चायती व्यवस्थामा चाहिँ अर्कै विचार-व्यवहार भएकाहरूले पनि पर्याप्त मौका पाउने, लोकतन्त्रमा व्यावसायिकता र दक्षताको उचाइ चुलिनुपर्नेमा त्यो झनै थेप्चिने, फरक विचारका मानिस दलितसरह अपहेलित हुने किन भइरहेको छ ? प्रश्न उठाउनुपर्ने भएको छ ।
हामीले हाल व्यहोरिरहेको लोकतन्त्रमा व्यक्ति जतिसुकै योग्य, दक्ष, इमानदार र सक्रिय भए पनि कुनै पार्टीविशेषले ‘लालमोहर’ नलगाएको अवस्थामा ऊ खोटा सिक्का समान हो । एक्काईस वर्षअघि विचारका आधारमा पक्षपात गरियो, विपक्ष विचारलाई सम्मान गरिएन भन्दै पञ्चायती व्यवस्थाविरोधी अभियानमा सरिक रहने सबैको चाहना र गन्तव्य एउटै थियो- आस्था र विचारका आधारमा पक्षपात नगरिने राजनीतिक अवस्था-व्यवस्थाको प्राप्ति । एउटा कलाकार कलाकारकै रूपमा सम्मानित बन्न सक्ने, उसले सम्मान पाउन पञ्च बनिरहनु नपर्ने, एउटा प्राध्यापक, शिक्षक, इन्जिनियर, किसान, वैज्ञानिक, पत्रकार, चिकित्सक या वकिल जो जुनसुकै विधाका भए पनि सबैलाई सम्मान र अवसर प्राप्त हुने निष्पक्ष प्रजातान्त्रिक व्यवस्थाको खोजी गर्नेहरूको अभियान बढ्दै जाँदा पञ्चायत विस्थापित हुन पुगेको हो । तर, कुनै पनि मानिसको मूल्याङ्कन व्यक्तिको विचार र आस्था नभई योग्यता, इमानदारी र क्षमताका आधारमा गरिने प्रणालीको खोजी गर्दा फेलापारेको लोकतन्त्र हाम्रो अपेक्षा अनुकूल हुन सकिरहेको छैन । मानिसलाई योग्यता, क्षमता र इमानदारीका आधारमा होइन आस्था र विचारका आधारमा मूल्याङ्कन गर्ने- अवसर दिने प्रणालीका रूपमा नेपालको लोकतन्त्र ‘स्थापित’ हुँदै छ । विभिन्न महत्त्वपूर्ण निकायहरूमा हुने राजनीतिक नियुक्तिदेखि ठेक्कापट्टासमेत दलीय भागवण्डाका आधारमा गर्न थालिएको छ । विश्वविद्यालयका उपकुलपति र रजिष्टारजस्ता महत्त्वपूर्ण जिम्मेवारी दिन सम्बन्धित व्यक्तिको क्षमता र प्राज्ञिक पृष्ठभूमिलाई भन्दा उसको दलीय आस्थालाई आधार बनाउने गरिएको छ । चिकित्सक, वकिल, न्यायाधीश, पत्रकार, कलाकार, किसान, विद्यार्थी, व्यापारी आदि सबै पेसा, व्यवसाय र अन्य कार्यक्षेत्रका मानिस कुनै न कुनै दलसँगको आबद्धतामा मात्र आफ्नो भविष्य सुरक्षित देख्ने मनस्थितिमा छन् । परीक्षा केन्द्रका केन्द्राध्यक्ष र जनगणनामा खटिएका गणकसमेत दलीय आस्थाका आधारमा चयन हुन थालेपछि नेपाली समाज कति निम्नकोटिको राजनीतीकरणयुक्त हुन पुगेछ भन्ने सङ्केत मिलेको छ । ठीक ठाउँमा योग्य मानिस होइन ‘राम्रो अवसर आफ्ना मान्छेलाई’ भन्ने सोचअनुरूपको व्यवहार सबै क्षेत्रमा व्याप्त छ । कम्युनिस्टका दृष्टिमा काङ्ग्रेस या प्रजातान्त्रिक विचार पक्षधरहरू सबै हरेक कामका लागि अयोग्य, काङ्ग्रेसको दृष्टिमा कम्युनिस्टजति सबै अयोग्य ठहरिने भएपछि एक ध्रुवको सहयोगमा अर्को विचार ध्रुवका मानिसको ‘करिअर’ बन्न असम्भव हुँदोरहेछ । लोकतन्त्र स्थापना भएयता कुनै विचार समूहले असहमत विचार समूहका व्यक्ति जतिसुकै, योग्य, सक्षम र इमानदार भए पनि तिनको कदर गर्न खोजेको देखिँदैन । दलका समर्थकहरूमध्ये पनि सत्तारुढ दलकाहरूको उच्च मूल्य, मुख्य विपक्षी निकटकाहरूको बेग्लै मूल्य, झिनामसिना दलसम्बन्धहरूको रुग्ण मूल्य र दलविहीनहरू मूल्यविहीन हुने अवस्था जुन हाम्रो लोकतान्त्रिक व्यवस्थाले सिर्जना गरिदिएको छ, यो नेपालको समृद्धिको होइन बर्बादीको सूचक हो । यसलाई देशले कहिल्यै उन्नति, प्रगति र समृद्धि नभेट्नेतर्फको यात्रारम्भ भन्न सकिन्छ । अरू त अरू अस्पताल र चिकित्सकहरूसमेत आस्था र दलका नाममा विभाजित छन् । बिरामीले उपचार पाउन दलको सिफारिस चाहिने, बेरोजगारले रोजगारी प्राप्त गर्न पनि दलकै सिफारिस अनिवार्य हुने, यार्सागुम्बा टिप्न र जङ्गलमा गाई चराउनसमेत दलकै कृपादृष्टि आवश्यक पर्ने हामीले कस्तो प्रकारको लोकतन्त्र ल्याएछौँ हँ ?
राजनीतिमा संलग्न मानिस योग्य भए मात्र तिनको अगुवाइले समाज परिवर्तनको मार्ग प्रशस्त गर्न सक्छ । ज्ञान, बुद्धि र परिपक्वता आर्जन गर्न बाँकी मानिसको ठूलो झुण्ड राजनीतिमा क्रियाशील भएका या क्रियाशील गराइएका छन् । तिनले राजनीतिमा सक्रिय हुनु भनेको मुक्काबाजी र आपराधिक कर्ममा अब्बल ठहरिनु हो भन्ने मान्यता स्थापित गर्दै लगेका छन् । नेपाली राजनीतिमा लठैतहरूको बोलवाला यसरी बढ्दै छ कि जेन्युइन पोलिटिसिएनहरूलाई राजनीतिमा छु भन्न लज्जाबोध हुने अवस्था सिर्जना हुँदै छ । कतिपय पार्टीका नेता-कार्यकर्ताका राजनीतिक आवरण हटाइए भने तिनलाई एक खुँखार अपराधीभन्दा बढी देखिँदैन । अर्थात् यतिबेला देशको कारागारमा थुनिएका कुनै पनि अपराधीलाई राजनीतिक आवरण दिने हो भने उनीहरू हुबहु नेपाली राजनीतिकर्मीजस्ता देखिनेछन् । सबै राजनीतिकर्मी अयोग्य र नालायक होइनन्, तर निर्णय-प्रक्रियामा योग्यभन्दा अयोग्यहरूको बोलवाला रहने गरेको हुँदा समग्र राजनीतिक क्षेत्रमाथि नै प्रश्न उठ्ने स्थिति बनेको छ । काङ्ग्रेस, एमाले, माओवादी र राप्रपाजस्ता दलहरूमा सहभागी मानिसलाई वर्गीकृत गरियो भने रोचक तस्बिर देखिन्छ । राप्रपामा कम शिक्षित, समाजका पुराना ठालु र राजतन्त्रका हिमायती ज्यादा देखिन्छन्, जुन पार्टीमा युवा पुस्ताको सहभागिता ज्यादै न्यून छ । काङ्ग्रेसचाहिँ ‘कक्टेल’ पार्टीजस्तो देखिन्छ जहाँ सबै प्रकारका मानिसको सहभागिता छ । बौद्धिक पेसाकर्मीहरू, समाजका प्रतिष्ठित, धनीमानी, परम्परावादी, प्रगतिशील र निमुखा मानिसलाई काङ्ग्रेसमा देख्न सकिन्छ । तर, एमालेमा चाहिँ शिक्षक पृष्ठभूमिका मानिसको बाहुल्य रहेको छ । समाजलाई नयाँ चिन्तनधारामा लैजानुपर्छ भन्ने सोचमा रहेका तर अन्य कुनै विचार र सम्पर्कसूत्र फेला नपरेर कम्युनिस्ट बन्न पुगेका मानिसको आधिपत्य एमालेमा छ भनियो भने सायद गल्ती हुनेछैन । माओवादी पार्टी आफैंले गरिब, किसान, मजदुर र पिछडिएका मानिसको पार्टी भएको दाबी गरेको छ । उक्त पार्टीमा मजदुर, विद्यार्थी र नकारात्मक एवम् विद्रोही प्रवृत्तिका मानिसको बोलवाला रहेको देखिन्छ । स्थानीय तहमा हेरियो भने समाजले नपत्याएका या अवहेलना गरेका, सकारात्मक तवरले ‘माथि’ पुग्न सक्ने क्षमता नभएका मानिसको बाहुल्य माओवादीमा भेटिन्छ । समाजले नपत्याएका मानिसलाई अघि लगाएर माओवादीले समाज बदल्ने सामर्थ्य कति राख्न सक्दोरहेछ त्यो हेर्न बाँकी नै छ । तर, माओवादी प्रभावमा त्रासको मात्रा ज्यादा भएको र समाजलाई सधैं त्रासका आधारमा मात्र प्रयोग गर्न, सञ्चालन गर्न या उपयोग गर्न नसकिने हुँदा आफूलाई नबदलीकन माओवादीले आफ्नै प्रभावकारी हैसियतलाई निरन्तरता दिन सक्ने विश्वास गर्न सकिँदैन । समाजलाई मनोवैज्ञानिक रूपमा तयार नगरीकन अशिक्षित, गरिब र अपहेलितलाई माथि उठाउन अहिलेसम्म गरिएका प्रयास प्राविधिक रूपले मात्र प्रभावी देखिएका हुन्, यस किसिमका प्रयासमा दिगोपनाको अभाव रहन्छ । कुनै पनि दिन कुनै पनि बहानामा माओवादीका कार्यकर्ता गाउँ-गाउँबाट बहिष्कृत हुने अवस्था आउनसक्छ भन्नेमा सम्बद्ध पक्ष सचेत रहन आवश्यक छ । आर्थिक, सामाजिक या सांस्कृतिक जुनसुकै कारणले पिछडिएका र उपेक्षित भएका भए पनि माओवादीले उनीहरूमा ज्यादा राजनीतिक महत्त्वाकाङ्क्षा जगाइदिएको छ । आपराधीकरण हुँदै गएको राजनीतिका माध्यमबाट नै तिनले आफ्नो भविष्य सुरक्षित र सुदृढ हुने ठानेका छन् भने त्यो स्वाभाविक छ- उनीहरू सम्पूर्ण समस्याको समाधान राजनीतिका नामबाट खोज्ने गर्छन् । जसका कारण नेपाली समाज जरैदेखि राजनीतियुक्त हुन पुगेको छ । ज्यादा राजनीतीकरण कुनै पनि मुलुकको स्थिरता, शान्ति र समृद्धिको स्रोत कारण बन्न सक्दैन, तर हामीले वर्तमानमा भोगिरहेको यथार्थचाहिँ यही हो ।
कुनै बेलाको संसार कसै-कसैको विचारले हल्लाउने गर्दथ्यो, तर आजको विश्व कसैको आदर्श या विचारविशेषले हल्लिने अवस्थामा छैन । चीनले साठी वर्षअघि संसार हल्लाएको थियो र अहिले पनि हल्लाउँदै छ । तर, अन्तर के हो भने त्यसबेला माओको विचारले हल्लाएको थियो अहिले अर्थतन्त्रले । अहिलेको संसारमा सोक्रेटस, प्लेटो, जिनज्याक रुसो, सात्र या नित्से जोसुकै साक्षात प्रकट भए पनि तिनले संसार हल्लाउने सामर्थ्य पुन: देखाउलान् भन्न सकिँदैन, किनकि अहिले संसार हल्लाउने एउटै मात्र अस्त्र र्’अर्थ’ बनेको छ । कतिपय विकासोन्मुख या अविकसित मुलुकमा दरिद्र राजनीतिवाजहरूले आफ्नो भविष्य सुरक्षित र समृद्धि तुल्याउन विचारको व्यापार गरेर मानिसलाई अलमल्याउने या भड्काउने गरेको देखिन्छ । तर, विकसित मुलुकमा कोरा विचारको व्यापार चल्न छोडेको छ । त्यहाँ आदर्शका आकाशे कुरा हुँदैनन्, धर्तीका र समाजका साधारण मुद्दा उठ्छन् र समाधान खोजिन्छन्, त्यसैले ती मुलुकमा शान्ति, स्थिरता र समृद्धिले जरा गाडेको छ । विकसित मुलुकहरूमा चुनावी प्रक्रियामा मात्र दलहरूको भूमिका खोजिन्छ, चुनावको प्रयोजन सकिएपछि विजयी पक्षको भूमिका दलकेन्द्रित होइन नितान्त देशकेन्द्रित हुन थाल्छ । आस्था र विचारका आधारमा मानिसलाई छुट्याएर व्यवहार गरिँदैन, समाज, प्रशासन र राज्य-संयन्त्रलाई राजनीतीकरण हुनबाट मुक्त राखिएको हुन्छ, त्यसैले ती मुलुकका राजनीतिकर्मीले समृद्धिको शिखर चढाएका छन् आफ्ना मुलुकलाई । हामीकहाँ हरेक विषय र वस्तुलाई राजनीतिक कोणबाट मात्र हेरिन्छ र समस्याको समाधान पनि राजनीतिक तवरबाट नै खोज्ने गरिन्छ । हाम्रोजस्तो अल्पविकसित मुलुकका राजनीतिवाजहरू धारामा राजनीति, पानी र पोखरीमा राजनीति, सीमामा राजनीति, विज्ञान र कलामा राजनीति, सडकमा राजनीति, कृषि र वातावरणलगायत हरेक विषय-क्षेत्रमा राजनीति गर्न माहिर मानिन्छन् । जनता सडकमा निर्वाध हिँड्न चाहन्छन् राजनीतिवाजहरू सडक बन्द गर्न अग्रसर भइरहेका हुन्छन्, उद्यमीहरू उद्योगधन्दा सुचारु गर्न प्रयास गर्छन्, राजनीतिवाजहरू बन्द र हड्तालका निम्ति उपयुक्त वातावरण बनाउन प्रयास गर्छन्, जनता आपसी सद्भाव र मेलमिलाप कायम गर्न चाहन्छन्, राजनीतिवाजहरू जाति, भाषा, धर्म, क्षेत्र आदि नाममा मानिसको एकता खलबल्याउन चाहन्छन्, जनता शान्ति र सुरक्षा चाहन्छन्, राजनीतिवाजहरू अशान्ति र असुरक्षाको मुख्य स्रोत बन्ने गरेका छन् । समग्रमा भन्नुपर्दा नेपालको प्रमुख समस्या नै राजनीतिक क्षेत्र बनिरहेको छ । नेपालमा दलविहीन राजनीतिक प्रणाली मात्र उपयुक्त हुन सक्छ भनेर कुनै विद्वान्-बुद्धिजीवी, समाजसेवी र राजनीतिवेत्ताले भन्न खोजेका या भन्न सकेका छैनन् । विद्यमान तनाव र विवाद एकदलीय व्यवस्था कि बहुदलीय भन्ने प्रश्नको मूल चुरोबाट निसृत भएको छ । सिङ्गै समाजलाई राजनीतीकरण गर्दै राजनीतिकर्मीहरूले चलाएको निरर्थक बहस नै मुलुकको प्रमुख समस्या बन्न पुगेको छ । नेपालका अधिकांश राजनीतिवाजको भूमिकालाई निष्क्रिय मात्र तुल्याउन सकियो भने पनि नेपालले विद्यमान समस्याबाट मुक्ति प्राप्त गर्न सम्भव छ । राजनीतिकर्मीहरूले आफूप्रतिको आस्था, विश्वास र भरोसा बढाउने काम गरेका छैनन् र समाजले तिनलाई पूर्ण रूपमा अस्वीकार र बहिष्कार गर्न पनि सकिरहेको छैन । क्रियाशील राजनीतिक दल तथा राजनीतिकर्मीहरूप्रति आस्था घट्नु र तिनको विकल्पको खोजी हुनु शुभसङ्केत होइन । जनतामा आएको निराशाले कुनै न कुनै रूपको अधिनायकवाद स्थापना गर्न सहयोग पुर्‍याउँछ भन्ने सत्यप्रति गम्भीर हुँदै राजनीतिकर्मीहरूले तत्काल आफ्नो सोच, व्यवहार र शैली बदल्दैनन् भने प्रजातन्त्रको समेत विकल्प खोजी हुन सक्दछ । अल्पविकसित मुलुकहरूमा प्रजातन्त्रको विकल्प पनि प्रजातन्त्र नै हुन्छ भन्ने मान्यताले काम गर्दैन भन्ने यथार्थ हामी सबैले बुझन आवश्यक छ ।
[email protected]