ट्रम्प अकस्मात् किन गए इराक ?

ट्रम्प अकस्मात् किन गए इराक ?


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गरेका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलोपटक इराक पुगेका हुन् ।

उनको यो भ्रमण पूर्वघोषित नभई अकस्मात् भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले इराकको भ्रमण गरेर त्यहाँबाट जर्मनी प्रस्थान गरेको केही घन्टापछि मात्र उनको भ्रमणबारे जानकारी गराइएको थियो ।

इस्लामिक स्टेट परास्त भइनसकेको र सिरियामा जारी गृहयुद्ध पनि समाप्त नभएको अवस्थामा सिरियामा तैनाथ करिब दुई हजार अमेरिकी सेना फिर्ता गर्ने र विश्वव्यापी रूपमा अमेरिकी सुरक्षा अधिकारीको भूमिकालाई अन्त्य गर्ने ट्रम्पले घोषणा गरेका थिए ।

यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको इराक भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । राष्ट्रपति ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया स्थानीय समयाअनुसार बुधबार बेलुका ७ः१६ मा पश्चिम इराकमा रहेको अल असाद एयर बेसमा पुगेका थिए । राष्ट्रपति ट्रम्पले इराक छोड्नु केही घन्टा अगाडि करिब सयजना अमेरिकी विशेष सैन्य कमान्डर र अरू केही अधिकारीहरूसँग सामूहिक वार्ता गरेका थिए ।

यसरी विभिन्न समूहमा छुट्टाछुट्टै रूपमा गरिएको वार्ताको क्रममा हाल इराकमा रहेका अमेरिकी सैनिकको अवस्थाका साथै इराकको सुरक्षा अवस्थाबारे कुराकानी भएको बताइएको छ । यसअघि नै इराकका प्रधानमन्त्री अदेल अब्देलसँग ट्रम्पको औपचारिक भेटवार्ता हुने कुरा थियो । तर, पछि भने उनीहरूबीच भेट नभई फोनवार्ता मात्र भएको बताइएको छ ।

इराकी प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिका अनुसार सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले इराकी प्रधानमन्त्रीलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएका थिए । त्यस फोनवार्ताका क्रममा अमेरिकी सेना फर्काउने विषयमा उनीहरूबीच कुराकानी भए–नभएकोबारे भने केही बताइएको छैन ।

इराकको उक्त अमेरिकी सैन्य बेस क्यापमा हँसिलो मुहार लगाएर अमेरिकी राष्ट्रपतिको स्वागतार्थ बसेका अमेरिकी सुरक्षा अधिकारीहरूसँग राष्ट्रपति ट्रम्पले हात मिलाएनुका साथै उनले सैन्य अधिकारीहरूलाई अटोग्राफ पनि दिएका थिए । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले यससम्बन्धी भिडियो पनि सार्वजनिक गरेकोे छ । राष्ट्रपति ट्रम्प इराकको उक्त भ्रमण सकेर जर्मनी पुगेको अर्काे एक समाचारमा जनाइएको छ ।