पोखरामा अभूतपूर्व स्वागत, भव्य स्वागतले राजा स्वयम् आश्चर्यचकित !

पोखरामा अभूतपूर्व स्वागत, भव्य स्वागतले राजा स्वयम् आश्चर्यचकित !


व्यक्तिगत भ्रमणमा निस्किनुभएका पूर्व श्री ५ ज्ञानेन्द्रलाई पोखरामा भएको भव्य स्वागतले स्वयम् राजालाई समेत आश्चर्यचकित बनाएको बुझिएको छ । राजपरिवार नितान्त पारिवारिक भ्रमणमा अहिले पोखरामा छ । गत पुस २ गते पूर्व श्री ५ तथा रानी कोमल पोखरा पुग्दा पोखरा विमानस्थलमा उहाँहरूलाई गरिएको स्वागत उहाँले श्री ५ महाराजाधिराजको हैसियतमा भ्रमण गर्दाभन्दा पनि भव्य रहेको मानिएको छ ।

सङ्ख्यात्मक मात्र नभएर मानिसको भावनात्मक समर्थनले राजा भावविह्वल बन्नुभएको स्वागतमा सरिक हुनेहरूले बताएका छन् । एयरपोर्टमा मात्र नभई गत शनिबार विध्यवासिनी मन्दिरको दर्शन गर्न जाँदा पोखरावासीले राजपरिवारका सदस्यलाई गरेको स्वागत अभिवादन अहिलेसम्मकै ठूलो मानिएको छ ।

स्वागतका लागि विभिन्न पेसा, व्यवसायसम्बद्ध व्यक्तित्वहरू, राजनीतिकर्मीलगायत ठूलो सङ्ख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । सर्वसाधारणले राजपरिवारलाई यति हार्दिकतापूर्वक स्वागत गरेका थिए कि कतिको आँखा आँसुले भरिएका थिए ।

प्राप्त जानकारीअनुसार राजपरिवार अहिले निर्मलपोखरीस्थित माउन्टग्लोरी रिसोर्टमा छुट्टी मनाइरहेको छ । उक्त रिसोर्ट पोखरा एयरपोर्टबाट आठ किलोमिटर टाढा पर्छ । केही राजनीतिकर्मी तथा पेसा, व्यवसायीहरूले सोही स्थानमा राजासँग भेटघाट गरिरहेका छन् ।

राप्रपा नेता कमल थापालगायत केही पूर्वमन्त्री तथा सांसदहरू मात्र नभएर लिटरेचर फेस्टिभलमा भाग लिन गएका साहित्यकार एवम् सेलेब्रिटीहरूले पनि राजालाई भेट्ने क्रम जारी छ । चर्चित अभिनेत्री मनीषा कोइराला, सञ्चारकर्मी भाष्करराज राजकर्णिकारलगायतले राजासँग भेट गरेका छन् । पोखरावासीले मात्र नभएर गण्डकी प्रदेशका विभिन्न भागका मानिसले राजासँगको भेटका लागि अनुरोध गरेको बुझिएको छ ।

राजपरिवार स्रोतका अनुसार राजाको यो भ्रमण कुनै राजनीतिक उद्देश्यप्रेरित नभएर नितान्त व्यक्तिगत हो । नातिनीहरू बैंककबाट छुट्टीमा घर आएका र नातिको पनि छुट्टी भएकोले बच्चाहरूसहित पोखरा भ्रमण तय भएको बुझिएको छ । राजा ज्ञानेन्द्र, रानी कोमल र राजाका निकटका हितैषी प्रभुशमशेर राणा पोखरा पुगेको केही दिनपछि बुहारी हिमानी, छोरी प्रेरणा र नातिनातिनीहरू पोखरा पुग्नुभएको थियो । राजसंस्था हुँदा र नहुँदामा राजपरिवारको स्वागतमा अलिकति पनि कमी नआएको र कमी हुन नदिने पोखरावासीले बताएका छन् । राजसंस्थासँग मुलुकको इतिहास जोडिएकोले मुलुकवासीहरूले राजसंस्थालाई बिर्सन नहुने भनाइ स्थानीयको छ । पोखरापछि राजपरिवार झापाको भ्रमणमा जाने बुझिएको छ ।