पर्वतमा लामा र अग्ला पुल बनाउने होड

पर्वतमा लामा र अग्ला पुल बनाउने होड


पर्वतमा लामा र अग्ला पुल बनाउने होड नै चलेको छ । हुन पनि कालीगण्डकी र मोदीखोलाले घेरेको पर्वतलाई नजिकै रहेको बाग्लुङ र म्याग्दी तथा बाँकी आफ्नो गाउँसंग जोड्नु लामो पुल निर्माण गर्नुको विकल्प छैन् पनि । तर अहिले आएर यही पुलहरु पर्यटकको गन्तव्यको थलो बन्न थालेका छन् । पर्वत सदरमुकाम कुश्मालाई जोड्न बनेका तीनवटा झोलुङ्गे पुलहरु अहिले पर्यटकहरुका लागि भ्रमणको एउटा विन्दू बन्न थालेका छन् । पुल बन्न अघि सदरमुकाम आउन जान दुई दुई घण्टाको उकाली ओराली गर्ने स्थानीयवासीहरु अहिले पुल घुम्न आउने पर्यटकको स्वागत र खातिरदारीमा जुट्न व्यस्त छन् । तर पुल निर्माण भएको स्थल वरपर गतिलो होटल तथा आवासको व्यवस्था नहुँदा पुल हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले भने भरपुर आनन्द उठाउन पाउने गरेका छैनन् ।

पर्वत सदरमुकामलाई जोड्न निर्माण गरिएको तीन अग्ला झोलुङ्गे पुल यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेका छन् । कुश्मा–ज्ञादी, कुश्मा–बलेवा र कुश्मा–मुडिकुवा आकाशे पुलले आन्तरिक पर्यटकलाई निकै लोभ्याएको छ । संसारकै अग्लो गल्छी बनाएर बग्ने कालीगण्डकी र ऊर्जा नदीका रूपमा परिचित मोदीखोलाको खोंचमाथि रहेको कुश्मा बजारलाई ग्रामीण क्षेत्रसँग सीधै जोड्न निर्मित पुलमा बसेर सेल्फी खिचाउने र पारिवारिक भ्रमण गर्नेहरूले पुल आसपासको क्षेत्र भरिभराउ हुने गरेको छ ।

कुश्मा–ज्ञादी झोलुङे पुल पर्बत जिल्लाकै पहिलो
कुश्मा–ज्ञादीका बासिन्दालाई सदरमुकाम आवगमनको लागि बिसं २०६१ मा निमार्ण गरिएको सो पुल अहिले फलेबास नगरपालिका तथा अन्य गाउँपालिकाका बासिन्दाको लागि एक मात्र बिकल्पको रुपमा रहेको छ । मोदी खोलाको खोंचमाथि रहेको कुश्मा–ज्ञादी झोलुङे पुल पर्बत जिल्लाकै पहिलो पुल हो । जुन पुल ३ सय ४४ मिटर लम्बाई र १ सय ३५ मिटर उचाईमा छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटक अवलोकन भ्रमणका लागि दैनिक आउने गरेका छन् ।

करिब २ घण्टाको उकालो र ओरालो गरि सदरमुकाम कुश्मामा आबतजाबत गर्दा निकै कष्ट हुन्थ्यो तर अब पुलले त्यो सकस हटाएको छ – झोलुङे पुल छेउमै होटल ब्यवसाय गर्दै आएका थमनारायण पौडेल बताउँछन् । पुल बनेपछि आवागमनमा सहजता आउनुका साथै पुल बनेको ठाउँ नै पर्यटकीय स्थल बन्न पुगेको स्थानीय व्यवसायी थमनारायण पौडल बताउँछन् ।

सुन्दर र रमणीय ज्ञादी फाँट र अल्पेश्वर गुफा
सुन्दर र रमणीय ज्ञादी फाँट र अल्पेश्वर गुफा रहेका कारण यहाँ पर्यटक आकर्षित हुने गरेको स्थानीय बताउँछन् । त्यस्तै बिसं २०७१ मा निर्माण भएको कुश्मा–बलेवा झोलुङे पुल पनि पछिल्लो समय पर्यटकको राजाईमा पर्न थालेको छ ।

कुश्मा–ज्ञादीपछि बनेको पर्बतको दोस्रो र अहिले सम्मकै नेपालकै अग्लो झोलुङे पुलको रुपमा चिनिएको यस पुलमा पनि पर्यटक त्यत्तिकै मात्रामा आउने गरेका छन् । यो पुलको लम्बाइ ३ सय ४७ मिटर र उचाइ १ सय ५७ मिटर छ । दैनिक देशका विभिन्न ठाउँबाट आन्तरिक तथा बाह्य पर्यटक भ्रमणमा आउने गरेको पुल निमार्ण समितिका अध्यक्ष मिन श्रेष्ठले बताए । विद्यार्थी शैक्षिक भ्रमणका लागि तथा अन्य संघ संस्थाको समूह यहाँ बढी मात्रामा आउँने गरेको उहाको भनाई छ । पुल छेउछाउमा बस्न र खानाको उचित व्यवस्था भए पर्यटकको आवागमन अझ बढ्न सक्ने श्रेष्ठले बताए ।

उचित व्यवस्थापन नहुदाँ पर्यटकलाई सास्ती
सामान्य खाजा पसल बाहेक पुलको वारी र पारीपट्टि एक दुई होटल सञ्चालनमा आए पनि साँझको बासको उचित व्यवस्थापन नहुदाँ पर्यटकमा समेत समस्या हुदै आएको छ । रमाइलो गर्दै पुलमा फोटो खिचाउनेको भीड कहिल्यै कम नहुने होटल ब्यवसायी राजु पौडेलले बताउँछन् । पछिल्लो समय प्रचारप्रसारका कारण समेत पर्यटकको संख्यामा वृद्धि हुँदै गएको उनको भनाइ छ ।


कुश्मा–मुडिकुवा झोलुङे पुलको रमाइलो बेग्लै
त्यस्तै, अर्को अग्लो र लामो पुल हो कुश्मा–मुडिकुवा झोलुङे पुल जुन समुद्री सतह देखि १ सय ४९ मिटर उचाई र ३ सय ५४ मिटर लम्बाईमा फैलिएको छ । कुश्मा–ज्ञादी र कुश्मा–बलेवा पुलको अबलोकन गरिसके पछि पर्यटक तानिने अर्का पुल हो यो । पर्बतका दक्षिणी भेगका धेरै जसो बासिन्दाहरु आबतजाबत गर्ने यो पुलमा आन्तरिक तथा बाह्य पर्यटक थपिदा झन खचाखच हुने गर्दछ । बिसं २०७३ सालमा निर्माण भएको यो पुलमा पनि आन्तरीक तथा बाह्य पर्यटक त्यत्तिकै मात्रामा आउने गरेको ब्यवसायीहरु बताउँछन् । झोलुङ्गे पुल अवलोकनका लागि गर्मीयाममा भन्दा हिउँदमा पर्यटक बढी आउने गरेका छन् । विशेषत दशैंमा लामो बिदा हुने भएकाले कर्मचारी, शिक्षक, विद्यार्थी, व्यापारी लगायत आन्तरिक पर्यटकहरु यहि बेला बढी आउने गरेको पर्यटन प्रर्बद्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेल बताउछन् । हिउँदमा त एकै दिन ६०-६५ वटा बसमा आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । सामान्य समयमा भने दैनिक दुई-तीन वटा बसमा पर्यटक आउँने गरेको पौडेलको भनाई छ ।
यी पुलसँगै कुश्मा बजारलाई बलेवासँग जोड्न निर्मित यान्त्रिक पुल, निर्माणाधीन बन्जी जम्प, गुप्तेश्वर तथा अलपेश्वर गुफालगायतले पनि पर्यटकहरूको ध्यान तानेका छन् ।