त्यो मुद्दापछि गरिमा राणा एउटा ‘प्रतीक’ भइन्

(संयोगका पानाहरू–३२)

न्यायको लागि गरेको याचना सुनिदिएर एउटा निचोडमा पुग्ने भएकाले न्याय सम्पादनमा न्यायाधीशको केन्द्रिय भूमिका रहन्छ । फैसला कसरी लेख्ने ? कसरी राय प्रकट गर्ने ? निर्णय गर्दा कसरी संवाद गर्ने ? न्यायाधीश भैसकेपछि यससम्बन्धी विशिष्ट ज्ञानको जरूरत हुने रहेछ । कानून व्यावसायीबाट न्यायाधीशमा प्रवेश गरेको म यी यावत विषयमा विस्तारै अभ्यस्त हुँदै गएँ । म जे देख्दथेँ त्यसलाई सहजै प्रकट गरिदिन्थेँ । आफू विश्वस्त भइसकेपछि यही हो भन्थेँ । यसो गर्दा कहिलेकाहिँ Preside गर्ने न्यायाधीशको चित्त दुख्ने पनि रहेछ । यद्यपि मलाई के लाग्छ भने न्याय सम्पादनमा न्यायाधीशको Innocence भन्दा उच्चतम योग्यता केही पनि हुन सक्दैन ।

मैले स्कूलमा पढ्दा कतै The Emperor’s New Clothes भन्ने कथा पढेको थिएँ । उक्त कथामा एकजना बादशाह थिए । वस्त्र आभुषणका असाध्यै सौखिन । उनलाई आफ्नो जन्मदिन र क्रिसमसमा नौलो किसिमका लुगाहरू चाहिन्थ्यो । कहिँ कतै कसैले नलगाएका बिल्कुल नयाँ डिजाइनका लुगा । एकपटक केही अपरिचित मान्छे उनीकहाँ पुगे र आफूलाई लुगा बुन्ने मान्छे भनी परिचय दिए । उनीहरूले बडो विनम्रतापूर्वक बिन्ती पनि चढाए कि वादशाहका लागि एउटा यस्तो अद्भूत वस्त्र तयार पारेका छन् जो मूर्ख र अयोग्यहरूले देख्न सक्दैनन्, योग्य र विद्वानहरूले मात्रै त्यो अलौकिक बस्त्र देख्छन् । वादशाह पनि दङ्ग परेर त्यो अदृष्य वस्त्र पहिरिएर नगरमा निस्किए । उनका आसेपासे र सुसारेहरूले योग्य कहलिनका लागि आहा कति राम्रो वस्त्र भनिदिए । नगरवासीहरूले डरले केही भन्न सकेनन् बरू उनको जयजयकार गरिरहे । बादशाह मख्ख परिरहे । यस्तैमा एकजना निर्दोष बच्चाले अनायासै बोलिदियो– ‘लौ ! राजा त नाङ्गै पो रहेछन् ।’ त्यसपछि सबै झल्याँस्स भए आफ्नो मूर्खताप्रति । वास्तवमा लालची बादशाहको सेखी झार्न बस्त्र बुन्ने मानिसको भेषमा गएका ती अपरिचित व्यक्तिहरूले उनलाई नाङ्गै शहर घुमाएका थिए ।

न्याय सम्पादनमा पनि देखेको कुरा सहजै भन्ने र प्रकट गर्न सक्ने निर्दोषिता र निर्भिकता न्यायाधीशले देखाउन सक्नुपर्छ । योग्य कहलाउने लालचमा निर्वस्त्रलाई पनि सुन्दर बस्त्र पहिरिएको भन्न हुँदैन । ध्यान दिएर वहश सुनेर, बुझेर आफ्नो ज्ञान र सीपको प्रयोगद्वारा न्याय सम्पादनमा आवेगहीन भएर जस्ताको तस्तै जसले प्रकट गर्न सक्यो वास्तवमा त्यो नै सक्षम हुन्छ । यही मूलमन्त्रलाई ध्यानमा राखेर न्याय सम्पादन गर्दा कुनै कुरामा आफू विश्वस्त नभएपछि ‘यसो होइन र ?’ भनी मैले आफ्नो राय प्रकट गर्ने गर्थें । यसो गर्दा कतै राम्रै काम गरेँ हुँला । कतै त्यसले साथीहरूको चित्त पनि दुखायो होला ।

जे भएपनि कुरा सुनिसकेपछि तत्काल निर्णय गर्ने क्षमता राख्छ भने त्यो न्यायाधीशलाई कुशल नै मान्नुपर्छ । जहाँसम्म मुद्दा बुझ्ने, तथ्य केलाउने र प्रमाणहरूको विवेचना गर्ने विषय छ, त्यहाँ सारवान (Substantive) कानून भन्दा पनि कार्यविधि (Procedural) कानूनको ज्ञानले न्यायाधीशको लागि बहुतै महत्व राख्छ । सारवान कानूनमा त यो हक थियो, यो हक थिएन वा यो हकले भेट्यो, यो हकले भेटेन भन्नेसम्म हुन्छ । तर जब कार्यविधि कानूनको प्रसङ्ग आउँछ, कार्यविधि कानूनले नै सारवान कानूनलाई नियन्त्रण गरेको हुन्छ । मैले एकपटक कतै सम्बोधनका क्रममा भनेको पनि थिएँ– ‘सारवान कानून कलकलाउँदो मकैको घोगासहितको बोट हो भने कार्यविधि कानून त्यहाँ रोपिएको बोडीको लहरा हो । कहिलेकाहीँ त्यो लहराले मकैलाई नै ढालिदिन सक्छ ।’ न्याय सम्पादनका क्रममा त्यस्ता समस्या पनि यदाकता प्रकट हुन्छन् ।

सारवान र कार्यविधि कानूनको चर्चा हुँदा मलाई असाध्यै सम्झना हुने आफूले हेरेका मुद्दामध्येको एक हो गरिमा राणाको मुद्दा । उनी असाध्यै प्रतिभाशाली र मेधावी छात्रा थिइन् । त्रियोग गर्लस् स्कूलमा पढ्थिन् जहाँ अलिक सम्भ्रान्त परिवारका छोरीहरूले पढ्ने गर्दथे । दरबारसँग नजिकको सम्बन्ध रहेका एक गणित शिक्षकले सिकाएको कुनै हिसाबको नियममा प्रश्न उठाएपछि गरिमालाई अनुशासनको कारवाही गरिएछ । त्यो विषय उक्त स्कूलको रेकर्ड र उनको चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख भयो । हुन त अर्को के कुरा पनि गर्ने गरिन्छ भने तत्कालीन समयमा युवराज दीपेन्द्रसँग उनको बिहेको चर्चा चलेको थियो । उनी केशर शमशेरकी नातिनी । दरबारसँगको त्यो साइनो एकातर्फ थियो । गरिमालाई त्रियोग स्कूलमा रहँदा अलिकति विवादमा पार्न सकियो भने दीपेन्द्रसँगको विवाहको चर्चा बिथोल्न सकिन्छ कि भन्ने एकथरी दरबारनिकटकै व्यक्तिहरू थिए भन्ने पनि गरिन्थ्यो ।

यद्यपि कानूनको नजरमा के देखियो भने उनका पिता वरिष्ठ अधिवक्ता लोकभक्त राणाले आफ्नी छोरीलाई त्रियोग गर्ल्स स्कूलबाट निकालेको र अनुशासनको कारवाही गरेको विषयउपर निवेदन लिएर अदालत आउनुभयो । उक्त मुद्दा दर्ता भयो । त्यहाँ केही गहन प्रश्नहरू पनि उठे– यो अदालतको क्षेत्राधिकार हो होइन ? स्कूलले विद्यार्थीलाई निष्काशन गरेको विषयमा अदालतमा निवेदन लाग्ने हो कि होइन ? यस्ता साना कुरामा अदालत प्रवेश गर्न मिल्ने हो कि होइन ?

एउटा प्रतिभाशाली र मेधावी छात्राको चरित्रका सम्बन्धमा लेखिएको कुराले उसलाई भविष्यमा उच्च शिक्षा लिँदा समेतमा असर पर्छ भन्ने हेक्का विद्यालय सञ्चालकले राखेको देखिएन । गरिमा राणाले अनुशासनहीन काम गरेको मिसिलबाट देखिएन भनेर लेख्यौँ ।

जब मुद्दाको औचित्यभित्र प्रवेश गरेर हेरियो, उनलाई स्कूलबाट निकाल्ने कुनै पनि आधार र कारणहरू देखिएन । कसैको भविष्यमाथि नै असर पर्नेगरी अकारण विद्यार्थीको चरित्रमाथि खेलबाड गर्न मिल्दैन थियो । अनुशासनको कारवाही गर्दा उक्त कुराको ठोकुवा गर्ने अधिकारीले तर्क, आधार र कारण दिनुपर्थ्यो । विधिसम्मत ढंगले गर्नुपर्थ्यो । तर त्यसो गरे भएको देखिएन ।

उक्त मुद्दामा दुवैतर्फबाट लामो वहश भएको थियो । जब विपक्षीको वहश हुन्थ्यो, त्रियोग गर्ल्स स्कूलका शिक्षिकाहरूले ताली बजाउँथे । इजलासलाई नै डिस्टर्व गर्थे । तर जब निवेदकको तर्फबाट वहश हुन्थ्यो, उनीहरू आत्तिन्थे । Preside गर्ने न्यायाधीश ध्रुवनाथ उपाध्याय हुनुहुन्थ्यो । उहाँले भन्नुभयो– ‘कसैको भविष्यमाथि नै खेलवाड गर्न त हुँदैन । यिनीहरू एक छात्राको आचरणमा प्रश्न गरिरहेका छन् । अनुशासनका कुरा गरिरहेका छन् । तर आफैँ अनुशासनमा छैनन् !’

मैले भनेँ– ‘श्रीमान् यो कुरा त इजलासबाटै सोधिनुपर्छ ।’ त्यसपछि मैले इजलासमा उपस्थित शिक्षिकाहरूलाई प्रश्न गरेँ– ‘तपाईँहरूलाई इजलास के हो भन्ने थाहा भएन कि ? वहशको परिपाटी थाहा छैन कि ? वहश सुनेर ताली बजाउन वा न्यायाधीशलाई धन्यवाद दिन वा गाली गर्न हुँदैन भन्ने थाहा छ कि छैन ? इजलासबाटै यी यावत प्रश्नहरू सोधिसकेपछि उनीहरू स्तब्ध त भए तर उनीहरूको उन्माद प्रष्टै देखिन्थ्यो । यहँनेर अदालतको मानहानीको प्रश्न उठ्यो । सो सम्बन्धमा प्रतिवेदन पनि उठ्यो ।

वास्तवमा एउटा प्रतिभाशाली र मेधावी छात्राको चरित्रका सम्बन्धमा लेखिएको कुराले उसलाई भविष्यमा उच्च शिक्षा लिँदा समेतमा असर पर्छ भन्ने हेक्का विद्यालय सञ्चालकले राखेको देखिएन । गरिमा राणाले अनुशासनहीन काम गरेको मिसिलबाट देखिएन भनेर लेख्यौँ । फैसला लेख्दाखेरी उल्लेख गरियो– कहिलेकाहीँ प्रतिभा र विद्यालय सञ्चालकको बीचमा विवाद हुँदा टकराव हुन सक्छ । राज्यको व्यवस्था र प्रतिभाका बीच द्वन्द्व भएका उदाहरण पनि छन् । फैसलामा पृथ्वी र सूर्यको विषयमा ग्यालिलियोले पत्ता लगाएको तथ्यको प्रसङ्ग पनि उदृत गर्यौं ।

ग्यालिलियोले सूर्य स्थिर छ र पृथ्वी घुम्छ भन्दा तत्कालीन शासकले उसोभए सूर्य उदाउँदा पूर्वमा रहेको मेरो निवास सूर्य अस्ताउँदा पश्चिममा हुनुपर्ने हो, यस्तो हुन सक्दैन भनि उनलाई गलत सावित गर्ने जबर्जस्त कोशिस गरेका थिए । पृथ्वीले सूर्यलाई घुम्छ भन्ने आधार र कारण प्रस्तुत गर्न सक्छु भनी दाबी गर्दा ग्यालिलियोमाथि मुद्दा लगाइएको थियो । वास्तवमा त्यो एउटा वैज्ञानिक प्रतिभा र व्यवस्थाबीचको द्वन्द्व थियो । गरिमा राणा पनि असाधारण प्रतिभा भएकी छात्रा हुन् । यस्ता प्रतिभाले व्यवस्थापनसँग मेल नखाने बौद्धिक तर्क गर्न सक्छन् । कहिलेकाहीँ व्यवस्थापन पक्षले यस्तो प्रतिभालाई नबुझ्न सक्छ । शिक्षकसँग फरक मत र फरक तर्क राखेकै कारण आचरण उल्लंघन गरेको भन्नु मनासिव हुँदैन । यी यावत कुराहरू लेखेर फैसला तयार गऱ्यौं ।

उक्त मुद्दाको फैसला भएको केही महिनापछि गरिमा राणा एसएलसी बोर्ड प्रथम भइन् । एसएलसी बोर्ड फर्स्ट भएको मान्छे पक्कै पनि साइन्स पढ्छिन् होला भन्ने धेरैको अनुमानविपरीत उनले उच्च शिक्षाका लागि कानून विषय रोजिन् । ‘अन्यायमा परेर न्याय पाएको मान्छे म ‘ल’ नै पढ्छु’ भनिन् । बाबुको पेशाले पनि सायद उनलाई कानून पढ्न प्रेरित गर्यो होला । वास्तवमा लोकभक्त राणा पनि बडो प्रतिभाशाली कानून व्यवसायी हुन् । उनी राम्रो तयारीका साथ वहसमा जान्छन् । आवश्यक नजीरहरूको राम्रो व्यवस्थापन गर्छन् । सबै कानूनलाई प्रष्ट्याउँछन् । त्यो बेला उनी वरिष्ठ भएका थिएनन् । यद्यपि लोकभक्तको वहश तत्कालीन समयका वरिष्ठ अधिवक्ताहरूलाई नै माथ गर्ने खालको हुन्थ्यो । त्यो तहसम्मको तयारी र अध्ययनका साथ उनी इजलाससमक्ष उपस्थित हुन्थे ।

उक्त मुद्दाको फैसलापछि गरिमा राणा एउटा प्रतीक भइन् । शिक्षकसँग असहमत भई असाधारण बौद्धिक क्षमता प्रकट गरेकै कारण कसैले लाञ्छित हुनु नपर्ने, त्यही कारण चरित्रहत्या नहुने, विद्यार्थीलाई जथाभावी निष्कासन (Expel) गर्न नपाउने नजीर कायम भयो ।

यसअघिको हेर्नुहोस्-

अनिष्टको सङ्केत र पुनर्जन्म पाएको त्यो घटना



https://www.ghatanarabichar.com/128246

प्रतिक्रिया