सभासद् कि यन्त्रमानव ?





सतसट्ठी साल जेठ चौध गते नेपालका सार्वभौम जनताले चुनेका प्रतिनिधिहरू भनिएका सभासद्हरू अहोरात्र बानेश्वरको संविधानसभा परिसरमा थुनिए । अठ्सट्ठी साल जेठ चौधमा पनि अहोरात्र त्यही ठाउँमा थुनिए । अब फेरि भदौ चौधमा थुनिनेछन् । भनिन्छ, तेलीले कोलमा जोत्ने गोरुको आँखामा पट्टी बाँधिएको हुन्छ । तैपनि, त्यो गोरुलाई आफू कोलमा घुमेको थाहा हुन्छ, तर आफ्नो स्वतन्त्र अस्तित्व केही नभएका जनताका प्रतिनिधि भनिएका वास्तवमा आफ्ना दलका मालिकका दास सभासद्हरूलाई आफू के गर्दै छु भन्ने पनि थाहा छैन । नत्र एक वर्षअगाडि असी प्रतिशत काम भइसकेको थियो भनियो, एक वर्षपछि धेरै काम भएको राग पनि अलापियो, अनि भएको काम फेरि असी प्रतिशत नै रह्यो । जसरी कोलमा जोतिएको गोरु जति घुमे पनि कहीँ पुग्दैन त्यसै गरेर यी पराइको हातमा नियन्त्रण भएका यन्त्रमानवसरहका सभासद्हरूले खुब काम गरेको अनुभूति गरे पनि जहाँको तहीँ रहनेछन् ।
आफ्ना मालिकले आदेश नदिउन्जेल अब के गर्ने भन्ने थाहा नभएका बिचरा सभासद् आमजनताको कोपभाजनको तारो बन्न विवश छन् । जनताको सामना गर्दा सबैलाई एउटै तराजुमा नतौलन आग्रह गर्छन्, आफूले त काम गरेको तर शीर्षस्थ नेताहरूले काम नगरेको पिन्चे स्वर निकाल्छन् । जब तिनै सभासद्ले नेताको आदेश पाउँछन् आफ्नो बुद्धिविवेक सबै छोडेर पाल्तु कुकुरलेझैँ पुच्छर डोलाउँदै त्यो आदेश पालन गर्न तँछाडमछाड गर्छन् । यस्ता दास मनोवृत्ति भएका सभासद्हरूले जनताको स्वतन्त्रताको प्रत्याभूति गर्ने संविधान लेख्छन् भन्ने पत्याउने जनता कोही छैनन् । तर, पुरो चाट्न पाएका प्रायोजित बुद्धिजीवीहरू, सञ्चारकर्मीहरू यिनै सभासद्हरूलाई निरि्वकल्प भनेर ढ्वाङ फुक्छन् ।
संविधानसभाले पहिलो बैठकले छेउ लगाइएको राजालाई हाउगुजी सम्झन्छन् । किनारा लगाइएपछि राजाले कुनै राजनीतिक हलचल गरेको विश्वभरका कुनै व्यक्तिलाई थाहा छैन । हिजो आफ्नो सम्पूर्ण दोषको भारी राजालाई बोकाउन पल्केकाहरू आज कुनै राजनीतिक चासो नराखेका राजालाई नै आफ्नो अक्षमताले पैदा भएको नेपालीको दुःखको दोष भिराउँछन् । एक वर्ष पुरानो संविधानसभाको लास कुहिएर गन्हाउने भइसकेको छ । अब अर्को तीन महिना पनि नेपालीले त्यही लास काँधमा बोक्नुपरेको छ । यसपटक लास बोक्नुपरेको पीडाभन्दा आफ्नो जीवनपर्यन्त यस्तै-यस्तै बहानामा यो लास बोकिरहनुपर्ने नियति आउँछ कि भन्ने पिरलो नेपाली जनतालाई छ । यो पिरलो जबसम्म जनताले बुझिने, सुनिने तथा देखिने भाषामा यस्तो मनपरी गर्न पाइन्न भनेर भन्दैन तबसम्म व्यहोर्नु नै पर्छ । बच्चा पनि रोएन भने आमाले दूध पियाउनुपर्‍यो भन्ने थाहा पाउन्नन् । आफूमाथिको अन्याय चुपचाप सहनु अन्याय गर्नुभन्दा ठूलो पाप हो भन्ने कुरा आज हरेक नेपालीले बुभ\mनुपर्ने भएको छ । सभासद्हरू त अर्काको हातमा नियन्त्रण भएका यन्त्रमानव हुन्, जस-जसले यो भार फेरि बोक्न बाध्य पारेका छन् ती जनताका आसपास नै छन् तिनीहरूलाई जनताको कठघरामा उभ्याउन सक्नुपर्‍यो । नत्र, पिढियौँसम्म मध्ययुगीन गुलामी सहनुपर्‍यो । नेपालीको के रोजाइ हुन्छ त्यो सम्पूर्ण विश्वको चासोको विषय हुनेछ ।-स्वयम्भूनाथ कार्की, विराटनगर-१

मरेपछि चिन्दिनँ !
दमनसरास्थित स्पेसल स्क्वाड सेक्युरिटी सरि्भसमा सेक्युरिटी गार्डमा काम गर्दै आएका राजकुमार राईको मृत्यु भएको छ । गत १ तारिख बेलुका सदाझैं नियमित ड्युटीमा गएका राजकुमारलाई लिन भोलिपल्ट बिहान कम्पनीको गाडी गएको तर हर्न बजाउँदा पनि गेट नखोलेपछि गाडीमा रहेका तीनजना नेपाली साथीहरू उनको अवस्था बुझ्न भित्र जाँदा उनी त मुखमा फिँज काडेर मृत अवस्थामा पो भेटिए । त्यसपछि उनको शवलाई प्रहरी बोलाई पोस्टमार्टमका लागि अस्पताल पुर्‍याइयो । हालसम्म पोस्टमार्टको रिपोर्ट नआएकोले मृत्युको कारण खुल्न सकेको छैन । सुरुमा उनी कार्यरत कम्पनीका मालिकले शव नेपाल पठाउन लाग्ने सबै खर्च आफूले व्यहोर्ने बताए पनि अहिले ‘यो व्यक्ति को हो म चिन्दिनँ’ भन्न थालेकाले समस्या पैदा भएको छ । उनी काम गर्ने कम्पनीका साथीहरूले शव पठाउन चन्दा उठाउन थालेका छन् । पुख्र्यौली घर खोटाङ भएका मृतक राईको परिवार हाल धरान बस्दै आएको छ । करिब पाँच वर्षअघि उनी मलेसिया आएका हुन् ।
– दिनेश कार्की, मलेसिया

प्रतिक्रिया