अनिष्टको सङ्केत र पुनर्जन्म पाएको त्यो घटना

अनिष्टको सङ्केत र पुनर्जन्म पाएको त्यो घटना


– गोपाल पराजुली

५ असार ०४८ मेरो जीवनमा एउटा अति नै भयानक र दर्दनाक दिन बनेर आयो । संयोग हो या नियति त्यो दिन बिहानदेखि नै अशुभ सङ्केतहरू देखिएका थिए ।

बिहान सबेरै उठेर नुहाइधुवाई सकेपछि घरको पछाडिपट्टि एउटा लामो सेतो सर्प प्वालबाट निस्कन्छ । डरलाग्दो सर्प त्यसरी बसेको कारण श्रीमती, छोराहरू र छिमेकमा समेत कोही पनि बाहिर निस्कन सक्दैनन् । कसैले यो नाग देवता हो भन्छन् । कसैले धामिन साप हो भन्छन् । कसैले सेतो करेत हो भन्छन् त कसैले असाध्यै विषालु गोमन सर्प हो भन्छन् । घरनजिकै तुलसीको मठमा प्वाल थियो । घरको पूर्वतर्फ अलिक पर सार्वजनिक पोखरी पनि थियो । घरसँगै जोडिएको तल्लो भागमा जमिनमा धाँजा फाटेको थियो । त्यो सर्प कहाँबाट आयो, बुझ्न सकिएन । घरको झ्यालको जाली च्यातिएको थियो । सर्प घरभित्र प्रवेश गऱ्यो भने त वित्यास नै पार्छ भन्ने डर भयो ।

वर्षायाममा पानी पर्ने मौसम शुरु हुनुअघि सर्पहरू जमिनबाहिर निस्केर आउने रहेछन् । सायद त्यही कारण उक्त सर्प बाहिर आएको हुन सक्छ । नवलपरासी बजारको तापक्रम त्यतिबेला बिहानकै समयमा पनि ३२–३३ डिग्री सेल्सियस पुग्थ्यो । अत्यधिक गर्मीका हुने भएका कारण हातमुख धुन, नुहाउन पटकपटक धारामा गइराख्नुपर्थ्यो । धारा र बाथरूम घरको बाहिर थियो । सर्पको डरले त्यसदिन त्यता कोही पनि जान सकेनन् ।

त्यति नै बेला घरनजिकैको प्वालबाट अर्को सर्प पनि देखिएको हल्ला चल्न थाल्यो । एकजना छिमेकी आएर एउटा सर्प भर्खरै कसैले त्यहाँ मारेको रहेछ । त्यसैले अर्को सर्प त्यो प्वालमा लुक्न खोजेको हो भन्न थाले । ‘वकिल सापको घरनजिक मारेको त्यो सर्प हेर्दा नागदेवजस्तै लाग्छ, कुनै अनर्थ पो हुने हो कि ?’ भनी शङ्का गर्दै उनले डरमाथि झन् डर थपिदिए । मेरो परिवारसँग अत्यन्तै घनिष्ट मेरा छिमेकी दामोदर शर्माका छोराहरू श्याम, अनिल, सुनीलसँगै छोरी सुनिता पनि एकैछिनमा त्यहाँ आइपुगिन् । घरमा र छिमेकमा समेत अन्योल र सन्त्रासको अवस्था छायो ।

मलाई त्यो दिन नवलपुर जानुपर्ने काम थियो । केही हुँदैन, नआत्तिनु भनी सान्त्वना दिँदै श्रीमती वीणा, छोराहरू रुचिर र रूपेशलाई भरे साँझतिर फर्कन्छु भनी म घरबाट निस्किएँ । करिब साढे दश बजेतिर हिरोहोन्डा मोटरसाइकल चढेर निस्किएँ । सुनवलमा विष्णुजीको पेट्रोलपम्पमा पाँच लिटर पेट्रोल भरेँ र बाटोमा साथीहरूसँग भेटघाट गर्दै मगरमुडा भन्ने ठाउँमा पुगेँ ।

मेरा हितैषी मित्र धर्मराज रेग्मीलाई भेट्न म त्यहाँ पुगेको थिएँ । हामीहरूभन्दा अलिक पाका कुनै जमानामा दरबारका सचिवसमेत रहेका नारायणप्रसाद श्रेष्ठ सँगसँगै पढेका धर्मराज निकै सुसंस्कृत र मृदुभाषी हुनुहुन्थ्यो । काठमाडौंमा नै बसेर अध्ययन गर्नुभएका धर्मले आफ्ना सहपाठी नारायण श्रेष्ठलाई परेको बेलामा विशेष सहयोग पनि गर्नुभएको रहेछ । त्यो के रहेछ भने कुनैबेला दरबारमा गएर तत्कालीन युवराज वीरेन्द्रलाई पढाउने कार्यसमेत गर्नुभएका नारायण श्रेष्ठलाई दरबारबाट बोलावट हुँदा उहाँले धर्मराज रेग्मीकै कोट लगाएर त्यहाँ जानुभएको रहेछ । उसो त धर्मराजका पिताजी केशव रेग्मी अदालतको डिट्ठा पदमा (हालको न्यायाधीशसरह) पुगिसक्नुभएको थियो । उहाँ पनि भैरहवास्थित एक चिनी मिलका डेपुटी म्यानेजर रहिसक्नुभएको थियो । आर्थिक रूपमा सम्पन्न उहाँको परिवारमा त्यो जमानामा पनि एउटा विचित्रको संस्कार के थियो भने घरका बाबु र छोरा दाजुभाइजस्ता देखिने अनि छोरी र बुहारीबीच कुनै भेद नै नहुने । रमाइलो गर्ने र खानपिनमा असाध्यै सौखिन परिवार । घरमा कोही पुग्नासाथ के खाने, के पिउने भनी सबैले उत्तिकै चासो राखेर सोधपुछ गर्ने गजबको संस्कार थियो । छोरा पंकज र बुहारी ताराबाट जन्मिएका छोरालाई स्तनपान गराउन समस्या भएपछि मेरी श्रीमतीले नै ती शिशुलाई स्तनपान गराएकी थिइन् । यो नाताले पनि रेग्मी परिवारसँग मेरो परिवारको सम्बन्ध प्रगाढ थियो ।

म उहाँको घर हुँदै बर्दघाटमा राजबहादुर शाही र उपेन्द्र गौतमलाई समेत निमन्त्रणा दिँदै आरुङखोलामा हुन लागेको एउटा कार्यक्रममा भाग लिन त्यसतर्फ हिँडेको थिएँ । पेसाले शिक्षक राजबहादुर शाही बर्माबाट नेपाल प्रवेश गरेका एक सत्जन व्यक्ति हुनुहुन्थ्यो । बहुदल र निर्दलको चुनावमा उहाँ बहुदल पक्षधर भएको र त्यसपूर्व प्रतिबन्धित नेपाली काङ्ग्रेस पार्टीसँग आबद्ध भएका कारण राजकाज मुद्दामा पक्राउ परेपछि जागिरेजीवन छोडेर राजनीतिमा लाग्नुभएको थियो । आर्थिक रूपमा कमजोर र घरघडेरीसमेत अस्थायी भएकाले उहाँको दैनिक गुजारा कष्टप्रद थियो । तर, निष्ठा र इमानदारीका कारण उहाँलाई सबैले माया गर्थे । सत्ताको आँखामा भने उहाँ कसिङ्गर नै हुनुहुन्थ्यो ।

२०३६ सालको जनमतसङ्ग्रहमा नेपाल विद्यार्थी सङ्घको तत्वावधानमा एउटा ठूलै आमसभा गर्नुपर्ने थियो । उक्त कार्यका लागि उहाँले कृष्णबहादुर जीसी, नन्दलाल मिश्र र बाबुराम रेग्मीको सहयोग जुटाउनुभएको थियो । यसैगरी अप्रत्यक्ष रूपमा पूर्वसांसद (०१५ साल) पृथ्वीराज कँडेल, जंग अमात्य, सूर्यभक्त अधिकारी, हरि गौतम, सत्यनारायण खनाल, बुद्धि बस्ताकोटी, समरबहादुर मल्ल, खेमनारायण फौजदार, लक्ष्मीकान्त सिग्देल, सुमित्रा खनाल, कृष्णकुमारी कोइराला, चण्डीराज पाण्डे, पशुपति पराजुली, बाबुराम पराजुली, कृष्णप्रसाद घिमिरे, राजबहादुर, ऋषि कोइराला, यज्ञ पौडेल, बाबुराम रेग्मी, दिलबहादुर गुरुङ, नरबहादुर चौधरी, हेमराज कोइराला, कृष्ण कोइराला, उमाराम भट्ट, दुलारे महतो, रामदुलार तिवारी, श्याम तिमल्सिना, छविलाल बस्ताकोटी, खेमनारायण फौजदार, खेमराज आचार्य, सूर्यभक्त, दामोदर बस्ताकोटी, पूर्णचन्द्र नेपाली, खुसीलाल, विष्णुलाल श्रेष्ठ, प्रेमनारायण पाठक, कीर्तिनाथ चालिसे, तिलक सापकोटा, दानबहादुर जीसी, ज्ञानेन्द्र जीसी, गणेश जीसी, धर्मराज रेग्मी, पंकज रेग्मी, महादेव गुप्ता, मुक्ति गुप्ता, सुमित्रा खनाल, लक्ष्मीदेवी, ऐनकुमारी शर्मा, दुर्गा भट्टराई, ओमकला, विष्णु लामिछाने, समरबहादुर मल्ल, महेन्द्रध्वज जीसी, नारायण शर्मा, शालिकराम पौडेल, पुण्यराज पौडेल, आनन्द पौडेल, दशरथ तिवारी, दण्डपाणि तिवारी, पुष्प कोइराला, दुर्गाबहादुर राना, गुञ्जबहादुर राना, लक्ष्मी पाण्डे, राजु पराजुली, बालचन्द्र आचार्य, बलराम आचार्यलगायतका मानिसको सहयोग र सदभाव पनि हामीलाई थियो । ०३५ सालको विद्यार्थी आन्दोलन, ३६ सालको जनमतसङ्ग्रह, ०४२ सालको सत्याग्रह र त्यसपछिका दिनहरूमा समेत नेपाली प्रजातान्त्रिक आन्दोलनमा उहाँहरू सक्रिय रहनुभएको थियो । सबैको नाम अहिले उल्लेख गर्न सकिनँ । प्रकाशोन्मुख पुस्तकमा उल्लेख गर्ने नै छु ।

अहिलेको नवलपुर र परासी दुई जिल्ला त्यतिबेला एउटै नवलपरासी थियो । तत्कालीन नवलपरासी जिल्लाले तराई भित्री मधेस र पहाड गरी तीनवटै क्षेत्र समेटेको थियो । त्यसैले जिल्लामा कुनै छलफल तथा भेला गर्दा कहिले तराई भागमा, कहिले भित्री मधेस र कहिले पहाडमा राख्ने चलन थियो । समरबहादुर मल्ल त्यस क्षेत्रमा अलिक पढेलेखेका विश्लेषक हुनुहुन्थ्यो । आरुङखोलाको कार्यक्रम उहाँले नै आयोजना गर्नुभएको थियो ।

निर्धारित समयमै म कार्यक्रम स्थलमा पुगेँ । आरुङखोलाको एक स्कुलनजिकै भएको भेलामा भर्खरै सकिएको चुनावको समीक्षा भयो । सबैले आ–आफ्ना तीता–मीठा अनुभव र धारणा राखे । भेला सकेर सबैजना आ–आफ्नो गन्तव्यतर्फ लाग्न थाले । मसँग एकै दिन जन्म भएका मेरा मित्र छविलाल बस्ताकोटीले मलाई पनि नवलपरासी पुग्नु छ, सँगै जाऊँ भन्नुभयो ।

बालसखा छविलाल बस्ताकोटीलाई पछाडि राखेर मैले मोटरसाइकल हाँकेँ । दाउन्नेको पहाडी भाग काटेर हामी ओरालो झर्दै थियौँ । एउटा अप्ठ्यारो घुम्तीमा अचानक दुईवटा गाईले बाटो काट्न थाले । मोटरसाइकलको गति अलिक बढी नै थियो । सीधा जाँदा गाईमा ठोक्किने भएकाले गाईलाई छलेर अघि बढ्न खोजेँ । बर्दघाटतर्फबाट उकालो चढिरहेको एउटा जिपले मोटरसाइकलको देब्रेपट्टि ठक्कर दियो । त्यसपछि के भयो थाहै भएन । होस आउँदा अर्धचेत अवस्थामा थिएँ । जिपवालाले नै हामीलाई उद्धार गरेको रहेछ । त्यति नै बेला आइपुगेको रेडक्रसको एउटा मोटरको सहयोगमा हामीलाई उपचारका लागि बुटवल पुऱ्याइएको रहेछ र बुटवलमा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको रहेछ । पाल्पाबाट आउनुभएका मेरा जेठान बुद्धि शर्मा र वंकिम खनाल शर्मासमेतको टोलीले एम्बुलेन्समा राखेर छविलाल र मलाई काठमाडौं ल्याउनुभएछ ।

डा. महेश खकुरेलसहितको शल्यचिकित्सकहरूको टोलीले अप्रेसन गरेपश्चात् १३ दिनसम्म मलाई आईसीयूमा राखिएको रहेछ । पछि मलाई पोस्ट अपरेसनल वार्डमा सारेपछि डा. खकुरेलले तपाईंलाई मैले होइन, ईश्वरले नै बचाएका हुन् भन्नुभयो । उहाँको उक्त अभिव्यक्तिले जीवन र जगत्को अपत्यारिलो पक्ष उजागर गरेको थियो । त्यो घटनाबाट मेरो अन्तरआत्माले के बुझ्यो भने मृत्यु न त आफूले चाहेर हुन्छ न त यो आफ्नो काबुमा नै हुन्छ । आत्महत्याकै प्रयास पनि त सबै कहाँ सफल भएका हुन्छन् र ? त्यसैले मृत्यु एउटा संयोगको विषय हुन सक्छ । जीवन जसरी संयोगिक हुन्छ, मृत्यु पनि त्यसैको सेरोफेरोमा अल्झिएको हुन्छ । जे होस्, चिकित्सा क्षेत्रमा भएको विकासकै कारण मैले जीवनदान पाएको थिएँ । बीभत्स दुर्घटनामा परी देब्रेतर्फको सातवटा करङ भाँचिएर आन्द्रामा समेत प्वाल परेको, युरिनरी ट्रय्याक च्यापिएको, स्पिलिन (फियो) छियाछिया भएको, मुटुलाई एउटा करङले थिचेको अवस्थामा म एउटा कठिन अप्रेसनद्वारा बाँचेको थिएँ । चिकित्सकले मलाई तपाईंको शरीरबाट स्पिलिन निकालिएको छ भनेर जानकारी गराए । कतिपयले अब बढीमा २५ वर्ष बाँच्छ भने । कतिपयले त्यो अवस्थाबाट पनि बाँचेको देखेर अचम्म परे । त्यतिबेला मलाई आठ पोका रगत चढाइएको रहेछ । रक्तदाताहरूमा मामाससुराका छोरा वंकिम खनाल शर्मा र देवेन्द्र कँडेल हुनुहुँदो रहेछ । उहाँहरूलाई म मेरो पुनर्जन्मदाताको रूपमा सधैँ स्मरण गरिरहन्छु ।

उक्त घटनामा मेरा प्रिय मित्र छविलाल बस्ताकोटीको टाउकोमा गहिरो चोट लागेका कारण अप्रेसन हुन नपाउँदै देहावसान भएको रहेछ । उक्त दुखद खबर मलाई दुर्घटनाको १३ दिनपछि सुनाइयो । म बडो किंकर्तव्यविमुढ भएँ । त्यसपछि मेरो जीवनमा ठूलो नैराश्यता छायो । त्यो परिस्थितिलाई वर्णन गर्न म असमर्थ छु । शरीर अशक्त छ । सहज रूपमा हिँडडुल गर्न नसक्ने भएको छु । देब्रेतर्फ फर्केर सुत्न पनि नमिल्ने भएको छ । एकातिर ल फर्म छ जहाँ मैले हेरिरहेका प्रशस्त मुद्दाहरू छन् । कतिपय संस्थाको कानुनी सल्लाहकार छु । आफ्नै जिल्लाको बारको अध्यक्ष पनि छु । श्रीमती शिक्षा कार्यालयमा जागिरे छिन् । ल फर्म कसरी हेर्ने ? बारका गतिविधि कसरी मिलाउने ? सामाजिक कार्यमा कसरी सरिक रहने ? बडो विकराल अवस्था आइपर्यो । अर्कोतर्फ दुर्घटना हुनुपूर्व मैले काठमाडौंको महाराजगञ्जमा रिङरोडछेउमै करिब २ रोपनी जग्गा किनेको थिएँ । त्यसको पनि व्यवस्थापन गर्नु थियो । आम्दानी रोकियो । खर्च बढेर गयो ।

अशक्त शरीर लिएर काठमाडौं मन्डिखाटारमा अवस्थित ससुरालीमा आराम गरिरहेको थिएँ । श्रीमती आफ्नो जागिर थाती राखेर काठमाडौं आएकी थिइन् । छोराहरूको पढाइ र व्यवस्थापन अस्तव्यस्त भएको थियो । एक दिन अचानक पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, तारानाथ रानाभाटलगायतका व्यक्तिहरू मलाई भेट्न आउनुभयो । ३५ सालको आन्दोलनमा सँगै नख्खु कारागारमा बसेका कारणले पनि कृष्णप्रसाद भट्टराईसँग मेरो निकटको सम्बन्ध थियो । उहाँसँगको भेटमा जेलबाट छुटेपछि ३८ सालतिर मेरो सक्रियतामा सूर्यभक्तको आतिथ्यमा नवलपरासीको आरुङखोलामा किसान गोष्ठी गरेको स्मरणलगायतका कुराहरू भए । करिब १ घन्टाको बसाइपछि उहाँहरू फर्कनुभयो । फर्कने बेलामा किशुनजीले तारानाथ रानाभाटलाई भन्नुभएको थियो, ‘उहाँजस्तो सक्षम व्यक्ति शारीरिक अवस्थाले केही गर्न नसक्ने अवस्थामा पुग्नुभयो । गोपालजीको बारेमा केही त सोच्नैपर्छ ।’ सायद त्यसैको परिणाम हो कि म ०४८/७/१८ मा पुनरावेदन अदालत पाटनको न्यायाधीशमा नियुक्त हुन पुगेँ ।

यसअघिको पढ्नुहोस्-

मौलिक उत्पादनको स्वाद र बास्ना कस्ले समाप्त गऱ्यो ?
https://ghatanarabichar.com/127348