सत्तामा पुगेपछि किन बदलिन्छ मान्छे ?

सत्तामा पुगेपछि किन बदलिन्छ मान्छे ?


■ देवप्रकाश त्रिपाठी

सगरमाथको शिखरमा क्षणभरकै लागि रहँदा पनि मानिस त्यसको आधार शिविर स्मरण गर्दैनन् । शिखरमा पाइला राख्ने इच्छा पूरा नभइन्जेल मानिसहरू पटक–पटक आधार शिविरको याद गरिरहन्छन् र, अप्ठयारो परेपछि फर्किएर बास बस्न जाने सुरक्षित स्थानका रूपमा दिल–दिमागमा आधार शिविरलाई राख्छन् । तर, प्रिय आधार शिविरको स्मरण शिखरमा पाइलो अडियुन्जेल कसैले पनि गर्दैन, शिखरमा पुग्नुको खुसी र त्यहाँ रहँदाको आनन्दमै भुल्ने गर्छन् आरोहीहरू ।

सत्ताको शिखर पनि त्यस्तै हो, शिखरमा नपुगुन्जेल आधार (जनता) को याद, पुगिसकेपछि भेटिने र देखिने अर्कै । वास्तवमा कोही पनि साधारण मानिस सत्तामा पुगिसकेपछि मुहार चर्मको तेज बढ्नु, केही मांस थपिनु र तिनको स्फूर्तिसम्म बढ्नुलाई स्वाभाविक मान्न सकिए पनि बिस्तारै तिनको हाव–भाव, व्यवहार, सोच, शैली र दृष्टिकोणसमेत किन बदलिने गर्दछ, यो अवश्य अनुसन्धानको विषय हुन सक्छ ।

०४६ सालको राजनीतिक परिवर्तनले पञ्चायती व्यवस्था र पञ्च राजनीतिको स्थायी अन्त्य गरेको थियो । सत्ता–राजनीतिलाई आफ्नो जीवनशैली बनाउँदै रमाइरहेका पञ्चहरू त्यस्तो अवस्थामा आफूलाई कसरी सम्हाल्दै होलान्, के सोच्दै होलान् र उनीहरू आफ्नो भविष्यबारे कस्तो सपना देख्दै होलान् भन्नेजस्ता जिज्ञाशाहरूले त्यसबेला आफूलाई ठूला पञ्चहरूको घर–घरमा पु¥याएको स्मरण भइरहेको छ । अनेक अगुवा पञ्चहरूसँगको भेटपछि कीर्तिनिधि विष्टसम्म पुग्दा उनले भनेको एउटा कुरा अविष्मरणीय रह्यो ।

आफैँमा क्षमतावान, प्रतिभाशाली, प्रभावशाली, योग्य र आत्मविश्वासी मानिसले जीवन निर्वाहका साधन जे बनाए पनि पदरहित अवस्थामै आफूलाई पूर्ण ठान्दछन् । तर, साधारण तहका मानिस पदले आफ्नो उचाइ बढाउने विश्वास राख्दछन् ।

‘सत्ता राजनीतिलाई नै आफ्नो जीवनशैली बनाउँदै आउनुभएका तपाईंको राजनीतिक जीवनले सदाका लागि विश्राम लिएको छ, यतिबेला तपाईं आफ्नो विगत र भविष्यका बारेमा के सोच्दै हुनुहुन्छ ?’ भन्ने प्रश्नको जवाफमा विष्टले भनेका थिए– ‘त्यस्तो अनौठो र अस्वाभाविक केही लागेको छैन, राजनीतिमा उतारचढाव आइरहन्छन्, तर मलाई विगत सम्झेर एउटा कुराचाहिँ आश्चर्य लागिरहेको छ, त्यो के भने जतिबेला प्रधानमन्त्री बनेको थिइनँ, त्यसबेला देश र जनताको समस्या म छर्लङ्गै देख्थँे–बुझ्थेँ । फलानो प्रधानमन्त्री भएर यति काम पनि गर्न सकेन भनेर टीका–टिप्पणीसमेत मबाट हुन्थ्यो र आफू कुनै दिन प्रधानमन्त्री बने भनेँ यी–यी कामहरू तत्कालै गरेर अघि बढ्छु भन्ने लाग्थ्यो । नभन्दै एक दिन प्रधानमन्त्री बनेँ, अनि मैले पहिल्यैदेखि देखेको समस्या समाधान गर्नका निम्ति तत्परता लिएँ । मैले चासो राखेका विषय सन्दर्भमा भइरहेका कार्यबारे कर्मचारीहरूले विस्तृत विवरण पेस गरे । मलाई लाग्यो– प्रयास त ठीकै ढङ्गले भइरहेको रहेछ । बेलाबखत के भइरहेको छ भनेर प्रश्न राख्ने र उनीहरूले कार्य प्रगति विवरण बुझाउने क्रम पनि जारी थियो । त्यसरी कार्य प्रगतिको विवरण सुन्दासुन्दै एक दिन मैले पदबाट हट्नुपर्ने अवस्था आयो । प्रधानमन्त्रीबाट सामान्य व्यक्तिमा रूपान्तरित भएँ । त्यसपछि यसो हेर्छु त समस्या जहाँँको त्यहीँ ! अनि मन बनाएँ– अब अर्कोपटक प्रधानमन्त्री बनेँ भनेँ यस्तो अवस्था रहन दिइने छैन । परिणाम नै देखिनेगरी केही गर्नेछु, अठोट गरँे मैले । केही वर्षको अन्तरालमा मलाई पुनः प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो, पद सम्हालेकै दिनदेखि अलिक कडाइका साथ लागिपरेँ । कर्मचारीहरूले पनि कार्य प्रगति विवरण पेस गर्न थाले, यसपटक पहिलेभन्दा म अलिक बढी नै सचेत र विश्वस्त भएँ । कार्य प्रगति भइरहेका विवरण कर्मचारी तथा मातहतका निकायहरूबाट प्राप्त भइरहँदा लाग्यो– यसरी पो काम हुनुपर्छ त ! यसरी कामहरू हुँदै थिए, अचानक मैले प्रधानमन्त्री पद त्याग्नुपर्ने अवस्था आयो र म बाहिरिएँ । पदबाट बाहिरिएको भोलिपल्टै मलाई वास्तवमा काम त केही पनि नभएको, समस्याहरू जस्ताको त्यस्तै रहेको महसुस भयो । म पटकपटक प्रधानमन्त्री भएँ, हरेकपटक बाहिर रहँदा समस्या देख्ने र सत्तामा पुगेपछि सब ठीकठाक चलिरहेको अवस्था मैले पाएँ । यस्तो किन र कसरी भएको हो, यो एउटै कुरा मेरा निम्ति आश्चर्यको विषय बनेको छ । यसबाहेक अरू आश्चर्य या चिन्ताजनक ठान्नुपर्ने खासै कुनै अनुभूति ममा छैनन् ।’

हामीकहाँ अहिलेसम्म पदीय जिम्मेवारीमा पुग्नुपर्ने कारण देश र समाजको सेवाका लागि भन्ने बुझाइ छैन । अरूहरू भन्दा भिन्न, विशिष्ट र सामान्यभन्दा असमान्य मान्छे भएका देखाउन, प्रतिष्ठा आर्जन गर्न, धाक–रवाफ जमाउन र धन आर्जनका मार्ग सहज बनाउनका लागि पद प्राप्त गर्नुपर्छ भन्ने आमसोच यहाँ स्थापित भएको छ ।

कीर्तिनिधि विष्टले २०४७ सालतिर सुनाएको यो अनुभव हामीले वर्तमानमा व्यहोरिरहेका राजनीतिजीवीहरूले गरेका छन् या छैनन्, यो उनीहरूकै सोच र शैलीमा निर्भर रहला । तर, हाम्रा लागि कीर्तिनिधिको ‘यस्तो’ अनुभव अध्ययन–अनुसन्धानकै विषय बन्न पुगेको छ । वास्तवमा कुनै पनि मानिसको सोच–व्यवहार सत्तामा पुगेपछि किन बदलिन्छ ? पदीय उचाइमा पुगेका बेला किन उनीहरू धरातलीय यथार्थ देख्दैनन्–बुझ्दैनन् ? र, सत्ताबाट बाहिरिएपछि तिनै व्यक्ति हामीजस्तै तथ्यबोध गर्ने अवस्थामा कसरी आइपुग्छन् भन्नेजस्ता प्रश्नहरूमा विचरण गर्न यहाँ सान्दर्भिक र उचित ठानिएको छ । यो प्राकृतिक नियम हो कि धेरै माथि पुगेपछि ‘तल’ देखिँदैन–भेटिँदैन । माथि पुगेर पनि तल देख्न–भेट्न सक्नु भनेको विशिष्ट अवस्था हो, अद्भूत क्षमताका मानिसबाट मात्र यो सम्भव हुन सक्छ ।

क्षमता र आत्मविश्वास जसको जति कमजोर हुन्छ त्यस्ता मानिसमा पदप्राप्तिको चाहना ज्यादा हुने गर्दछ । आफैँमा क्षमतावान, प्रतिभाशाली, प्रभावशाली, योग्य र आत्मविश्वासी मानिसले जीवन निर्वाहका साधन जे बनाए पनि पदरहित अवस्थामै आफूलाई पूर्ण ठान्दछन् । तर, साधारण तहका मानिस पदले आफ्नो उचाइ बढाउने विश्वास राख्दछन् । खासगरी राजनीतिक क्षेत्रमा पद लिएर अग्लो देखिन खोज्नेहरूको बाहुल्य रहन्छ । पद प्राप्तिको लागि सङ्घर्ष र अनेक तिकडम गर्ने, पद पाइसकेपछि पदमा रहिरहन जेसुकै हथकण्ठा अपनाउन नहिच्किचाउने र पद गुमेपछि पुनः पद प्राप्तिकै लागि मरिहत्ते गर्ने ती हुन् जो वास्तवमा अति साधारण कोटिका मानिसमध्ये पर्दछन् ।

भारतीय राजनीतिमा प्रधानमन्त्रीको पद धारणा गरेर अग्लिएको ठान्ने हर्दनहल्ली डोडेगौडा देवेगौडाभन्दा अतुलनीय रूपमै अग्ला मानिन्छन् मोहनदास करमचन्द गान्धी । नेपालमा चारपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई कहिल्यै प्रधानमन्त्री नबनेका गणेशमान सिंहसँग कसैले तुलना मात्र गऱ्यो भने पनि त्यसलाई गणेशमान सिंहको अपमान ठानिन्छ । कुनै बेला शिक्षामन्त्री पद धारण गरेको बिर्सनेहरूले पनि लक्ष्मीप्रसाद देवकोटा नाम बिर्सन सक्दैनन् । पदले मानिसलाई ‘महान्’ बनाउन नसके पनि केही काल अकासिएको अनुभूति अवश्य गराउँछ ।

भारतीय राजनीतिमा प्रधानमन्त्रीको पद धारणा गरेर अग्लिएको ठान्ने हर्दनहल्ली डोडेगौडा देवेगौडाभन्दा अतुलनीय रूपमै अग्ला मानिन्छन् मोहनदास करमचन्द गान्धी । नेपालमा चारपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई कहिल्यै प्रधानमन्त्री नबनेका गणेशमान सिंहसँग कसैले तुलना मात्र गऱ्यो भने पनि त्यसलाई गणेशमान सिंहको अपमान ठानिन्छ ।

पदमा पुग्नुअघि व्यक्तिले आफूलाई साधारण तहको मानिस ठानिरहेको हुन्छ । पद प्राप्त भएलगत्तै उसले आफूलाई विशेष ठान्छ । हामीकहाँ अहिलेसम्म पदीय जिम्मेवारीमा पुग्नुपर्ने कारण देश र समाजको सेवाका लागि भन्ने बुझाइ छैन । अरूहरू भन्दा भिन्न, विशिष्ट र सामान्यभन्दा असमान्य मान्छे भएका देखाउन, प्रतिष्ठा आर्जन गर्न, धाक–रवाफ जमाउन र धन आर्जनका मार्ग सहज बनाउनका लागि पद प्राप्त गर्नुपर्छ भन्ने आमसोच यहाँ स्थापित भएको छ । उच्च पद हात लागेको केही समयसम्म व्यक्तिमा साधारण तहमा रहँदाकै धङधङी (ह्याङओभर) रहन्छ । उसका व्यवहारहरू पनि सामान्य हुन्छन् । तर, बिस्तारै सत्ता र शक्तिको अभ्यास नै दैनिकी बन्छ र, यही दैनिकी आदतमा रूपान्तरित हुन्छ । यसप्रकारको रूपान्तरणपछि व्यक्तिमा आफू असाधारण एवम् विशिष्ट र शक्तिशाली भएको महसुस हुन थाल्छ । आफूबाहेक सबैलाई अयोग्य, अक्षम र नालायक देख्ने अहङ्कारी प्रवृत्तिको विकास पनि यसै समयमा भइसक्छ । त्यसपछि मानिसले ‘व्यक्ति’लाई बेग्लै देख्न थाल्छ र पतनको सुरुवात पनि यही बिन्दुबाट हुन्छ । पद, शक्ति र मानिससँग जोडिएको एउटा रोचक पक्ष के हो भने जसरी मृत्यु निश्चित छ भन्ने जान्दाजान्दै पनि मानिस त्यसको हेक्का राख्दैनन्, अरूहरू मरिरहे पनि आफू बाँचिरहने विश्वासका साथ व्यवहार गरिरहेका हुन्छन्, त्यसैगरी पद र शक्ति हिजो अरू कसैको हातमा थियो र, यो सधैँ आफूसँग रहन असम्भव छ भन्ने बुझ्दाबुझ्दै पनि पदमा रहनेले यस्तो हेक्का राख्दैनन् ।

‘पद’ले गरेको काम आफैँले गरेको ठान्ने र, बाँचिन्जेल आफू यसैगरी शक्तिशाली रहने भ्रम पदासीनहरूमा रहन्छ । पौराणिक कालका लोकप्रिय राजा सत्य हरिश्चन्द्रले मसानमा मानिसको शव दहन गरेर बस्नुपरेको, राजा नलले अर्काको घरमा सेवक भई जीवन गुजार्नुपरेको र दिन लागेपछि स्वर्गका राजा इन्द्रसमेत अर्काको घर–घर पुगेर सहयोगको याचना गर्नुपरेको ‘कथा’हरूबाट त आधुनिक पुस्ताले सिक्ने कुरै भएन । विश्वविजयी सिकन्दर, चङ्गेज खाँ, शक्तिवान नपोलियन, हिटलर, सद्दाम हुसेन, इदी अमिन र बोकासाहरूले भोग्नुपरेको उतारचढावबाट पनि हाम्रा शासक–प्रशासकहरू सिक्न चाहँदैनन् । त्यसैले यहाँको राजनीति र प्रशासनमा तत्काल सुधारको अपेक्षा राख्नु व्यर्थ छ, मुलुकलाई योभन्दा बढी क्षति हुनबाट जोगाउन मात्र सकियो भने त्यसैलाई महान् उपलब्धि ठान्नुपर्ने वर्तमान हामीले भोगिरहेका छौँ ।