नेपाल वायुसेवा निगमको दीर्घकालीन ऋण ३९ अर्बमाथि

नेपाल वायुसेवा निगमको दीर्घकालीन ऋण ३९ अर्बमाथि


नयाँ वाइड बडी जहाज खरिद गरेसँगै नेपाल वायु सेवा निगमको वित्तिय जोखिम बढेको छ । वाइड बडी खरिदपछि झनै आर्थिक संकटमा फसेको निगमले सरकारसँग अनुदान माग गरेको छ । लामो समय आकाशमा जहाज नउड्नु, कमजोर व्यवस्थापन र राजनीतिक खिचातानी निगम ओरालो लाग्ने प्रमु्ख कारण हो ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम उच्च वित्तीय जोखिममा फस्न पुगेको छ । अन्तराष्ट्रिय उडान थपेर व्यापार बढाउन निगमले हालै दुई वटा नयाँ वाइड वडी जहाज भित्र्याएसँगै बित्तिय जोखिम पनि बढेको हो । निगम झण्डै ३३ अर्ब बढी ऋणमा डुबेको छ । तर निगमको दीर्घकालीन ऋण भने ३९ अर्बभन्दा माथि छ । घाटामा गएपछि निगमले जारी गरेको स्वेतपत्रमा ३२ अर्ब ८७ करोड रुपैयाँ तिर्न बाँकी देखाएको छ ।

प्रत्येक बर्ष निगमको संचिती नोक्सान

२०७०/७१ मा संचिती नोक्सान १ अर्ब ८४ करोड
२०७१/७२ मा संचिती नोक्सान १ अर्ब ८६ करोड
२०७२/७३ मा संचिती नोक्सान २ अर्ब ४२ करोड
२०७३/७४ मा संचिती नोक्सान २ अर्ब ५१ करोड
२०७४/७५ मा संचिती नोक्सान २ अर्ब १६ करोड

कुनैपनि वाइड बडी विमानले १४ देखि १६ घण्टासम्म उडान भर्नुपर्नेछ । तर निगमका २ वटै वाइड बडीले मुश्किलले ५ देखि ८ घण्टासम्म उडान भर्दै आएका छन् । लामो दुरीका गन्तब्य अभावका कारण लामो उडान भर्न नपाएको निगमको दावी छ । निगमले हाल दुवई, बैंकक, हङकङ, क्वालालम्पुर, दिल्ली, मुम्बई, बैङलोर र दोहामा अन्तराष्ट्रिय उडानहरु भर्दै आइरहेका छ ।

बितेका ३ बर्षमा निगमको नाफा

आर्थिक बर्ष २०७२/७३ मा ३६ करोड
आर्थिक बर्ष २०७३/७४ मा २४ करोड
आर्थिक बर्ष २०७४/७५ मा १६ करोड

निगमले असार र भदौमा गरी दुइटा वाइडबडी जहाज खरिद गरेको छ । तर यी जहाज खरिदमा ठूलो भ्रष्टाचार भएको आशंकामा अनुसन्धान भइरहेको छ । पहिले लाउडा विमान प्रकरणमा ठूलो घोटाला भएको आरोप लागेको निगममाथि अहिले वाइडबडी खरिदमा पनि ठूलै भ्रष्टाचार भएको आरोप छ ।