प्रधानमन्त्रीको झर्कने क्रम बढ्दो

प्रधानमन्त्रीको झर्कने क्रम बढ्दो


sushil_koiralaप्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि कोइराला परिवारका अधिकांश सदस्य तथा निकटवर्तीहरूले उहाँप्रति कम चासो राख्न थालेका छन् । अमेरिकामा स्वास्थ्योपचार गरेर प्रधानमन्त्री कोइराला फर्कनुभएको साता दिन नाघ्दासम्म काङ्गे्रस नेता डा. शशांक कोइराला उहाँलाई भेट गर्न बालुवाटार जानुभएन । ज्ञातव्य छ, डा. शशांकलाई सुशील कोइरालाको उत्तराधिकारीका रूपमा लिइन्छ । काङ्गे्रसका अर्का नेता डा. शेखर कोइराला केवल एकपटक मात्र कोइरालालाई हेर्न जानुभएको बताइन्छ । सुजाता कोइराला कहिलेकाहीँ पुग्ने गर्नुभए पनि प्रधानमन्त्रीको दैनिक हेरचाहमा परिवारका सदस्यहरूले खासै चासो नदिएको बुझिएको छ । भाञ्जी बुहारी प्रभा भण्डारीले प्रधानमन्त्रीको विशेष ख्याल राख्ने गर्नुभएको जानकारीमा आएको छ । त्यसैगरी मृदुला कोइरालाले पनि हेरचाहमा समय दिने गर्नुभएको बताइन्छ । औषधि र थेरापीको असरका कारण प्रधानमन्त्री पहिलेभन्दा दुर्बल र कमजोर बन्नुभएको छ । चिकित्सकहरूले जनाएअनुसार उहाँको रक्तचापसमेत असन्तुलित भइरहेको छ र साना–साना कुरामा पनि झर्कने क्रम बढ्दै गएको छ । गत सोमबार प्रधानमन्त्रीलाई भेटी केही महत्वपूर्ण कुराकानी गर्न पुग्नुभएका उपसभापति रामचन्द्र पौडेललाई देख्नेवित्तिकै दाह्रा किटेर आँखा तर्नुभएपछि पौडेल केही नबोली फर्कनु भएको बुझिएको छ । कोइरालाको मुहारको रङ्ग पनि पहिलेभन्दा कालो बनेको छ । गत साताको शुक्रबार (साउन ९ गते) नेपाल भ्रमणमा आउनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको करिब तीस मिनेट लामो एकल भेटवार्ताका क्रममा पनि प्रधानमन्त्री राम्रोसँग प्रस्तुत हुन सक्नुभएन । मन्त्री स्वराजले भेटका क्रममा प्रधानमन्त्री कोइरालाको स्वास्थ्यस्थितिबारे चासो राख्दै शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको बुझिएको छ । विदेशमन्त्री स्वराजले नेपालको राजनीतिक स्वायित्व र विकासमा भारत हरतरहले सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै नेपालले प्रयोग गरेर बाँकी रहेको विद्युत् मात्र भारत खरिद गर्न तयार भएको जानकारी गराउनुहुँदा कोइरालाको मुहार एकैछिनको लागि प्रसन्न बनेको निकटवर्तीहरूले बताएका छन् । प्रधानमन्त्रीसँगको भेटपछि विदेशमन्त्री स्वराज गम्भीर बन्नुभएको बुझिएको छ । गम्भीरताको कारण अरू केही नभएर प्रधानमन्त्रीको स्थिति भएको बताइएको छ ।

सम्झौता गरिन्छ : मन्त्री ज्ञवाली
ऊर्जामन्त्री राधा ज्ञवालीले नेपाल–भारतबीच विद्युत् व्यापार सम्झौता गरिने दाबी गर्दै आएकी छिन् । ‘भारतले प्रस्ताव गरेको सम्झौतापत्रमा लेखिएका केही कुरा संशोधन गरेरै भए पनि सम्झौता गरिन्छ,’ मन्त्री ज्ञवालीले भनिन्, ‘यसबारे छलफल चलिरहेको छ, छिट्टै सहमतिमा पुगिन्छ ।’
सरकारका मन्त्रीहरूले पनि विद्युत् व्यापारसम्बन्धी मिश्रित प्रतिक्रिया दिँदै भारतले प्रस्ताव गरेको सम्झौतापत्रमा लेखिएका कुरालाई संशोधन गरेर विद्युत् व्यापार सम्झौता गर्न सकिने बताउँदै आएका छन् । तर, उनीहरूले के कुरा संशोधन गरेर त्यसमा के राख्ने भन्नेमा केही खुलाएका छैनन्, मात्र छलफलमा छौँ भनिरहेका छन् ।
नेपालका निजी क्षेत्रका लगानीकर्ताहरूले पनि नेपालको हितमा भारतसँग विद्युत् व्यापार गरिनुपर्नेमा जोड दिँदै सरकारलाई तत्काल राजनीतिक सहमतिमा पुग्न भनिरहेका छन् । सरकार पनि सो विषयमा दलीय सहमतिमा पुग्न छलफल अघि बढाइरहेको छ ।
स्रोतका अनुसार दलहरूसँगको छलफलसँगै सरकारले विद्युत् सम्झौताका लागि आन्तरिक गृहकार्य पनि अघि बढाइरहेको छ । भारतीय पक्षको दबाबका कारण सरकारले सम्झौताका लागि अन्तिम समयसम्म छलफलमा जुट्ने र सम्झौता गरेरै छाड्नेमा उनीहरू विश्वस्त छन् । यसका लागि ऊर्जा मन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ । ऊर्जामन्त्री ज्ञवालीले पत्रकार सम्मेलन नै गरेर सम्झौता हुनेमा ढुक्क हुन आग्रह गर्दै सम्झौता भएरै छाड्ने र त्यो नेपाली जनताको हितमा हुने दाबी गरेकी छिन् । उनले यसको तयारीसमेत भइसकेको बताएकी छिन् ।
सरकारका एक मन्त्रीले दिएको जानकारीअनुसार एमाओवादी र नेकपा–माओवादीबाहेक सबै दल प्रस्तावित मस्यौदामा केही संशोधन गरेर भारतसँग विद्युत् व्यापार गर्न तयार छन् । ‘भारतसँग विद्युत् व्यापारमा सम्झौता गर्नुपर्छ भन्नेमा सरकारमा सहभागी सबै दल र मन्त्रीहरू सकारात्मक छन्, तर एमाओवादीले विरोध गरेकाले हुँदैन कि भन्ने हो,’ ती मन्त्रीले थपे ।
उपप्रधानमन्त्री प्रकाशमान सिंहले पनि भारतसँग ऊर्जा व्यापार सम्झौता हुन सक्ने सङ्केत गर्दैै यसबारे तयारी भइरहेको प्रतिक्रिया दिए । उनले भने, ‘भारतले प्रस्ताव गरेको सम्झौतापत्रमा दुई देशका अधिकारीहरूबीच सहमति भएर केही कुरा संशोधन भयो भने सम्झौता हुनसक्छ, यसबारे हामी छलफलमै छौँ ।’
तराई मधेस सद्भावना पार्टीका महेन्द्र्र राय यादवले जलस्रोतको विकासका लागि राष्ट्रिय सहमति एवम् सङ्कल्प हुनुपर्नेमा जोड दिँदै वार्षिक सात अर्बको बिजुली किन्नुभन्दा पानीसँगै बगेको डलर टिप्न पनि राष्ट्रिय हितका आधारमा भारतसँग सहकार्य गर्नुपर्छ, त्यो कसरी गर्ने नेपाल सरकारले जान्ने कुरा हो भने । उनले भारतसँग ऊर्जा सम्झौता गरिनुपर्नेमा जोड दिँदै भने, ‘तर, त्यसलाई नेपालको हितमा कसरी प्रयोग गर्न सकिन्छ त्यो विचार गर्नुपर्छ ।’
उद्योगमन्त्री कर्ण थापाले भने समग्र ऊर्जा सम्झौता नभई भारतसँग विषयगत आधारमा ऊर्जा सम्झौता हुने र त्यसको तयारी भइरहेको जानकारी दिए । ‘पञ्चेश्वर आयोजना, त्रिशूली थ्री, अपरकर्णालीजस्ता आयोजना निर्माणमा भारतसँग सम्झौता हुन्छ,’ मन्त्री थापाले भने, ‘यद्यपि यस विषयमा सहमति भइसकेको छैन ।’ त्यस्तै दुई सय मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजनाका लागि पनि भारतसँग प्रस्ताव गरिने तयारी भएको छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको राजनीतिक स्थायित्व र विकासमा भारत हरतरहले सहयोग गर्न तत्पर रहेको र नेपालले प्रयोग गरेर बाँकी रहेको बिजुली मात्र भारतले खरिद गर्ने भन्दै दिएको अभिव्यक्तिका आधारमा पनि नेपालको हितमा विद्युत् व्यापार हुने देखिन्छ । तर, सरकारले यसबारेमा औपचारिक रूपमा केही बताएको छैन ।
संसद्मा बोल्दै विभिन्न दलका सभासद्ले पनि नेपालको हितमा विद्युत् व्यापार सम्झौता गर्नुपर्नेमा जोड दिएका छन् । विपन्नताबाट सम्पन्नतातर्फ उन्मुख हुने महत्वपूर्ण माध्यम जलविद्युत् विकास भएकोले अब विलम्ब गर्न नहुनेमा जोड दिँदै दुवै देशका जनताको हितमा केन्द्रित रहेर पारस्परिक लाभ र समानतामा आधारित सन्धि–सम्झौता हुनुपर्नेमा उनीहरूको जोड छ ।
ऊर्जा मन्त्रालयका अनुसार विद्युत् सम्झौतासँगै प्रसारण लाइन विस्तारका लागि आर्थिक सहयोगको प्रस्तावसमेत गर्ने तयारी भइरहेको छ । यसका लागि लम्की–रायबरेली ७ सय ६५ केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणको प्रस्ताव ऊर्जा मन्त्रालयले गर्नेछ । ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले सोमबार पत्रकार सम्मेलन गरी प्रसारण लाइन निर्माणको प्रस्ताव गर्न मन्त्रालयले तयारी गरिसकेको जानकारी दिएकी थिइन् ।

बाबुरामलाई घेराबन्दी
नयाँ शक्ति निर्माणको नाममा डा. बाबुराम भट्टराई एमाओवादी पार्टी विभाजनमा लाग्नुभएको ‘थप प्रमाण’ फेला परेपछि एमाओवादी नेतृत्व ‘वार कि पार’ गर्ने निचोडमा पुगेको छ । यसै साता सुनसरी पुग्नुभएका डा. भट्टराईले त्यहाँ आयोजित एक कार्यक्रममा ‘अहिले क्रियाशील रहेका कुनै पनि दल काम लाग्दैनन्, बेग्लै नयाँ शक्तिको निर्माण गर्नुपर्छ’ भनी दिनुभएको अभिव्यक्तिलाई पार्टी अध्यक्ष प्रचण्डले निकै गम्भीरतापूर्वक लिनुभएको छ । पार्टीको समानान्तर कमिटीहरू निर्माण गर्न रोक लगाउँदा–लगाउँदै पनि भट्टराईले थप केही जिल्लामा समानान्तर कमिटी गठन गर्नुलाई पनि प्रचण्डले आपत्तिजनक एवम् निन्दनीय ठान्नुभएको छ । बाबुराम भट्टराईको गतिविधि दिनप्रतिदिन ‘अराजक’ हुँदै गएपछि गम्भीर बन्नुभएका प्रचण्डले मंगलबार (साउन १३ गते) वैचारिक बहस व्यवस्थापन समितिको बैठक बोलाउनुभएको थियो । भट्टराईका गतिविधिमाथि विशेष निगरानी गर्न र उहाँलाई अनुशासनको दायरामा राख्दै पार्टी र आन्दोलनबाट भाग्न नदिने उद्देश्यले निर्मित उक्त समितिमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वरिष्ठ नेता डा. बाबुराम भट्टराई तथा नेताहरू कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी र पोष्टबहादुर बोगटी रहनुभएको छ । मंगलबारको बैठकमा बाबुराम भट्टराईलाई ‘तपाईंले चाहनुभएको के हो’ भनी सहभागी नेताहरूले प्रश्न राखेका थिए । टोपबहादुर रायमाझीबाहेक सबै आफ्ना ‘विरोधी’हरू रहेको बैठकमा बाबुराम भट्टराईले आफू घेराबन्दीमा परेको महसुस गर्नुभएको बुझिएको छ ।

दुई दिन काठमाडौंमा रहँदा के–के गर्दै छन् नरेन्द्र मोदीले ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी आइतबार (साउन १८ गते) बिहान एघार बजे विशेष विमानबाट काठमाडौं आइपुग्नुहुने भएको छ । मोदीको स्वागत गर्न प्रधानमन्त्री सुशील कोइराला आफ्नो टोलीको नेतृत्व गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुहुनेछ । सोही दिन प्रधानमन्त्री कोइरालाले मोदीको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ । आइतबार अपराह्न तीनदेखि चार बजेभित्र भारतीय प्रधानमन्त्री मोदीले संसद्लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोमबार बिहान मोदीबाट पशुपतिमा विशेष पूजा हुने छ । त्यसका निम्ति पशुपति क्षेत्रमा सुरक्षा निगरानी तीव्र पारिने भएको छ । दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री मोदी लुम्बिनी र रामजानकी मन्दिरमा पनि दर्शनका लागि जान इच्छुक हुनुहुन्छ । मौसम र समयले साथ नदिएमा उहाँ त्यसतर्फ जानुहुने छैन, तर लुम्बिनी र जनकपुरको विकासको लागि विशेष प्याकेजको घोषणा मोदीले काठमाडौंमा गर्नुहुनेछ । मोदीलाई नेपाल उद्योग वाणिज्य महासङ्घ र चेम्बर अफ कमर्सलगायत उद्यमी व्यवसायीहरूको संस्थाले संयुक्त रूपमा अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । उहाँले सबै प्रमुख दलका नेताहरूसँग संयुक्त र आवश्यक परे छुट्टाछुट्टै पनि भेटवार्ता गर्नुहुने बुझिएको छ । प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा पञ्चेश्वर परियोजना सुरु गर्न नेपाल–भारत संयुक्त कार्यालय खोल्ने घोषणा हुनेछ । महाकाली नदीमा पुल निर्माण गरिने र हुलाकी सडक निर्माणकार्य तत्काल सुरु गर्नेलगायतका घोषणा पनि भ्रमणका क्रममा गरिने भएको छ ।

विमान घटेपछि नाफा बढ्यो निगमको
दुईवटा विमानबाट अन्तर्राष्ट्रिय सेवा र आन्तरिक सेवामा १९ वटा विमान रहँदा घाटामा रहेको नेपाल वायुसेवा निगम एक अन्तर्राष्ट्रिय र दुई आन्तरिकतर्फ नियमित सेवा दिँदा नाफामा पुगेको छ । अहिले निगमसँग दुईवटा अन्तर्राष्ट्रिय र दुईवटा आन्तरिक उडान भर्ने गरी चारवटा जहाज रहे पनि अन्तर्राष्ट्रियतर्फ उडान गर्ने दुईवटामध्ये एउटा न एउटा बिग्रिरहने भएकोले उसले एउटा जहाज मात्र अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरिरहेको छ ।
२१ वटा विमान हुँदा नेपाली विमान दिल्ली, कोलकाता, पटना र बैंकक तथा हङकङ हुँदै युरोपसम्म र आन्तरिकमा नेपालको सबै विमान स्थलमा पुग्थे । त्यतिबेला निगमको आम्दानी पनि निकै राम्रो रहेको थियो । तर, ०४६ को परिवर्तनसँगै निगम घाटामा गएको हो । निगमका अधिकारीका अनुसार धमिजा काण्ड, लाउडा प्रकरण, चेज एयर काण्ड, राजनीतिक नियुक्ति तथा बेलाबखतमा हुने हस्तक्षेपलगायतले निगम घाटामा गएको हो । त्यो घाटाबाट निगम अझै माथि उक्सन सकेको देखिँदैन । अहिले नाफा भए पनि पहिलेको ऋण तिर्दैमा ठीक हुन्छ,’ निगमका एक अधिकारीले भने, ‘अहिले केही नाफा देखिए पनि पहिलेको ऋण तिर्दैमा ठिक्क छ ।’
‘कम विमान भएको तथा विमानको आयु पनि कम भएकोले निगमले उडान सङ्ख्या र क्षेत्र घटाएको छ । तैपनि अहिले हामी नाफामा छौँ,’ निगमका पूर्वप्रवक्ता रामहरि शर्माले भने, ‘खर्च कटौती गरिएको छ, विमान नहँुदा अन्य खर्च पनि कम भएको छ, त्यसैले नाफा देखिएको हो ।’ ०५१, ०५८ र ०६४ मा निगम निकै घाटामा गएको देखिन्छ, त्यसबाहेक अन्य वर्षमा नाफामै देखिन्छ,’ शर्माले भने । निगमबारे नबुझेर गलत समाचार बाहिर आएको जानकारी दिँदै भने, ‘बाहिर चर्चामा रहेकोजस्तो समस्या निगममा छैन ।’
निगमको वित्तीय प्रतिवेदनअनुसार ०५०/५१ देखि घाटामा जान सुरु भएको हो । ०५८/५९ देखि ०६३/६४ सम्ममा जम्मा ९० करोड तीन लाख ३९ हजार ६ सय ३९ रुपैयाँ नाफा गरेको देखिन्छ । तर, निगम ०६४/६५ मा १६ करोड रुपैयाँ घाटामा भयो । त्यतिबेला निगमको एक अन्तर्राष्ट्रिय उडान भर्ने जहाज लामो समय बिग्रेर थन्कियो भने भएका विमानहरू पनि विभिन्न कारण देखाउँदै उडाइएन । त्यसपछिका वर्षहरूमा निगमले आफ्ना उडानबाट नियमित खर्च मात्रै भए पनि उठाउन सकेको छ ।
आर्थिक वर्ष ०६८/६९ मा निगमले पाँच अर्ब २५ करोड आम्दानी गरेकोमा खर्च कटाएर नाफा सात करोड रुपैयाँ गरेको पूर्वप्रवक्ता शर्माले जानकारी दिए । सेवा सञ्चालनमा खर्च कटौती गर्नु र डलर निकै माथि उक्लिएकोले आम्दानी बढी देखिएको हो । ०६९/७० को नाफा करिब २० करोडमाथिको छ । यो पुरानो बोइङ, ग्राउन्ड ह्यान्डलिङबाट भएको आम्दानी हो । तर, जति नै नाफा भए पनि पुरानो ऋण तिर्दैमा हैरान हुनु परेको छ । नयाँ जहाज नआउँदासम्म निगमले विमान कम्पनीको लाइसेन्स जोगाइराख्न पनि पुरानो भइसकेको बोइङ चलाउनुपरेको छ ।
यसकारण घाटामा
राजनीतिक चलखेलकै कारण निगम घाटामा गएको हो । अर्बमा भएको घाटालाई वार्षिक पाँच–दश करोड हुने नाफाले पूर्ति गर्न सकेको छैन । निगमका अधिकारीहरूका अनुसार राजनीतिक चलखेलका कारण भएका विभिन्न रोचक काण्डका कारण निगम घाटामा गएको हो । यो घाटा पूरा गर्न निगमलाई अझै कति वर्ष लाग्छ भन्न सकिने अवस्था छैन । निगम वित्तीय विभागका अनुसार त्यतिबेलाको घाटामा अझै करिब एक अर्ब बाँकी नै छ । सूत्रका अनुसार धमिजा, लाउडा काण्ड, चेज एयर, अनावश्यक कर्मचारीको सङ्ख्या, राजनीतिक नियुक्तिलगायतका कारणले निगम तत्काल उठ्नै नसक्ने गरी घाटामा गएको हो ।
निगमसँग १९ वटा विमान हुँदा प्रतिविमान एक सय ३२ कर्मचारी थिए भने अहिले प्रतिविमान त्यसको दोब्बरभन्दा बढी दुई सय ८० कर्मचारी (कुल एक हजार पाँच सयभन्दा बढी) निगममा कार्यरत छन् । निगमका एक सिनियर कर्मचारीले दिएको जानकारीअनुसार निगम ०४८ को आमनिर्वाचनपछि घाटामा गएको हो । त्यतिबेला सबैभन्दा चर्चामा थियो– धमिजा काण्ड । यही काण्डबाट निगम आर्थिक रूपमा धराशयी बन्दै गएको हो । त्यतिबेला निगमका महाप्रबन्धक प्रदीपराज पाण्डे थिए । पाण्डे तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइरालाको निर्देशनमा काम गर्थे । सुजाताकै निर्देशनमा काम गर्दा त्यतिबेला दश करोडभन्दा बढी नोक्सान भएको थियो ।
एक कर्मचारीले आफ्नो नाम नछाप्ने सर्तमा भने, ‘दिनेश धमिजालाई सुजाताकै निर्देशनमा युरोपको जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त गरिएको थियो । नियुक्तिको सर्त थियो, ‘धमिजालाई आवश्यकताअनुसार फ्री टिकट दिने र टिकट बिक्री भएबापत ३८ प्रतिशत कमिसन दिने ।’ त्यसपछि निगमको गतिमा ओरालो लागेको हो । पछि ०५१/५२ मा बनेको एमाले नेतृत्वको सरकारले धमिजालाई हटायो । तर, उनी आफूलाई हटाउने निगमको निर्णयलाई चुनौती दिँदै बेलायती अदालत पुगे । त्यसपछि कानुनी परामर्शमा भएको खर्चसहित मिलापत्र गरी क्षतिपूर्ति दिँदा निगमको ४० करोड रुपैयाँ खर्च भयो । यसले पनि घाटामा पु-यायो निगमलाई ।
त्यसपछि लाउडा काण्ड मच्चियो । निगमकै माफियाले बिचौलिया कम्पनीमार्फत विमानवाला कम्पनीसँग भाडाको सौदा गरे । भाडामा लाउडा विमान ल्याएर निगमसँग बढी भाडा असुली आफ्नो कमिसन राखेर बाँकी रकम विमानवाला कम्पनीलाई बुझाउने गरे । लाउडा एयर भाडामा लिँदा निगमले प्रतिघन्टा दुई हजार आठ सय डलर भुक्तानी गथ्र्यो । यसमा बिचौलिया कम्पनीले चार सय डलर खान्थ्यो । निगमका अधिकारीहरूका अनुसार सन् १९९९ मा लाउडा एयरको विमान भाडामा ल्याएर सात महिना उडान गर्दा निगमलाई एक अर्ब ७९ करोड रुपैयाँ घाटा भएको थियो । त्यस्तै निगमलाई धराशयी बनाउने काम चेज एयर काण्डले पनि गरेको देखिन्छ । यसमा चेज एयर नामको फर्जी कम्पनीसँग जहाज ल्याउने गरी सम्झौता गर्दा निगमले पाँच लाख डलर गुमाएको बताइन्छ । त्यस्तै विमान बिग्रिएको भन्दै मर्मतका नाममा पनि करोडौँ घोटाला भयोे ।
स्रोतका अनुसार निजी विमान कम्पनी र निगमका कर्मचारीको मिलोमतोमा पनि निगम घाटामा गएको हो । निजी विमान कम्पनीहरूसँग मिलेर निगमको टिकट नबेची यात्रुलाई निजी कम्पनीतर्फ निगमकै कर्मचारीले प्रेरित गर्न थालेपछि निगमका जहाज खाली उड्न थाले, यसले घाटाको मात्रालाई बढाएको छ । निगम घाटामा रहे पनि त्यहाँ कार्यरत कर्मचारी भने नाफामै रहेको देखिन्छ । किनकि उनीहरूले आफ्नो निगमको टिकट नकटाएर निजी विमान कम्पनीतर्फ यात्रुलाई पठाएबापत निजी कम्पनीहरूबाट कमिसन प्राप्त गर्ने गर्दछन् । निगमका वरिष्ठ कर्मचारीसमेत रहेका पूर्वप्रवक्ता शर्मा भन्छन्, ‘विमानको सिटभरि यात्रु भए भने घाटा होइन नाफा हुन्छ, तर खाली सिटमै विमान उडाउनुप-यो भने घाटा हुन्छ, निगम पनि त्यस्तै भएको हो ।’ तर, उनले निगमका कारण नभई सिजनका कारण केहीकेही विमान कम यात्रु राखेर पनि उडान भर्नुपरेको जिकिर गरे ।
नेपाली आकाशमा विमान
२००६ साल वैशाख ११ गते गौचरणमा भएको हवाई अवतरण नै नेपालको हवाई इतिहासको पहिलो घटना थियो । सन् १९५१ मा इन्डियन नेसनल एयरवेजले काठमाडौं–पटना उडान सञ्चालन गरी नेपालमा हवाईसेवाको सुरु गरेको हो । सन् १९५८ जुलाई १ मा स्थापना भएको तत्कालीन शाही नेपाल वायुसेवा निगमले त्यसको तीन दिनपछि नै डकोटा जहाजद्वारा हवाई उडान सुरु ग-यो । १९६० मा जहाजको सङ्ख्या दोब्बर भयो । १९७२ मा निगमले दुईवटा बोइङ र १९८७ मा थप दुईवटा बोइङ जहाज खरिद गरी आफ्नो शाखालाई थप मजबुत गराउँदै गयो । ०४९–५० सम्म आइपुग्दा निगम निक्कै धनी भएको थियो । त्यतिबेला निगमसँग दुईवटा बोइङ, तीनवटा पिलाटस पोर्टर, तीनवटा एभ्रो र १० वटा ट्विनअटर गरी २० वटा जहाज थिए ।
सन् १९६० नोभेम्बर ५ मा ९–एनएएडी मार्का भएको डकोटा जहाज भैरहवा विमानस्थलमा पहिलोपटक नेपाली विमान दुर्घटनामा प-यो । त्यसपछि सुरु भएको दुर्घटना ०७० फागुनमा अर्घाखाँचीसम्म आइपुग्दा १५ वटा विमान ध्वस्त भएको देखिन्छ भने हाल सञ्चालनमा रहेको नयाँ एक र पुरानो तीनबाहेक बाँकी सबै थला परर ग्राउन्डेड भए । निगमले २७ वर्षको अन्तरालमा वैशाख १४ गते चीनबाट एमए ६० जहाज ल्याएको छ । लगातार एक हप्ता पनि उडान भर्न नपाउँदै चरा ठोक्किएपछि केही दिन त्यो पनि विराटनगरमै ग्राउन्डेड भयो । तर, हाल सञ्चालनमा छ ।
१० वर्षे बिजनेस प्लान तयार पारेको निगमले सन् २०२४ सम्ममा जहाजको सङ्ख्या २५ पु-याउने योजना बनाएको छ । चीनबाट आउने ६ वटा विमान ल्याउने गरी दुई पक्षबीच सहमति भइसकेको छ । जसअनुसार ५६ सिट क्षमताका दुईवटा र १८ सिट भएका चारवटा जहाज यस वर्षभित्रै नेपाल आइपुग्नेछन् । जसमध्ये एउटा ठूलो र एउटा सानो अनुदानमा तथा बाँकी चारवटा सहुलियत ऋणमा उपलब्ध हुनेछन् । त्यति मात्र होइन, थप चारवटा विमान पनि चीनबाटै ल्याइने योजना छ । यद्यपि निगमले चीनबाट ल्याउन लागेको दोस्रो जहाज आउने मिति भने अझै निश्चित भइसकेको छैन । चीनले दिएको मितिअनुसार साउन ९ मा नेपाल आउनुपर्ने थियो । स्रोतका अनुसार प्रशिक्षक पाइलट नभएकोले जहाज पठाउन नसकिएको जानकारी चाइनाले गराएको छ । – रामहरि पाण्डे

यस्तो छ नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकको सहमति
नजिकका दुई छिमेकी देश नेपाल र भारतबीच २३ वर्षपछि परराष्ट्रमन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ । बैठकले नेपाल र भारतबीचका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी नयाँ किसिमले दुईपक्षीय सम्बन्ध अघि बढाउन सहमति कायम गरेको छ । गत सप्ताहान्त नेपाल भ्रमणमा आउनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र नेपाली समकक्षी परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेबीच दुई देशको घनिष्ठता अझै प्रगाढ, बलियो एवम् क्रियाशील तुल्याउँदै अघि बढ्ने उल्लेख गरिएको सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ । यसका लागि परराष्ट्रसचिवको संयोजकत्वमा दुवैतर्फका पाँच–पाँच सदस्य रहने प्रबुद्ध समूह गठन गरेर दुई वर्षभित्र कार्ययोजना बनाउने सहमति गत शनिबार आयोजित एकदिवसीय बैठकमा भएको छ ।
बैठकपछि जारी २६ बुँदे संयुक्त वक्तव्यमा परराष्ट्रसचिवको एक समूहले सन् १९५०को शान्ति तथा मैत्री सन्धिमा वर्तमान वास्तविकतालाई सम्बोधन गर्ने गरी काम अघि बढाइने उल्लेख गरिएको छ । बैठकले तय गरेको अर्को एक महत्वपूर्ण बुँदामा भारतलाई संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को स्थायी सदस्य बन्न नेपालले समर्थन गर्ने जनाइएको छ । यस्तै मध्यपहाडी मार्ग निर्माणकार्य अघि बढाइने, अन्तरदेशीय प्रसारण लाइन तत्काल सुरु गरिने, हुलाकी राजमार्ग, महाकाली पुल–टनकपुर–महेन्द्रनगर सडक, काठमाडौं–तराई द्रूतमार्गलगायतमा भारतीय सहयोग प्राप्त हुने संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।
दुई देशबीच चर्चामा रहेको विद्युत् खरिद सम्झौता (पीटीए) जतिसक्दो छिटो गरिने, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अघि बढाइने, यसका लागि कार्यविधि तयार पार्नुका साथै महेन्द्रनगरमा यसको कार्यालय राखिने, माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजना अघि बढाउन दुवै सरकारका तर्फबाट सहजीकरण र प्रोत्साहन गर्ने, दुईपक्षीय सीमा कार्यसमिति बनाएर विवादित विषय टुङ्गो लगाइने, तराईमा दुई हजार सात सय स्यालोट्युबवेल उपलब्ध गराउने, ट्रमा सेन्टर शीघ्र सञ्चालनका लागि भारतले आवश्यक उपकरणहरू उपलब्ध गराउने, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति कोटामा वृद्धि गर्नेलगायत २६ बुँदा संयुक्त वक्तव्यमा उल्लेख गरिएका छन् ।

नुवाकोट र ललितपुरलाई साढे आठ करोड सहयोग
मित्रराष्ट्र भारतको ८ करोड ३६ लाख २० हजार अनुदान सहयोगमा ललितपुर र नुवाकोट जिल्लामा सांस्कृतिक तथा ऐतिहासिक धरोहर जिर्णोद्धार एवम् विद्यालय भवन निर्माण हुने भएको छ । यसका लागि भारतीय राजदूतावास, नुवाकोट जिल्ला विकास समिति, ललितपुर उमनपा कार्यालय तथा ललितपुर विकास समाजबीच अलग–अलग सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सन् १९६२ मा मिडल स्कूलको रूपमा स्थापित तथा सन् २००५ मा उच्च माविमा स्तरोन्नति गरिएको त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यालय नुवाकोटको विदूर नगरपालिकामा अवस्थित छ । विद्यालयमा हाल उपलब्ध पूर्वाधार जिर्ण भएको र विद्यार्थीका लागि स्थान पनि अपर्याप्त भएकोले भारत सरकारको ३ करो ६३ लाख २० हजारको अनुदान सहयोगमा निर्माण गरिने नयाँ भवनबाट विद्यालयमा अत्यावश्यक कक्षा कोठाहरू उपलब्ध भई एघार सयभन्दा धेरै छात्रछात्रालाई सहज शैक्षिक वातावरण सृजना हुनुका साथै जिल्लाको शिक्षा विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । यस परियोजनाका अतिरिक्त नुवाकोटमा २४ लाख भारतीय अनुदान सहयोगमा ‘नुवाकोट आदर्श बहुमुखी क्याम्पस’ निर्माण गरिनुको साथै ८ करोड ६५ लाख लागतमा अन्य पाँच परियोजनाहरूको निर्माण कार्य जारी छ । भारतले ६ ओटा एम्बुलेन्ससमेत नुवाकोटलाई प्रदान गरेको छ ।
यसैगरी, ललितपुर जिल्लाका सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरू कुलदेवता आँगन घर, लुखुशी पाटी, श्रीबाच्छा महावीर आजु निवास, भिन्चया बहाल डिगी र नहवहाल टोल सुधार क्षण जिर्णोद्धारको लागि समेत मित्रराष्ट्र भारतले ३ करोड ६१ लाख ६० हजार सहयोग प्रदान गर्दै छ । ललितपुरका गंगा पोखरी, श्री महानयन बौद्ध समाज गुम्बा र सोको मन्दिर, कम्पाउण्ड र गेटको स्वरूप परिवर्तन गरी सांस्कृतिक तथा ऐतिहासिक धरोहर जिर्णोद्धारको लागि एक करोड १४ लाख अनुदान सहयोग प्रदान गर्ने सम्झौतापत्रमा भारतीय राजदूतावास र शहरी विकास तथा भवन निर्माण विभागबीच हालै हस्ताक्षर भएको छ । नेपालका सांस्कृतिक तथा ऐतिहासिक धरोहरको संरक्षणको उपादेयताअन्तर्गत सहयोग गरिने उक्त परियोजनाहरूले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको साथै सोको लागि भारतले दर्शाएको महत्वलाई उजागर गरेको छ ।
उल्लेखित परियोजनाका अतिरिक्त ललितपुरमा ८ करोड ५२ लाख भारतीय सहयोगमा अन्य तीन परियोजनाहरू पूरा भइसकेका छन् भने भारतको ५ करोड २५ लाख लागतमा अन्य दुई परियोजना सुचारु छन् । जिल्लामा भारतले १० वटा एम्वुलेन्स तथा ६ वटा स्कूल बससमेत प्रदान गरिसकेको छ ।

पाँच किलोमिटर कालोपत्रे गर्न साढे चार करोड अनुदान
सर्लाहीमा पाँच किलोमिटर सडक कालोपत्रे गर्नका लागि मित्रराष्ट्र भारतले चार करोड ४४ लाख ८० हजार अनुदान सहयोग गर्ने भएको छ । नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत प्रदान गरिने सो सहयोगसम्बन्धी सम्झौतापत्रमा गत सोमबार भारतीय राजदूतावास, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, र सडक डिभिजन कार्यालय जनकपुरबीच हस्ताक्षर भएको छ ।
सर्लाहीमा रहेको भारत–नेपाल सीमा जोड्ने हालको गदीया–बलरा–लक्ष्मीपुर सडक जीर्ण अवस्थामा रहेकाले दैनिक यात्रुहरूलाई आवतजावतमा कठिनाइ परिरहेको अनुभूति गरिँदै आएको थियो । उक्त सडकमा माटो भर्नेदेखि कालोपत्रे गर्नेसम्मको सडक स्तरोन्नति कार्यबाट जिल्लाका पचास हजार जनतालाई लाभ पुग्नेछ । यसले जनतालाई गुणस्तरीय सडक सञ्जाल सुविधा, जिल्लामा नागरिक सेवा सुधार, नेपाल र भारतका सीमा बजारसँग राम्रो पहुँच प्रदान गरी दुई देशबीच आर्थिक सम्बन्ध अझ वृद्धि गर्ने विश्वास लिइएको छ ।
उक्त परियोजना सडक विभाग, सडक डिभिजन कार्यालय जनकपुरद्वारा नेपाल सरकारको नीति–नियमअनुसार कार्यान्वयन गरिने र यी निकायहरू परियोजनाको गुणस्तरीयता र समयमै समापनका लागि पूर्णतया जिम्मेवार रहने सम्झौतापत्रमा उल्लेख छ । परियोजना प्रभावकारी ढङ्गले समयमै समापन भए/नभएको निरीक्षण गरी सामुदायिक सहभागिता सुनिश्चित गर्नका लागि नगरपालिकाका प्रतिनिधि तथा अन्य सरोकारवाला सम्मिलित एक अनुगमन समितिसमेत गठन गरिएको छ ।
स्मरणीय छ, यस परियोजनाको अतिरिक्त भारत सरकारको सात करोड ५५ लाख सहयोगमा सर्लाहीमा अन्य ६ वटा परियोजना सम्पन्न भएका छन् भने २२ करोड ८१ लाख लागतमा आठवटा परियोजनाको कार्य जारी रहेको छ । यसअन्तर्गत विद्यालय भवन निर्माण, नदी नियन्त्रण कार्य, ग्रामीण विद्युतीकरण तथा कल्भर्ट र ढल निर्माण रहेका छन् । जिल्लामा प्रयोग गर्नेगरी विभिन्न संस्थालाई सातवटा एम्बुलेन्स तथा एउटा स्कुलबस पनि उपहारस्वरूप प्रदान गरिएको छ ।

अनिष्ट निम्त्याउँदै गण्डक ब्यारेज
नपलपरासी । जिल्लाको नर्सही गाविसअन्तर्गत कटान नियन्त्रण कार्यमा नदीमा पानीको सतह बढ्न थालेपछि मर्मत तथा निर्माणकार्य प्रभावित भएको छ । गण्डक नदी नियन्त्रणका लागि बनाइएको स्पर नं. ११ र १२ को बीचमा बनाइएको सी.सी. ब्लक भासिन थालेकाले खतरा बढेको हो । गण्डक ब्यारेजबाट खुलेको पानीको सम्पूर्ण बहाव स्पर नं. १२ मा ठोक्किँदा हालै निर्माण गरिएका सी.सी. ब्लक भासिन थालेको सो क्षेत्रमा कार्यरत एक प्राविधिकले बताए । सी.सी. ब्लक भासिन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन जालीमा ढुङ्गा राखी जोखिम नियन्त्रण गर्ने प्रयास गरिएको छ । त्यसैगरी नदी नियन्त्रणका लागि बनाइएका अन्य कटर सङ्ख्या १, २, ३ र ४ मा पनि सी.सी. ब्लक क्षति हुन थालेको छ । सिल्ट रिजेक्टरको पूर्व दिशातर्फको एअर क्रेटिङ धारा खुलेबाट पनि निर्माणकार्य प्रभावित भएको छ । यसबाटै ठूलै अनिष्ट निम्तिन सक्ने भएकाले सम्बन्धित निकायको ध्यान समयमै पुग्नु जरुरी देखिन्छ ।
यसैबीच नवलपरासीको बर्दघाट बजारमा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयले आ.व. ०७०/७१ मा गरेको आर्थिक कारोबार सार्वजनिक गरेको छ । बैंकले जिल्लाको दक्षिणी भेगमा रहेका एक दर्जन गाविसमा कारोबार क्षेत्र बनाउँदै गत आ.व.मा तीन करोड ५७ लाख ३८ हजार नाफा गरेको जनाएको छ । १७ हजार २२ ग्राहक सङ्ख्या रहेको बर्दघाट शाखाको ६४ करोड ४६ लाख जम्मा पुँजी रहेको छ भने ४७ करोड ४० हजार भाखा नाघेको ऋण रहेको छ । शाखा प्रबन्धक रामकृष्ण श्रेष्ठका अनुसार सीमित साधनस्रोत र कर्मचारीको न्यून सङ्ख्याका बाबजुद बैंकले राम्रै उपलब्धि हासिल गरेको हो । बैंकले एसएमएस बैंकिङ पद्धति अवलम्बन गरेबाट ग्राहकलाई सुविधा पुगेको बैंक प्रशासनको कथन छ ।
हाल नवलपरासीको क्षेत्र नं. ५ र ६ मा कुनै पनि सरकारी स्वामित्वको बैंक रहेका छैनन् । द्वन्द्वकालमा विस्थापित भएको त्रिवेणी र बेलाटारी शाखालाई यथास्थानमा स्थापित गर्ने सरकारको नीति रहेको बताइन्छ । गत वर्ष नेपाली काङ्ग्रेस महासमितिको बैठकमा भाग लिन आएका अर्थमन्त्री डा. रामशरण महतले विस्थापित बैंकलाई यथास्थानमा स्थापित गर्ने आश्वासन दिए पनि हालसम्म आश्वासन पूरा भएको छैन ।

पाँच सय शान्ति सैनिक सुडान प्रस्थान
नेपाली सेनाअन्तर्गतको श्री अर्जुनवाण गणका पाँच सय शान्ति सैनिक दक्षिण सुडान प्रस्थान गरेको छ । गत बर्ष दक्षिण सुडानमा द्वन्द्व चर्किएर स्थानीय नागरिकको सुरक्षामा सङ्कट पैदा भएपश्चात् तत्काल फौज तैनाथ गर्न आह्वान भएअनुसार नेपाल सरकारले थप एक गण पठाउने निर्णय लिएको थियो । संयुक्त राष्ट्रसङ्घ सदस्यराष्ट्रको हैसियतले राष्ट्रसङ्घको वडापत्रको भावनालाई आत्मसात गर्दै नेपालले विगत लामो समयदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा सहभागी भई शान्ति स्थापना गर्ने कार्यमा आफुलाई समर्पित गर्दै आइरहेको छ । सुडानजस्तो भौगोलिक, वातावरणीय र सुरक्षात्मक दृष्टिले निकै प्रतिकुल तथा चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले उल्लेखनीय रुपमा कार्य सम्पादन गर्दै आइरहेको छ । उक्त मिसनको म्याण्डेटअनुसार विशेषत: आमनागरिकको सुरक्षा, महिला तथा बालबालिकाको सुरक्षाजस्ता महत्वपूर्ण जिम्मेवारीलाई उक्त फौजले सम्पादन गर्नुपर्ने जिम्मेवारी रहेको छ ।
पछिल्लोपटक युएन मिसनतर्फ प्रस्थान गरेपश्चात् नेपालबाट शान्ति सेनामा सहभागी भएका शान्ति सैनिकको कुल सङ्ख्या ४ हजार ३ सय ४२ पुगेको छ । यीमध्ये साउथ सुडानमा मात्र महिला सैनिकको संख्या ३४ रहेको छ भने सबै मिसनमा गरी ८६ महिला शान्ति सेनामा सहभागी रहेका छन् । नेपाली सेनाले महिलाको सहभागितालाई भविष्यमा अझ बढाउने उद्देश्य लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । हालसम्म नेपालको तर्फबाट संयुक्त राष्ट्रसङ्घमा तैनाथ हुने शान्ति सैनिकको संख्या १ लाख ३ हजार ७ सय ३३ पुगेको छ भने राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा योगदान गर्ने राष्ट्रको श्रेणीमा नेपाल पाँचौँ स्थानमा रहेको छ ।

बाल–बाल बचे ठग प्रधानाङ्ग †
रगतपसिना गरेर खाइ–नखाई जम्मा गरेको निक्षेप रकम दुई वर्षदेखि फिर्ता माग्दा अहिलेसम्म फिर्ता नपाएपछि हिमालय फाइनान्स कम्पनीका ग्राहकहरू आक्रोशित बनेका छन् । उक्त फाइनान्स सञ्चालकको दुर्नियतका कारण परिश्रमको कमाई नै डुब्ने त्रासमा परेका पीडित निक्षेपकर्ताहरू गत साता पुल्चोकस्थित वाणिज्य इजलासमा जम्मा भई सो फाइनान्सका तत्कालीन कार्यकारी प्रमुख हिमालयभक्त प्रधानाङ्गलाई घेरा हाल्ने कोसिस गरेका थिए । दुई वर्षदेखि ग्राहक ठगेको अभियोगमा जेलको हावा खाँदै गरेका प्रधानाङ्गलाई इजलासमा उपस्थित गराउन लैजाने क्रममा ठूलै झडप हुने अवस्था निम्तिएपछि प्रधानाङ्गलाई जोगाउन प्रहरीले निकै कसरत गर्नुपरेको प्रत्यक्षदर्शीको भनाई छ । उक्त दिन पीडितहरूले अदालतको गेटैमा घेरा हालेर आफ्नो रकम फिर्ता गर्ने वातावरण मिलाउन दबाब दिने कार्यक्रम रहेको थियो ।
अदालत परिसरमा पीडित बचतकर्ताको भीडलाई हटाएर प्रहरीले हतार–हतार ठगी मुद्दा लागेका हिमालयभक्तलाई इजलासमा पु-याएको थियो । अदालती कामकारबाही जारी रहँदासम्म आक्रोशित पीडितहरू अदालत परिसरमै उपस्थित थिए । तर, प्रहरी सतर्कता बढेपछि प्रधानाङ्गमाथि हातपात गर्ने उनीहरूको आकाङ्क्षा पूरा नभएको बुझिएको छ । स्मरण रहोस्, लामो समयदेखि सहकारी व्यवसायमा संलग्न रहेका हिमालयभक्त ग्राहक ठग्ने मामलामा वदनाम मानिन्छन् । उनले बैंकबाट ऋण लिएका ऋणीहरूको नाममा समेत किर्ते कागजात तयार गरी करोडौँ रूपैयाँ ऋण लिएर व्यक्तिगत रूपमा प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ भने उनीबाट कैयन आफन्तजन समेत ठगिएका छन् ।

शिक्षा होइन दिनभर पानी खोज्छन् विद्यार्थी
भोजपुर/ पानीबिनाको जीवन भनेको रसबिनाको उखुको डाँठजस्तै हो । जसको कुनै उपयोगिता र अस्तित्व हुँदैन । नेपाल जलस्रोतको हिसाबले ब्राजिलपछि दास्रो धनी देश भनेर विज्ञहरू चिनाउँछन् । ६ हजार खोलानाला अनवरत रूपमा बगिरहेको देशलाई जलको धनी नभनुन् पनि किन ? हुन त, राजधानीजस्तो ठाउँमै पानीको काकाकूल छ । जे भए पनि खानेपानी अभावको विकराल समस्या झेलिरहेको भोजपुरको याम्पाङको कथा यहाँ सुनाउनैपर्छ ।
भोजपुरको याम्पाङ गाविसको रचना प्राथमिक विद्यालय देउरालीमा पानीको हाहाकार हुँदा यहाँ अध्ययनरत कलिला बालबालिका ठूलो मारमा परेका छन् । तिर्खा लाग्दा पानी पिउन नपाउनु आफ्नै ठाउँमा छ, त्यस बिहानदेखि बेलुकासम्म पानी ओसार्नमै व्यस्त बन्नुपरेपछि तिनका भविष्य नै डामाडोल बनेको अनुभूति गरिएको छ । उनीहरू एक दिनको पढाइ नै माया मारेर पालैपिलो गाग्री र तुम्लेट बोकेर एक घन्टाको पैदल हिँडी पानी बोक्न जाने गरेका छन् । बोकेर ल्याएको पानी विद्यार्थीले धित मेटिउन्जेल खान भने पाउँदैनन् । उनीहरूले ल्याएको पानी शिक्षकले लाइनमै राखेर चियादानी र गिलासबाट पालैपिलो विद्यार्थीलाई खुवाउँछन् । विद्यार्थीले भने आफ्नो धित मेटिने गरी पानी खान नपाएकै कारण दिनभरि पठनपाठनमा समेत ध्यान दिन पाउँदैनन् ।
यस क्षेत्रमा पानीको समस्या पैदा भएको २५ वर्षभन्दा बढी भइसकेको छ । तर, कसैले यस विषयमा ध्यान नदिएको स्थानीयवासी गुनासो गर्छन् । विद्यालय र विद्यालय व्यवस्थापन समितिले पटक–पटक यस विषयमा आवाज उठाउँदै आएका छन्, तर सम्बन्धित निकायले विकराल अवस्थालाई न्यूनीकरण गर्ने विषयमा कुनै चासो देखाएका छैनन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमका अनुसार विद्यालय स्थापनाकालदेखि नै विद्यार्थीले पानीको विकराल समस्या झेल्दै आइरहेका हुन् । विद्यालय ०४५ सालमा स्थापना भएको थियो । ‘गाउँ विकास समितिमा पटक–पटक समस्या भन्यौँ,’ अध्यक्ष गौतमले भने, ‘तर गाविसले कुनै चासो देखाएन ।’ गाउँ विकास समितिले राजनीतिक हिसाबले व्यवहार गर्दा विद्यार्थीको भविष्य अन्धकारमा परेको छ । विद्यालयमा खानेपानी उपलब्ध गराइदिने वचन गाविसबाट पाए पनि टालटुले प्रवृत्तिले २५ वर्ष त्यत्तिकै बितिसकेको गौतमको गुनासो रहेको छ । त्यस क्षेत्रका बासिन्दा पछिल्लो समय ठूला योजनाको पर्खाइमा छन् । केन्द्रीय स्तरका योजना पर्ला र लामो समयदेखि भोग्दै आएको काकाकुलको समस्याबाट पार पाइएला भन्ने आशामा उनीहरू देखिन्छन् ।
हाल रचना प्रावि देउरालीमा दुई सय विद्यार्थी नियमित विद्यालय जाने गरेका छन् । सोही समस्या सुनाउँदै विद्यालयका प्रध्यानाध्यापक शिवराज भण्डारी भन्नुहुन्छ, ‘अनेक राजनीतिक दललाई जिताएर पठायौँ, तर प्रतिफल पाउन सकिएन । चुनावको बेलामा नेताहरूबाट थुप्रै आश्वासन पाए पनि व्यवहारमा कहिल्यै लागू भएन ।’ यसरी झुटको खेती गरेर राजनीति गर्ने परिपार्टीको अन्त्य हुनुपर्ने प्रधानाध्यापक भण्डारीको कथन छ । पढाइलेखाइ गराउनुपर्ने शिक्षकको समय विद्यार्थीलाई पानी पिलाउँदैमा व्यतीत हुन्छ । उक्त विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्र झलक श्रेष्ठ भन्छन्, ‘हामी शिक्षा लिन भनी विद्यालय जान्छौँ, तर खानेपानी जुटाउनकै लागि अमूल्य समय खेर फाल्नुपर्ने अवस्था छ । यस्तो समस्याबाट हामीले कहिले पार पाउने ?’ आँखाभरि आँसु पार्दै उनले थपे, ‘एक घन्टा लगाएर ल्याएको पानी सबैले खाँदा कसैको प्यास मेटिँदैन, यस्तो अवस्थामा शिक्षकले पढाएको कुरामा ध्यान पनि जाँदैन ।’

‘कन्भर्सेसन्स’मा यसरी खुले हरि र मोमिला
बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान तथा भारतीय राजदूतावासको आयोजनामा गत बिहीबार नेपाल–भारत पुस्तकालय भवनमा ‘कन्भर्सेसन्स’को १९औँ कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका मुख्य आकर्षण थिए सशक्त लेखक, कवि तथा समीक्षक हरि अधिकारी र वर्तमान पुस्ताकी होनहार कवयित्री मोमिला जोशी । कार्यक्रममा उपस्थित साहित्यप्रेमी स्रोताबीच लेखक अधिकारीले आफ्नो साहित्यिक यात्राको नालिबेली लगाए भने मोमिलाले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै लेखक–सर्जक अधिकारीबारे थप प्रकाश पारिन् ।
हरि अधिकारी नेपालका सीमित कविमध्येका एक भन्दै मोमिलाले तीन दशकभन्दा ज्यादा अवधि लेखक अधिकारीले कविता लेखन तथा नेपाली साहित्य साधनामा व्यतीत गरिसकेका जानकारी दिइन् । सर्जक हरिले काव्य सिर्जना यात्राको तीन दशकपछि मात्र ‘संसद्मा एक दिन’ नामक कविताको पहिलो पुस्तक प्रकाशनमा ल्याएको खुलासा गर्दै मोमिलाले अगाडि भनिन्, ‘कविताको आधारभूत ज्ञानबिना नै कवितासङ्ग्रह प्रकाशनको मुसेदौडमा लाग्नेहरूभन्दा कवि हरि पृथक व्यक्तित्व हुनुहुन्छ ।’ अधिकारी बहुआयामिक लेखक भएको उल्लेख गर्दै मोमिलाले उनको चिनारी एक सशक्त कवि, प्रशंसनीय कथाका लेखक, दार्शनिक एवम् तिख्खर समीक्षकका रूपमा समेत स्थापित भएको बताइन् । ‘उहाँको लेखनी समकालिक विश्लेषणयुक्त, उद्देश्यमूलक र आफ्नै विशेष शैलीयुक्त हुन्छन्,’ मोमिलाले साहित्यकर्मी अधिकारीको प्रशंसा गर्दै भनिन् ।
कवि अधिकारीले त्रिचन्द्र कलेजमा पढ्दा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित कविता प्रतियोगितामा ‘पहिला आफूलाई चिन’ शीर्षकको कविता लेखेर आफूले प्रथम पुरस्कार हात पारेको बताउँदै अठार वर्षको उमेरमा राष्ट्रव्यापी कविता प्रतियोगितामा पहिलो बनेपछि आफू साहित्यलेखनप्रति गम्भीर बनेको अभिव्यक्ति दिए । ‘कन्भर्सेसन्स’ कार्यक्रमको विशेषताअनुरूप अधिकारी र जोशी वार्तालापमा खुल्दै गए । सो क्रममा अधिकारीको पृथक लेखनशैली, उनका रचनामा महिलाका मनोविज्ञानको प्रयोग, यौनिक मिथकहरू एवम् आध्यात्मिक सम्बन्धबारे पनि उनीहरूले चर्चा गरे । अधिकारी चुनिएका केही रचनामाथि मोमिलाले समीक्षात्मक विश्लेषण गरेकी थिइन् ।

कतारमा एकता समाजको सम्मेलन
‘तोकिएको समयमै संविधान निर्माण जातीय तथा क्षेत्रीय विखण्डनविरुद्ध हाम्रो अभियान, सम्पूर्ण प्रवासी नेपालीको हकहित र अधिकारको पक्षमा चौथो राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ कतार नेपाली एकता समाजको चौथो राष्ट्रिय सम्मेलन सम्पत्र भएको छ । कतार नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष टुकनाथ शर्माको अध्यक्षतामा आयोजित कार्यक्रमका सञ्चालक संस्थाका महासचिव हेमन्त वाईवा थिए भने प्रमुख अतिथिका रूपमा मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका सल्लाहकार तथा पूर्वमहासचिव गंगा पौडेल निम्त्याइएका थिए । राष्ट्रिय सम्मेलनलाई भव्य रूपमा सम्पत्र गर्ने क्रममा सभाहलमा खचाखच उपस्थित दर्शकहरूलाई सङ्गठनकी सचिव लक्ष्मी गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।

जहाँ रावणले ‘गंगा’ सिर्जना गरे
अर्घाखाँचीको ठाडा गाविस– ३ मा रहेको वाणगङ्गाधाम उद्गमस्थल प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । यस उद्गमस्थलबाट निस्किएको पानी वाणगङ्गा, लक्ष्मणघाट, रामघाट, बुढीगण्डकी हुँदै गंगासागर र महासागरमा परिणत भएको कारण यसको महत्व विशेष रहेको बूढापाकाको भनाइ छ । यस उद्गमस्थलमा पुगी स्नान र शिवलिङ्गको दर्शन गरेमा अकाल मृत्यु टर्नुको अलावा मृत्युपश्चात् स्वर्गमा वास हुने जनविश्वास रहेको छ ।
वाणगङ्गा उद्गमस्थलको बारेमा स्वामी कुशलानन्द सरस्वतीसँग जिज्ञासा राख्दा भगवान् रामले वाण प्रहार गरी पातालबाट पानी निकालेको तथ्य अद्भुत रामायणमा आफूले पढेको बताउँछन् । यस्तै, चतुरानन्द देवेन्द्र गिरीका अनुसार राम, सीता, लक्ष्मण, हनुमान आफ्नो बनवासको समयमा यस स्थानमा आउने क्रममा तिर्खाएको देखेपछि रावणले वाण प्रहार गरी पातालको पानी निकालेको र उनलाई रामबाट आशीर्वादसमेत मिलेको थियो । कतिपय स्थानीयको भनाइअनुसार रावणले नर्तनाचल पर्वतमा गई कठोर तपस्या गरेका र त्यही तपस्याका कारण शिवजीबाट शक्तिको बरदान पाइसकेपछि आफ्नो शक्ति जाँच गर्नका लागि नरपानीको नर्तनाचलबाट दक्षिण फर्केर वाण हान्दा उक्त स्थानमा गङ्गाजी उत्पत्ति भएकाले यसलाई वाणगङ्गा नामाकरण गरिएको हो ।
वाणगङ्गाधाम उद्गमस्थलको वास्तविकताबारेमा यसरी फरक जनश्रुति रहे पनि स्व. पं. दामोदर गौतमद्वारा लेखिएको ‘वाणगङ्गा धाम’ नामक पुस्तकलाई आधार बनाउँदा यसको थप महत्व रहेको पाइन्छ । त्रेतायुगमा महर्षिका पुत्र दशानन रावण शिवको तप गर्न नेपाल आएछन् । नरपानीको नर्तनाचल पर्वतमा इष्टदेव भोलेनाथलाई खुसी तुल्याई उनको लिङ्ग मागेर लङ्कामा स्थापना गर्दछु भन्ने सोचअनुरूप तपस्या गर्दैगर्दा दुर्गा भवानीलाई प्रसन्न बनाएपछि भवानी प्रकट भई ‘तिमीले धेरैलाई रुवाएको कारण तिम्रो नाम रावण रहेको हो, ब्रह्मादी पाप कटाउनका लागि गङ्गाजल सेवन र स्नान गरेर तपस्या ग-यौ भने कार्यसिद्धि सफल होला’ भन्ने वचन दिइछन् । यसपछि नर्तनाचल पर्वतबाट श्रीकृष्णगङ्गा टाढा रहेकाले आफ्नै शक्तिद्वारा पातालगङ्गा ल्याएर नुहाउँछु भन्दै रावण सोमेस खण्डमा गएछन् । त्यहाँबाट ठीक दक्षिणतर्फको अग्लो डाँडामा वाण प्रहार गरी गङ्गा निकाल्ने अठोट उनले गरेछन् । यो स्थान हालको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत भेडामारे चोकदेखि १० मिनेट पैदल दूरीमा पर्दछ । उक्त स्थानमा एउटा वरुणास्त्र झिकेर धनुमा प्रहार गर्दा वाण पातालमा पुगेको किंबदन्ती छ । यसरी पातालमा पुगेको वाणले आफू गएको स्थानबाट गङ्गाजीलाई प्रकट गराएको कुरा श्रीबराहपुराणको १४४ अध्यायमा वर्णित रहेको पं. गौतमले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । रावणले वाण प्रहार गरेपछि सोमेस पर्वतबाट उफ्रँदै यो स्थानमा आई दशओटै शिर भूमिमा राखेर प्रणाम गरे र मार्जन, कुल्ला, अचमन, स्नान, सन्ध्यादि कर्मपश्चात् गङ्गाजीका तटमा शिवलिङ्ग स्थापना गरी हिँडेका कारण यसलाई वाणगङ्गाधाम उद्गमस्थल भनिएको रहेछ । आफ्नो वनवासको समयमा राम, लक्ष्मण र सीता यस स्थानमा आउँदा अत्यन्तै तिर्खाएका कारण पानी सेवन गरी धन्य रावण भनी आशीर्वाद दिएको किंबदन्ती छ ।
धार्मिक महत्व बोकेको यो पवित्र धाम आफ्नै स्थानमा सीमित रहे पनि भारतको बनारस अर्थात काशी पुगी त्यहाँका धार्मिक गुरुहरूसँग भलाकुसारी गर्ने क्रममा पवित्र वाणगङ्गाको शिर नेपालमा भएको बताउने गरेको स्मरण धेरै भक्तजनसँग छ । स्वर्गीय पं. गौतमको प्रेरणा र केही सहयोगी हातद्वारा ०५४ सालमा कुटी, ०६५ मा धारा–टयाङ्की र ०६८ मा सामान्य मन्दिर निर्माण गरिएको धाम व्यवस्थापन समितिका संस्थापक अध्यक्ष तथा समाजसेवी भोजराज पौडेल बताउँछन् । पौडेलका अनुसार पूर्वसभासद् पुष्पा भुसालको सहयोगमा गत वर्ष पर्यटन मन्त्रालयबाट एक लाख प्राप्त भएको र स्थानीय श्रमदान तीस हजारसमेतमा ८६ वटा पक्की सिँढी निर्माण गरिएको छ । उक्त सिँढी उक्लने बिन्दुमा मूलगेट निर्माणका लागि महेन्द्रकोट– ७, कपिलवस्तुनिवासी रामु विश्वकर्माले व्यक्तिगत सहयोग उपलब्ध गराउने वचन दिनुभएको स्थानीय सरू बीसीले जानकारी गराइन् ।
भेडामारे चोकदेखि सिमलपानीतर्फ जाने बाटोबाट करिब पाँच सय मिटर ओरालो गोरेटो बाटोको यात्राबाट यस स्थानमा पुग्न सकिन्छ । मन्दिरभित्र सामान्य शिवलिङ्ग, गणेशको मूर्ति र कुटी निर्माण गरिएको भए पनि यसको वास्तविकता झल्काउने गरी रावण, राम, सीता, लक्ष्मण र हनुमानसहित पञ्च देवीदेवताको विशेष किसिमका मूर्तिहरू स्थापना गर्नु सान्दर्भिक देखिने स्थानीय बूढापाकाको मत छ । आँप, आरुबखडा, श्रीखण्ड, बेल, केरा, कटहर, बेलौतीलगायतका फलफूलका बगैँचा देखिए पनि यो पवित्र स्थानमा धर्मशालाको निर्माण गरी उद्गम स्थललाई व्यवस्थित गर्ने थप आवश्यकता देखिन्छ । यस क्षेत्रका सभासद् डा. दुमनसिंह थापाले पहलकदमी लिए यो सजिलै सम्पन्न हुने पनि स्थानीय सचेत तप्काको धारणा रहेको पाइन्छ । चुनावको समयमा स्थानीय क्षेत्रको विकासमा विशेष प्रतिबद्ध रहने उद्घोष गरेका सभासद् थापाले आफ्नै प्रतिबद्धताहरू भुल्न थालेको आक्षेप लाग्दै गर्दा यस पुरातन महत्वको स्थानका लागि केही गरिदिने पहल गरिदिए गुम्न थालेको जनविश्वास पुनर्वहाली हुन सक्छ । सदरमुकाम जाने मोटरबाटो नजिक रहेको यो पवित्र धामप्रति सभासद् थापालगायतका सचेत सरोकारवालाहरू संवेदनशील बन्न सके सुपादेउराली मन्दिरमा पुग्ने श्रद्धालुले मात्र नभई मुलुकभरकै भक्तजनले सुविधा पाउने थिए ।
– मुक्तिनाथ भुसाल

यातायात व्यवसायी रुष्ट
नेपाल यातायात मजदुर सङ्घका केन्द्रीय अध्यक्ष अर्जुनकुमार राईले यातायात क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मुलुकमा यातायात व्यवसायीहरूले वार्षिक चार अर्ब लगानी गरेको अवस्थामा पनि राज्यले यो क्षेत्रमा कुनै पनि चासो दिन नसकेको उल्लेख गर्दै उनले भने, ‘यातायात व्यवसायीहरूले चाहे भने एक घन्टामै मुलुक ठप्प पार्न सक्छन्, सरकारलाई तत्काल गिराउन सक्छन्, तर व्यवसायीहरू अझै पनि संयमता अपनाइरहेका छन् ।’ अब पनि सरकारले यातायात व्यवसायीका समस्यामाथि सम्बोधन नगरे सशक्त गर्ने चेतावनी उनले दिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आउँदो भदौ तेस्रो साता चितवनमा हुने राष्ट्रिय महासङ्घको चुनावी माहोलका क्रममा देशव्यापी यात्रा सुरु गरेका यातायात व्यवसायी महासङ्घ एवम् यातायात मजदुर नेताले दाङमा आयोजित एक कार्यक्रमबीच यस्तो अभिव्यक्ति दिएका हुन् । सो अवसरमा अध्यक्ष राईले राज्यले सवारीचालक अनुमतिपत्र, शैक्षिक योग्यता र सशस्त्र द्वन्द्वका नाममा विभिन्न यातायात व्यवसायीलाई पटक–पटक प्रहार गरिरहेको भन्दै अन्तर्राष्ट्रिय मापदण्डको सेवा यात्रुहरूलाई प्रदान गर्न राज्यले पनि लगानी गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासचिव सुरेश हमाल, नेपाल यातायात मजदुर सङ्घका वरिष्ठ उपाध्यक्ष कुमार केसी, महासचिव धर्मराज भण्डारी, मध्यमाञ्चल सदस्य प्रकाश बम, राप्ती अञ्चल संयोजक भरतनाथ योगी, केन्द्रीय सदस्य चिन्तामणि आचार्य, मिनिमाइक्रो व्यवसायी समितिका अध्यक्ष यमकान्त भण्डारीलगायतले सरकारी रवैयाप्रति असन्तुष्टि पोखेका थिए ।