आफू बदलिन नसक्नेहरूले संसार बदल्ने !

आफू बदलिन नसक्नेहरूले संसार बदल्ने !


-देवप्रकाश त्रिपाठी
संसार बदल्नु भनेको के हो ? धर्तीको भौगोलिक आवरणमा परिवर्तन ल्याउनु हो कि मानिसको जीवनशैलीमा ? कि दुवै हो ? साधु, सन्त, महात्माहरू संसार बदल्न आफैंलाई बदल्नुपर्छ भन्छन् । तर, कतिको विचारमा परिवर्तन भनेको भौतिक विकास हो । सन्तहरू त्यागका कुरामा जोड दिन्छन्, त्याग्नुजति महान् केही होइन भन्ने मान्यता स्थापना गर्ने प्रयास उनीहरूबाट भइआएको छ । त्यागका प्रतिमर्ूर्तिका रूपमा सिर्द्धार्थ गौतमलाई लिइन्छ, ज्ञानका अतिरिक्त उनमा त्याग गर्ने सामर्थ्य पनि देखिएको हो । सिर्द्धार्थसँग राज गर्न राज्य, भोग गर्न सम्पूर्ण सुखसुविधा, जीवन बिताउन भव्य राजदरबार, माया गर्ने पत्नी, पुत्र र जनता सबै थिए, तर उनले सम्पूर्ण त्यागेर साधु सन्तको जीवन रोजे । भएर त्याग गर्नु र त्यागको गफ दिनु नितान्त पृथक् कुरा हुन्, धेरै योगी, महात्माहरू जो त्यागका गफ गर्छन् तिनको त्याग गर्ने क्षमता सधैं परीक्षाको कसीमा रहन्छन् । यद्यपि तिनले आफूलाई बदल्न त्यागको भावना जागृत गर्नुपर्ने र आफू बदलिँदा संसार बदलिन्छ भन्ने कुरालाई सकारात्मक अर्थमा उनीहरूले प्रचार गरिरहेका हुन्छन् । आफ्नो व्यवहारबाट नै साधु-सन्त प्रमाणित व्यक्तिका रूपमा विवेकानन्द, महावीर र कन्फुसियस आदिलाई लिन सकिन्छ ।
राजनीतिकतर्फ प्रजातन्त्रवादीहरूको विचारमा पूर्वस्थापित कतिपय मूल्य, मान्यता र परम्परा जोगाउँदै समृद्धिको दिशातर्फ बढ्नु परिवर्तन हो, तर कम्युनिस्टहरूको विचारमा चाहिँ के हो परिवर्तन ? संसार बदल्ने नारामा मुख्य जोड दिने कम्युनिस्टहरूले कति बदलेका छन् संसार ? कसरी बदलेका छन् र जति बदलेका छन् त्यो केका निम्ति बदलेका छन् ?
कम्युनिस्टहरू सहिद हुनुलाई सर्वाधिक महान् कार्यका रूपमा व्याख्या गर्दै जनसाधारणलाई मर्न-मारिनका निम्ति उक्साउँछन् । यदि सहिद बन्नु नै सबैभन्दा ठूलो र महान् कार्य हो भने प्रचण्ड र झलनाथहरू सहिद बन्नतिर नलागेर किन राष्ट्रपति र प्रधानमन्त्री बन्न लालयित भए ? धर्तीका सबै मानिस समान हुन् भन्ने कम्युनिस्टहरू जात-जातका नाममा मानिसबीच असमानता र विभाजनको खाडल किन गहिर्‍याउँदै छन् ? यस सन्दर्भमा जनतालाई बेवकुफ बनाएर निजी सिद्धी प्राप्त गर्ने घोर मनसायबाहेक कुनै अर्को सोच उनीहरूमा छ भने त्यो प्रमाणित हुन बाँकी छ ।
कम्युनिस्टहरू राज्यसत्तालाई शोषणको मुख्य साधन मान्छन्, तर त्यही राज्यसत्ता प्राप्ति उनीहरूको एक मात्र ध्येय हुन्छ । राज्यसत्ता विलोप -विघटन) हुनुपर्छ भन्ने दर्शनमा आधारित विचारवाहक उनीहरू राज्यसत्ताबाट अलग्गिन कहिल्यै तयार हुँदैनन्, विश्व कम्युनिस्ट आन्दोलनको इतिहासले यो सत्य उजागर गरेको छ । त्यसो त उदारवाद र प्रजातन्त्रको एक मात्र बाहक ठान्ने दलका नेताहरूमा पनि प्रजातान्त्रिक आचरणको सख्त अभाव देखिन्छ । एकपटक दलको सभापति भएका गिरिजाप्रसाद कोइरालाले सभापतिकै रूपमा आर्यघाटसम्मको यात्रा तय गर्नु र तीनपटक प्रधानमन्त्री भइसकेका शेरबहादुरले फेरि पनि आफैं प्रधानमन्त्री बन्न रडाको मच्चाउनुलाई काङग्रेसको आदर्शअनुरूपको व्यवहारका रूपमा स्वीकार गर्न कदापि सकिँदैन ।
अल्पविकसित र गरिब मुलुकमा राजनीति एउटा उन्नत व्यवसाय बन्ने गरेको छ । प्रतिष्ठा र पैसा दुबै आर्जन गर्ने एउटा मात्र साधन राजनीति बन्ने गरेको हुँदा समाज पूर्णत: राजनीतीकरण हुने गर्दछ । अझ कम्युनिस्टहरू त राजनीति बुझेका मानिसलाई सचेत र त्यसबाहेकका मानिस अरू जुनसुकै क्षेत्रका ज्ञाता भए पनि तिनलाई कमजोर चेतनाका या कमसल कोटिका मानिसका रूपमा बुझने गर्दछन् । नेपालमा कम्युनिस्टहरूको कोलाहल बढ्दा यहाँको समाज पूरै राजनीतिग्रस्त बन्न पुगेको छ । राजनीतिकर्मीको समर्थनबिना केही पनि हुन या गर्न नसकिने भएपछि शिक्षा, पत्रकारिता, कला, विज्ञान, प्रविधि र व्यापारिक क्षेत्रका मानिससमेत कुनै न कुनै दलको आश्रय लिन उत्प्रेरित रहेका छन् । कम्युनिस्ट प्रभावबिनाका मुलुकको समाज राजनीतिक प्रकोपबाट त्यति ग्रस्त हुँदैन जति कम्युनिस्ट मुलुकका समाज हुन्छन् । उत्तरकोरियामा कम्युनिस्ट राज्यसत्ता विद्यमान छ र दक्षिणकोरियामा प्रजातन्त्र । दुई कोरियाका बासिन्दाबीच मूल भिन्नता के देखिन्छ भने उत्तरकाहरू राजनीतिक विषयमा कुरा गर्न पोख्त मानिन्छन्, दक्षिणका चाहिँ काम र व्यवसायमा अग्रणी देखिन्छन्, उनीहरू उत्तरको तुलनामा ज्यादै कम मात्र बोल्ने गर्दछन् । कम्युनिस्ट शासन भएका मुलुकहरूले जतिसुकै जनताका कुरा गरे पनि ती मुलुकमा जनता समृद्ध हुन सकेका छैनन् । चीनले शास्त्रीय मार्क्सवादको अभ्यास गरिन्जेल उक्त मुलुकले विश्वको एउटा गरिब मुलुकको पहिचान बनाएको थियो, तर प्रजातान्त्रिक मुलुकहरूले अवलम्बन गर्ने उदारवादी अर्थनीति अवलम्बन गरेपछि चाइनाको कायापलट भएको छ । चीन आज विश्वको सर्वाधिक मजबुत अर्थतन्त्र भएको मुलुकका रूपमा स्थापित हुनुमा उसले अपनाएको वर्णशंकर प्रणालीलाई कारण मान्न सकिन्छ । तर, विश्वको सबैभन्दा ठूलो कम्युनिस्ट मुलुक चाइनाले विदेशीहरूलाई समेत रोजगारी उपलब्ध गराउन सक्ने सामर्थ्य भने अहिलेसम्म राखेको छैन, जब कि विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतमा नेपाली मात्र पचास लाखभन्दा बढीले रोजगारी पाएका छन् । रोजगारीका लागि उत्तरकोरिया कुनै पनि विदेशी नागरिकको गन्तव्य बनिरहेको छैन, तर सँगैको दक्षिणकोरिया आफैंमा समृद्ध मात्र छैन लाखौँ विदेशीलाई समेत उसले रोजगारी दिइरहेको छ । चौंतीस वर्ष कम्युनिस्ट शासन रहेको पश्चिम बंगाल भारतको सर्वाधिक गरिब राज्यको रूपमा चिनिन्छ तर गैरकम्युनिस्ट शासन रहेको गुजरात र बिहारजस्ता राज्यको आर्थिक विकासदर नौ प्रतिशतभन्दा बढी रहेको छ । ६ दशकभन्दा बढी समयदेखि कम्युनिस्ट शासन रहेको क्युवा आज पनि गरिब मुलुकका रूपमा चिनिन्छ, त्यहाँका जनता सन्तुष्ट र खुसी थिए भने रातारात भागेर हजारौँको सङ्ख्यामा अमेरिका पलायन हुने स्थिति अवश्य रहँदैनथ्यो । सिंगापुर, मलेसिया, यर्ूर्एइ, कुवेत, ब्रिटेन, ब्राजिल, जर्मनी, बेल्जियमजस्ता मुलुकले उपलब्धि हासिल गरेको पनि मार्क्सवाद, लेनिनवाद र माओवादलाई अनुसरण गरेर होइन भन्ने जगजाहेर छ । कम्युनिस्टहरूको सोभियत सङ्घ विघटन हुँदा रसियाका जनताको भागमा गरिबी पर्‍यो कि समृद्धि यसको पनि स्मरण हुनु उपयुक्त छ । वास्तविकता यस्तो हुँदाहुँदै पनि कैयन मानिस कम्युनिस्टहरू देशमा समृद्धि भित्र्याउन सकिन्छ भन्ने विश्वास किन राख्दैनन्, बुझन कठिन हुँदै छ ।
गरिबीमा कम्युनिस्ट मौलाउँछ भन्ने सत्य इतिहासले प्रमाणित गरेको छ । कम्युनिस्टहरू गरिबको हिमायती दाबी गर्छन् । मजदुर र गरिबलाई सस्तो खाद्यान्न उपलब्ध गराउनु र झन्डा बोकेर टे्रड युनियन अधिकारका पक्षमा जुलुस पर््रदर्शन गर्न पाउनुलाई कम्युनिस्ट मुलुकको मुख्य विशेषता मानिन्छ । सस्तो भात खान पाउनु मात्र जीवनको उद्देश्य हो र हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न कम्युनिस्टहरू जबर्जस्ती प्रयास गरिरहेका हुन्छन्, मानवजीवनको सम्पूर्ण आयाममा प्रगति र समृद्धि उपलब्ध गराउन उनीहरू सदासर्वदा उदासीन रहन्छन् । कुनै पनि व्यक्ति त्यसबेलासम्म कम्युनिस्टको प्रभावमा रहन्छन् जबसम्म उनीहरू दर्ुबल, दर्रि्र र नकारात्मक मानसिकतासहितको अभावग्रस्त जीवन बाँचिरहेका हुन्छन् । जब कुनै व्यक्ति आफ्नै जीवनकालमा समृद्धि प्राप्त गर्न अग्रसर रहन्छ या समृद्धि प्राप्तिको दिशामा अघि बढ्न थाल्छ त्यसपछि ऊ स्वाभाविक रूपले आफूलाई गैरकम्युनिस्ट कित्तामा उभ्याउन उत्प्रेरित रहन्छ । यही वास्तविकतालाई बुझेर कम्युनिस्टहरू कुनै पनि नागरिकलाई समृद्धि प्राप्तिको दिशामा अघि बढ्न अवरोध सिर्जना गर्छन् । गरिबीको अवस्थामा मात्र कम्युनिस्ट राजनीतिको आधार मजबुत हुने भएकोले संसारको सबै मुलुकका कम्युनिस्टहरू जनतालाई गरिबको गरिबका रूपमा राख्न प्रयासरत हुन्छन्- मानौँ कम्युनिस्टको गन्तव्य नै गरिबीको निरन्तरता हो । मानिसलाई शिक्षित हुनभन्दा अशिक्षित रहन उत्प्रेरित गर्ने, हाकिम बन्नभन्दा मजदुर र पियन बन्न प्रेरित गर्ने, अनुशासित र मर्यादित समाजभन्दा अराजक र त्रासपूर्ण सामाजिक अवस्था जीवित राख्न प्रयास गर्ने, धनीभन्दा गरिब बन्न प्रेरित गरिरहनेजस्ता कार्यले समाज र देशलाई शान्त र समृद्ध तुल्याउने आशा कहिल्यै गर्न सकिँदैन । सत्य यस्तो हुँदाहुँदै पनि नेपाली जनता कम्युनिस्ट प्रकोप र प्रभावबाट मुक्त हुन सकिरहेका छैनन् । सधैं सुन्दर सपना देखाएर कहिल्यै माथि उठ्न नदिन कम्युनिस्टहरूबाट विश्वव्यापी रूपमा भइरहेको प्रयासहरूप्रति नेपाली जनता किन आँखा बन्द गर्दै छन्, यो आर्श्चर्य र विस्मातको विषय बनेको छ । नेपाली राजनीतिमा कम्युनिस्ट हावी भएको कम्तीमा आधा दशक पूरा भइसकेको छ र यस अवधिमा नेपाली जनताको जीवनस्तर पहिलेको तुलनामा थप रुग्ण र कष्टकर बनेको छ । सामाजिक सद्भाव जरैदेखि बिथोलिएको छ र अर्थतन्त्र महासङ्कटको भुमरीमा परेको छ । देश अस्तव्यस्त हुँदै जाँदा कम्युनिस्ट प्रकोप बढेको हो या कम्युनिस्ट प्रकोप बढेका कारण देश अस्तव्यस्त हुन पुगेको हो, यसलाई अध्ययन-अनुसन्धानको विषय बनाउने हो भने पनि अस्तव्यस्तता र कम्युनिस्टबीचको अन्तरसम्बन्धलाई ‘अन्डरमाइन्ड’ गर्न सकिँदैन ।
गरिब जनताको प्रवक्ता भूमिका निर्वाह गर्दागर्दै कम्युनिस्ट पार्टीका नेताहरूचाहिँ उच्च तहको सुख-सुविधा भोग्ने तहमा पुगिसकेका हुन्छन् । नेपालमा सर्वाधिक चोखो र क्रान्तिकारी कम्युनिस्ट दाबी गर्ने माओवादी पार्टीका अध्यक्षको जीवनशैलीलाई मात्र प्रतीक मानेर हेरियो भने पनि कम्युनिस्ट शासनमा कसरी नयाँ सामन्तको उदय हुँदोरहेछ भन्ने तथ्य बुझन सकिन्छ । माओवादी अध्यक्ष प्रचण्डले प्रयोग गर्नुभएको गाडी चढ्ने हैसियत बनाउन एउटा व्यापारीले जीवनभरि सङ्घर्ष गर्दा पनि सक्छ भन्ने निश्चितता हुँदैन । उनले सेवन गर्ने ब्रान्डको मदिरा, दैनिक भोजन र सान-मान, बाहिर हिँडडुल गर्दा जीवन-रक्षाको निम्ति तैनाथ सुरक्षाकर्मीको लर्को हेर्दा विश्वका कुनै पनि राजा-महाराजाहरूलाई माथ गर्ने प्रकारको देखिन्छ । प्रचण्डलाई एउटा प्रतिनिधि पात्रका रूपमा बुझने हो भने कम्युनिस्टको आदर्श र व्यवहारबीचको अन्तरबारे सहजै ज्ञान प्राप्त गर्न सकिन्छ । कम्युनिस्ट नेताहरूले आफ्नो संसारमा आएको परिवर्तन नै संसार बदलिएको भनेर बुझेका छन् र हामी सबैले त्यसलाई संसार बदलिएको भनेर मान्नुपर्ने हो भने मानौँ- संसार बदलियो । होइन भने कम्युनिस्टले संसार बदलेको अहिलेसम्म देखिएको छैन, योभन्दा पनि ठूलो सत्य उनी-हरूले संसार बदल्न सक्ने सम्भावना पनि देखिँदैन । भाषणबाहेक कुनै पनि कुराले कम्युनिस्ट र अरूहरूबीचको अन्तर छुट्याउन नसकिए पनि केही मानिस कम्युनिस्टले संसार बदल्छ भनेर अझै तिनका पछि कुद्दैं छन् । जो आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन सक्षम छन् तर, सोचमा परिवर्तन ल्याउन कदापि तत्पर देखिएनन्, तिनका पछि लागेर संसार बदल्ने सपना देख्नु कति भ्रान्तिपूर्ण छ ? सपनामा घोडा चढाउने र विपनामा बैलगाडा देखाउने कम्युनिस्टहरूबाट यो समाज र यो संसार बदलिने आशा गर्नु भनेको रोटेपिङ चढेर पृथ्वीको सयर गरेको कल्पना गर्नुबाहेक केही होइन, सम्पूर्ण नेपालीलाई समयमै चेतना होस् ।