कटुता त्यागेर देश विकासमा लाग्न डा. कोइरालाको आग्रह

कटुता त्यागेर देश विकासमा लाग्न डा. कोइरालाको आग्रह


नेपाली काङ्ग्रेसका प्रभावशाली नेता एवम् केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राजनीतिक प्रतिस्पर्धा चुनावका समयमा मात्र हुने बताउँदै कटुता त्यागेर देश विकास नै मुख्य प्राथमिकता हुनुपर्ने बताएका छन् । सङ्घीयता कार्यान्वयन नगर्ने र यसलाई असफल बनाउने खेल विभिन्न शक्तिकेन्द्रबाट शुरु भएको धारणा राख्दै सुशासनका लागि दण्डहीनताको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

नेपाली काङ्ग्रेस मोरङद्वारा आयोजित दशैँतिहार छठलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकले आर्थिक समृद्धि हासिल गरेमा मात्र नेपाली जनता सुखी हुने उल्लेख गरे ।

सोही अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद डा. डिला सङ्ग्रौलाले मुलुकमा राजनीतिक स्थिरता भएको अहिलेको अवस्थामा आर्थिक समृद्धि कायम गर्नुपर्ने विचार व्यक्त गरिन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विनोद ढकालले राजनीतिक आन्दोलनको अध्याय समाप्त भएको बताउँदै अब मुलुकको आर्थिक समुन्नति नै देश विकासको आधारशीला बन्नुपर्नेमा जोडदिए ।

नेपाली काङ्ग्रेस मोरङका सभापति डिगबहादुर लिम्वुको सभापतित्वमा भएको उक्त शुभकामना कार्यक्रममा रतुवामाई नगरपालिकाका प्रमुख रविन राई र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का गणेश उप्रेती, प्रदेशसभा सदस्य शिवनारायण गन्गाईले पनि मन्तव्य दिएका थिए ।

तस्बिर रासस