पूर्ण स्वास्थ्यलाभपछि प्रधानमन्त्री ओली निवास फिर्ता

पूर्ण स्वास्थ्यलाभपछि प्रधानमन्त्री ओली निवास फिर्ता


छातीमा सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै बालुवाटार निवास फर्किएका छन् ।

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओली यही कात्तिक १२ गते बिहान ०४ः३० बजे महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका थिए ।

प्रधानमन्त्री ओली पहिलेको जस्तै अवस्थामा आएका र उपचारका क्रममा उनले लिँदै आएका एण्टिबायोटिक पनि सकिएकाले अस्पतालले निवास फिर्ता पठाउने गर्ने निर्णय गरेको मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीको उपचारमा पाँच दिनअघि मुटुरोग विशेषज्ञ डा. सायमीसँगै डा. दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासको टोली संलग्न थियो ।

तस्बिर रासस